Responsive Ad Slot

Showing posts with label Israel. Show all posts
Showing posts with label Israel. Show all posts

जलिरहेको हाइफा

No comments

Saturday

इजरायलमा भएका अनेकौँ युद्धहरुको साक्षी बस्यौँ हामी तर यसपाली नोभेम्बर महिना इजरायलको तेस्रो ठूलो शहर हाइफाको जंगलमा लागेको आगो मानव वस्तिसम्म फैलदा झण्डै ८० हजार मानिस विस्थापित भए । यसै पृष्‍ठभूमीमा लेखिएको भावना हो यो ।



आँखा अगाडि छ
जलिरहेको हाइफा
जलिरहेको इजरायल

हामी किन यसरी
प्रेम गरिरहेछौ ?
माटोको, खरानीको
र यी अनित्य भौतिक सँरचनाहरूको
र यो पन्चतत्वले बनेको नश्वर देहको ?


तिमीले सधैं भन्थ्यौ
अवश्यम्भावी छ अन्त्य
तर डढेर राख भएपनि
समस्त अवयवहरु
कहिल्यै नजलोस मान्छेको मन

नाचिरहेछन आगोका ज्वालाहरु यतिखेर
निर्ममता पुर्वक इजरायलका छातीहरुमा
जलिरहेछन घर, बनजंगल, बाटोघाटो र उद्यान
केटाकेटी खेल्ने चउर
पढ्ने विद्यालय र मानव सभ्यता .. !

जसरी धोकेबाज प्रेमी
तिरस्कारको आगो सल्काएर जान्छ,
र डढाउछ मनको दरबार
अनि प्रेमका सुन्दर महलहरु
त्यसरी नै
मानवता विरोधी
सभ्यताका दुश्मनहरु,
मान्छे बाँचेको
गाउँ, वस्ती र शहरमा
षडयन्त्रपुर्वक आगो लगाइरहेछन ।

सुन्यौ तिमीले ?
यी साइरनका आवाजहरु,
यी अग्नी नियन्त्रक जहाज र दमकलका स्वरहरु ??
किन लाग्छ मलाई सबैसबै
निरोको एकतमासे बाँसुरीको धूनजस्तो ?



Next Story: Older Posts Home

बुबाको फोन

No comments

Tuesday

कृष्णपक्ष 
विनाशकारी भुकम्प गएको दोश्रो दिन 
बैशाख १४ गते, इजरायल 


मुटुको केन्द्रविन्दु भएर
अविरल अविरल थर्किरहेछ, त्रासको भुइचालो
पहिरो गैरहेछ छातीका गह्राहरूमा देशजस्तै
र ढलिरहेछ्न सपनाका धरहराहरू ।


बुबा फोनमा भन्दै हुनुहुन्छ -
छोरा !
तैले पहिलो पाइला टेकेको
खेलेको, उफ्रेको र तँ हुर्केको त्यो आँगनमा
आज थुप्रिएको छ, खण्डहर भएर हाम्रो सानो संसार
छानोको एउटा सिङ्गै पाखो,
जो तैँले पोहोर पठाएको पैसाले छाएको थिएँ
अनि बार्दली र त्यसका बुट्टे रेलिङ्गहरू
मैले कति दुख र रहरले बनाएको थिएँ
जहाँ बसेर तँ सधैं पूर्वमा हेर्थिस - घाम उदाएको,
उत्तरमा टल्किएको - गणेश हिमाल,
अनि कोर्थिस चित्रहरू कापीका सादा पानामा
र भन्थिस - 'बुबा, हेर्नुहोस मैले धरहरा बनाएँ' ।


कतिबेला भयो,
हेक्का छैन छोरा
केवल घाम उदाएको र डुबेको देख्छु,
र हेक्का छैन कतिपल्ट हान्यो पापी भूँइचालोले
थाहा छैन कतिखेर निदाएँ,
सिमसिम पानीले रुझेको बुढो शरीर बोकेर
त्रासदी र कोलाहलको ताण्डव नाचिरहेको यो खुल्ला चौरमा ।
कतिखेर तेरी आमा निदाइ होली
जो आकासको झरीजस्तै रोइरहेकी थिई,
तिमीहरूलाई सम्झेर - एकपल झिमिक्क नगरी ।


रुझेको छु र पनि तिर्खा लागेको छ छोरा
बेस्सरी तिर्खा लागेको छ र पिउन मन लागेको छ
आशा र राहतको एक घुट्की पानी
कि कसैले आएर सुटुक्क भनिदेओस
बा अब केही हुदैन ढुक्क हुनुस
- सुन्न मन लागेको छ यस्तो मिठो बोली ।


भयको कालो बादल छाएको छ छोरा आकाशमा
त्यस्तो भय, जुन कुनै बेला
यहुदीको छातीमा मडारिएको थियो,
जीवन र मृत्युको अनिश्चितताको भय ।
र त्यस्तो अभिलाषा जिन्दगीको, त्यस्तो जिजीविषा
जो लडाइको मैदानमा गोलीले घाइते भएको
निरिह सिपाहीको मनमा बाँचेको हुन्छ ।


जिउँदै पुरियो पल्ला घरे जेठो
र निदायो कहिल्यै नब्युझने गरी,
मलामी गएर आएको छु,
घाइते छन दर्जनौं मानिसहरू, आइमाई र केटाकेटीहरू
सकेको सघाएको छु अस्पताल पुर्याएको छु ।


यतिबेला सोधिरहेको छु छोरा यो देशसँग
हामीले किन बेच्नु परेको होला ?
युवाका हातहरू परदेशका मरुभूमिहरूसँग
भोक र अभावका रेमिट्यान्सहरूसँग
तेरा पसिना र पौरखहरू
कुन रहरले साट्नु परेको होला ?
बालुवाको घरजस्तै भत्केर जाने सपनाहरूसँग ।


अनिश्चित र अनुत्तरित छन यी प्रश्नहरू
यो विनाशकारी भुइचालो जस्तै ।


बुबाको फोन काटिन्छ ...
पल पल उठ्छ र ढल्छ
सगरमाथाजस्तो भक्कानो छातीभित्र
जान्छ हिमपहिरो र छटपटीको ज्वालामुखी
र हुन्छ मन - पखेटा काटिएको चरा

यो विरानो भूगोलमा
लाग्छ अहिल्यै पखेटा पलाओस
उडुँ त्यहाँसम्म र बाडुँ हातहरू ।
हर्क्युलसले जस्तै थामुँ मेरो घर, माटो र जमीन
छेकुँ कुनै शक्तिले भूकम्पका धक्काहरू
पुछुँ रोगी आमाका आँसुहरू, उठाउँ भकारी र अन्नहरू,
दराज, लुगाफाटा र उहाँका दिनदिनै खाने औषधीहरू
र अँगालु जहान र सानो छोरालाई
जो पालबाट चुहिएको पानीले निथ्रुक्क भिजेर
रातभरि 'बुबु खाने' भन्दै रोइरहेछ र बर्बराइरहेछ जोरोले
'पापा भएको ठाउँमा जाम न मामु' ।


ए सम्बोधन !
कोसँग सोधुँ म यो प्रश्न,
कि किन हिडेर आएँ म यो लामो बाटो ?
कि किन लेखिस मेरो निधारमा परदेश ?
खेतका गह्रा र माटोसँग, हिलो र रोपाईंसँग असारसँग रमाउने मेरो श्रम
किन साट्दैछु म मरुभूमिका यी ताता बालुवा र नूनिला पसिनाहरूसँग ?


ए सम्बोधन !
कोसँग सोधुँ म यो प्रश्न ?




 आवाजमा सुन्नुहोस ..
 
Next Story: Older Posts Home

तिर्खा - इन्टरनेटबाट किन्न सकिने

No comments

Monday


मध्यपूर्वी देश इजरायलको पृष्ठभूमिमा आधारित भएर लेखिएका २३ थान कथाहरुको संग्रह "तिर्खा" अब इन्टरनेटबाट घरमै बसेर अनलाइन खरिद गर्न सकिने छ । केन्द्र भाग देखि टाढाका शहरहरु जेरुसेलम, हाइफ़ा, वीरशेवा लगायतका स्थानहरुबाट पाठकको अत्याधिक माग र छुट्टीको समस्यालाई ध्यानमा राखी यो सुबिधा दिन लागिएको हो । यो सेवा हाल इजरायलका पाठकहरुको लागि मात्र गरिएको हो ।

विगत लामो समयदेखि इजरायलमा रहँदा मैले रचेका छोटा छोटा कथाहरुको संकलन हो यो - तिर्खा कथा संग्रह । यहाँ परदेशी मनका तिता मिठा अनुभवहरु छन, प्रवासका पीडाहरु छन । बालुवाको बिस्कुन फिजाएर तिर्खै तिर्खा बाँच्ने शहरको कथा छ । विशेषगरी इजरायल प्रवास र परिवेशको चित्रण छ यसभित्र ।

तपाईंको अर्डर कन्फर्म भएपछि दुई दिन भित्र हामी तपाईंको पुस्तक तपाईंको ठेगानामा पोष्ट गरिदिनेछौं ।


पुस्तक खरिद गर्नको लागि तपाईंले साइडबारमा रहेको "Buy Now' लेखिएको बटन थिचेर आफ्नो सही विवरण भर्नु पर्नेछ । पुस्तक तपाईंको घरमै आउनेछ ।


Next Story: Older Posts Home

नूर एल आइन (कथा)

4 comments

Friday


 बिगत लामो समयदेखि यो ब्लग अपडेट थिएन । कृष्णपक्षको ब्लगतिर कहिलेकाही चियाउने गर्नु भएको भए पक्कै याद गर्नु भएको होला । 

विदेशको ठाउँ बाध्यताहरू धेरै छन, यद्यपि आफ्नो रुची र रहर पुरा गर्न भने मानिसलाई कुनै पनि कुराले पनि छेक्दैन रहेछ । औपचारिक रुपमै कम्प्युटर सम्बन्धी अनलाइन अध्ययन गर्न थालेको छु । व्यस्तताका हजार बहाना थपिएका छन - क्लास, भिडियो लेक्चर, फोरममा चल्ने शैक्षिक बहसहरू, असाइन्मेन्ट ... त्यसमाथि आफ्नो कामको जिम्मेवारी त छदै नै छ । यतिखेर घरमै बसी बसी सिक्न सकिने  केही छोटा कोर्षहरु गरिरहेको छु । 


रुची त लेखनमा पनि हो, यद्यपी चाहेर पनि यसलाई प्राथमिकतामा पार्न सकिएको छैन । लेख्नुपर्ने बिषयहरु धेरै छन, शब्द बनेर पोखिन आतुर कति भावनाहरु मनभरी उकुशमुकुश भरिएका छन । तर तिनलाई व्यक्त गर्न नजुरेको अवस्था लामो समयसम्म रहिरह्यो । यो कथा पनि धेरै महिना पहिलेको कथा हो । नेपाली तैप गर्न एकदम अल्छी लाग्छ । पहिले जस्तो उत्साह नभएर पनि होला, तर प्रयास सधैं रहनेछ । प्रतिक्रिया लेखेर हौसला दिनु नै हुनेछ भन्ने आशा छ  ।  




गलिलको सामुद्रिक किनार भएर बग्ने चिसो बताससँग ठोकिएर नूरका कपालहरु छालजस्तै तरंगित भैरहेका थिए । बाक्लो आँखीभौं र परेला भएको सुन्दर आँखाको चित्र ट्याटु खोपिएको थियो उसको बायाँ पाखुरीमा, पृष्ठभूमिमा थियो आगो ओकलिरहेको सूर्य । यसबाट सहजै अनुमान लगाउन सकिन्थ्यो नूर पुरै हिप्पी स्वभावकी थिई ।  

 समुन्द्र जस्तै गहिरा नीला तर चञ्चल थिए नूरका आँखाहरु । अरबी भाषामा नूर भनेको ज्योति हो, उसले पहिलो भेटमै बताएकी थिई । र मैले उसकै भाषामा यो गीत गाउन जानिसकेको थिएँ

खबिबी खबिबी या नूर एल आइन, या सकिन खयाली
(प्रिय ! तिमी मेरो आँखाको ज्योती हौ, जो कल्पनामा सधैं छाइरहन्छौ )

मैले यसो भन्दा नूर अलिअलि मुस्काउथी र अलिअलि लजाउथी । उसको  मुस्कान जोर्डनबाट बगेर इजरायलको गालील सागर भेट्न आइपुगेको यार्दन नदीजस्तै पवित्र र निस्छल थियो, कम्तिमा मलाइ यस्तै लाग्थ्यो । मलाइ यो पनि लाग्थ्यो कि यो सुन्दर भूमिको छातीभित्र लुकेको रणसंग्रामको कथा र रगतको इतिहाससँग उ बिल्कुल अनभिज्ञ छे, तर त्यो गलत थियो ।

हामी यतिखेर इजरायलको उत्तरी भूभागमा अवस्थित तिबेरिया जिल्लाको 'एल हाम्मा' मा छौँ । सिरिया , जोर्दान र इजरायल तीन राज्यहरुको मध्यभागमा थियो यो सानो गाउँ, उहिल्यै निर्जनीकृत भएको । यसलाई गाउँ पनि के भन्ने ? वस्ती भन्दा पनि यहाँ पार्क र उद्यान हरु थिए, पर्यटकीय रिसोर्ट थिए र थिए खण्डहर झैं देखिने केही भत्किएका घरहरु .. गैरर्फौजिकृत यो इलाका एल खाम्मामा आइपुगेपछि नूर एकाएक भावुक भई - कुनै कालखण्डमा युद्धको चोटले घाइते भएका निर्जन खण्डहर तिर इशारा गर्दै उसले भनी - यो मेरो पुर्ख्यौली गाउँ हो, यहाँ मेरो पुर्खाको रगत बगेको छ । आउ नियालेर हेर, इजरायली र सिरियाली सैनिकले कुल्चेका बुटका छापहरु ताजै छन ।  

--------------------

कुन संयोगमा कहाँ कसरी यो अरब युवतीसंग भेट भयो यकिनका साथ् भन्न सक्दिन तर यो सत्य थियो कि उसंग भेटेपछि यो परदेश वसाई या मेरा दिनहरु धेरै सहज बनेका थिए ।

पटक पटक रक्तपातपूर्ण संघर्ष र युद्धको रणभूमि बनेको अल- खाम्माका बासिन्दाहरु कसरी विस्थापित भए ? उसले किम्वदन्तीजस्ता लाग्ने इतिहास सुनाइ । कुनै समय अल खाम्मा प्यालेस्टाइन राज्य अन्तर्गत पर्ने अरबी गाउँ थियो । यहुदी र क्रिश्चियन नगन्य थिए । इजरायल सिरियाको संघर्ष चर्कदै जाँदा सिमानाको यो वस्ती पटक पटक किचियो ।  १९४९ पछिको युद्धविराम र सन्धी पश्चात यो इजरायलमै गाभिएपनि सिरियाले पुन कब्जा जमायो र इजरायली घुसपैठ प्रतिबन्ध गरयो । १९६७ मा इजरायलले फेरी यस क्षेत्र अतिक्रमण गर्यो र आफ्नो बनायो ।

इजरायल सिरियाबीच अनेक  संघर्षहरु भए, सन्धीहरु पनि भए । पटक पटक दुवै तर्फका सैनिकहरुले युद्ध विरामका सन्धीहरु भंग गरे घुसपैठ गरे र आआफ्नो स्वामित्वको दावी गरे । अल खाममाको देश कहिले प्यालेस्टाइन लेखियो, कहिले सिरिया त कहिले इजरायल  । यही प्रक्रिया दुखेपछि सैयौं घरपरिवार विस्थापित भए र अरबवस्ती निर्जन भयो ।

------------------

आज संयुक्त राष्ट्र संघद्वारा गैरफौजिकरण गरिएका क्षेत्र अन्तर्गत पर्थ्यो यो भुमि ।जहाँ न इजरायल न सिरिया कसैका तर्फबाट पनि हतियारसहित सैनिक या गैरसैनिक घुसपैठ प्रतिबन्धित थियो । संयुक्त राष्ट्र संघीय संघर्ष विराम पर्यक्षवेक्षण संगठन (UNTSO ) को जागिरेका रुपमा बिभिन्न देशका शान्ति सेना र कर्मचारीहरु थिए । दुइ बर्ष देखि निशस्त्र कार्यरत हुँदा म आफू पनि नेपालको सैनिक अधिकृत हुँ भन्ने बिर्सिन थालिसकेको थिएँ । यस क्षेत्रको सुरक्षा र सम्पदाको संरक्षणार्थ यी दुइ देशबीच भएको सन्धीका प्रत्येक बुँदा र अनुच्छेद हामी निशर्त पालना गरिरहेका थियौं ।

विदेशमा पट्यारलाग्दा कुराहरु धेरै थिए, जहाँ पनि एक्लै भएजस्तो । ठुला शपिंग मल, भिडभाडयुक्त बसपार्क र ट्रेन स्टेशन या हजारतिर पुगिने चौबाटोहरु नै किन नहोउन त्यहाँ ओइरिने मानिसको भीड र ठोक्किन आउने पत्येक आँखाहरु बिराना लाग्थे, चिसा लाग्थे ।

'नूर' भेटिए पछि अलिकति रंग थपियो, खुशी थपियो । गुम्सिएर बसेका मनका भावनाहरु निर्धक्क पोख्न र विश्वास गर्न सक्ने साथी भेटिएजस्तो लाग्न थालेको थियो । मेजरको बारम्बारको चेतावनी बाबजुद पनि म धेरै पटक व्यस्त समय चोरेर निस्कन थालेँ ।

इजरायल अरब संघर्षको इतिहास निकै पुरानो र अनन्त थियो, नूरसँग संगत गरेपछि मेरो यी बिषयहरुमा दिलचस्पी बढ्न थाल्यो । एउटा सैनिक डिमिलिट्राइज जोनमा के गरेर बस्छ ? टहल्नु, संगीत सुन्नु या किताब पढ्नु ... विकल्पहरु यस्तै थिए । बाहिर निस्कदा कहिलेकाहीं नूर भेटिन्थी, तर अधिकांश समय आफ्नो पथप्रदर्शक म आफै भएर हिड़थें ।  इतिहासका बिभिन्न कालखण्डमा इजरायलले आफ्नो स्वाधीनताका लागि रचेका युद्धका अवशेषहरु मैले हिड्ने बाटोमा अझैसम्म ताजा भेटिन्थे । लामो गृहयुद्धको चपेटामा पिल्सिएको मेरो देश नेपालबाट आएको म, अनुभूतिहरु समान थिए तर प्रकृति र परिवेशमा व्यापक  पृथकता थियो ।

उत्तरमा गोलान हाइट्स देखि इलात सम्म भ्रमणका अवसरहरु कति निस्किए कति, नूरसंग नजिकिएपछि..। कहिले हामी संसारकै होचो स्थान मृत्सागरमा पौडी खेल्न पुग्थ्यौं त कहिले तेल अभिभका पार्कहरुमा बार्बिक्यु पोलेर खान्थ्यौं । उ हामी संग घुलमिल भैसकेकी थिई, बिस्तारै नेपालीहरुको जमघटमा पनि उपस्थित हुन थालेकी थिई ।

इजरायलमा अरब जनसंख्या निकै कम छ र ती शिक्षा, प्रशासन, राजनीति लगायत हरेक क्षेत्रमा पछि परेका छन । यदाकदा तिनको बिरोधमा आवाज उठ्छन र सेलाउछ्न । आफूहरुमाथि विभेदकारी नीति र व्यवहार भएको तिक्त अनुभव थिए नूरसंग, तर मलाइ यस्ता बिषयमा कुनै सरोकार थिएन । उसलाई भेट्दा त म यो पनि बिर्संथें कि यो देशमा तनाव छ, संघर्ष छ र अन्त्यहीन युद्धको शृंखला निरन्तर चलिरहेको छ । साच्चै एउटा मान्छेको मायाले कति फरक पर्दोरहेछ ? नूरको साथ् मेरा लागि त्यस्तै भएको थियो ।

साँझ बिहान वैरागी धून गाउदै बहने यी चिसा वतासहरु अब बिल्कुल बद्लिएका थिए, तिनको श्पर्श शितल र मिठो लाग्न थालेको थियो । हिजो पराइ र बिरानोजस्तो लाग्ने यो देशप्रति नजानिँदो आत्मियता बढ्न थाल्यो, हरेक स्थानहरु सुन्दर र रमणीय लाग्दै गए । हामी कहिले रमणीय हिमाल हार्मोनमाथि केबलकार चढेर लेबनान र सिरियालाइ चियायौं त कहिले इलात समुन्द्र भित्र भित्र सबमराइनबाट जोर्दानको इलाका नजिक पुग्यौं । किन्नेरेत तलाउ, याफो किनार, तेल अभिभ शहर या  पवित्र जेरुसेलम आदि अनेक स्थानहरु र त्यहाँ बिताएका क्षणहरु हाम्रो समयको क्यालेन्डर र स्मृतिका पानाहरुमा थपिदै गए । युद्धका संकेतहरु, पदचाप या आवाजहरु अहँ कहिकतै सुनिएन या तिनको आभास सम्म भएन ।

------------------

तर बर्षको अन्त्यतिर अरब इजरायल संघर्ष पुन एकपटक चर्कियो । इजरायली सैनिक कारवाहीमा हमास लडाकु कमान्डर महम्मद अल जब्बारी मारिएपछि दिनदिनै सैयौंको संख्यामा रकेटहरु प्रहार हुन थाले । ठुलै युद्धको संकेत देखा पर्यो, इतिहासमै पहिलोपटक प्यालेस्टाइनबाट निशाना लगाइएका लांग रेञ्ज क्षेप्यास्त्र इजरायलको केन्द्रभाग तेल अभिभ र जेरुसेलम सम्म आइपुगेका थिए ।  यी दिनहरु मैले दश बर्षे गृहयुद्धको चपेटामा पिल्सिएको आफ्नै देश नेपाल सम्झिएँ, मुठभेड र भिडन्तका समाचारहरु ताजा भएर आए ।   विष्फोटनको आवाज होस् या बारुदको पिरो गन्ध ह्वास्स ठोकिँदा मलाइ कालिकोटको सम्झना हुन्थ्यो । रोल्पा र रुकुम जस्तै एउटा नमिठो घाउ छातीभित्र बल्झिएर आउथ्यो ।

अत्यन्त विकसित प्रतिरक्षा संयन्त्रका कारण त्यसले इजरायलमा खासै क्षति भने गर्न सकेको थिएन । पहिलो कुरा रकेट प्रहार हुने बितिकै सम्भावित खतरायुक्त इलाकामा साइरन बज्थ्यो र त्यहाँका मानिसहरु आफुलाई सुरक्षित स्थानमा लुकाउथे । घर घर र सार्वजनिक स्थानमा समेत बंकर निर्माण गरिएका थिए । अर्कोतिर सैयौंको संख्यामा रकेट प्रहार भएपनि स्वाचालित क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले ती भुइमा खस्न नपाउदै आकाशमै ध्वस्त पारिरहेका हुन्थे ।

यसर्थ अबको निशाना इजरायल भित्रै रहेका अरब समर्थकहरुबाट आत्मघाती आक्रमण हुन सक्छ भनेर मिडियाले त्रास छर्न थालेका थिए ।  सार्वजनिक यातायात र ठाउँ ठाउँमा बम राखिएको हल्ला फैलियो । अमेरिकी राष्ट्रपति बाराक ओबामा, यु एन महासचिव बान की मुन स्थलगत भ्रमणमा आए, यद्यपि युद्धविराम हुन भने सकेन । छिन छिनमा बज्ने साइरन संगै आइमाई केटाकेटीको चित्कार सुनिन्न्थ्यो । जीवनप्रति कत्रो मोह ? गुड्दै गरेको गाडी सडकमै रोकेर मानिसहरु भागिरहेका हुन्थे । मृत्युको भय  चौतर्फी फैलिएको थियो । शहरमा सम्भावित दुर्घटनाको भयावह चित्र कोरिएको थियो ।

-------------------------

पारिलो घाम लागेको दिन, सडकको छातीमा सवारी र मानिसको घुइचो बढ्दै थियो । इजरायलको मुख्य शहर तेल अभिभ व्यस्त थियो ।

अचानक विष्फोटको आवाज र कोलाहल गुञ्जियो । क्षणभरमै प्रहरी, पत्रकार र सर्वसाधारणको भीडले सडक भरियो । रक्तमुछेल घाइतेहरु बोकेर एम्बुलेन्स कुद्न थाले । सार्वजनिक बसमा बम पड्काइएको थियो । विष्फोट गराउने आतंककारीको व्यापक खोजी भयो ।  उता प्यालेस्टाइनका अरब टेलिभिजन च्यानलका  समाचारहरुमा बिजयोत्सव मनाएझैँ खुशी प्रकट गरेको  देखियो । आतंककारीहरुले अब यसरी नै इजरायलको चोक चोक बम पड्काइन्छ भन्दै आक्रोश ओकल्न भ्याए ।

भोली बिहानै आतंककारी पक्राउ परेको खबर आयो । म छाँगाबाट खसेजस्तो भएँ, उक्त बम विष्फोट गराउने आततायी अरु कोही नभएर नूर' थिई  । त्यही नूर जो संग मैले यो देशमा अविश्मरणीय र अमुल्य समयहरु संगालेको थिएँ । समुद्रको किनारमा प्रेमका अनेक संकेतहरु कोर्ने नूरका ती कोमल हातहरुले कसरी बम बोकेर हिड्न सके ? शहरमा उभिएका यी बालुवाका घरहरूजस्तै भएँ म - निष्प्राण ।

दोहोर्याई दोहोर्याई अखबारमा आँखाहरु पोखिए - हो उ नूर नै थिई, छातीभित्र विद्रोहको कत्रो राँको बोकेर हिडेकी रहिछ उसले ?  तर यति लामो संगतमा पनि किन मैले उसभित्र त्यो बिद्रोह पहिल्याउन सकिन, अनुमान सम्म गर्न सकिन ? किन मैले उसमा केवल प्रेम मात्र देखिरहें ?

यही प्रश्नले म धेरैबेर चिमोटिएँ ।


कृष्णपक्ष,
इजरायल



Next Story: Older Posts Home

माइ लाइफ इज अ मिराकल

4 comments

Wednesday

( धेरै समय भैसकेछ केही नलेखी चुपचाप अलप भएको । केही घटनाहरु अवश्य भए, जस्तो घाम लाग्नु, झरी पर्नु वा आकाशबाट रकेट बर्षनु ..... । बितेका दिनहरु निकै चिसा थिए, एउटा अनुभव - हरेक घाउहरुले र तिनका दागहरुले मानिसको स्वरूपलाई त्यसरी बदल्न खोज्दोरहेछ, जो उ बिल्कुल होइन, थिएन र त्यसको परिकल्पना समेत गरेको हुदैन । तर समय हो हरेक घाउहरु पुरिदैं जान्छ- अर्को विश्वास । विश्वासको त्यही छेउमा उभिएर फेरि लेख्ने दुस्साहस गर्दैछु । )

मौनताको नदी चुपचाप बगिरहेको थियो उसको र मेरो बीचमा ...। फेरि सोच्छु, उसले र मैले बनाएको परिचयको, आत्मियता र अपनत्वको पुल अब भत्किएकै हो त ? जब उ संग बोल्थें, हास्थे खेल्थें वा उसलाई लिएर घुम्न निस्कन्थें, त्यो नदीमाथि यस्तो पुल बन्थ्यो जहाँ उभिएर हामी धेरै उदाउदा र अस्ताउंदा सूर्यहरु संगै हेर्ने गर्थ्यौं। म उसका अन्तिम पलहरु सहज बनाउने कोसिस गर्थें, जीवनका गीतहरु सुनाउथेँ ।

विलकुल पृथक परिवेशबाट आएको एउटा नोकर र मालिक बिचको सम्बन्धको पुल थियो त्यो। जहाँ टेकेर मैले उसका जीवनका असंख्य भोगाईहरु, घटना र कथाहहरु सुनिदिएको थिएँ, एउटा पाठक बनेर ।

एउटा कथा यस्तो थियो ।


1942 वार्शा, यहुदी वस्ती, पोल्याण्ड ।

हिटलरका सैनिकहरुले पुरै पोल्याण्ड कब्जामा लिइसकेका थिए । चोकचोकमा यहुदीहरूको डफ्फा जम्मा पारिएको थियो, तिनीहरुलाई बन्दी बनाएर जर्मनी लगिदैछ भन्ने हल्ला चलेको थियो ।चकमन्न अँध्यारोले ढाकेजस्तै त्रासको वातावरण चारैतिर फैलिएको थियो । 
यहुदीको भीडबाट सैनिकले भिन्न भिन्न समुहहरु बनाइरहेका थिए । एकातिर रोगी, आइमाई केटाकेटी, बुढाबुढी  र अर्कोतिर तन्नेरी युवायुवतीहरु । पहिलो समुहमा पर्नेहरुलाइ सिधै यज्ञमा बली दिइन्थ्यो र इहलिला स्वाहा पारिन्थ्यो । दोश्रो समुहमा पर्नेहरुलाइ भने दास बनाइन्थ्यो, आफैँ थाकेर वा कुनै रोगले थलिएर नमरुन्जेल सम्म तिनीहरु कुनै शिविरमा बन्दी भएर बस्थे । 

मानवीयता नै काँप्ने यो कत्रो अन्याय ? के एउटा जातिले अर्को जातिका लाखौँ मानिसलाई यसरी जिउंदै आगोमा होमेर मार्न सक्छ ? तर यो सत्य थियो, लाखौँ यहुदीका देहहरु आफुलाई पवित्र र महान ठान्ने आर्यहरुको अग्निकुन्डमा भष्म भैरहेका थिए ।  

त्यसबेला उसको उमेर 14 बर्षको थियो, आमा र भाइ बैनीहरु लगातार रोइरहेका थिए । बाँच्ने कुनै आधार थिएन, अघिल्लो हप्ता देखि नै पिताको अत्तो पत्तो थिएन । उसको मनमा भाइ बैनी र आमा संग छुट्टिन नपरोस भन्ने थियो तर दास भएरै पनि  कतै बांचिहाल्छ कि भन्ने झिनो आशामा आमाले उसलाई उमेर ढाट्न सिकाएकी थिईन, कसैले सोधे 20 बर्ष भन्नु है । 

"कति बर्ष भईस ? "
पोलीस भाषामा एउटा सैनिकले भन्यो ।
"20 बर्ष ..."

 उ अग्लो र खाइलाग्दो थियो, सबैले पत्याए  । त्यसपछि उ तन्नेरीहरुको  समुहमा मिसियो त्यहीबेला उसले अन्तिम पटक आफ्नी आमाको अनुहार देख्यो, त्यसपछि उनीहरुसंग यो जुनीमा कहिल्यै भेट भएन  । मृत्युको भय भन्दा पनि त्यस घडी उसभित्र बिछोडका पीडाहरु मडारिएका थिए ।
त्यसपछि सैनिकको ट्रकमा ओसारिएर उ जर्मनीको बर्लिन पुग्यो । त्यहाँ पुग्दा उसले आफ्नो अस्तित्व मेटिई सकेको पायो, अब उसको नाम समेत कुनै अंकमा अनुवाद भैसकेको थियो । एक अर्कालाई बोलाउदा 'कैदी नम्बर यति भन्नू' उनीहरु प्रत्येकको शरीरमा नम्बरको ट्याग लगाइयो ।
हजारौं यहुदीहरू दिनदिनै मारिइरहेका थिए । शिविर भित्रै विशाल चिहान बनाइएको थियो, उसले त्यहीं काम पायो ठेलागाडीमा शव ओसार्ने, उ हरदिन आफ्नै शरीर पनि एकदिन यसरी नै गाडीमा राखिएको र आम चिहानमा पुरिएको कल्पना गर्दथ्यो । तर उ त्यसबेला सम्म मृत्युसँग खेल्दै बाचिरहेको थियो । 



एक बर्ष पछि उसलाई चेकोस्लोभाकिया लगियो,  त्यस शिविरमा आएका अधिकांश बन्दीहरुको पालै पालो निर्मम हत्या भैसकेको थियो । हरेक हप्ता रोग र आत्महत्याका कारण सैयौं यहुदीहरू ढलिरहेका थिए । एकदिन उसको पनि पालो आयो, ग्यास च्याम्बरमा राखेर मारिने मितिको घोषणा भयो । उ रातभरी सुत्न सकेन, बिहानको सुर्योदय नहुँदै उसले आफुलाई तयार गरायो । क्रमश उसले भाइ बैनी र आमाको अनुहार सम्झियो । 

तर मृत्युले यसपटक पनि उसलाई अंगाल्न सकेन । शिविर वरिपरी कोलाहल मच्चिएको सुनिन्थ्यो, कैदीहरु भागाभाग गर्दै थिए, उसले पनि त्यसै गर्यो । भाग्नेहरुको हलमा मिसिएर बाहिर पुग्दा, शिबिरका गेटहरु रातिनै  भत्किसकेका थिए । निकै पर सम्म उसले रसियन सैनिकका गाडीको  लश्कर देख्यो । यति बेला सम्म रसियन फौजले बन्दी शिविरका कैदीहरुलाई मुक्त गरिसकेका थिए । 

आफुले भोगेका जीवनका कथाहरु सुनाउदै गर्दा उ बारम्बार भन्थ्यो - "मृत्युले सहजै तान्न नसकेको मेरो जीवन आफैंमा एउटा चमत्कार हो । यु नो क्रिश, माइ लाइफ इज अ मिराकल । "





2012 इखिलोभ हस्पिटल, इजरायल

यसबेला उ अस्पतालमा आखिरी सासहरु गनिरहेको थियो । आखिरी पनि के भनौं ? जीवन र मृत्युको दोसाँधमा उ महिनौं अल्झिरहेको थियो । उसको अनुहारमा अब कुनै भाव थिएन, तन मात्र हैन, आँखापनि संज्ञा शुन्य हुँदै गैरहेका थिए । लाग्थ्यो अब उ बिमारीको त्यो अवस्थामा पुगेको छ, जहाँबाट फर्केर आउने कुनै पनि बाटो छैन । प्रतीक्षा केवल मृत्यको छ, त्यो आवोस र पीडासंग गाँसिएको उसको साइनो तोडिदेओस । दुखको यो सिलसिला सदाको लागि समाप्त होस् ।  

मर्फिन .. होशमा आउँदा उसले बोल्ने शव्द यही थियो - जीवनदेखि यति धेरै पीडा भएको छ कि, पेनकिलरको अर्को डोज लिन चाहन्छु र पुन निदाउन चाहन्छु । अर्को संसारमा हराउन चाहन्छु, मेरो स्वप्नदेवसंग।

यो बुढो मान्छेको सुसारे भएर इजरायलमा धेरै समय बितिसकेको छ । म उसको हात सुम्सुम्याउछु र सबै ठिक हुन्छ भन्छु तर मलाइ थाहा छ अब केही  ठिक हुदैन, उसको यात्रा एकतर्फी भैसकेको छ, जहाँ बाट फर्केर आउन मिल्दैन ।

दिन महिना र हप्ता उफ ! हरेक दिन र हरेक पल ..  यो समयको मोल कति हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि यहि बुढो मान्छेको एकनासे यात्रामा मैले मेरा अमुल्य समयहरु यसरी नै बर्बाद गरिरहेको थिएँ । लामो समयसम्म उसले आँखाबाट आँसु बगाइरहने फुर्सद र मलाइ त्यो पुछिरहने धैर्य कहिले सम्म हुने हो ? म अतालिदै गैरहेको छु ।

कहिले त मनमा यस्तो बिचार पनि आउथ्यो - हे भगवान यो बुढो मान्छेको पीडासँग गाँसिएको अटुट सम्बन्ध छिटै फुकाइदेउ र लैजाउ । फेरी हठात् आफैलाई प्रश्न गर्छु - म किन यति कठोर भएँ हुँला ?अनायास उसको टीठलाग्दो मुहार हेर्थें - जहाँ जीवन र प्रेमको सग्लो आकार अझै बाँचिरहेको थियो ।

शुरुमा केही दिन त उसका आफन्तहरु सधैं आए तर अहिले उसलाई भेट्न कोही आएका छैनन । मलाइ आश्चर्य लाग्छ कि संसारमा यति धेरै एक्लो मानिस पनि हुँदोरहेछ ? आफन्त भएरै पनि जिन्दगीभरी उ एक्लो थियो र जीवन र मरणको यो अन्तिम लडाईमा पनि एक्लै छ । उसको देह मुढोमा परिणत भैसकेको छ, स्नायुले शरीरका कुनै पनि भाग संग समन्वय गर्न सक्ने अवस्था छैन । आँखा र ओठ बाहेक अन्त कतै प्राण बाँकी नभएजस्तो सम्पूर्ण शरीर स्थिर छ । कहिले फेरि मनमा यस्तो पनि विचार आउथ्यो, कि उ जुरुक्क उठ्न सक्छ,बोल्न, हिड्न डुल्न सबै गर्न सक्छ - तर आफै निदाउन चाहन्छ ।

उसको र मेरो बिचमा अब मौनताको नदी झन् झन् बढिरहेको थियो, पटक पटक कुनै दुस्वप्न बाट झस्किए झैं केही आवाज निकालेर पुन उ स्वप्नदेव मर्फिनको नशामा हराउथ्यो ।


'क्रिश !'
उ केही बोल्न खोज्छ, विल यू प्लिज होल्ड माइ ह्याण्ड ? '
मलाइ थाहा थियो उसको हातले कुनै स्पर्शको महसुस गर्न सक्दैन तर मलाइ लाग्यो  कि स्पर्श त्वचाले नभई मनले महसुस गर्छ शायद ।

मेरो अन्तिम सास सम्म तिमी मेरै समिप बस ल ?
उसको अनुरोधले म फेरि स्तब्ध हुन्छु। अहोरात्र घर अस्पताल धाउँदा धाउँदै म आफै बिमारी हुनमात्र बाँकी छ, यद्यपि सान्त्वनाको मुन्टो हलाउछु र भन्छु -  म यही छु तिम्रै छेउमा, तिमीलाई छोडेर कतै जाँदिन, ढुक्क होउ ।

थाहा छैन उसको यो यात्रा र मेरो प्रतीक्षा अझै कति लामो हुनेछ तर मेरो कानमा अझै उसका शव्दहरु गुन्जिरहन्छ - "यु नो क्रिश, माइ लाइफ इज अ मिराकल ।"





Next Story: Older Posts Home

पर्खाल पारिको त्यो देश - इजरायल I

4 comments

Thursday


पराजय र मृत्युका कथा नलेख्न आग्रह गर्नेहरुसँग एकदम असहमत छु ... ।

विस्थापित् भएर आफैं सँग परिचय माग्नेहरुको कथा कहिलेदेखि लेखिन थाल्यो थाहा छैन । आफ्नै घरबाट खेदिएर आफ्नै आँगनमा भौतारिन विवश धेरै मानिसहरु छन यहाँ ।

देश भन्दा पहिले मान्छेले ओत खोज्छ, छानो खोज्छ, अधिकार भन्दा पहिले उसले गास वास र कपास खोज्छ । जिउधनको खतरा बढ्दै गएपछि इजिप्टको बोर्डर हुँदै लुकिछिपी इजरायल भित्रिएर शरणार्थीको लश्करमा उभिएका सुडानीका कथा व्यथाहरु इजरायलका गल्ली गल्लीमा छरिएका छन , सामाजिक संथाका दस्तावेज र अखवारका पानाहरुमा तिनका विवरणहरु लेखिएका छन । तर आफ्नो देश र भूमिको हक भन्दा पनि केवल रोजीरोटीको संघर्षमा भौतारिदै इजरायल प्रवेश गर्ने प्यालेस्टिनीका कथाहरु कतै लेखिएको छैन । तिनलाई राजनैतिक रंग दिएर इजरायल दिनदिनै मेटिरहेछ उनीहरुको अस्तित्व ... ।

यसरी नै भौतारिदै इजरायल प्रवेश गर्ने एउटा प्यालेस्टिनी किशोरको कथा हो यो ।

----------------------------------------------------------------------------------


त्यो साझ उसले मसक्क आँट गर्येा। दिउसो परेको सिमिसम पानीले जमिन अँझै ओभानो भएको थिएन। मलिन हुदै घामले बिदा माग्दै गरेको बेलामा पश्चिम किनारको त्यो सानेा शहर पुरै रातेा रातेा रंगको देखिएको थियो। आज यो रंगको तुलना उसले कुनै अपीय वस्तुसग पटक्कै गर्न चाहेन। बादल खुलेर सफा भएको आकाश झै उसले मनभित्रका दोधारे विचारहरूको धमिलो बादल सबै पन्छाएको थियो । ऊ स्पष्ट थियो - सुटुक्क पर्खाल नाघ्ने।

समय स्थान र परिबेशको कत्रो सम्वन्ध मान्छेको जीवनमा? भर्खर १६ पुगेर १७ लागेको त्यो किशेार यति छिटै यस्तो परिपक्व हुनुमा उसको भुगेाल र राजनीति नै प्रमुख कारण थिए।


नाम शेरिफ
घर प्यालेस्टायनको पश्चिम किनार
विस्थापित हुदै जादा सुर्को जस्तेा साँधुरेा मानचित्रमा बाँचेको उसको देश।


धेरै भयो पश्चिम किनारमा इजरायलले गाजामा जस्तेा वमबारी गरेको छैन। यूध्दक विमान र ट्यांकका ताँतीहरू पनि त्यहाँ देखिदैनन यसर्थ यस भेगमा प्यालेस्टिनीले उस्तेा त्रासदी भेाग्नु परेको छैन्, तर त्यो मैानता भित्र राजनीतिक कुण्ठा र अप्रस्फुटित विद्रेाहको अधिबेहरी लुकेको छ, जसलाई लुकाएर नै बाँचेका छन निरीह प्यालेस्टिनीहरू।

शेरिफलाई राजनीतिमा विल्कुल रूची छैन। इजरायली सैनिकको गाडी वा टंयाक आएको बेला अरूजस्तेा हुरूरू ढुङा वर्षाउन ऊ कहिल्यै गएको पनि छैन। न त पर्खाल पारि देखिने त्यो देशलाई उसले शत्रुको देश भनेर नै मानेको छ। हो, अलि अलि दुख त उसलाई जरूर लाग्छ, जब उसको हजुरबा पर्खालपारि इशारा गर्दै सुनाउछन- 'उ त्यो करेाडैको व्यापार हुने कारखाना छ नि, त्यो जग्गा पहिले हाम्रो खेत थियो ।'

पराधिनता स्वीकार्न नसकेर विस्थापित हुनु पुगेका त्यस्ता अरू धेरै प्यालेस्टिनीका सन्तति झैँ देश फर्काउने लहैलहैमा लागेर ऊ कुनै मुक्तिमेार्चामा शामिल कुन पनि गएन । नेताहरूले बेला बेला भाषण गरेको सुन्थ्यो 'जवसम्म एउटै मात्र प्यलिस्टिनि यो धर्तीमा बाँकीरहन्छ इजरायलका विरूध्द लडेरै मर्छ तर कदापि हार मान्ने छैन।'

उसलाइ लाग्थ्येा जसले जित्छ उसैको हुन्छ देश, इतिहासमा उसले त्यस्तै पढेको थियो। हारजितको खेल खेलेरै विभिन्न शासकहरूले यो धर्तिको माटो आ आफ्नो नाउमा कोर्न भ्याएका न हुन । नत्र यो धर्ति कस्को? यो श्रृस्टि कसैको पनि हैन। न इजरायलीको न प्यालेस्टिनिको। यो जमिन कस्को ? यदि हो भने सवैको साझा हुनुपर्छ।


शेरिफ जस्तै किशेारका रगत उमाल्ने यास्ता भाषणहरू, राष्र्ट्रीय गानहरू वा अभिव्याक्तिहरू, सबै राजनीति गर्नेका चालहरू मात्र हुन। जसले हामीलाई युद्धमा होम्छन र ज्यानको बाजी थाप्न लागाउछन। उसले बुझेको राष्ट्रियता सारै फितलो थियो ।

निसिम उसको मिल्ने साथी । २ साल भयो निसिमको दाजु त्यो पर्खाल पारीको देशमा काम गर्न थालेको । अहिले उनीहरूको शान बेग्लै छ। नयाँ घर बनाएका छन, ट्याक्टर किनेका छन। ऊ कहिलेकाही सोच्थ्यो त्यहाँका मान्छेहरू किन धनी छन, हामी किन गरिब ? उनीहरू यस विषयमा गफ गर्थे । 'बुझिस त्यहाँ त सबै युरेाप र अमेरिकाबाट भागेर अाएका व्यापारीहरू छन धनी त हने नै भयो नि। अनि तिनीहरूलाई किन भाग्न परेछ त? यिनीहरू साह्रै धूर्त, बाठा र ओभर इन्टेलिजेन्ट भएकाले त्यहाँका मानिसले लखेटेका रे ।

अर्को भन्थ्येा यिनीहरू 'सियो बनेर पस्ने र मुशल भएर निस्कने जात हुन' जहाँ गयो त्यहाँको कारोबार सबै आफ्नै पार्ने भएकाले यिनीहरूलाई खेदेर पठाएको रे।

सुलेमानलाई यो विषयमा अलि बढी ज्ञान थियो, ऊ भन्थ्येा त्यसो हैन तिनीहरू यहुदी हुन, जसका पितापुर्खा यतैका रैथाने थिए, बिस्तारै युरोपतिर लाखापाखा लागेर बिभिन्न ठाउँ पुगेका बेला तिनीहरूमाथि दोस्रो विश्वयुद्धताका अत्याचार बढेकाले फेरि पुख्यैाली थातथलो फर्किएका हुन। यिनीहरूको सम्वन्ध व्यापार अहिले पनि युरोप अमेरिका लगायत विकसित देशहरूसँगै भएकाले यिनीहरू धनी छन् ।

शेरिफ पटक पटक पर्खालपारिको स्वर्णिम देश धुस्ने इच्छा जाहेर गर्थ्येा। उसको काँधमा परिवारको जिम्मेवारि पनि त थियो।

उसका साथीहरू सुनाउथे, हाम्रो जग्गा हडपेर खानेहरूकोमा फेरि लुकिछिपि बस्न जानु ? मेरो त स्वभिमानले दिँदैन बरू यिनीहरूलाई जहाँबाट आएको हो, उतै खेदनुपो पर्छ। तलाई थाहा छ ? कतिजना ठुला मान्छेले यो इजरायल भन्ने देशै छैन भनेका छन। यो त हाम्रो हो, प्यालेस्टिनीको।

इस हाम्रो ? बरू हामीलाई चै लाखापाखा लगाइसके, सम्पन्न र शक्तिशाली भएपछि कसको के लाग्छ ?

यस्ता सम्वादहरू शेरिफका दिनचर्याका अभिन्न क्षण बन्दै आएका थिए।

त्यो पर्खाल नाघ्न सजिलो थिएन, इजरायल प्यालेस्टाइन संधर्ष लम्बिदै गएपछि बारम्बार प्यालेस्टिनी आत्मघाती आक्रमण हुन थालेपछि सन् २००७ देखि इजरायली सरकारले प्यालेस्टिनी कामदारमाथि नियन्त्रण र प्रतिबन्ध लागायो । आवश्यक जनशक्तिको आपुर्ति रसिया, चिन, थाइल्यान्ड, फिलिपिन्स, नेपाल, भारत लगायतका अन्य देशबाट हुन थाले। यी मध्येपनि अहिले धेरै राष्ट्रमाथि बन्देज लगाइएको छ।

जहीँतहीँ सादा पोशाकका इमिग्रेसन प्रहरीहरू छन । अफ्रिकन तथा रशियन मूलका भिजिलान्तेहरू समेत विदेशी कामदारको हरक्षण निगरानी गरिबस्छन् । सीमा तथा प्रबेषाज्ञा जाँच यस्तेा कडा गरिएको भएपनि धेरै प्यालेस्टिनी तन्नेरीहरू रातारात पहाड, जंगल र भरूभूमिको अनेकैँ चेारबाटो हुदै पर्खाल नाघ्छन र इजरायलमा लुकिछिपी काम गर्छन्।

धरै किशेारहरू प्यालेस्टाइनको राजनीतिक अस्थिरता, अर्थिक गिरावट र अभावको सम्पूर्ण दोष इजरायललाई दिएर घरघरबाटै रकेट बनाउदै पर्खालपारिको देशमा हिर्काउने एकातिर छन भने अर्कातिर शेरिफ जस्ता धेरैलाई थाहा छ कालो अरिँगालको गोलामा ढुङ्गा वर्षाउनु, आफै खतरा निम्ताउनु हो। बरू त्यसको विपरित सुटुक्क इजरायल छिर्नु, लुकिछिपि बस्नु, टन्न पैसा कमाउनु र टाप कस्नु अर्को विकल्प। 'कि खान्छ आँटले, कि खान्छ ढाँटले' - शेरिफलाई यो उक्ति निकै सही लागेको छ। अब उसले यी २वटा कुरा गर्नुपर्नेछ। भेाक र गरिबीबाट सताइएका धेरै प्यालेस्टिनी मध्ये ऊ पनि एक हो । भाइ बहिनीलाई स्कुल पठाउने र परिवार पाल्ने जिम्मेवारी छ उसको।

उसले एकपटक आबुसँग कुरा गर्ने सोचेको थियो, आबु अेमार जेा प्यालेस्टिनी किशोरलाई अवैध कामदारको रूपमा इजरायल भित्रयाउने दलाल हो। अनेकौँ ट्याक्टिस र नाका प्रयोग गर्दै प्यालेस्टिनी कामदारलाई इजरायल प्रबेश गराउने मानव तस्कर दलालहरू छन, नक्कली पर्यटन कम्पनीहरू छन। तिनीहरूलाई तिर्ने पैसा उसँग छैन । तर कुन बाटोबाट कसरी पारि पठाइन्छ, शेरिफलाई स्पष्ट थाहा छ।

हिडनु अघि एकपटक उसले फेरि दाह्रा किट्यो "कि खान्छ आँटले ….........................."

हजारौँ प्यालेस्टिनी कामदार छन इजरायलमा, अधिकांश अवैध तरिकाले प्रवेश गर्ने नै छन र जोसँग काम गर्ने अनुमति छैन ।त्यसमा म एक जना थपिन्छु त के भयो ?

पानीले ओस्सिएको धुलो जबर्जस्ती उडाउँदै ऊ बसेको गाडी गुडयो। आधा धन्टा नबित्दै बेत-इक्षा आइपुग्यो ।

बेत-इक्षा सानो अरब गाउँ, जहाँबाट अब इजरायलको जेरूसेलम शहर पुग्न ३ किलोमीटर मात्र बाकी छ। बेतइक्सा पुगेपछि उसले पैदल हिडनुपर्ने छ । अबको बाटो ढुङ्गा र पहाडको ।

पश्चिम किनार, इजरायल प्रवेश गर्न सजिलो ठाउँ हो,त्यसो त प्रत्येक कुना कुनाबाट हरेक दिन सयौँको संख्यामा प्यालेस्टिनी कामदार सीमा नाघ्ने ठाउँ हेरेर बसेका हुन्छन्। ती मध्ये ५० प्रतिशत पुलिस देखेर मरूभूमिको धुलै धुलो जसरी आएका थिए उसरी नै फर्किन्छन्। अहिले त बेत इक्षामा पनि ठाउँ ठाउँमा चेक प्वाइन्ट राखिएका छन्। वरिपरि यहुदी वस्ती पनि छ,त्यसैले पर्खाल भने लगाइएको छैन्। तर अर्ध सैनिक प्रहरीको गस्ती दिनभरजस्तो भइरहन्छ। आठ नौ किलोमीटरको यो बाटो यति जेाखिमपूर्ण छ कि रिसाहा सु्रक्षाकर्मी पर्यो भने टाढैबाट नै गोली हान्न के बेर? ऊ चुपचाप पाइला अघि बढाउँछ, सैनिकका बुटका पदचापहरू सुन्न कान तिखो बनाउदै, अप्ठ्यारा ढुङ्गाहरूमा ठेसलाग्दा उसलाई लाग्छ ..शायद यो अन्तिम परिक्षा हो र यो परिक्षा मैले पास गर्नैपर्छ।

बाटो छिचेालिँदै गयो। अब टाढाबाट साँझको झिलिमिली बत्तीले सजिएको सुनको सहर जेरूसेलम देखिन थाल्येा । त्यसै कहाँ गाइएको रहेछ र यसको महिमा .. जेरूसेलायम शेल जहाव( jerusalem of gold) सुवर्ण जेरूसेलम। उसको खुसीको सीमा फैलँदै गयो।

हो परिक्षा अँझै सकिएको थिएन सायद। एउटा अस्पष्ट आवाज बेाकेर ल्याएको एक झेाक्का चिसो बतास उसको कानैमा ठोकियो । कोही कराए जस्तेा, केही भनेजस्तो । नबुझिने तर चर्को, केही सुनियो। कसैले देख्यो जस्तेा छ, अघिदेखि नियालिरहेको खम्बामाथि टाँगिएको पिलपिल बत्तीले उसलाई कतै लुक्न पनि दिएन । अब के गर्नेहोला? हात उठाउने त उसमा झन होश नै भएन । अकस्मात कत्तिखेर खुट्टाले दच्किएको हरिणको गति लियो उसले पत्तै पाएन । एकैछिनपछि बन्दुक पड्केको चर्को आवाज सुनियो ।

..........................................................

भोलि पल्ट समाचारमा उसको फोटो छापियो।
हेडलाइनमा नै लेखिएको थियो...............
वेष्टबैंकबाट इजरायल प्रबेश गर्ने प्येलिस्टिनी आतंककारीसँगको मुठभेडमा एकको मृत्यु ।


नाम-शेरिफ
उमेर- १७
घर-पश्चिम किनार


शुरुमै भने नि - पराजय र मृत्युका कथा नलेख्न आग्रह गर्नेहरूसँग एकदम असहमत छु ।
समाप्त..................................................।
Next Story: Older Posts Home

जेरुसलायम सेल जहाव

4 comments

Tuesday


(
म भर्खर इजरायल प्रवेश गर्दा लगभग पाँच बर्ष अघि शुरुमा इजरायलबाट प्रकाशित हुने पत्रिका "नेपाल चौतारी"मा प्रकाशित निकै पुरानो लेख ।)




वैजनी रंगका ढकमक्क शिरीषका फूलहरु भूइँभरी पोखिएका छन् । व्यवस्थित घर अनि फराकिला भित्री सडकका ठाउँठाउँमा निर्माण गरिएका उद्यानहरुले यहाँको सुन्दरता मात्र बढाएको छैन्, विदेशबाट आएका हामी जस्ता केयरगिभरहरुको दिनाचर्या सरल र मधुर बनाइदिएको छ । होचा सिसौका पातहरु हल्लाउँदै शीतल हावा बहन थालेपछि प्रायः हरेक साँझ म मेरो बूढो साथीसँग घुम्न निस्कन्छु, अनि ऊ सधैं मर्दै र बाँच्दै गरेको यो शहरको र उसको कथा हिब्रू मिश्रित अंग्रेजीमा मलाई सुनाउन थाल्छ ।

धेरै हिउँद वर्षा काटिसकेको अरबी मूलको यो बुढो ‘जोहारिस’ मेरो अगाडि आफैंमा एउटा सिङ्गो इतिहास बनेर उभिन्छ, जसले इजरायलको विगतलाई आफैले देखेको छ, भोगेको छ र कति–कति अविस्मरणीय पलहरुलाई छातीको भित्री तहमा शिलालेखजस्तै आरुढ गराएर राखेको छ ।

मायासँग भेट नभएको पनि बर्षौ भइसकेछ ।
नेपाली नाम जस्तै लागेर म प्रश्न गर्छु— माया को थिइन ?

माया उसकी बाल्यकालदेखिकी अभिन्न साथी थिइन्, अर्थात खबेरा... लामो सुस्केरा हाल्दै ऊ सम्झन्छ - 'माइ' (मे) मा जन्मिएकीले माया नाम राखेको रे । यसपालीको जन्मदिनमा छोरीको घर बेरशेवा जानु अघि नै धेरै पटक उसले मायासँग फोनमा कुरा गरेको थियो । कतै कुनै सिलसिला मिलाएर भेटन पो सकिन्छ कि ! शायद यस्तै झिनो आशा उसको मनमा हुँदो हो । त्यो धोको फेरि पनि विविध कारणले अधुरै रह्यो, सबै कारणहरुको विश्लेषण गर्ने सामर्थ्र्य पनि उसको उमेरसँगै क्षीण हुँदै गइसकेको छ । माया पनि धेरै बुढी भइसकिन् अब त नभेटी मरिन्छ होला !

समयले ती दुईलाई परस्पर शत्रु राष्ट्रको नागरिक बनाएपछिका शुरुका दिनमा पश्चिम किनारको सिमानामा काँडाको तार बाहिरबाटै भेटेर रुँदै फर्केको तितो अतित सुनाउँदै गर्दा उसको गला अवरुद्ध हुन्छ । देश फाटिए पनि मन र माया त काँ फाटिंदो रहेछ र ?

मन र भावनाको बहाव विपरीत बगेर पनि जिन्दगीले गति त लिंदो नै रहेछ । जीवनको धेरै लामो बाटो हिंडिसकेको छ उसले, यो यात्राका अन्तिम वर्षहरुलाई सजिलो बनाउन भगवानले मलाई पठाइदिएको हो भनेर ऊ मेरो मन जित्छ । मेरो उत्सुक स्वभावको पनि ऊ अत्यन्तै प्रशंसा गर्छ । नेपाली चौतारीको मेरो लेख देखेर मलाई लाग्छ मभन्दा ज्यादा त ऊ नै हर्षित हुन्छ होला । शुरुदेखि अन्त्यसम्मका एक–एक हरफहरु उल्था गरी गरी सुनाउनु पर्छ ।

हामी धेरै अनुभवहरु साटासाट गर्छौं, यिनै बुढाबुढीको मुहारमा देखिने खुशी र आँसुका रेखाहरु पढ्न हामीले अमूल्य समयसँग सम्झौता गरिसकेका छौं– एउटा सुसारे भएर ।





उसको उच्च अध्ययन अमेरिकामा भएको थियो । त्यहाँ पनि माया उसकी सहपाठी थिइन् । क्यालिफोर्निया राज्यको लस एञजल्समा रहँदाका ती स्वर्णीम दिनहरु ऊ सम्झन्छ । अमेरिकी समाजमा ती अनन्य जोडीले यौटै देशको प्रतिनिधित्वको रुपमा आफूलाई स्थापित गराएका थिए । इम्पेरियल राजमार्ग हुँदै साउथवेस्ट कलेजसम्म आउँदा जाँदा प्रायः माया ऊसँगै हुन्थिन् । कति पटक त मायाले उसैको भान्सामा खाना पकाइदिएकी थिइन ।

त्यसबेला मायासँग जोडिएको इस्लाम धर्मले के फरक पारेको थियो ?

उमेरले माया ऊभन्दा अलि जेठी थिइन होला । उनीहरुको घर सँगै थियो, त्यसबेला । सँगै खेलेर हुर्किएर र अनुभवहरु बाँडेर यौवन र जीवनका असीमित आयामहरु मसँग उसले सिक्ने र बुझ्ने  अवसर पाएको थियो । ऊ भन्छ, उसकी पत्नीसँग जति उसको खुशी गाँसिएको छ, त्यसभन्दा कयौंगुणा धेरै मायाका सम्झानाहरू उसभित्र आजसम्म बाँचिरहेको छ । किन, ऊ आफैंलाई थाहा छैन् ।

के ऊ मायालाई मन पराउँथ्यो वा प्रेम गथ्र्यो ? मेरो जिज्ञासालाई पल्टाउँदै यसले यत्ति भन्यो, यदि प्रेमको परिभाषा बदल्न सकिन्छ भने,“उलाइ केन, उलाइ लो” ।

ऊ अरबी मूलको यहुदी थियो र माया इस्लामिक परिवारमा जन्मिएकी थिइन्, उसलाई थाहा थियो उनीहरुको बीचमा सम्बन्ध स्थापना हुनु सामाजिक र धार्मिक अपराध थियो  ।

विदा मनाउँदा प्रायः समुद्रको किनारमा जान्थे उनीहरु । पौडन पनि उनीहरुले लगभग सँगै सिकेका थिए । कतिपटक उनीहरु साँझ घोडामा घर फर्किदाका ती रमाइला दिनहरुको बयान सुनाउँदा सुनाउँदै ऊ भन्छ– म तन्नेरीमा तिमी जस्तै थिएँ ।

“क्रिस के तिमीले कहिल्यै ऊँटको दूध पिएका छौ?”
“अहँ छैन, किन र ?”

कहिलेकाही अचानक यसरी प्रसंग मोडेर कुरा गर्ने स्वभाव प्रायः यताका बुढाहरुको हुने गर्छ । यो बुढ्यौलीको दोष पनि हुनसक्छ । तर ऊ प्रसंगभित्रै रहेछ । एकदिन जेरुसलेम घुम्न निस्कँदा उनीहरुले बेस्करी ऊँटको दूध पिए अरे । त्यो बेला माया पनि अलिकति बहकिएको कुरा उसले स्वीकार ग¥यो तर संगसंगै जीवन बिताउने आँट गर्ने शक्ति उनीहरुलाई न त यो धर्मले दियो न त यो समाजले एकपटक मुस्लिम युवकसँग प्रेम गरेको चलचित्र खेलेकै भरमा मनिषा कोइरालाको हत्या गर्ने प्रयास भएको कुरा म सम्झन्छु ।

मान्छेको समाज जहाँ पनि उस्तै त हुँदो रहेछ  ।

माया स्पष्ट खुला बिचारकी युवती थिइन । मायामा त्यस्तो धार्मिक दृढता उसले कहिल्यै महसुस गरेन । मायाले इस्लाम परिवारमै विवाह गरिन्, उनीहरु इजरायलबाट विस्थापित भए । हुनत यहुदी समाज र साँस्कृतिक सामाजिक थिचोमिचोसँग सम्झौता गरेर अझ धेरै इस्लामिक समुदाय इजरायलमा मिलेरै बसेका छन् दुखेको कुरा माया त्यो भित्र पनि परिनन् ।

मौसम ऋतु र प्रकृतिका साजहरु बदलिदै गए । कैयन अनिश्चित समयहरु स्वतः स्वीकारित भए र उनीहरु आ–आफ्नो संसारमा हराए ।

कसरी कुनै संयोगवश उसकी छोरी मानव अधिकारवादी सामाजिक संस्थाबाट स्थलगत रिपोर्टको लागि केही वर्ष पहिले पश्चिम किनार जाँदा बुबाको उही पुरानो साथी मायासँग परिचय भएको थियो । ऊ भन्छ, त्यसदिन उनीहरुले दिनभर जस्तो टेलिफोनमा कुरा गरे अरे ।

माया एकपटक जसरी पनि जेरुसलेम आउन चाहन्छिन् । जेरुसलेमको पुरानो शहर धीत मर्ने गरी घुम्ने इच्छा भएको कुरा उनी बारम्बार व्यक्त गर्छिन् । जेरुसलेम उनीहरुलाई मुटुको स्पन्दन जत्तिकै प्यारो छ । सन् १९६७ को अरब –इजरायल बीचमा भएको घमासान युद्ध पश्चात जब जेरुसलेम मुक्तिको घोषणा गरियो, त्यसबेला हजारौं सर्वसाधारण र सैनिकहरुसँग हातेमालो गर्दै उनीहरु पनि जेरिचो हुँदै मृतसागरको सडकतर्फ फैलिएको विशाल बिजयोत्सवमा सहभागी भएका थिए ।

आजसम्म जब जब कतै त्यही समयको हृदयस्पर्शी त्यो संगीत गुञ्जन्छ , ऊ भावविभोर भएर मायालाई सम्झन पुग्छ । माउण्ट मन्दिरको आकाशमा टल्किने सुनको गजुरको चमक जरुसलेमको दिव्य ज्योति हो , ऊ भन्दछ तर यो ज्योति, यहुदीहरूको मात्र होइन, १७ औं शताब्दीतिरका इस्लामहरुले नै यहाँ सुन भरेका हुन् ।



यरुसलाइम शेल जहाव
वेशेल निखोसेक
वेसेल ओर...
हो लिखोल शिराइख
आनी किनोर....।


ऊ भन्छ शायद हाम्रो लागि लेखिएको त्यही नै अन्तिम दिन रहेछ, त्यसपछि उनीहरुले कहिल्यै त्यसरी जेरुसलेम घुम्न पाएनन् र त्यो दुर्लभ समयको पुनरावृति केवल मन र स्मृतिमा मात्रै रहिरह्यो त्यसैले पनि हुनसक्छ, त्यो गीत त्यति प्यारो भएको । स्वतन्त्रता दिवस तथा राष्ट्रिय सार्वजनिक समारोहहरुमा प्रायः सुनिने यो गीत इजरायलको राष्ट्रिय गान 'हातिक्भा' भन्दा पनि लोकप्रिय छ । इजरायलीको मनमा बसेकैले हुनुपर्छ यसले दोस्रो राष्ट्रिय गानको मान्यता पाएको छ ।

धेरै गायकगायिकाले यो गीत गाइसकेका छन् । मेरो आँखाको कोतूहलता पढ्दै ऊ मलाई पूरानो बाकसबाट एउटा क्यासेट झिकेर सुनाउँछ । सुली नतानको सुरिलो स्वरमा स्वरबद्ध त्यो गीत बज्न थाले पछि ऊ भन्छ– माया पनि उस्तै गरी गाउँथिन ।


मेरो भाषामा म यसरी बुझ्छु,

ए धिपधिप प्रकाशले 
प्रद्धिप्त भएको
सुनै सुनको सुवर्ण जेरुसलेम
म तिम्रो संगीतको सितार हुँ ।

संगीतको लयसँगै म प्रसंग जेरुसलेमतिर मात्र केन्द्रित गर्न चाहन्थेँ । अद्धितीय शहर जेरुसलेम प्रतिको मोह यहुदीहरुमा मात्र होइन, सबै धर्मावलम्वीहरुमा उत्तिकै छ । संसारका अन्य शहरहरु तिनको विशालता, भौगोलिक सुन्दरता, आर्थिक सम्पन्नता वा यस्तै अन्य कारणले प्रसिद्ध भएका हुन सक्छन तर पवित्र अध्यात्मिक शहर जेरुसलेम किन अतुलनीय छ त ?

 किनकी जेरुसलेम देउताको शहर हो, उनीहरुमा विश्वास छ । जेरुसलेमको अर्थ शान्तिभूमि पनि हो, तर यसैका निमित्त अन्य शहरको तुलनामा सबैभन्दा धेरै वैमनस्य, धेरै संघर्ष र धेरै रक्तपातहरु भएका छन् । धेरै आँसुहरु बगेका छन् । यहाँ बेवोलोनियन, ग्रीक, तुर्की तथा रोमनहरुले एकपछि अर्को गर्दै ३८ पटकसम्म आधिपत्य जमाएका थिए । यही क्रममा यसका संरचनाहरु कैयौंपटक खण्डहरुमा परिणत भए, कतिपटक त बस्ती शुन्य उजाड भयो यो शहर । यद्यपि ईश्वरप्रतिको उच्चतम आस्था भने यो शहरमा सधैंसधैं बाँचिरहेको छ ।

यो धार्मिक क्षेत्र अन्य धेरै राष्ट्रहरुद्वारा पटक पटक अतिक्रमित भई राजनैतिक सार्वभौमिकता अन्तरित भएपनि यहुदी राज्यले मात्र राजधानीको रुपमा स्थापना गरेको हो, यहुदीहरु भन्छन् । यो हाम्रो पूख्र्यौली सम्पदा हो, प्यालेस्टिनीको कदाचित होइन । सन १९४८ अघि जो यहाँ बसोवास गर्थे र आफूलाई प्यालेस्टिनी भन्थे, उनीहरु त कतैबाट आएका आगन्तुक मात्र थिए । तर प्यालेस्टिनीहरु भने यो सत्य नभएको दावी गर्छन । उनीहरुका पिता–पूर्खा र कयौं पुस्ता यहाँ बस्तै आएका थिए। एकाएक सलहसरी आएका यहुदीको जमातले किंवदन्तीको आधारमा आफूहरुलाई जवर्जस्ती धपाएर अन्याय गरेको उनीहरुको भनाई छ ।

मेरो बुढो साथी भन्छ– यूरोपमा यहुदीहरुमाथि भएको क्रूर अत्याचारको बदलामा विनाकारण यहाँ प्यालेस्टिनीहरुले मूल्य चुकाउनु परेको मात्र हो ।

जेरुसलेम र मायासँग सम्बन्धित स्वर्णीम यादहरुलाई थाति राखेर ऊ मलाई अर्को कथा सुनाउँछ । यहुदी र अरबहरु को थिए के तिमीलाई थाहा छ ? डा. विष्णु चापागाईंले यही पत्रिकाको पहिलो अंकमा लेखेका थिए— “इस्लाम र यहुदीका पूर्खा अब्राहमले सृष्टिको शुरुवात यही स्थानबाट गरेको विश्वास गरिन्छ ।”

एकअर्कालार्इृ देखिनसहने यी दुई शत्रुका पूर्खा कसरी एउटै थिए?
ऊ सुनाउँदै जान्छ — यु्गौं पहिले तिनै अब्राहमलाई ईश्वरको अनुकम्पाद्वारा इजिप्ट देखि समस्त कनान क्षेत्र ( जसभित्र जेरुसलेम पनि पर्छ) प्राप्त भयो । “तिमी र तिम्रा सन्तानहरुले यहाँ राज्य गर्नू” भन्ने उनको आज्ञामुताविक उनका पुत्र इज्याक स्वतः यसको उत्तराधिकारी भए उनैका सन्तति यहुदीहरु हुन् ।

अब्राहमको एउटी सुसारेसँग अबैध सम्बन्ध रहेछ । उनेले इस्मायल नाम गरेको पुत्रलाई जन्म दिइन । उनलाई गृह निकाला गरियो, उनी सम्पूर्ण अधिकारिताबाट बहिस्कृत भइन । इस्मायल जवान भए पश्चात पिताको वंशीय अधिकार प्राप्त गर्ने धोको उनमा सधैं प्राप्त भइराख्यो । उनीहरुले विशाल मरुभूमि परान क्षेत्रमाथि अधिपत्य जमाए । उनैका सन्तति इस्लाम भनिए । इज्याकका सन्ततिहरू चाहि यहुदी भए।

त्यसैले जेरुसलेमका लागि भएको संघर्ष दाजुभाइको झगडा बाहेक केही होइन, ऊ प्रष्ट्याउँछ ।

फेरि हाँसो उठ्ने गरी ऊ यो पनि भन्छ— ईश्वरले त हामीलाई बस्नका लागि मात्र ठाउँ दिएका हुन, कुनै ग्रहको एक टुक्रा जमीन पनि कसैको होइन । यदि जेरुसलेमका नाममा सधैं युद्ध भइराख्यो भने उनले यसलाई विशाल पत्थरमा रुपान्तरित गरिदिनेछन् र, अनि जसले यसलाई छुन खोज्छ उसैलाई चोट लाग्नेछ ।


जेरुसलेमबाट पूर्वतर्फ जैतुनको पहाडमाथि हरेक प्रभात चियाउने सूर्यको किरणले सम्पूर्ण विश्वमा आस्थाको ज्योति टल्किरहेझै देखिन्छ । उत्तर दक्षिण फैलिएका पहाडहरुले घेरिएको यो उपत्यका भित्रको सुवर्ण शहर जेरुसलेमलाई इजरायलले अत्यन्त जतनले सुरक्षा र सम्मान गरेर राखेको छ । करीब ३००० वर्ष पहिले राजा डेविडले यहाँ राज्य गरेका थिए । यहुदीहरु भन्छन्— “त्यही बेलादेखि नै हाम्रो राजधानी जेरुसलेम हो ।”

शहरको मध्य भागमा रहेको माउन्ट मन्दिरको रहस्यमय अलौकिकता अवर्णनीय छ । विभिन्न समयमा विभिन्न शासकहरुद्वारा पटकपटक विनाश र पुनर्निर्माण हुँदै आएको यो धार्मिक सम्पदा पुरातात्विक, साँस्कृतिक र राजनैतिक दृष्टिकोणले अत्यन्त संवेदनशील रहेकोले धेरै मुलद्धारहरु निषेधित छन् । यहीँ अवस्थित अल अक्सा अस्जित र इस्लामिक धार्मिक स्थलले गर्दा मुस्लिमहरुका निमित्त पनि माउन्ट मन्दिर (माउण्ट मोरिया) उत्तिकै महत्वपूर्ण छ ।

ईशापूर्व ९६७ मा सोलोमनले बनाएको यो मन्दिर ईशापूर्व ५८६ मा वेविलोनीयनहरुले नष्ट गरेका थिए । फेरि ईशापूर्व ५१६ मा पुनर्निमित दोस्रो मन्दिर पनि ईशापूर्व ७० मा रोमहरुद्वारा भत्काइए पछि तिनका बाँकी अवशेषहरुबाट निर्माण गरिएको लामो पश्चिमी पर्खाल (western wall)ले यहुदीहरुको पराजय, आँसु र शोकमय सम्झनालाई प्रतिविम्वित गर्छ ।

गल्ली गल्लीमा यहुदीहरुको रगतको धारा बगुञ्जेलसम्म टाइटसका निर्दयी सैनिकहरुले आक्रमण गरिराखे । संसारभरिका यहुदीहरू यही दिशातर्फ फर्किएर प्रार्थना गर्छन ऊ भन्दै थियो —प्रत्येक दिनको हाम्रो प्रार्थना तेस्रो  काल्पनिक मन्दिरसँग सम्बन्धित छ, जुन यही स्थानमा निर्माण हुनेछ, जब यहुदी देवदूत यस धर्तीमा प्रकट हुनेछन् ।

जेरुसलेमको बयानभन्दा फेरि उसलाई मायाकै सम्झना गाढा भएर आउँछ । हाइफा, गोलान क्षेत्र तथा पवित्र शहर जेरुसलेमका पर्खाल, चर्च, मन्दिर र मश्जिदहरुमा शायद उनीहरुको पनि कथा लुकेको छ । उनीहरु घुमेका पाइलाका डोबहरु त्यही बेला मेटिएर गएपनि कहिलेकाही एकान्तमा त्यही पदचापको आवाजले ऊ झस्कन्छ ।

मायाविनाको उसको हरेक स्मृति अधुरो–अधुरो छ । डेविड टावरबाट उनीहरु घण्टौ जेरुसलेमको पुरानो शहर नियाल्थे रे कहिलेकाहीँ त जाफा गेटबाट ऊटमा चढेर भित्र पसेपछि साँझ परेको पनि हेक्का रहँदैनथ्यो रे । त्यो निकै पुरानो समयको कुरा थियो । मुस्लिम, यहुदी वा क्रिश्चियनहरुका आ–आफ्ना चोक, क्षेत्र तथा गेटहरु छन् यहाँ । “भाया दोलोरोसा” अर्थात जिसस क्रुसमा टाँगिएर दुख्दै हिडेको त्यो वेदनाको बाटो पछ्याउँदै कति क्रिश्चियन तीर्थयात्री हरेक वर्ष यहाँ आएर उनको दुःखद सम्झना गर्छन् ।

 जिसस क्राइष्टको जन्म र मृत्यु यहीं भएकोले क्रिश्चियनका लागि पनि यो क्षेत्र उस्तै धार्मिक महत्वको छ । त्यसै देउताका शहर कहाँ भनिएको हो र ?

नयाँ वर्ष “रोश हा सना” मा हामी धेरै खशी भयौं । हरेक नयाँवर्ष जस्तै यसपाली पनि शोफारबाट निस्किएको पवित्र त्तयनी धर्म र यसका कथाहरु कुँदिएका यी पहाडका पर्खालहरुमा प्रतिध्वनित हुँदै जेरुसलेम र सम्पूर्ण इजरायलभरी गुञ्जियो । हाम्रो हिन्दू धर्ममा शंख जस्तै महत्व रहेको यो शोफार एक प्रकारको विगुल हो जुन भेडाको सिंगबाट बनाइन्छ । यससँग यिनीहरुको धार्मिक र पारम्परिक महत्व गाँसिएको छ ।

योम किपुरको अन्तिम दिन , शोफार बज्नेबित्तिकै कुन्नी कुन सम्झनाले डो¥याएर हो मेरो बुढो साथी चुपचाप पियानो बजाउँदै थियो । म देख्छु, पुरानो शहर बाहिर हवाइमील अगाडि खिचिएको मायाको तस्वीर सामुन्ने मानौं ऊ कुरा गरिरहेको छ । मुस्काइरहेको उनको तस्वीरको पृष्ठभूमिमा मोन्टोफोरको हवाइपंखा टक्क अडिएको थियो यस्तो प्रतित हुन्थ्यो कि उसको स्मृतिमा त्यो समय पनि त्यसरी नै टक्क रोकिएको छ ।
म सुन्दै जान्छु,

बिस्तारै ऊ त्यही गीत गुनगुनाउँछ,
जेरुसलायम सेल जहाव..............।

Remake Verson by Liel Kolet



Remake Verson By OFRA HAZA


Original verson by Suli Natan
Next Story: Older Posts Home

पलायन र अनुत्तरित प्रश्न

5 comments




आकाश घुर्मैलो देखिएको थियो, भूमध्यसागर माथि माथि उडेका बादलका पातला धर्साहरु सागरका छालहरुमा एना हेरेर जिस्किरहेझैं लाग्थे । असारसाउन महिनाको चरम वैंशमा थियो याम, तर त्यो उर्लदो जवानीको एक अंश पनि कतै देखिएको थिएन यो मरुभूमिको देशमा .... ।


न बर्षा, न झरी, न हिलाम्य खेत न पर पर सम्म गुन्जने लैबरीका भाकाहरु । कृषि कामदारको रुपमा केही बर्ष अघि इजरायल भित्रिए पछि उसले खेत र खेतालाका बुझाइ र परिभाषामा व्यापक अन्तर पाएको थियो । नजर भरी फैलिएको जग्गा, फलफूलहरुको अपार जंगल र सयौं खेतालाहरु ।


उ एउटा खेताला, बेला बेला क्षितिजतिर बादलले कोरेका रंगी बिरंगी पछयौराका आकारहरु झुल्किदै ओझेल पर्दै गरेको देख्दा उ सोच्छ - यो असार साउनको बर्खामास, किन झरी पर्दैन यो देशमा ? एक झर निथ्रुक्क रुझ्ने गरी किन बर्षा हुदैन यहाँ ?

उ बसेको देशमा असार साउन र भदौका महिनाहरुमा कहिलै पानी परेन, बरु हिउँदका चिसा कठाङ्ग्रिँदा मौसमहरुमा कक्रिएको धरतीमाथि मुटु छेड्ने गरी असिना बर्षा र हिउँ खसाउथ्यो आकाश । उसलाई लाग्थ्यो यहाँको प्रकृति पनि निष्ठुरी छ ।

यस्तो बेला उस भित्र कतै घर भन्ने चिज दुख्थ्यो , घरमुनिको गैह्री खेत, रोपाइँ र खेताला भएर संगै हिड्ने दौतरीहरुको संझना हुन्थ्यो । कहिलेकाही सम्झनाको त्यो भक्कानो आसु बनेर पग्लिन्थ्यो ।


तर अरु झैं सम्झनाको त्यो लहरमा साइली माइलीका स्मृतिहरू मात्र ताजा भएर आउदैनथे, बरु यदाकदा उ अचम्मसँग आफैलाई देख्थ्यो। उ' कतै हुन्थ्यो उसको सम्झनाको गाउँमा । आफ्नै छायाका हजारौं आकारहरु उसभित्र खेल्न थाल्थे, ति छायाहरू विदेशिनु अगाडिका उसैका तस्विरहरु हुन्थे । घुम ओढेर जोगिनु वा निथ्रुक्क भिजेर बाउसे गर्नु दुवै स्मृतिहरू सुखद लाग्थे । स्मृतिका ती तस्विरहरुमा उ अहिले जस्तो उदास कहाँ थियो र ?



"धडाम
sssssम्म ~~~ "


ग्रीन हाउसको छानोमाथि एउटा बज्र खसेको अप्रत्याशित आवाजले उसका मनका तार र तर्कनाहरु सबै चुडिए । वरिपरी मृत्युको छाया घुमिरहे जस्तो महसुस भयो । छातीको ढोका छेडेर मुटु भागुंला झैं ढक ढकाउन थाल्यो ।


भर्खर प्यालेस्टाइनको आकाशबाट उडेर आएको क्षेप्यास्त्रको प्रहारले ग्रीन हाउस ध्वस्त भएको थियो । एकाएक चारैतिर चित्कारको ध्वनी गुन्जियो । ग्रीन हाउसको छानो र एकतिरको पाखो पुरै भत्किएको थियो । भग्न खण्डहर भित्र पुरिएझैँ केही आर्तनाद र चिच्याहटले वातावरण अझै भयावह र हृदयविदारक लागिरहेको थियो । अस्थिपन्जरजस्तो त्रासदी ओकलिरहेको अर्को भित्तामुनी उसले सामानहरु छरिएको स्पष्ट देखिन्थ्यो । बाहिर आँगनमा उछिट्टिएको थियो, उजस्तै एउटा खेतालाको शरीर ।


उसले नियालेर हेर्यो भर्खर ढलेको त्यो शरीर बुन्चुको हो, आँखा मुख नाक कान सबै सग्ला नै थिए । बुन्चु अर्थात उसको एकजना हसिलो रसिलो थाई सहकर्मी, जसको देह लम्पसार परेर भुइमा झरेको थियो, छेवैमा उसको काल बनेर आएको रकेट, दुम्सीले खोस्रेझैं माटोको थुप्रो निकालेर जमिन मुनि जोतिएको थियो ।


केही साथीहरु भागेर पर पुगे, उसले सोच्यो भागेर कहाँ, कति पर सम्म जाने ? आफू पुगेको ठाउमै निशाना गरेर अर्को क्षेप्यास्त्र बज्रियो भने ? उ चुपचाप ठिङ्ग उभियो मुर्तिवत । तर एक पटक छाती छामेर हेर्यो, उसलाई लाग्यो उसको मन भने दौडिरहेको थियो, इजरायलका गल्ली गल्ली यताउता भड्किरहेको थियो ।


आँखै अगाडी विदेशी कामदार मरेको एउटा अप्रत्याशित घटनाको साक्षी बनेको थियो उ यसबेला । यो घटना सत्य नभई दिए पनि त हुन्थ्यो, एउटा असम्भव कल्पनाले पनि घरी घरी विथोल्न आउथे उसलाई । आफ्नै आँखामाथि पनि विश्वास गर्न मन हुदैनथ्यो ।

--------------------------------------------

इजरायलको सिमानामा रहेको प्यालेस्टाइन तर्फको तनावग्रस्त क्षेत्र गाजा नजिकैको नेटिभ हासरा भन्ने गाउँमा रहेको एउटा फार्ममा काम गर्ने विदेशी कामदार थियो उ ।


उकाली ओरालीहरु थिएनन्, न मलिलो रसिलो माटो, न सिंचाई गर्ने लामा लामा नहरहरू । कुनै उजाड मरुभूमिको मध्यभागमा बार लगाएर खेती गरेजस्तो थियो रोनेन अल्मर्टको त्यो कृषि फार्म । इजरायलको कृषि प्रविधि विश्वमै प्रख्यात थियो । उसले त्यहीँ हुने उब्जनीबाट बर्षेनी लाखौँ डलरको कारोबार गर्थ्यो । सुख्खा जमिनमाथि एउटा हरियो र अपत्यारिलो सत्य ।


पहिले त्यहाँका सबै खेतालाहरु प्यालेस्टिनी हुन्थे, इजरायलमा खतरा बढ्दै गए पश्चात प्यालिस्तिनी कामदार माथि पूर्ण प्रतिबन्ध लगाइएको थियो । परिणाम स्वरूप बिभिन्न देशबाट विदेशी कामदार यहाँ झिकाइए । कृषिमा काम गर्न विशेष गरि थाइल्याण्ड र चीनबाट कामदार आयातित गरिए। बिचमा नेपाल लगायत देशबाट पनि झिकाइए तर ती बन्द भए । त्यही समयमा हो उ इजरायल छिरेको ।


रोनेनको फार्ममा थाई र चिनी पनि उत्तिकै थिए, सबैको आ आफ्नो जिम्मेवारी, कार्य विभाजन र समुह थियो । थाई साह्रै 'मेहनेती' हुन्थे, त्यो इजरायलमा उनीहरुले कमाएको इज्जत । कृषिमा काम गर्न सजिलो थिएन, जाडोमा अति नै जाडो हुने, र गर्मीमा अति नै गर्मि हुने भएकाले पनि आउटडोर काम गर्न परेको बेला दिक्क लाग्थ्यो, बिस्तारै त्यो दिक्दारी अब अभ्यस्ततामा रुपान्तरित हुदै थियो ।



बेला बेला भड्किने हिँसा र अशान्ति संग या इजरायल प्यालेस्टाइनको अन्तहीन दुश्मनीसंग उसको कुनै लेनदेन थिएन, उसलाई डलर कमाउनु थियो, घर फर्कनु थियो । यहाँको प्रविधि सिकेर बुझेर कृषिमै लगानी गर्ने अनेकन सुन्दर योजनाहरुले उसको दिमागमा डेरा जमाउन पनि थालेका थिए ।



अलि अगाडी इजरायलले गाजा पट्टिमा केही हप्ता गरेको लामो कार्यवाही पश्चात प्यालेस्तिनिका तर्फबाट रकेट आक्रमण धेरै नै पातलिएको थियो ।खतराको सुचना दिदै साइरन बजेको बेला दक्षिण इजरायलमा वसोवास गर्नेहरु छिटो भन्दा छिटो आफूलाई सुरक्षित स्थानमा लुकाउथे, उनीहरुलाई पनि यस्तै सिकाइएको थियो । तर अब यस्तो खतरा टरेको पनि धेरै नै भै सकेको थियो ।

तर आज अचानक अप्रत्याशित रुपमा आएको क्षेप्यास्त्रले ढलेको बुन्चुको अनुहारले उसलाई विचलित बनाइ रहेको थियो ।

"बुन्चु, याला लकुम !" (बुन्चु, ल उठ अब ! )
उसको मनले पटक पटक यस्तो भने जस्तो लाग्यो तर अोठबाट केही आवाज निस्किएन ।

घरी घरी बुन्चुको हँसिलो अनुहार सम्झंदै उसको मनमा यस्ता असम्भव आग्रह्भाव र कल्पनाहरु पलाए, बुन्चु जुरुक्क उठे पनि हुन्थ्यो । तर निर्मोही बज्रपातले विदेशमा काम गर्न आएको बुन्चुलाइ यस्तरी ढालिसकेको थियो, त्यसपछि उ कहिल्यै उठेन ।

परदेशी भूमिमा देहावसान हुनु, कति दुखद हुदो रहेछ यस्तो घटना ! एकै ठाउमा खाने, खेल्ने र काम गर्ने भएर बसी सकेपछी को स्वदेशी को विदेशी आत्मीयताको डोरीले त्यसै त्यसै बाँधेर राख्दो रहेछ । सबै खेताला साथीहरु बुन्चुको शोकमा डुबे । भोलिपल्ट इजरायलले गाजामा प्रत्याक्रमण गर्यो, संचारकर्मीले विदेशी कामदार मारिएको घटनाको नमिठो कथा लेख्न भ्याए । ग्रीन हाउसको पुनर्निर्माण भयो, फेरी नर्सरीहरुमा कलिला हरित मुस्कानहरु खुल्न थाले अनि विदेशी कामदारहरु उसको कृषि फार्ममा यताउता गर्न थाले ।


तर कामदारको त्यो लहरमा 'उ' पात्र देखिएन, उ कतै अलप भयो । बुन्चुसंग बिताएका क्षणहरु र उसको भूतकाल संग तर्सेर उ भाग्यो, तर कहाँ ? उ यसरी बेपत्ता भयो, सागरमा गन्तव्यहीन बगिरहेको कागजको जहाजजस्तो , जो केही पर पुगेर कता अलप हुन्छ थाहा हुन्न । त्यसपछि उसंग सम्पर्क हुने सकेन । सेन्गेन भिषा लगाएर उ युरोप भास्सियो कि शरणार्थी बनेर हात उठाई यतै बसेको छ वा लुकेर अबैध भइ गल्ली गल्ली रुमल्लिई रहेछ । तर एउटा कुरा पक्का थियो न त उ नेपाल नै फर्कियो, न उसका खेतहरूमा आधुनिक कृषि प्रणालीका हरिया नर्सरीहरु उम्रिए ।

घर फर्कने, विदेशमा सिकेका सीप र प्रविधि आफ्नै माटोमा पोख्ने ती उत्साह्हरुलाई किन र कसले बाटो छेक्यो ? पलायनको कुन रकेटले ध्वस्त बनायो ?

अनुत्तरित प्रश्न बोकेरै मैले कथा टुङ्ग्याएँ - आज विदेशी मुलुकका अज्ञात शहरहरुमा यसरी बेखबर भौतारिई रहने 'उ' पात्रहरुको संख्या कति छ ? कति नामहरु दिनहु यसरी गुमनाम हुदै छन ? अहँ कुनै नियोगमा, कहिँ कतै, केही गणना छैन, यस्ता प्रश्नहरुको असंख्य घाउ बाँचेको उसको देश नेपाल पनि यो कथाकार जस्तै जस्तै अनुत्तरित छ ।
Next Story: Older Posts Home

घरपकड, निर्वासन र क्रुर इजरायल

3 comments

Wednesday

टेबलमा "मोड" उस्तै गरि पल्टी रहेको छ । जहाँ एउटा विवश नेपालीले वैदेशिक रोजगारीको शिलशिलामा अनेकौं उकाली, ओराली, जंघार र घुम्तीहरु हुदै संसारका विभिन्न देशहरुमा पुगेका, उसले भोगेका जीवनयात्रा र घटनाक्रमहरुका संस्मरण लेखिएका छन ।

अस्तिको भेटमा उहाँले भनेका शव्दहरुको सम्झना आउछ - इजरायलमा कुनै तडकभडकबिना आपसी हातेमालो, मिलाप, सौहाद्रता र जीवन बोकेर बाँचिरहेको यदि कुनै साच्चिकै संस्था छ भने म अनेसास इजरायललाइ सबैभन्दा पहिले सम्झन्छु । त्यो साँझ नई गणेश दुर्गा पुरस्कारबाट पुरस्कृत श्रष्टाद्वय दीप्स शाह र उमा सुवेदीको अभिनन्दन तथा नेपाल फर्कने क्रममा रहनु भएका सोमेन्द्र घिमिरे र उमा सुबेदी स्वयमको विदाई कार्यक्रम थियो ।

सस्मरणात्मक कृति मोड भित्र एउटा प्रतिनिधि परदेशीले भोगेका असंख्य मोडहरुका बयान गर्ने उनै एक यात्री हुन नयन्द्र चेम्जोंग । बारुदको खेति गरेर छिमेकी तर्साउने देश इजरायलमा उनको वसाई अवैध भएको घोषणा गर्छ - यो देशको अध्यागमन निकाय र स्वदेश फर्काउन चाहन्छ ।

अविष्मरणीय झरी र असिना

कृष्ण भाइ ! मान्छेको जीवन केवल भोगाई र अनुभूतिहरूको संगालो मात्र हो । मेरो जीवनमा पनि यस्ता अनेकौं तिता मिठा अनुभूतिहरु गासिएका छन र यो घटना पनि त्यस्तै एउटा अनुभव भयो, कुनै गुनासो छैन । मैले हिड्नु पर्ने नेपालका बाटोघाटो पाखा पखेरोहरुले मलाइ पर्खिरहेका छन ।

मन गह्रुङ्गो भएपछी कुरा गर्ने र सहानुभूति बाड्ने हिम्मत नै नभएजस्तो, गला रोकिएजस्तो सयथरी अनुभूतिहरुले आफुलाई एकै साथ थिचिरहेको बेला उहाँ उल्टो मलाइ नै सम्झाई रहनु भएको थियो ।

केही दिन अरु साथीभाई संगै बसौं, हाँसखेल गरौँ र कुनै पक्का योजना सहित स्वदेश फर्कौं त्यत्ति मात्र थियो कोशिस । गल्ति आफ्नै, त्यो ढिलो भयो र यो देशले मानेन, यहाँको नियमले मानेन, स्वीकार गरेको छु ।

म पार्क लुमिमा गएको बनभोज सम्झन्छु । इजरायलमा रहनु भएका थुप्रै साहित्यिक मनहरु एकै साथ् भेला भएर हाँसेका, रमाएका थियौं, कविता सुनाएका थियौं । र त्यही खुल्ला आकाशतल संस्मरणात्मक कृति मोडको विमोचन गरेका थियौं । बिचमा जब झरी परेथ्यो, झरीमा रुझेर अतालिई रहेका साहित्यिक मनहरुलाई सम्बोधन गर्दै उहाँले भन्नु भएको थियो - "यो झरी परेकोमा अहँ कुनै दुख छैन, यसले त सम्झना अरु अविष्मरणीय बनाइ दिएको छ । सोच्दैछु - अब असिना पनि बर्षियोस र चुटोस हामीलाई ।"

कुनै पनि घटनालाइ हेर्ने फरक धार या एउटा पृथक दृष्टिकोण उहाँ संग थियो त्यो व्यक्तित्वलाई म हार्दिक प्रशंसा गरिरहेछु । जसको जीवनमा पटक पटक असिना बर्षिएको छ र फेरी उ उस्तै मुस्काई रहेको छ ।



मान्छे नअट्ने गाउँ

विदेशिने र विदेशबाट स्वदेश फर्कने नेपालीहरुको लर्को सधै उस्तै छ थामिएको छैन र छिटै थामिदैन पनि शायद । त्यसो र ऋणका पोकाहरु फुकाएर एकमुठी सन्तुष्टिको गाँस लिने, एक छाप्रो वास र एक धरो कपासको जोहो गर्ने लोभ बोकेर परदेश लागेका धेरै संग ती सपनाहरु फर्कने बेला सम्म ज्युँ का त्यूँ हुन्छन । अझै केही समय थपेर पसिनाको विनिमय अरु केही गरुँ न त भन्न चाहने कति छन कति ? उनीहरुसंग स साना खुसिहरु किन्न सक्ने गरी कमाउन अझ पसिना बगाउने धोको हुदो हो । जसका आँखामा सन्ततिको सुन्दर भविष्य पनि गासिएको हुँदो हो ।

यहाँ स्थित गैर सरकारी संस्था काभ ला ओभेद (श्रमको सम्मान) कि संस्थापिका हाना जोहार इजरायल सरकारलाई बारम्बार भनिरहेकी छिन - "तिमीले गर्न नसक्ने या नरुचाउने अप्ठेरा कामहरुमा सघाएर, श्रम र पसिना बेचेर अरु २/४ पैसा कमाउन इच्छुक गरिब देशको नागरिकलाई तिमी किन अपराधीको नज़रले हेरिरहेका छौ ?"

त्यसभन्दा पनि माथि उठेर मानव अधिकारवादी संस्थाहरु एकै स्वरमा भन्छन - "जाति धर्म र राष्ट्रियता भन्दा ठुलो मानवीयता हो । धर्तिको जुन कुनामा पुगे पनि उ सबभन्दा पहिले एउटा मानव हो, हास्ने खेल्ने, काम गर्ने उसको उत्तिकै अधिकार छ जति तिम्रो छ । राजनैतिक स्वार्थका लागि बनाइएका कानुनले मानव अधिकारको हनन नगरोस ।"

लुकेर भागेर, छेकिएर शरणार्थी बनेर हात उठाएर पनि मान्छे अटाउन सकेको छैन यहाँ । घरदेश होस् वा परदेश जहाँ पनि मान्छे तिरस्कृत भएकै छ पटक पटक । मलाइ यो स्थितिबोधले अत्यन्त उदेक लागेर आइरहेको छ कि मान्छे अटाउने गाउँ मान्छेकै मन मात्र रहेछ त्यसबाहेक उ कहीं अट्दैन ।


धन कमाउने सपना

थाहा थिएन कुन विवशताले हामीमा डेरा जमाएको थियो ? अँध्यारो, बन्द, द्वन्द, ढुङ्गा इटाका टुक्राहरु, भाचिएका रेलीङहरु, अस्थिर राजनीति, अशिक्षा भोक गरिबी र शुन्यता ... । देश समझदा सल्बलाउने यस्तै दृश्यहरुको नमिठो अन्तरद्वन्दले हो या मनमा साचेर राखेको भोलीको एउटा सपना र जिवनमोहले डोर्याएर हो, मान्छे शरणार्थी भै दिएको छ । युरोप, क्यानाडा र अमेरिकामा धेरै नेपालीले यो विवशतालाई हात उठाएर आत्मसात गरेका छन ।

इजरायल सरकारले भर्खरै दोश्रो चरणको संसदीय निर्णयबाट केयरगिभर सम्बन्धी नया कानून पास गरेको छ । वृद्धवृद्धा नागरिकको हेरचाहका लागि विदेशबाट झिकाइएका कामदारहरुलाई लागु हुने यो कानूनका अनुसार उ अर्को शहरमा काम गर्न जान पाउने छैन, उसले त्यही स्थानमा रहेर त्यस्तै प्रकृतिको बिरामीको मात्र हेरचाह गर्नु पर्नेछ र सिमित संख्यामा मात्र रोजगारदाता परिवर्तन गर्न पाउनेछ ।

दासत्वका आधुनिक नियम कानून निर्माण गरिरहेको छ यो राष्ट्र र गरिब देशका निरिह नागरिक हुनुका विवशता माथि प्रहार गरिरहेको छ । जस्तो सुकै परिस्थितिमा पनि जीवन जस्तै बनेर आत्मसम्मान हरेक मान्छेको अन्तरमा बाचिरहेकै हुन्छ तर त्यसको स्वरूप र परिभाषा भने देश, काल र स्थिति अनुरुप सापेक्षित हुदै जाँदो रहेछ र जसले सम्झौतालाई स्विकार्दो रहेछ । के हो आत्मसम्मान र स्वाभिमानको परिभाषा ? म पटक पटक अन्योलमा परेको छु ।

यो बाध्यता हो यस्ता कति नियम कानुनले हामीलाई पराइको आँगनमा एउटा दासत्व स्वीकार्न विवश बनाई रहेका छन, हामी मौन यसकारण छौं कि हामीसंग सपना छ र त्यो सपना हामीलाई असाध्य प्यारो लाग्छ । जापानका गज़ल्कार मित्र कृष्ण 'काल्स'को गज़ल संग्रहको शिर्षक जस्तै - " धन कमाउने सपना "


कंशका दूतहरु

तेल अभिभ सेन्ट्रल बस स्टेशनको पछिल्तिर सलामे स्ट्रिटमा नेपाली दम्पति द्वारा संचालित माल्का बेबी केयर सेन्टरमा खासखुस चलिरहेको छ - रोशनीलाई नाबालक छोरासहित पुलिसले पक्राउ गर्यो नि, बिचरी । इजरायलमा कामदारको रुपमा आएका धेरै आमाहरु दुधे बालकलाई काखमा च्यापेर सोचिरहेका छन - कतै मलाइ पनि भोली पुलिसले पक्राउ गरेर निर्वासित गर्ने त हैन ?

इजरायल उसको धार्मिक यहुदी राज्यको परिकल्पनामाथि भोली सङ्कट आउन सक्ने भयले आज यति मानवाधिकार बिरोधी हुदै गैरहेको छ कि उ कसैको कुरा सुन्दैन । उसले यतिखेर बिर्सेको छ कि इतिहासमा उ कतिपटक अरुको घरमा शरणार्थी भएर संघर्ष गरेको छ , पटक पटक लखेटिएको छ, धपाईएको छ, तिरस्कृत भएको छ र आमसंहारको शिकार भएको छ । उसले आज आफैले त्यही हिटलरी प्रक्रिया दोहोर्यान कुन नैतिकताले दिन्छ ? यसर्थ पनि उ यसरी क्रुर हुनु हुदैन - यस्ता कदमहरुको यसबेला इजरायलीहरु नै बिरोध गरी रहेका छन, भनिरहेका छन - इजरायलमाथि पर्न सक्ने सङ्कट न त अवैध मानिएका कामदार हरु हुन्, न त अबोध शिशुहरू । यदि हो भने धार्मिक राज्य बनाउने नाउँमा अधर्मी भएर एकपछि अर्को कडा नियम बनाउदै जानु र क्रुरताको परिचय दिदै स साना निहुँमा छिमेकिहरुमा आक्रामक नीति बनाउनु उसको संकटको कारण हुनसक्छ ।

इजरायलको यो कंश चरित्रबाट रुष्ट भएका समाजसेवी तथा अधिकारकर्मीहरुले एउटा यस्तो भूमिगत संजालको निर्माण गरेका छन जसले हरेक दिनजस्तो सैयौं वालवालिकाका बा - आमाको मोबाइलमा एकैपटक प्रहरीका गोप्य सुचना प्रसार गरेर सघाइरहेका हुन्छन ।

"आज ठिक यतिबेला फलानो शहरको फलानो स्ट्रिटको यति नम्बरको घर नजिक अध्यागमन प्रहरी देखिएको छ त्यो बाटो नहिड्नु .. सतर्क भएर बस्नु ।" मोबाइलमा संदेश आएको देखेपछी बच्चा खेलाउदै गरेकी एउटी फिलिपिनी पार्क बाटै शहरको एक कुनामा अलप भइ । उसलाई लाग्न थालेको छ यसरी कहिले सम्म सकिएला र ?
भन्न त संदेश पठाउनेहरु यसो पनि भनिरहेका छन, यदि पुलिस तिम्रोमा आयो भने तत्काल हामीलाई मेसेज गर्नु १० मिनटमा हामी आउनेछौं र प्रतिकार गर्नेछौं । यस्तो उद्धारको वचन पनि अति संवेदनशील मानिएको वालवालिकाका बिषयमा मात्र केन्द्रित भएको छ, कारण अवैध मानिएका हजारौं कामदारहरुको तथ्यांक र सम्पर्क उनीहरु संग छैन । राज्य र कानुनका अघिल्तिर हटलाइनको यो सदाशयता र विरोधले कुन अर्थ राखोस ? यस्ता झिना संकेतहरु छक्याउदै गल्ली गल्ली पुलिसहरु आफ्नो शिकारको खोजीमा निस्किरहेका छन । सावधान !







Next Story: Older Posts Home

परदेशमा दुख्छ मन

2 comments

Friday




परदेशमा दुख्यो मन दुखाएर रोएँ
परेलीमै सबै आँसु लुकाएर रोएँ



मधुर स्वरमा शिव परियार गज़ल गाइरहेका छन्, यही बेला इन्टरनेटका भित्ताहरुमा कोरिया जानको लागि आवेदन दिनेहरुको लामो लश्कर सहित समाचार छापिएको हुन्छ । पोहोर बर्ष जस्तै यसपाली विदेश जान चाहने त्यो भिडको आकार अझ बढी थपिएको छ । घरदेशबाट परदेश लाग्ने यो यात्रा किन बढि नै रहेको हो ? एकछिन सोचमग्न हुन्छु, सपनाहरुको यो ओइरो कहिले थामिने हो ?

परदेश हुदै लेखिएको उद्धृत गज़लकी लेखिका उमा सुवेदी स्वयम इजरायलबाट पांच बर्षे लामो वसाई सकेर भर्खर स्वदेश फर्किसक्नु भएको छ । केही दिन पछि उहाँको फेसबुक स्टाटसमा लेखिएको देख्छु -

परदेशबाट सोध्यैा तिम्ले घरदेशको के चाल छ
खै कसरी वयान गरूँ जताततै वेहाल छ ....


हो, यी यसरी युवाहरुमा बढ्दै गएको विदेशमोह र समाचारमा छापिने यस्ता तस्विरहरुले देशको बिग्रदो स्थितिलाई नै प्रतिबिम्बित गरिरहेका हुन्छन । रोजगारी छैन, हरेक क्षेत्रमा अवसर र सम्भावनाहरु कम छन, राजनीतिक अवस्था सधै तनावपूर्ण छ । विजुली छैन, पानी छैन, इन्धन छैन .. समस्या र अभावै अभावको यो पहाडबाट उम्कने सजिलो बाटो बनेको छ विदेशको यात्रा ।





सजिलो कहाँ छ र?

के विदेश सोचेजस्तो सजिलो छ त ? विगत केही बर्ष देखि इजरायलमा छु । एकछिन फर्किएर विगतमा छोडेर आएका दिनहरु हेर्दा र विदेश बिताएका समयहरु केलाउदा मन गह्रुङ्गो भएर रुन आउछ, शिव परियारले गाएको त्यो गज़ल जस्तै । अध्ययन, रोजगार या अन्य विभिन्न वहानामा परदेश हिडेका सबै सुखी कहाँ होलान र ? मलाइ लाग्छ केहीलाइ छाडेर अधिकांशको मन शायद त्यसरी नै रुन्छ, जसमा परदेश लाग्नु अघि उसले साँचेका अधुरा सपना र आकाङ्क्षाहरु पनि मिसिएका हुन्छन ।

वैदेशिक रोजगार थोरैलाई सजिलो होला तर अधिकांशलाई फलामको च्युरा जत्तिकै कठिन छ । विदेश जान सोच्दै गरेका युवाले पनि यो तथ्यलाई केही हदसम्म पक्कै बुझेका छन, यद्यपि स्थिति विवश बनेको छ । आफ्नै देशमा सिप र श्रमको उपयोग गर्ने पर्याप्त सम्भावना भए किन कोही श्रम सिप विनिमय गर्न विदेशिन्थ्यो ?


विहान देखि सर्भिसमा हुन्छु, कसैले मेरो समय किनेजस्तो लाग्छ । यी फराकिला सडकहरु, घुम्न जाने पार्क, खाने ठाउँ, प्राथना गर्ने मन्दिर (स्थानीय भाषामा बेट केनेसेट) या यी रेस्टुराँहरु ... कुनै पनि मेरा रोजाइका स्थानहरु हैनन् । आउदा जाँदा मजस्तै असंख्य अनुहारहरु भेटिन्छन - काममा इन्जोय गर्नु पर्छ यार खुब रमाइलो पो हुन्छ त, उनीहरुको तर्क यस्तै हुन्छ । तर त्यही धारो पधेरो, वरपिपलको चौतारी र घर सम्झेर कहिलेकाही दुखि हुने मनलाई कसले पो छेक्न सक्छ र ?


फेरी एकपटक घरदेशकै कुरा गरौँ ।

राजनीति घृणित खेल हो भन्दै यसको गन्ध पटक्कै नरुचाउने जो कोही पनि तर आज यसबाट यति प्रभावित भएको छ कि उ त्यतिकै मौन बस्न सकिरहेको छैन । नयाँ नेपाल बनाउदै गरेको सरकार र राजनेताहरुले कुर्सी तान्ने खेल खेल्नु बाहेक अरु कुनै खास काम गर्न सकेका छैनन् । संविधान निर्माण हुने कुनै अत्तो पत्तो छैन । उल्टो सभाषदहरु समेत भ्रष्ट हुदै गएका समाचार दिनप्रतिदिन आउन थालेका छन ।

यस्तो बेला, बिरोध र दवाव दिन युवाहरुको एक जमात सामाजिक संजाल फेसबुकबