Responsive Ad Slot

Showing posts with label Ghazal. Show all posts
Showing posts with label Ghazal. Show all posts

समिपमै आउनचाहि - गजल

No comments

Tuesday


समिपमै आउनचाहि, डर लाग्छ भन्यौ
अलिकति माया मनमा, तर लाग्छ भन्यौ ।

किन माया गर्नु कुनी ? यस्तो डराउनले
हैन हैन केवल तिम्रै, भर लाग्छ भन्यौ ।

अर्कै बाटो रोजौं न त, भन्नै नहुने भो
मलाइ मात्र "ईस!केको, कर लाग्छ" भन्यौ ।

के होला यो साथ भन्ने, तिम्रो साथ पाए
दुख पिर सबै पर, पर लाग्छ भन्यौ ।

भन्दै थियो कृष्णपक्ष,, एकै छिन बसौं
सुर्जे पनि साँझ आफ्नै, घर लाग्छ भन्यौ ।

रगत युद्ध र मृत्यु...

No comments

Thursday




हामीले रचने ग़ज़ल को किन बिषय यस्तै हुन्छ
रगत युद्ध र मृत्यु ..... आशय यस्तै हुन्छ

सधे बस्छ डराएर पोखरीमा सानो माछा
मान्छेबिच पनि शायद परिचय यस्तै हुन्छ

शान्ति र स्वतंत्रता उड़दै गाउछन पंक्षीहरु
शिकारीको गीतको पनि यहाँ लय यस्तै हुन्छ

दर्ज़नौं हताहत सयौं घाइते सधैं युद्ध
अशांति,कोलाहल ...शायद प्रलय यस्तै हुन्छ

खै कस्लाई जीतें भन्नु कुन मनले जितें भन्नु
लाशमाथी उभिएको विजय यस्तै हुन्छ

फर्किएर योद्धा हरु

No comments
फर्किएर योद्धा हरु टाउको ठोक्दै रुदै थिए
विजय को खुसी हैन आंसु पोख्दै रुदैथिए

आफै जस्तो लाग्यो अरे जसको मुहार हेरेपनि
पराजित सिपाहीका लाश बोक्दै रुदै थिए

घर घरका भित्ताभरी रगतका छिटा थिए
रगतै थ्यो' छाती भित्र रगत खोक्दै रुदैथिए

महँगिए सुनचादी सबको भाऊ बढ़ीरह्यो
सस्तो केवल जिंदगीको मूल्य तोक्दै रुदैथिए

फेरी अर्को युद्ध तर्फ लम्किएका पाइलाहरु
के के सोच्दै घरी घरी टक्क रोक्दै रुदैथिए

दुइ थान गज़ल

15 comments

Tuesday




व्यस्तताको सिलसिला र भौतिक परिवेशको निरन्तर उतार चढाव भैरहंदा अनौठो संग दैनिकीहरु बेफुर्सदिला बनेका छन,त्यसो त यो व्यस्तताले सकारात्मक र नकारात्मक दुवै पक्ष समेटेको हुनसक्छ यद्यपि यस्तो अवस्थामा केहि कोर्ने अवसर जुटाउन नसक्नु,मित्ररु संग अपडेटेड हुन कठिन हुनु, भावना र अनुभूतिका झिल्काहरुले उज्यालोको कुनै मुर्त आकार लिन नसक्नु मेरो लागि दुखद पक्ष बनेका छन । अस्तव्यस्त दिनचर्या सहज नबनाई भएकै छैन । किस्ता किस्ता बाडिएका फुर्सद हरुलाई तानतुन गरेर एक ढिक्का बनाउने र स्थिति सहज बनाउने प्रयास भने जारी छ (पहिले जस्तै :) धेरै पछि आज प्रेम र सौन्दर्यका दुइ थान गज़ल लिएर आएको छु - सुनाउन । लौ सुनेर जानुस!

पहिलो

बस्यौ बाटो हेरि, र त जुध्यो नज़र ।
फर्किएँ म फेरि, र त जुध्यो नज़र

ओठै नखोलेर, इशाराले बोल्ने
रैछौ माया मेरी, र त जुध्यो नज़र ।

नदेखेझैं गर्दै, मेरै बाटो तिर
चियाउदा खेरि, र त जुध्यो नज़र ।

मलाइ नै पर्ख्यौ बाटो घाटो मेला
कुवा र पधेरी, र त जुध्यो नजर ।


बसिरहुँ भन्छ हजुरकै सामु
आँखै यो अटेरी,र त जुध्यो नजर ।


दोश्रो


उपवन मनको मेरो डुल्न आउनु भयो
फूलजस्तै मुस्काउदै फुल्न आउनु भयो ।

शर्माएर पहिले पहिले, पर जानु हुन्थ्यो
अहिले पो यी यस्तरी, खुल्न आउनु भयो ।

कति कति हासो खुसि, सुख दुख कति
एकै छिन सारासंसार, भुल्न आउनु भयो ।

वादल पारि पिरतीको, घर देखाउदै
कल्पनाको रोटेपिंग, झुल्न आउनु भयो ।

वसन्त झैं रंगिन यो, मेरो यौवनमा
वहारको रंग लिई, घुल्न आउनु भयो ।

मालसिरिको धून राजै..

3 comments

Friday

विजया दशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सबै नेपालीहरुमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !



मालसिरिको धून राजै, बज्छ किन आज फेरी
दशैं दुख्छ तिहार दुख्छ, प्रवासीको माझ फेरी

शरदको खुला आकाश हट्यो होला हिलो मैलो
मौसम आयो सजाउन, उस्तै सज्जा साज फेरी

देउसी भैलो साथि संगी चंगा हुन्थे आकाशमा
कतै भेटिएन यहाँ , त्यो खुसीको राज फेरी

"टिका लाउन आइज कान्छा,अब तेरो पालो आयो"
निधार छ खाली आमा, सुन्छु तिम्रै आवाज फेरी

दिनहरु त बिताउदो हो, यताउता यसै गरी
भक्कानिन्छ कृष्णपक्ष, बिरानो यो साँझ फेरी ।






अँध्यारो छ साँझ

11 comments

Saturday


अब चाहि केहि लेख्छु भन्ने सोच्दा सोच्दै एक दुइ हप्ता त्यतिकै चिप्लिसकेका हुन्थे मेरो हातबाट ..

फुर्सद नभएरै हो त ? मैले एकदिन मेरो खालि समय हरुको हिसाब किताब गरें, लेख्न पढ्न, चित्रकारिता गर्न वा आफैलाइ खुसि पार्ने र आफु रमाउने जनसुकै
कुरो गर्न मनग्य समय थिए । तर त्यो भै रहेको थिएन, अहं पटक्कै...

मलाइ लाग्यो केहि कोर्न, सिर्जना गर्न फुर्सद भएर मात्र कहाँ हुदो रहेछ र? आफैलाई हराउन सकिने एकान्त चाहिदो रहेछ र त्यो फुर्सदको मेरो एकान्तहरु अरु नै बिषय वा सन्दर्भहरुले चुडी रहेका हुदा रहेछन -मैले विश्लेषण गरें ।


यो जागिर , व्यापार, राजनीति, छलफल, भेटघाट,पैसा, नाचगान, जांड, घुमघाम, मनोरंजन केहि पनि नहुनु, नचाहिनु वा गर्ने नपर्नु नि मान्छेले ... कहिले काही झोक चल्छ। अझ विशेष गरि राजनीति यो त पटक्कै मन नपर्ने विषय हो मेरो, भन्छन राजनीति जालझेल र झुठको खेति हो । मेरो रोजाई त साहित्य पो हो, जसले सत्यको खोजि गर्छ, यथार्थ लेख्छ, प्रेम र सौन्दर्यको बयान गर्छ, र बाड्छ दुख सुखका भावनाहरु....

तर अचम्म ! मेरो फुर्सद को अधिकांश समय त आफ्नो रोजाई भन्दा यस्तै यस्तै विषयहरूले खोस्दा रहेछन । ठिक छ, आज कतै जान्न बरु ढोका थुनेरै बस्छु

...
अँध्यारो छ साँझ ढोका थुनेर लेख्छु गज़ल
आवाज आफ्नै स्पन्दनको सुनेर लेख्छु गज़ल

कहाँ हुन्छन शव्दहरु गजाला झैं सधैं कोमल?
सियो जस्तै कति शव्द उनेर लेख्छु गज़ल

टाल्नु थियो फाटिसके, सम्झनाका जाली रुमाल
असफल त्यस्तै केहि बुनेर लेख्छु गज़ल

सफलताको बिन्दु कुन हो -धन मान प्रेम खुसि
जोड घटाउ जिन्दगीको गुनेर लेख्छु गज़ल

चाहिएन भैगो जून, जुनेलीका रंगहरु
रात मेरो कृष्णपक्ष चुनेर लेख्छु गज़ल ।

दाह्रा किट्छ कोही

14 comments

Wednesday

तस्वीर - http://picasaweb.google.com/katrinehoyer
उठाउनीमा

कृष्णपक्षको छरछिमेकमा हल्काफुल्का खासखुस चलिरहेकै छ, नया नया जोगी बढी खरानी धस्छ भनेझैं कसैले केही नौलो हल्ला खल्ला गर्ने बित्तिकै चियाउदै साखुल्ले भएर हतार हतार प्रतिक्रिया दिने जागर भने अलि सुस्ताएको होकी भा' छ अहिले चाहि मलाइ ।

टासो नटासेको त धेरै पो भैसकेछ त !
व्यस्त भनु भने त्यति व्यस्त पनि हैन, तैपनि घडीको सुइ भन्दा छिटो छिटो दिनहरु घुमेझैँ लाग्न थालेका छन ।

धाइबाको मंगलम क्याफेमा जे पापी र रामलखनको कुरा चल्दै थियो !
"रामलखन खै तेरो घरको ढोका?"
यो टासो र त्यसभित्रको मर्म पढेपछि मलाइ केहि लेखुँ लेखुँ लाग्यो ।

१ लघुकथा

हो त, ढोकै नभा घरमा जो पनि पस्छ, जे पायो त्यहि गर्छ , चोटा कोठा डुल्छ र घर भाड्ने अनेकौं प्रपन्च/जालझेल रच्छ, र मौका पाउना साथ सप्पै घर भत्काउछ ।

ऐना हेर्छु, अहो कति मिलेको अनुहार रामलखनसंग मेरो? त्यो रामलखन जसको घरको ढोकै छैन, आफु'संग अनुवाद हुदै गएझैं लाग्छ । हतार हतार चोटा उक्लन्छु, लौ~~ छानो पनि छैन, भित्ता भकारी केहि छैन , चारैतिर ह्वाङ्ग ।

दौडदै आगनसम्म पुग्छु ,
डिलैबाट देखियो पल्ला घरे छिमेकी खेतका आलीहरु ताछ्दै थियो ।

मभित्रको रामलखन.... कठै!
एउटा रामलखन थचक्क भुइमा बस्छ,
एउटा रामलखन चिच्याउन खोज्छ " गुहार गुहार "
एउटा रामलखन उध्याउन खोज्छ "भुत्ते खुकुरी" .....।

फेरी देख्छु - डाडु पन्यु बोकेका आफ्नै घरका एक जुलुस भान्सेहरु तिनै छिमेकीसँग साँथगाँठ गर्दै थिए ।

२ गजल

नौटंकी छ मझेरीमा, रातारात "हिट्' छ कोही
आफ्नै खेल हेरी हेरी आफै ताली पिट्छ कोही

भ्वांङ परेका झ्याल ढोका, ह्वाङ्गै देख्छु पाखो भित्ता
बाझै छन खेतबारी, जुवा तास फ़िट्छ कोही

भकारी छ रित्तो रित्तो , चुहिदो छ छानु घरको
"नया नेपाल् बनाउँदैछु" भन्दै झ्याली पिट्छ कोही

रामलखन तिम्रो घरमा, केको गाइजात्रा सधै
"घरको बाघ बनको स्याल" भाइसँग भिड्छ कोही

कोपर्दैछ अलिअलि भत्काउदैछ साँध सिमा
"यता खाँउकि, उता खाँउ" घुम्दै दाह्रा किट्छ कोही

टुङ्ग्याउनीमा

"उत्तरमा हिमालको लश्कर
लहरै मुस्काइरहेका छन चादी जस्ता
र फुलेका छन आगनभारी -जात जातका फूलहरु
दक्षिण तराइ लहलह सुन फल्ने गैरीखेत,

बार -पर्खाल -लिपपोत गरे
सबै मिलि भकारी भरे ,
यो घर रामलखनको
कति सुन्दर हुन्थ्यो होला "

एउटा त्यान्द्र्यांग तुन्द्रुंग
आशाजस्तो त्यान्द्रोमा मन अल्झन्छ
त्यहि त हो जसले मान्छेलाई बचाउदो रैछ
जस्तो रामलखनको सधै नेपाली भएर जिउने जिजिविषालाइ...।
जो मतिर फर्केर सोधिरहेछ

त्यो आशाको त्यान्द्रो र घरको माया
तिमीसंग छ कि छैन ?








मान्छेको नाउँमा ......।

12 comments

Monday

एउटा गज़ल लेख्दैछु मान्छेको नाउँमा ......।



"लामो समय विस्थापित जीवन बिताएर उनी गाउ फिरे ,
१२ बजे राति उनलाई घरबाट अपहरण गरियो ,
उनको शव घरनजिकैको जंगलमा कुटी कुटी मारेको अवस्थामा भेटियो..."

मान्छेको मन कति संवेदनाहीन हुदै गैरहेको छ?

पछिल्लो पटक २ वटा घटना घट्यो, प्रधानमन्त्रीले एक्लै जबर्जस्ति सैन्यप्रमुख हटाए, उता अनौठो शक्ति धारण गरेर राष्ट्रपतिले फर्काए।
शान्ति प्रतिको आफ्नो प्रतिबद्धताबाट कदापि विचलित नहुने बताउदै प्रधानमन्त्रीले राजिनामा दिए लगत्तै उनका कार्यकर्ताहरुले राष्ट्रपतिको कदमको समर्थन गर्नेलाई कालो मोसो लगाई जिल्ला जिल्लाबाट निकाल्ने वक्तव्य निकाले । सुरक्षाकै लागि मुख थुनेर बस्नु पर्ने यो कस्तो आतंक? कस्तो लोकतन्त्र ?

तराइको कुरै नगरुँ, शान्ति प्रक्रिया स्थापित भै सकेपछी पनि निरन्तर हिँसा रोकिएन यो क्षेत्रमा । मधेसी समुदायमा धेरैको ज्यान अनाहकमा गएको छ । पहिले जनयुद्धमा लागेर छाडेकाहरु वा त्यसको मारमा परेर बदलाले अभिप्रेरित भएकाहरु त्यसकै सिको गरेर विभिन्न खाले शशस्त्र समुह गठन गरेर छोटो बाटोको राजनीती गर्न अग्रसर भए, अनि जन्मियो छपक्कै बन्दुक बोक्ने राजनितिक समुहहरु । जीउधनको नाश वा व्यक्तिहत्या, जसका हिड्ने बाटाहरु हुन , तरिकाहरु हुन , प्रकृति फरक देखिदै छ , तर मान्छेको जिउ दाउमा पर्न छोडेको छैन । राजनीतिक रुपमा आफ्नो प्रभाव बलियो देखाउनकै लागि विभिन्न बहानामा जघन्य हत्याहरु भएका छन । जनयुद्ध कालदेखि नै शुरु भएको वदला र प्रतिशोधको भावनाले क्षति पुर्याउने वा हत्या गर्ने परम्परा बस्दैछ -राजनीतिको आडमा । मान्छेको जिउ सतरंजको प्युसा जति पनि ठानिदैन, कति सस्तो मान्छेको जीवन हँ?

किन बनायो मान्छेले राजनीति र शासन व्यवस्था ? आफु र आफ्नो घर छिमेक सुरक्षित हुन , न्यायपूर्ण समाज स्थापित गर्न हैन र? तर त्यो बहानामा मान्छे अझ असुरक्षित हुदै गैरहेको छ।

हो मान्छे संग सबै प्रकारका गुण दोष र स्वभाव हरु हुन्छन् । केही जाती केही नजाती, केही माया, केही घृणा, केही लोभ केही दानशीलता, केही रिस केही डर, जस्तो अरु सबै प्राणीमा हुन्छ। अभाव,आवश्यकता र परिस्थिति अनुरूप तिनको मात्रा धेरथोर भएको हुन सक्छ । कतिपय ज्यानै जाने सजाय दिईएका शिक्षक सेना, पुलिस, कृषक, व्यापारी, वेरोजगार, वा विद्यार्थी सबैलाई विभिन्न कारणको दोषी देखाइए पनि ती हाम्रो समाजका आम निरीह प्राणी मात्र हुन र उनिहरुको कथित अपराध वा भूल केवल समाज समय र परिस्थितिसंगको सापेक्षिकता मात्र हो । त्यसका लागी निम्त्याइएको प्राणहरण भन्दा ठुलो आतंक र बर्बरता अरु के हुन सक्छ? मानव "हत्या", दोषिले गरेको भनिएको अपराधको तुलनामा सैयौं गुना ठुलो अक्ष्यम्य अपराध हो, आफुलाई न्यायपूर्ण समाज बनाउछु भन्दै रगत पिउन पल्केका हत्याराहरुले त्यो बुझुन ।

 तस्वीर www.stormfront.org
न्याय र जनमुक्ति भन्दै आफ्नै भाईहरुको ज्यान ताक्न पल्किएकाहरु सग्लो मान्छेलाई घर बाटै थुतेर लान्छन र अनुसंधान भन्दै शिविर भित्रै कुटी कुटी मार्छन । त्यति भएर पनि दण्डकारी आफ्नो गल्तिलाई स्विकार्नुको सट्टा आफुमाथि गम्भीर षडयंत्र भएको भन्दै विपक्षीलाइ आरोप लगाउने वा नया नेपाल निर्माणको लागी केही छिटपुट दुर्घटना सहनु पर्ने जस्ता दम्भी अभिव्यक्ति दिदै हिडछन । मान्छेको रगत सँग खेल्नुमा अलिकती पनि संवेदना नभएको राजनीति किन हावी हुदैछ बुद्धको देशमा?

सभ्य मानव समाजले स्वीकार्ने त कुरै छाडौं मानसिक सन्तुलन गुमेका, विक्षिप्त भएकाहरुको मस्तिष्कले पनि सोच्न नसक्ने सुन्दै आंग जिरिंग हुने दण्ड सजायको आविष्कार गरेका छन हाम्रा न्यामूर्तिहरुले ।

के राजनीतिको रुप नरभक्षीको जस्तो हुनु पर्छ ?

छातीभित्र काँडा रोपिएजस्तै पिडादायी कथाहरु लुकाएर हामी नया नेपालका धुमिल छाया सजाई रहेका छौं । राजनीतिकर्मीहरु त्यही सपनाको दुहाइ दिएर हाम्रै जिउ ज्यान प्रयोग गरि रहेछन । विकास परिवर्तन वा सुधारको स्वाभाविक लालसा लिएका आम नागरिक यो अजिव वस्तीमा किन यसरि राजनीतिक षड्यन्त्रको शिकार भै रहेछन ?

अहिले साँच्चै लाग्न थालेको छ, आफ्नो विवेक र चेतनाले पृथक प्रस्तुत हुनेहरु, असहमति जनाउनेहरुको बाच्ने अधिकार खोसिएको छ । हिटलरको दम्भरुपी नया राजनीतिक आयतन भित्र किन झन खुम्चिदैछ्न स्वतन्त्र बिचार र आवाजहरु? किन झन कष्टप्रद बन्दैछन आम सर्वसाधारण नागरिकका दिनचर्याहरु र अप्राप्य हुदैछन मजदुरका सामलहरु ?

संघियताको नाउँमा मधेस फाँटका फूलहरु छुट्टिन खोज्दैछन हिमाल र पहाडहरुसंग र रगतको राजनीति हावी हुदैछ त्यो प्रदेशमा ।
अहिले हामी सबैले बुझिसक्यौं हाम्रो संवेदना र आकांक्षाका सिढीहरु चढ्ने आखिर त्यहि जंगबहादुर रहेछ, जो रगत लत्पतिएका हातहरु पखाल्छ र भन्छ हामीले बुद्धको देशबाट नयाँ संदेश दियौं।


कति निरीह बनेर सपनाहरुमा पुरिदै सत्ताको कित्ताफाँट गर्नेहरुको नाउँमा सहिद हुनु ? के अब यसको हिसाब राख्ने बेला भएन ? के अब आफ्नो स्वाभिमान खोज्ने बेला भएन? अब बलियो नीति नियम र मापदण्ड कोर्नै पर्छ समयले, - जिउज्यानसंग खेल्नेहरु बिरुद्ध . -आम जिन्दगी हराएको पत्तै नहुने आदिम बर्बर र रहस्यमयी समाज बिरुद्ध । र चिन्नु पर्छ हामीले शाकाहारीको ढोंग गर्ने नौटंकी ब्वासा र हुँडारहरुको अवतार । विचार र मत, अभिव्यक्ति र स्वतन्त्रताको महत्व सर्वोच्च र बलियो रहने न्यायपूर्ण समाजको अब हामीले रचना गर्नु पर्छ । दण्डहिनता र हिंसा बिरुद्ध विरोध लेख्ने समयरेखा अब हामीले कोर्नु पर्छ र हैसियत राख्नु पर्छ हिंश्रक राजनीति संग प्रश्न सोध्ने "तलाई थाहा छ जीवनको मूल्य कति हो?"



तस्वीर www.sagarshrestha.com.np

आँखा चिम्ली मुख थुन्न विवस हुन्छ मान्छे
विष्फोटनको जमिन झैं निरस हुन्छ मान्छे

थाहै हुन्न के को नाउमा, कतिखेर शहिद हुन्छ?
रुवावासी चल्छ तहस नहस हुन्छ मान्छे

हरेक पल असुरक्षित यतापनि उतापनि
संघारमै पोखिएको कलश हुन्छ मान्छे

हार्नेहरु पहिरिन्छ्न विजेताको ताज यहाँ
ढेडुको राज हो यो, "औजस" हुन्छ मान्छे

हिडदाहिडदै ढल्छ मान्छे, आँगन बाटै हराउछ
बजारको भिडमा सस्तो बहस हुन्छ मान्छे ।।




सन्दर्भ :
बसन्त ब्लग्स
गफगाफ











मन

15 comments

Thursday





तस्वीर-graphicshunt.com


त्यसो त मान्छेको जीवनमा कति कति नैतिक सामाजिक मर्यादाहरु छन, बंधनहरु छन र अलिखित नियमका घेराहरु पनि छन, तर मनले के मान्थ्यो? मायाले के मान्थ्यो ? यी हेर्नुस त ग़ज़ल भएर आज एकाएक मेरो मन पनि ती सबैसबैबाट एकछिनको लागि फुत्किएको छ,र स्वतन्त्र भएको छ पराग जस्तै... भ्रमर जस्तै...तपाइले पनि कहिलेकाही यस्तो अनुभूति गर्नु भएको छ की?



मनै त हो भ्रमर झै बरालिन सक्छ प्रिय
कुसुमका थुंगासंग अंगालिन सक्छ प्रिय

सिमलको भुवा बनि कहाँ कहाँ डुल्ने मन
वास भेटे कुनैबेला संगालिन सक्छ प्रिय

नौनी रैछ क्यारे मन? मायाचाहि आगो होकी?
हास्दा खेल्दा थाहै हुन्न, पगालिन सक्छ प्रिय

पिरतीमा रमाएर संसार जित्छु भन्छ कैले
कैले सानो बिछोडमा अतालिन सक्छ प्रिय

साइनोको के कुरा भो मिठो माया दिन्छु भन्छ
एक धर्को सिंदूर त पखालिन सक्छ प्रिय !


फेसबुकमा बाडनुस

क्रमश सड़क गल्ली

4 comments

Friday

क्रमश सड़क गल्ली चोक बल्न थाल्यो
हिजै जस्तो फेरि सबै थोक बल्न थाल्यो

खंड खंड हुन्छु भन्छ गणतंत्र नया नेपाल
सांध बार्ने किचलोमा लोक बल्न थाल्यो

दशै कहिले आउला बाबै लालाबाला सोध्न थाले
हर्के दाईको चुल्हो माथी भोक बल्न थाल्यो

कसले कस्तो चित्र कोर्यो रगतको रंग संग
तेह्र हजार आत्मा रोए शोक बल्न थाल्यो

फुसफुसे खरको छानो निति नियम कठै बरा
काजीकै हुकुम आदेश तोक बल्न थाल्यो



उस्तै उस्तै

9 comments

Tuesday








परम्परागत मान्यता अनुरूप ग़ज़ललाइ रूप सौंदर्य वा प्रेमको कोमल अभिव्यक्तिको रूपमा मात्र हेरिएपनि समय संगै आज ग़ज़लमा विद्रोहचेतना, क्रांति वा सामयिक छटपटी कुंठा , वा सबैसबै खाले भोगाईहरु समेटिन थालेको छ वा भनु ग़ज़ल दरबार कोठी वा महेफिलका परिधिहरूबाट बाहिरिएर अपरिमित भएको छ। स्वतंत्र भएको छ ।यही नया परिभाषालाइ पछ्याउदै मैले ग़ज़लभित्र राजनीति समेटेको छू, राजनीतिको चित्र कोरेको छू ।

स्वीकार्य हुनेछ भन्ने अपेक्षा सहित ।




यद्यपि प्रश्न यहाँ शेष छ, उस्तै उस्तै
संक्रमणको पीडामा देश छ, उस्तै उस्तै


वसन्त आयो भन्छन, कोइलीको स्वरुपमा-
कागको नौटंकी भेष छ, उस्तै उस्तै




सड़क भरी सहीदका रगत देख्दा धेरै रोए
रगत संगै खेल्नू फेरी आदेश छ, उस्तै उस्तै


विसंगति अन्योलपना घाऊ वर्गसंघर्षका
पाइलैपिच्छे हिजोजस्तै ठेस छ, उस्तै उस्तै


सामंती संरचना ढाल्यौं भन्थे -उनीहरु
खोतलेर हेर्नु यहाँ अवशेष छ, उस्तै उस्तै

गजल

2 comments


मेरो आधा संसारलाइ सजाऊछु भनेकी थ्यौ
हजूरकै छातीभित्र अटाउछु भनेकी थ्यौ ।

अधुरो छ कथा मेरो अँध्यारो छ घरपनि
मायाका दीपहरु जलाउछु भनेकी थ्यौ ।

वाचा मिठो गरेकी थ्यौ, सधै सधै साथ दिने
वहकिन खोजे भने सम्झाउछु भनेकी थ्यौ ।

छाया जस्तै हासो खुसी , कति दुखी यो समय
तर दुःख पर्दा पनि रमाउछु भनेकी थ्यौ ।

उस्तै छौ कि वद्लियौ, सम्झन्छौ कि बिर्सीसक्यौ
कृसुलाइ सधै आफ्नो बनाउछु भनेकी थ्यौ ।


छानो फुटेपछि

1 comment

Saturday

राष्ट्रीय एकै ढिक्को गानो फुटेपछि
कहाँ रहन्छ र घर? छानो फुटेपछि ।

थिति बिग्रेपछि, देशसंगै रुन्छिन आमा
छातिभित्र जमेको भक्कानो फुटेपछि ।

बलिया हुन्छन् बैरी हेपिईन्छ यसै पनि,
भांडिए पछि घर, मानो फुटेपछि ।

कस्को जित,कस्को हार?आफैंलाइ दुख्छ
के हुन्छ, मौरीको त्यो रानो फुटेपछि ।

खेत उहि, स्याहार उहि, बिऊ उहि भए पनि
उम्रदैन, अन्नको त्यो दानो फुटेपछि ।

कालिकोट दुखेको छ

1 comment

Tuesday



फेरी पनि कता कता चोट दुखेको छ
आफ्नै भूमि आफ्नै रगत कालिकोट दुखेको छ

आफ्नैसंग लड़नुपर्ने कति तुच्छ विवशता यो
ब्यर्थै "वीर गोरखाली"को लेखोट दुखेको छ


पैसाको खोलो बग्दा डूब्यो अरे स्वाभिमान
आँखा भरी विदेशी नोट दुखेको छ

सधै साउन झरेको छ नेपालीको आँखाबाट
नियतिमै रहेछ कि खोट, दुखेको छ

घरभित्रै चैन भए कोही किन बिदेशिन्थ्यो?
मुनाको चिहानमा ल्हासा, भोट दुखेको छ


दिलमा अलिकति

No comments
खाडीका कारखाना र मीलमा अलिकति

झुक्यो स्वाभिमान आफ्नै दिलमा अलिकति

मनको बाँध थाम्न खोज्दै सोच्दैछ एउटा मान्छे
त्रास बोकेर टनकपुरको डीलमा अलिकति

बहिनी चेली मात्र हैन हामी आफै बेचिईदैछौं
बम्बईका कोठी र महेफिलमा अलिकति

कति आमा रुन्छिन यहाँ परदेशी छोरा सम्झि
मैनबत्तीको मधुरो पिल पिलमा अलिकति

दागिएकै छ छाती, वीरताको नाउमा हाम्रो
जम्मू, कश्मीर, कोशोभो र कार्गिलमा अलीकती

नज़र खस्न दिनुहुन्न

No comments



स्वाभिमानी उच्च हाम्रो शिखर खस्न दिनुहुन्न
सबले टेको दिनु पर्छ घर खस्न दिनुहुन्न

आभा मलिन हुन्छ यदि सुवास छैन भने
फूल को सौन्दर्यबाट अत्तर खस्न दिनुहुन्न

धेरै भयो खुसी हामीले गुमाएको ओठबाट
मनको हरित फांटमाथि बगर खस्न दिनुहुन्न

खसेको छ बर्षा जस्तै नेपालीको आंसु
बादल खसेपछि निलो सगर खस्न दिनुहुन्न

आट साहस धैर्य लिई सगरमाथा जस्तै छाती
ऊँचो गरी हिडनु पर्छ नज़र खस्न दिनुहुन्न

रातहरु

No comments

बाचेको छ मृत्यु को छाया मुनि रातहरु
हिजो जस्ता छैनन अचेल किन कुनी रातहरु

गल्ली गल्ली अशांतिको बाढ़ी बगिरह्यो
त्रास खोक्दै गर्जीरहे मनसुनी रात हरु

रोदी छैन लैबरीको भाका कतै सुनिदैन
ओइलिएर झरेका छन तरुनी रातहरु

उज्यालो पिईवरी मात्दै हिद्छ वस्तिवस्ति
कति बेला बदनाम भए खै खुनी रातहरु

बारूदको पिरोपिरो गंध बोकी बगिरहे
कृसुका ग़ज़लमा बैगुनी रात हरु

छ की छैन भित्र देश

No comments

छ की छैन भित्र देश छामी हेरे मैले
ऐना मा एउटा बदनामी हेरे मैले

तरुण जति नेटो काटी पलायन भएपछि
आइमाई र बुढाबुढी मलामी हेरे मैले

रगत को टाटो बोकी धरती त मौन रह्यो
तूफान जस्तै स्पंदन यो थामी हेरे मैले

पहिरोझैं भत्कदैछन देश हाक्ने साहस हाम्रा
खंडहर छाती भित्र "सुनामी" हेरे मैले

दियो खोज्ने आत्मा हरु दिन दिनै मरे पछि
देशैभरी दीपद्रोही सलामी हेरे मैले

हात हातमा हतियार

No comments

Monday

हात हातमा हतियार अविराम रोएको छ
नगरकोट को सिंगै दुखी गाम रोएको छ

के हो शक्ति कस्तो हुन्छ मदिराको मातजस्तो
दरबार मा दीपेन्द्र को नाम रोएको छ

सुनका ती बन्दूक अनि सियाका चिहानहरु
भत्किएको बंकर हेर्दै सद्दाम रोएको छ

शासकको मनोमानी परिभाषा बिझेपछि
सत्ताको घोडामाथि लगाम रोएको छ

विजितको राज़ हुन्छ उही हुन्छ सर्वोपरि
हारनेहरुको इतिहासमा बदनाम रोएको छ

गीत कति लेखुं?

No comments

Sunday




आँखा बाट रगत झार्दै लाशको गीत कति लेखुं?
थ्रीनटथ्री,एसएलआर, इंसासको गीत कति लेखुं?

प्रक्षेपण गरिदैछन मंगलतिर यानहरु
हाम्रो उही गास बास कपासको गीत कति लेखुं?

राजनीतिको मन्दिरमा रेटिदैछन टाउकाहरु
मानवीय मूल्यको उपहासको गीत कति लेखुं

तिम्रै खल्तीभित्र पनि ग्रिनेड हुन सक्छ कतै
आर्यघाटमै पडकिएको त्रासको गीत कति लेखुं?

पुरिएका शवको गंध, बारूदका धुंवा हरु
कठै नेपालीले फेर्ने सासको गीत कति लेखुं?
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI