Responsive Ad Slot

Showing posts with label Foreword. Show all posts
Showing posts with label Foreword. Show all posts

... र सिंगो देश, असंख्य भुन्टीहरुको प्रतिक्षाको कथा

1 comment

Monday







पोर्तुगलको व्यस्त शहर लिस्वोनका सडकहरुमा घाम झरिसकेको छ । मानिसहरुको चहलपहल बढेको बढ्यै छ । आप्रवासीहरुका लागि कानून केही हल्का भएकाले शायद संसारका हरेक कुनाबाट आएका मानिसहरु भेटिन्छन् । नेपालीहरुको उपस्थिति पनि बाक्लै छ , यद्धपी यो परदेश, अपरिचित अनुहारहरु संग घेरिन्छ मान्छे ।

यही भीडमा कतै उभिएकी छिन सीता बराल, एउटा कथा संग्रह लिएर । विरानो देशमा सम्झनाहरु दुख्छन्, आफ्नोपनका यादहरु विझाउँछन र आँसुमा अनुवाद हुन्छन अनि त्यसै त्यसै लामा भइदिन्छन दिन र रातहरु ।

उनका कथाहरुमा यस्तै भोगाइहरु छन्, सपनाहरु छन्, रहरहरु छन् । परदेशसंग जोडिएका साइनोहरु छन् संघर्षहरु छन् र असिमित तिर्सनाहरु छन् ।
इजरायलको जेरुसेलमदेखि पोर्तुगलको लिस्वोन सम्मका फराकिला बाटोघाटो, चोकहरु होइनन, अग्ला र चम्किला महलहरु पनि होइनन यी कथाहरुमा त पीडा छ, विवशता छ, गाँउघर, उकाली र ओरालीको सम्झना छ । माटोको गन्ध मिसिएको छ ।

प्रत्येक कथाकारले कल्पनाको रंगसंगै आफ्नै भोगाइहरु पनि मिसाएको हुन्छ कथामा । छातिभित्र उर्लने भावनाहरु आँधिवेहरीहरु, दुःखहरु, खुशीहरु र संवेगहरु सवै कथाका पात्रहरुलाई सुम्पिदिएर कल्पनाको खुल्ला संसारमा विचरण गर्न पठाएको हुन्छ उसले ।

इजरायलमा रहदा नेपालीपनको एकता र अपनत्वका लागि हामीले गरेका हरेक सामाजिक क्रियाकलापमा होस या साहित्यिक तिर्सना मेटन गरिएका प्रकाशनहरु, सबैमा सधै सक्रिय नाम थियो सीता बराल ।

यहाँका सडकहरुमा देखिने धेरै परदेशीहरुको हुलमा नितान्त भिन्न साहित्यिक तृष्णा र कलम प्रतिको मोह मैले त्यसबेला देखि नै देखेको थिए उनका आँखाहरुमा । कहिले आमा बनेर, कहिले छोरी त कहिले दिदीवहिनी । इजरायल बाट निस्कने पत्रिकामा वारम्वार छाइरहने यी चेलीसंग मेरो साहित्यिक सामिप्यता यति घनिष्ट रह्यो की आज उनको यो संग्रह मेरा लागि कुनै चेलीले माइतीलाई पठाएको कोशेली भन्दा कम छैन ।

आज फुकाइरहेछु यो कोसेली, जसको शिर्षक राखिएको छ भुन्टी । मनभित्र असिमित ज्वारभाटाहरु बोकेर हिडने धेरै पात्रहरु छन् यस संग्रह भित्र । ती कतै आगोले डढेर राख जस्ता देखिन्छन त कुनै वसन्तको पालुवा झै चन्चल । हरेक पात्रहरुमा कल्पनाशील आँखाहरु छन ति कहिले खुशीका त कहिले दुःखका आँसुहरू वनेर पोखिन्छन् ।

विविध धरातलका सस्कृतिका र पृथक प्रकृतिका कथाहरु संग्रहित छन्, भुन्टी कथासंग्रह भित्र । यी कथाहरु म आजमात्र होइन बर्षौदेखि निरन्तर पढ्दै आइरहेको छु ।

इजरायल पोर्तुगलको वैदेशिक रोजगारको यात्रा । यो त भूगोलको विशाल नक्शामा केवल सानो पाइलामात्र हो तर आफ्नो सुन्दर भविष्यको कल्पनामा घर छाडेकी आमाहरुले देख्ने असंख्य सपनाहरुको संकलन हो यो संग्रह । आज कैयौ भुन्टीहरु भविष्य खोज्न विदेशिएका तिनै आमाहरुको प्रतिक्षामा वसेका छन् र सिंगो देश तिनै भुन्टीहरुको प्रतिक्षाको कथा भएको छ ।

अनुभूति भोगाई र स्मृतिहरुलाई अक्षरमा कुँदेर जीवन दिने यि कलाकारको म हार्दिक सम्मान गर्छु र उनले अझै धेरै हिड्नु छ अक्षरका पाईलाहरु, साहित्यका बाटोहरु र पहिल्याउनु छ हामी बाँचेको धरातलमा कोरिएका मानचित्रहरु र उघार्नु छ सम्भावनाको क्षितिज । साहित्यको यात्रामा लम्कीएको यो साहिसिक नारी कलमलाई मेरो हृदय देखि नै शुभकामना ।

कृष्णपक्ष
hi@kirshnathapa.com
Next Story: Older Posts Home

मोड --एउटा स्वाभिमानी लेखक

No comments

Sunday





नेपाल चौतारीको मीठो स्मृति आज एकपटक पुन दोहोर् याउन मन लागेको छ । त्यो चौतारी जहाँ सपनाको रित्तो थैलो बोकेर इजरायल छिर्ने परदेशी मनका कथा कविता लेख रचनाहरु छापिन्थे । जहाँ समय र परिस्थितिका बाध्यता र विवशता या हाँसो खुशीका अनेकौ भावहरु प्ााेखिन्थे । साच्चै इजरायल प्रवासको त्यो पहिलो पत्रिका परदेशीहरुको छात्तिभित्र झांगिएको माया र अपनत्वको शित्तल छहारीकै रुपमा स्थापित थियो । त्यो चौतारी मन विसाउने चौतारी थियो ।

"कृष्ण भाई ! तपाइ के विषयमा लेख्दै हुनुहुन्छ यसपाली तयारी गर्नु भयो कि छैन?
एउटा मीठो उत्साही र प्रेरणादायी आवाजमा सम्पादक दाजु नयन्द्र चेम्जोङ्ग सोध्नुहुन्थ्यो । अनी अल्छी गरेर हप्तौ केही नलेखी त्यतिकै बसेको बेला पनि ढाँटेरै भनिदिन्थे - दाजु तयारी हुनै लाग्यो । बिदामा आउँदा लिएर आउछु है ।

त्यसपछि हतार हतार घर जान्थेँ र लेख्न बस्थेँ कर्तब्य वा जिम्मेवारीकै कुनै मीठो अँकुश या उत्प्रेरणाको जादुले ताने जस्तो ।

ती हरेक अँक प्रकाशन पूर्वका दिनहरु हुन्थे । त्यसबेला अहिले झँै हातहातमा ल्यापटप छ्यासछ्यासती थिएनन् । कसैले केही छपाउन चाहे पहिले कापीमा कोथ्र्याै । र सप्तहान्तको दिन गाँउघरको कुनै रमाइलो मेला नै विसा्रउने गरि नेपालको जमघट हुने लेविन्स्की पार्कमा पुग्थ्यो । अनि एक पटक साथीलाई पढेर सुनाउथ्यो । त्यसपछि उसको रचना पार्कको सिधा अगाडिको बाटो भएर नयन्द्र चेम्जोङ्गको अपार्टसम्म पुग्थ्यो । अनि उहाँको कम्प्युटरमा टाइप भएपछि नेपाल चौतारीका प्रकाशित हुन्थ्यो ।

स्वदेश छँदा आफ्नै अन्तरमनका गुनगुन यसो कहिँ कतै छपाउने वा कसैलाई सुनाउने बाहेक लेखनलाई खास महत्व मैले कहिल्यै दिएको थिइन । समयान्तरमा जब सिमाना नाघेर इजरायलको विरानो माटोमा पाइला टेकेँ र नेपाली पत्रिकामा आफ्ना भाव विचारहरु पोख्न थालेँ । सम्भवत त्यसपछिमात्र मेरो साहित्य प्रतिको अभिरुचि अझ धेरै बढ्न थाल्यो । आत्मा साक्षी राखेर भन्नु पर्दा- लेखनका निम्ति चेम्जोङ्ग दाजुका हरेक आग्रह अनुरोध वा झकझकाइहरु मेरो कलम यात्राका कोशेढुंगाहरु थिए । प्रेरणाका अमुल्य श्रोतहरु तिनै थिए ।
इजरायल प्यालेस्टाइन संघर्षको जरो खोतल्ने प्रेम धर्म युद्ध र इतिहासका कथाहरु लेख्ने वा सुनका जेरुसलायमको बयान गर्ने लेखकको रुपमा इजरायलको नेपाली समुदायमा मलाई धेरैले चिन्न थालेका थिए । संक्षिप्तमा भन्नुपर्दा मेरो लेखकीय चिनारीको पछाडि कसैको केहि हात थियो भने त्यो उनै अग्रज दाजु नयन्द्र चेम्जोङ्गको अहं भूमिका थियो र इजरायलमा म जस्ता अरु थुप्रै थिए ।

आज उहाँको जीन्दगीका भोगाइहरुको एउटा प्रतिविम्ब एउटा दस्तावेजबारे सस्मरणात्मक डायरी ूमोडू मेरो अगाडि छ र म भूमिका कोर्न वसेको छु । उहाँले पहिले नै भन्नुहुन्थ्यो- भाइ मेरो पुस्तकमा म भूमिकाको रुपमा तिनका भावनाहरु पनि समेट्नेछु जो सधैँ मेरा लेखका असल पाठक रहे जो मेरो सुभेच्छुक या शुभचिन्तक रहे ।

हो म एउटा पाठक हुँ उहाँको । उहाँका संस्मरणहरु समायिक लेखहरु सधैं पढ्ने गर्छु । उहाँको जीवनमा समयले कोरेका अहँ स्मृतिहरु जस्ताको तस्तै ूमोडू भन्ने पुस्तकमा लेख्दैछु । यो भूमिका भन्दा पनि खासगरी उहाँ प्रतिको आदर वा सम्मान हो प्रेम हो ।
मोडभित्र एउटा ब्यक्ती नयन्द्र चेम्जोङ्गका भोगाइहरु म्ाात्र छैनन् एउटा विवश परदेशी एउटा जागिरे वा समयको अन्यौलतामा रुमल्लिदै हिडेका पथिकहरुका आरोह अवरोहरु उद्धरित भएका छन् यहाँ । वर्षौ विदेशियर विताएका समयका पीडाहरु लेखिएका छन् । मोड ती नेपालीहरुको प्रतिनिधि भावना हो जस्ले कुनै न कुनै बेला पराइको श्रम शिविरमा आफुलाइ उभ्याएको छ । चाहे त्यो अरब होस चाहे मलेशिया चाहे कोरिया वा इजरायल अनि उसले त्यो सिलसिलामा फरक जाति भाषा धर्म वा फरक राष्ट्रियता र परिचय हुनुको तितोपना भोगेको छ । मोड पढ्दा ती सबैको आफ्नै कथा जस्तो लाग्छ ।

वहाँका लेखहरु धेरै पहिले देखि पत्रपत्रिका वा अनलाइन साइटहरुमा पढिदै आएको हो । उहाँका लेख पढ्दा र त्यसभित्र डुब्दा कहिल्यै अघाइदैन । अन्त्यसम्म छाइरहन सक्नु नै उहाँका रचनाका विशेषता हुन ।

सम्झौताका धेरै घुम्ति र मोडहरु पार गरेर यहाँसम्म आइपुग्दा मान्छेको जीवन आफै एउटा उपन्यास बन्दो रहेछ । संस्मरणात्मक कृति मोडभित्र मैले त्यस्तै पाएको छु । नियतिले पुर् याएको प्रत्येक मोडहरुमा लेखकले जीवन खोजको छन् । जीउनुको अर्थ र स्वाभिमान खोजेका छन् । एउटा ब्यक्तिको वैयक्तिक भोगाई अनुभव र भावनाहरुको यो संस्मरणात्मक किताबभित्र धेरै थोक समेटिएका छन् । यी भित्र घरपरिवार गाउँ वा नोस्टाल्जिक गुम्फन त छदै नै छ तर त्यसभन्दा ज्यादा समसामयीक विचार अनुभव र चेतना वा चिन्ता धेरै प्रकट भएका छन् । इजरायल भूभिबाट धेरै नेपालीहरुले लेखन या साहित्य कर्मलाई अंगालेका छन् । पुस्तक पत्रिका प्रकाशन गरेका छन् । र यस क्षेत्रबाट आएका नेपाली कृतिहरुमा ूमोडू एउटा विशेष र संग्रहनीय कृति हुनेछ भन्नेमा म विश्वस्त छु ।

नयन्द्र चेम्जोङ्ग स्वभिमानी लेखकको नाम हो । इजरायल वसाइको यो अवधिभर उहाँले कहिल्यै कुनै वहकाउ या उद्येश्यद्धारा अभिप्रेरित भएर गलतको साथ दिनु भएन । असललाई असल र खराबलाई खराब भन्ने र ब्यवहारमा पनि त्यस्तै उतार्ने उहाँको स्वभावलाई कतिले रिसाहा र घमण्डीका रुपमा पनि अथ्र्याए । तर अनेकौ गुट र उपगुट भइरहने मान्छेको समाज अझ विशेष गरी नेपाली जातिको समाजमा जस्तै घडिमा पनि आफ्नो अडानवाट कहिल्यै विचलित नहुने व्यक्तित्व हो नयन्द्र चेम्जोङ्ग । उहाँको कृति मोडले यस्तै जीवन र संघर्षका धेरै अनुभवहरु लेखेको छ ।

सरकारी जागिरे भएर विताएका पुराना दिनहरु सम्झदै उहाँले कतै लेख्नु भएको छ ।

"अझ सरकारी नोकरी कालमा खर्चेका कार्यशैैैली नै चर्चा परिचर्चा गर्ने हो भने त मैले नागरिकहरुलाई ढाट्ने छल्ने झँझट दिने हैरान बनाउने घुषखोरीमा स्खलित हुने काम कहिलै भएन । जीवनभर म गर्बकासाथ छातीमा हात राखेर भन्न सक्छु । मेरो जीवनले भोगेका सैंयौ आरोह अवरोहमा मेरो दशकको लामो सरकारी नोकरीको कार्यकालभरि एउटा कुलोको संग्लो पानी झंै बहेर सििाचत गरँे । जागिरलाई चितााजली दिदाँसम्म आफूलाई धमिलो बनाईन । मैले मेरो जीवनमा गर्ब गर्न सक्ने गौरब भने पनि कमाएको सम्पत्ती भने पनि आत्मसन्तुष्टि भने पनि त्यही र त्यत्ती हो । जब जब म जीवनको भोगाईहरुदेखि थकित भएर हार खाएको अनुभव गर्छु यी स्मरणहरुनै मेरा जीवन क्रमका गतिलो उर्जा बनेर आइदिने गरेका छन् ।"

र त्यो उर्जा निरन्तर रहिरहोस
हार्दिक शुभकामना !

कृष्णपक्ष
इजरायल ।
Next Story: Older Posts Home

ममताकी खानी सुमित्रा

No comments

Friday



ममताकी खानी सुमित्रा


बादल उठी अकाश ढाक्यो मेघ पनि गर्जियो !
थिएन ओत ढाकिगो देश असिना बर्षियो !!


अविरल सिर्जनाका कोशेलीहरु पस्किएर सामाजिक संजालहरुमा बाँडिरहने र प्रवास वसाइको यो व्यस्तताको वावजुद पनि हरपल साहित्य सिर्जनामा रमाइरहने साहित्य साधिका सुमित्रा पौडेलसँग जब प्रत्यक्ष साक्षात्कार भयो, त्यसपश्चात मैले लेखिकाभित्रको सुकोमल भाव जस्तै व्यवहारमा पनि अझ सरल, मृदुभाषी र ममतामयी व्यक्तित्वका रुपमा पाएँ ।

कथा कविता गीत गज़ल सबै प्रकारका रचनाहरु पढेको छु मैले, सुमित्रा पौडेलका हरेक रचनाहरु भित्र सघन विचार, हार्दिक गहिराइ र उच्चतम चेतना प्रवाहित भएको महसुस गरेको छु, जीवन बगेको महसुस गरेको छु । साहित्य सिर्जना त्यस्तो सरल छैन जो भावुक भएर कुनै प्रेमीले प्रेमपत्र कोरेजस्तो होस् यद्यपि ती हृदयमै बग्ने भावनाका वेगहरु नै हुन् तर जसलाई चिन्तन, कला, सौन्दर्य, विचार र चेतनाका परिधानहरुले बिम्बहरुले सजाउछ लेखक । यो तथ्यलाई लेखिकाले स्पष्ट मनन गरेकैले पनि उनका सिर्जनाहरुमा तिनको विशिष्ट संयोग म पाउँछु ।

धेरै अगाडी आध्यात्मिक बिषयको एउटा कृति पस्किएर लेखिकाको रुपमा उभ्याई सकेकी साहित्यकार पौडेलका सिर्जनाहरुको सबभन्दा जीवन्त तत्व सरलता र स्पष्टता हो, ती नितान्त प्राकृतिक छन जसमा कृत्रिमताको लेश सम्म लागेका छैनन् । ती निकै भावनात्मक छन, मार्मिक छन र लयात्मक छन । ती जीवन भोगाई र समयका जिउँदा जाग्दा परिवेशका चित्रहरु हुन्, नियति र परिस्थितिका प्रतिबिम्बहरु हुन् ।

प्रवासभूमि इजरायलबाट धेरै कृतिहरु प्रकाशित भै रहेका छन, यो उपस्थितिले डायोस्पोरिक र मूलधारको साहित्यमा स्थान बनाउदै लगेकोमा हामि जति खुसि भएका छौं, त्यति नै हामीले पस्कने साहित्यको स्तरीयतामा सचेत हुनु जरुरी छ । ममताको आंचलभित्र समाहित मर्मस्पर्शी भाव र लोक लयमा आधारित यी मिठा काव्य बान्कीहरुमा हराई सकेपछि म विश्वस्त छु यो कृतिले नेपालि साहित्य भण्डारमा एउटा महत्पूर्ण कोशेली थप्नेछ ।

इजरायलको सडक किनारमा उभिएका रुखहरुमा फूल फुल्नु, झर्नु या ऋतुले परिवर्तनका रंगहरु बोकेर ल्याउनु यी सामान्य प्रक्रिया हुन् समय र मौसमका । जसमा अभ्यस्त भैरहँदा कतिपय आँखाहरु छेउका खेल उद्यानहरुमा रोकिएर टोलाएको देखेको छु मैले । सप्ताहान्तको विदा मनाउन लेविन्स्किको चिल्ड्रेन पार्कमा निस्कदा पनि आफ्ना घरका लालाबालाको ममतामयी सम्झनामा भित्र भित्र भक्कानिएका कति मनहरु होलान, कति आँखाहरु रसाएका होलान ? मातृत्व र ममताको यो कारुणिक चित्र विदेशिएका चेलीहरुको आँखा भरिभरि कुँदिएका छन ।

नारी मनको यो परिवेश, यी रसिला आँखाहरु र सुमित्रा पौडेलको कृति ममताको आंचल बीच एउटा भावनात्मक निकटता अनायास महसुस गर्छु म । कुन आमालाई मन हुन्छ, ममताको आँचल रित्तो रित्तो बनाएर परदेशको यात्रा गर्न ?



बर्बर आँसु झार्दछिन् आमा बोल्न नि सक्दिनन् !
छल्कन्छ भित्र ममता खानी खोल्न नि सक्दिनन् !

हे प्यारी छोरी ! नभन त्यसो निष्ठुरी छैन मन !
भविष्य तिम्रै सोचेर आएँ सुखलाई हैन धन !!



शिर्षक र परिवेशलाई यसरी जोडी दिएँ मैले, यद्यपि ममताको आँचल काव्य संग्रह एउटै बिषयमा मात्र केन्द्रित छैन । प्रेम,सौन्दर्य, मातृत्व, वियोग, विवशता, राष्ट्रप्रेम, विद्रोह जस्ता सबै खाले बिषयहरु समेटिएका छन यो संग्रहमा । इजरायल भूमिको डायोस्पोराबाट सिर्जित कृति "ममताको आँचल" र ममतामयी सर्जक सुमित्रा पौडेललाई लाख शुभकामना ।


कृष्णपक्ष
इजरायल
Next Story: Older Posts Home

कति मिठो रहर

No comments



कति मिठो रहर

इन्टेरनेटबाट नै शुरु भयो हाम्रो परिचय । फेसबुकका नोटहरु र ब्लगका भित्ताहरुमा सुन्दर गजल लेखेर सजाउने भगवती बस्नेत, जो इजराइलमा हुनुहुन्थ्यो । त्यसपछि उहाँको साहित्यिक अभिरुचि र साहित्यिक प्रेमले हाम्रो सामिप्यता अझ बढ्यो । हामीलाई एउटै यात्रामा डोर्यायो एउटै संस्थामा आबद्द् भई साहित्यिक सहकार्य र हातेमालोमा त्यो मिठो गजल लेख्ने गजलकार भगवती बस्नेतको साथ आज सम्म निरन्तर् रहिरहेको छ । एउटै देशमा रहेर पनि टाढाको शहर र त्यस्तै सधैं ब्यस्त बनाइरहने कामको प्रकृतिले हाम्रो सम्पर्क भेटघाट र भौतिक उपस्थिती पातलो हुन्थियो यदपि साहित्यिक कार्यक्रमका प्रत्येक सूचनालाई पछ्याउदै उहाँ बिदा मिलाएर आउनु हुन्थ्यो तेल अभिभ सम्म ।

प्रवासमा रहेर नेपाली साहित्यलाई माया गर्ने धेरै मनहरु मध्ये भगवती बस्नेत पनि एक हुनुहुन्छ । झरी, बादल र दौड्धुपको प्रवाह नगरी साहित्यिक भेलाहरुमा यथासक्य सहभागी हुन रुचाउनु हुन्छ उहाँ । बिगतका केही बर्षहरुसँग समयको रफ्तारलाई तुलना गरेर हेर्छु, सूचना र प्रबिधीले हामीलाई कति नजिक बनाइ दिएको छ आज जहाँ जुन अवस्थामा भएपनि, जहाँ पुगेपनि हरेकपल डिजिटल भलाकुसारी गर्न सकिने । धन्य ईन्टरनेट !! यस्तै एक साँझ थियो मेरो कम्पुटरको झ्यालमा यो पुस्तककी गजलकार एउटा सरप्राइज भन्दै टुप्लुक्क झुल्किनु भयो । सरप्राइजको पोको खोल्दा त्यहाँ साहित्याकार तथा सुन्दर कलाका धनी रमेश पौडेलका कुचीहरु द्वरा सजिएको अति नै सुन्दरतम आवरण थियो जहाँ लेखिएको थियो "रहर भो जिन्दगी "

साचै त्यो सरप्राइज नै थियो मेरा लागि। भगवतीजीले गजल संग्रह प्रकाशन गर्ने मनसाय सहित आवरण समेत तयार गरिसक्नु भएको देखेर म अत्यन्तै हर्षित भए । उस्तै स्थिति अङ्गालेर एउटै देशमा परदेशी जीवन् बिताइ रहेका थियौ हामी धेरै सर्जकहरुले इज्राइलको प्रवासमा सिर्जना गरेका कृतिहरुले नेपाली साहित्यको भण्डार भर्ने काम भएको छ । भगवती बस्नेतको यो संग्रह प्रकाशनले पनि डायस्परिक साहित्यमा एउटा महत्वपुर्ण भूमिका राख्ने छ भन्ने मलाइ लागेको छ। डायस्पोराबाट सिर्जित् धेरै सिर्जनाहरुमा परदेशिनुको पीडा , गृहबिरह वा घर तथा देशको माया, जीवन क्रममा भोगेका संघर्सका यस्तै भावहरु सागरको पानी जस्तै सल्बलाएका हुन्छन् प्रतिबिम्बित भएका हुन्छन् र परदेशी भएर बाँचेका घाम छायाँहरु कोरिएका हुन्छन् ।


परदेशमा बिझाएको कहर भो जिन्दगी
सुख खोज्दै भौतारिने रहर भो जिन्दगी

परदेश टेकेपछि गाउँ सम्झिएँ
तिमीलाई भेटेपछि गाऊ सम्झिएँ


नेपाली साहित्यमा गजल लेखनको ठुलो बाढी आएको छ । यस बिधामा धेरै प्रयोग परिमार्जनहरु भएका छन् र परिपक्कता पनि आएको छ गजलमा । पहिले गायनका हिसाबले अत्यन्त निरासाजनक् स्थिति रहेको नेपाली साङ्गेतिक क्षेत्रमा पनि पछिल्ल्लो दशकमा गजल गाउने प्रचलन बढदै गएको हामी पाउन सक्छौ । गजलको लोकप्रियताको यो भेलमा एउटा लहर बनेर आएको भगवती बस्नेतको आगमानलाई पक्कै नेपाली गजल क्षेत्रले हार्दिकताका साथ स्वागत र स्वीकार गर्ने छ। "रहर भो जिन्दगीमा" समेटिएका गजलका शब्दहरु सरल छन् सुन्दर छन् र आत्मिय छन् । भगवती बस्नेतका सबै गजलहरु स्वभाबिक र सम्प्रेशणीय र सलल बग्ने भाषाशैली भएकोले पनि पाठकलाई भावगत अन्यौलतामा राख्ने काम गर्दैनन । सहजै मन पनि छुने खालका गजलहरु छन् । परदेश लागेपछि घर देशको सम्झना र चिन्ताले सताउँछ भन्छन् कतै कतै गजलमा देशको चासो र चिन्ता पनि त्यसै गरि पोखिएको छ।


आयो देशमा लहर र आफै ढल्कियो फेरि
पुरानै पाराको अशान्ति अझै बल्झियो फेरि

आज भोलि माग्ने भन्दा लुट्नेहरु महान भए
लुकिछिपी मान्छे मार्ने कुट्नेहरु महान भए



परम्परागत मन्यता अनुरुप हेर्ने हो भने गजल नितान्त श्रङ्गारिक बिधा हो । पछिल्लो समयमा यस्मा संघर्ष,बिद्रोह, समाज, राजनीति जस्ता हरेक बिषयले प्रबेश पाउन थाले पनि बढि प्रेमकै गजलहरु लेखिएका छन् र ती सुहाएका पनि छन । उहाँका गजलमा पनि प्रेम बियोग् तथा मिलनका अभिलाषाका भावहरुले प्रधानता पाएका छन। जस्तै



अति याद् आउछ तिम्रो नदेखेको धेरै भयो
लजालु त्यो मुहार तिम्रो नहेरेको धेरै भयो

तिम्रो माया पाए भने संसार त्यहि मेरा लागि
बसन्तको हरियाली बहार त्यहि मेरो लागि



नारी पुरुष लैगिक भेदभावको बिभेद्कारी स्थिति र पुरुषप्रधान मानसिकताले हाम्रो समाजलाई बर्शौ अन्धकारमा राख्यो । आज पर्यन्त यस्ता धेरै उदाहरणहरु भेटिएका छन् जस्ले नारीलाई दोस्रो दर्जाको नागरिक सरह व्यबहार गरेको छ। पुरुष सरह काधमा काध राखेर हरेक क्षेत्रमा उभिदा उभिदै पनि समाजमा आज सम्म बिद्दमान् त्यही असमानताको छायाले र त्यही पुरातन सोच र दिस्तिकोणले लेखकलाई पनि अरु नारी श्रष्टालाइ जस्तै छोएको छ । र त उहाँ प्रेरणाका नारीवादि गजलहरु कोर्नु हुन्छ ।



रुढिबादी पिजडामा रुक्नु हुन्न अब नारी
पुराना ती सस्कारमै झुक्नु हुन्न अब नारी

परिश्रीमी मेरो छोरी कमाएर फर्कदै छ
परदेशको अनुभव सम्हालेर फर्कदै छ



उहाँको गजलकारिताको सानो उदाहरण र नमुना शेरहरु भुमिकामा यति उदघृत गरेँ, जस्मा अनेक भाव बिषय र दृष्टिकोण प्रस्तुत गरिएका छन। आज गजल सुरा सून्दरीको महेफिलबाट बाहिर आएको छ । गजल हाम्रो आफ्नो भएको छ नेपालीपनको भएको छ। आफ्नै माटो र बाटोको भएको छ। भगवती बस्नेतका गजलहरु पनि त्यसरी नै आएका छन् । भावपक्ष अत्यन्तै सबल पाएको छु यधपी पहिलो र एउटै कृतिको आधारमा सम्पूर्ण गजलहरु यस्का बिधागत मान्याता र बिधनमामा खरो उत्रन सफल छन् भन्ने आशा राख्नु र खोज्नु कसैले पनि हुदैन् । ती क्रमश परिमार्जन हुँदै जानेछन केही त्रुटीहरु अवश्य छन् । तर गजलका सामान्य मान्यतालाई उहाँका हरेक गजलहरुले इमान्दारितापुर्बक पछ्याउने प्रयास गरेका छन् । इजराइलमा रहनु भएकी मित्र भगवती बस्नेतको गजल प्रकाशन गर्ने यो मिठो रहरमा मैले यति लेख्न पाएँ । उहाँको साहित्य प्रतिको उत्सुकता,आस्था र सिर्जना प्रतिको प्रेम अनि त्यो रहरलाई मैले पहिलेदेखि नै चिन्दै आएको छु । अब यो गजल संग्रहको प्रकाशन संगै सबै साहित्यिक मनहरुले पनि चिनू्न ।



कृष्णपक्ष
www.krishnathapa.com
Next Story: Older Posts Home

जब अनायास एउटा ध्वनि गुन्जन्छ …

No comments


जब अनायास एउटा ध्वनि गुन्जन्छ …॥

मेरा प्रीय मित्र हरि मानन्धरको काव्य कृति असूचित विम्ब ध्वनि प्रकाशन हुने खवरले एउटा मिठो उमंग कौतुहलता र खुशीको लहर हामी सबै साथी र सहकर्मीहरु मा´ लिएर आएको छ । विशेषगरि सामाजिक साजाल फेसबुक मार्फत भेटिएका थुप्रै साहित्यिक मनहरुमा ।

मित्र हरिसँगको सहकार्य सँगत आत्मियता र घनिष्ठताले म यति गर्वसाथ भन्न सक्छु उ हाम्रो व्यस्त समयको सकि्रय लेखक हो । जब नियतिका तिखा बाँणहरु प्रदेशिएका छातीहरुमा आएर बजि्रन्छ तब घर छाडेर आफ्नो परिचय खोज्दै विरानो शहरमा भौँतारिरहने जो कसैको संवेदनशीलता चुलिन्छ अनि कविता बनेर पोखिन थाल्छ । मुलुकको राजनैतिक अस्थिरता बेरोजगारी विसंगति र गतिहिनताले आज धेरै चेतनशील र संवेदनशील मनहरु भित्र काव्यको खातैखात थुपारीदिएको छ । हरि मानन्धर पनि सम्भावनाहरुको एउटा गतिलो उपस्थिति भएर उभिएका छन् । आगामी दिनहरुमा उनको लगन मेहनेत र नेपाली साहित्य प्रतिको समर्पणले यसलाई अ´ प्रष्ट बनाउँदै लग्नेछ ।

लेखन प्रकाशन र साहित्यिक चर्चा परिचर्चाको यो माहौलमा उनको यो सङ्ग्रह केवल मौसमी खहरे पक्कै बन्ने छैन भन्नेमा विश्वास गर्न सकिने प्रसस्त ठाउँहरु छन् । उनमा बढ्दै गएको काव्यिक सचेतता र मानव समाज प्रतिको संवेदनशीलताले साहित्य केवल सुन्दर मात्र नभई त्यसमा देश समय तथा सबै खाले व्यक्तिगत पीडा खुशी र भोगाईका सेरोफेरो आएरै छोड्छ भन्ने प्रष्ट्याउँदै गएको छ । समयले बनाएका सर्जकहरुमा समयकै पीडाहरु पोखिएका हुन्छन् समयकै चेतनाहरु सल्बलाएका हुन्छन् र हुनुपर्छ ।

ठेट नेपाली शब्दहरुको अभाव उनको काव्यहरुमा चन्द्रमाको दाग बनेर देखिएका छन् । फेरि काव्य विधा त्यस्तो विधा हो जस्ले भावनात्मक गहिर् याई र साहित्यिक उचाईको सघन अपेक्षा गर्छ । यसर्थ सर्जकबाट अभिव्यक्त विचारमा एउटा पृथक दृष्टिकोण र मान्यता प्रस्तुत हुनुपर्छ । वास्तवमा कृति कलाकर्मी र साहित्यिक प्रकाशनको उल्लेख्य बृद्धि भएको अवस्थ्ाा छ यतिखेर र यसो हुनु समग्रमा नेपाली साहत्यिको उत्थान हुनु उन्नयन हुनु हो । यद्दपि यस्तो प्रवाहमा गुणात्मकताको प्रधानता रह्यो भने मात्रै यसले साहित्यलाई सकारात्मक दिशातर्फ उन्मूख गराउँछ । जस्को महत्व र प्रभावकारिता असूचित विम्ब ध्वनिका सर्जकले बुझेका छन् र यो भीड पन्छाउँदै उनी अघि बढिरहेका छन् भन्ने मलाई लाग्छ । सर्जक समाजका पीडाहरु ब्ााेल्छन् । विवशताका कविता लेख्छन् र आफूलाई विवश घोषणा गर्छन् -कथा कविता र गजलहरुमा । त्यसपछि उनको यात्रा शुरु हुन्छ साहित्यका सिर्जनशील गोरेटाहरुमा ।
उनका सिर्जनाहरुको अर्को चिनारी सापेक्षिकता हो सरलता हो जो वास्तवकिताका धरातलमा बसेर कोरिएका छन् । युगीन यर्थथताको सपीममा बसेर रचिएका छन् । यसर्थ उनका रचनाहरु सामयिक छन् जसले काव्यिक गहनताको नाउँमा अनौठा र भ्रामक शब्दहरुको भीड जम्मा गरेको छैन र पाठकहरुलाई भावगत अन्यौलमा पारेको छैन । यसर्थ पनि उनका सिर्जनाहरु इमान्दार छन् ।

सिर्जना र साहित्यमा मौलिक स्पष्ट अभिव्यक्ति हुनुपर्छ सुरम्य र सुगम्य बोध हुनुपर्छ । त्यसो त आत्मरति आत्मतृप्ति वा क्षणिक चकाचौधकै लागि मात्र लेख्नेहरु पनि होलान् तर त्यस्तो यात्रा लामो हुँदैन । भाव संचेतनाका दृष्टिले पहिलो र एउटै कृतिको आधारमा उनका कविताहरु अब्बल छन् भनेर भन्न मिल्दैन र हुनुपर्छ भन्ने मान्यता पनि म राख्दिन । परिस्कृति सुधार र परिपक्वता समयक्रम अनुसार हुन्छ उनले त्यो चुनौतिको सामना गर्नुपर्छ र आगामी दिनहरुमा प्रगतिमा खरो उत्रनुपर्दछ ।

हरि मानन्धरको काव्य कृति असूचित विम्ब ध्वनिको नाउँमा थोरै दुई शब्द र्केन पाएँ आभारी छु । आगामी यामहरुमा उनको अरु अब्बल र अरु सब्बल रचनाहरुको रस्वादन गर्ने अभिप्सा झन पलाएको छ पढ्न पाइयोस् । यतिखेर साहित्यिक मनहरुमा कतै एउटा असूचित विम्ब ध्वनि मिठो गुिाजइरहेछ् …। गुिाजरहोस् ……॥ शुभकामना ।
कृष्णपक्ष
Next Story: Older Posts Home

मन जित्ने गीतकार

No comments

Wednesday



मन जित्ने गीतकार

इजरायलको प्रवास परदेशको यो यात्रा सँगै हिड्ने साथीहरुमा सुनिल सङ्गम सँगको भेटले यहाँको साहित्यिक गतिविधिलाई यौटा जीवन र उर्जा दियो । हाम्रो कलम यात्राको कोसेढुङ्गो बन्यो हाम्रो भेट । त्यही भेटघाटको सेरोफेरोले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलको जन्म भयो । यौटा साहित्यिक सर्कललाई सधैं जीवन्त राख्ने व्यक्तित्व सुनिल सङ्गम नै हुनुहुन्थ्यो ।

विरानो मुलुक दिनभर व्यस्तताले गाँजे पनि बाँकी रहेका कैयौं रातहरु वहाँले साहित्यिक संस्थाको स्थापना र सम्वद्र्धनमा लगाउनु भएको छ । यसरी नेपाल्ाी भाषा साहित्यको उन्नयन र श्रीवृद्धिका लागि सधैं दिलो ज्यान दिएर निरन्तर लागि पर्ने गीतकार सुनिल सङ्गमको गीतसङ्ग्रह यतिखेर हामी माझ आइपुगेको छ ।

गीतकार सुनिल सङ्गमसँगको परिचय लामो होइन यद्यपि उहाँका सिर्जनाहरुसँगको सामिप्यता वर्षौ जस्तो लाग्छ । भावहरुको सघन गहिराइ वहाँका प्रत्येक रचनाका विशेषता हुन् । त्यसबाहेक साहित्य कर्मप्रतिको समर्पण साहित्यिक जागरुकता र असल नेतृत्व क्षमता वहाँका वैयक्तिक विशेषता हुन् ।

सुनिल सङ्गमका धेरै गीतहरु संगीतवद्ध भइसकेका छन् । नेपाली साचार माध्यमले वहाँका सुमधुर गीतहरु दशकौंदेखि बजाइरहेका छन् । यौटा अति नै मार्मिक ह्दयस्पर्शी गीत जुन इजरायलको कुनै साहित्यिक कार्यक्रमको उद्घाटनको क्रममा गुिाजएको थियो-

थोपा-थोपा रगतमा तिम्रै माया सल्बलाउँछ
तिम्रो छोरो हेर आमा ममताको गीत गाउँछ

ममतामयी आमाको वियोगमा रचिएको यो गीत सुनिसकेपछि आँखा नरसाउने कमै थिए होलान् । आज म एकैसाथ धेरै उत्साही हर्षित र भावुक भएको छु कि रगतका प्रत्येक थोपा-थोपामा मातृत्व भावको प्रेम र स्नेह सल्बलाउने यही गीतको शीर्षकमा वहाँको गीतसङ्ग्रह पुस्तकका रुपमा आउँदै छ ।

गीतसङ्ग्रह को यो पाइला वहाँको एउटा सङ्ग्रहणीय र उल्लेख्य कृति बन्ने छ वहाँका गीतहरुको गहनता र मिठास अनुभूत गरेपछि यस्तो लाग्छ ती सबै प्रेम र आत्मियताका आभाषहरु हुन । यसबाहेक वहाँले नेपाली साहित्यमा विशेषगरी इजरायलको प्रवासमा धेरै योगदान दिनुभएको छ । त्यसका अगाडि यो सङ्ग्रह केवल यौटा सानो झिल्का मात्र हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलको अध्यक्षको हैसियतले होस् वा मेरो नेपाल द्वैमासिक पत्रिकाको प्रधानसम्पादक या अनेसासकै केन्द्रीय प्रकाशन अन्तदृ्रष्टिको सम्पादकको हैसियतले वहाँले गीत सङ्गीतको मात्र नभई समग्र नेपाली साहित्यको उत्थानका लागि गर्नुभएको योगदान हामीले कहिल्यै भुल्ने छैनौ । रातदिन नभनी साहित्य र साहित्यकर्मलाई आफ्नो अमूल्य समय खर्चेर वहाँले लगाउन भएको गुन हाम्रो नेपाली प्रवासले कहिल्यै भुल्ने छैन । यसर्थ पनि उहाँप्रति मेरो मन सधैँ प्रसंशाले भरिन्छ ।

प्रेम वियोग सौन्दर्य राष्ट्रभक्ति वा दर्शन भावका विविध आयाम र पाटोहरु छन् वहाँका गीतहरुमा । मिठासपूर्ण ललित अभिव्यक्तिका ६७ वटा सुन्दर गीतहरुले सजिएको यो सङ्ग्रह थोपा थोपाले साहित्यको लयात्मक विधा गीत सङ्गीतका पारखी जो कसैको मन पक्कै पनि जित्नेछ जसरी मेरो जितेको छ ।

कृष्णपक्ष
Next Story: Older Posts Home

आगो २

No comments

Saturday





शुभ कामना !

आगो - दीप्स शाहको काव्य भाव मात्र होइन, यो हाम्रो पिंढी, हामि बाचिरहेको परिवेश र युग चेतनाको प्रतिनिधि कृति हो । आगोभित्र पोखिएका रापिला, गहकिला बिचार र चेतप्रवाह्को सघनाताले कृति संगसंगै यसले प्रवासी या डायोस्पोरिक साहित्यको उचाईलाइ नै माथि पुर्याएको मैले महसुस गरेको छु ।

सिमाबाहिर कोरिएका साहित्यहरुमा स्तरीयताको औंला उठाउदै आएको मूलधारलाई दीप्सको अब्बल कृति आगोले निकै गतिलो जवाफ दिएको छ। जसमा कविले यस्थास्थितिमा रमाउने विसंगत र अन्यौल स्थितिप्रति दरिलो प्रहार र व्यंग्य मात्र गरेकी छैनन्, साथै आदर्श समयको र परिवर्तनको आकांक्षा गरेकी छन, कामना गरेकी छन ।

आगोका भर्भराउदा चेतनाका तापहरुको प्रसार र फैलावट रोकिएको छैन, अपार पाठक प्रेम र सम्मानले यो संग्रह दोश्रो संस्करण निस्कदैछ, नेपाली साहित्यका कविता कृतिका निमित्त आफैमा यो ठुलो हर्ष र गौरव हो । यहि खुसीमा मैले पनि दुइ शव्द अभिव्यक्त गर्न पाएँ । मेरो पिंढी कि ससक्त नारी हस्ताक्षर कवि दीप्स र उनको तेजिलो कवित्वलाई मेरो हार्दिक बधाई तथा शुभ कामना !

कृष्णपक्ष
Next Story: Older Posts Home
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI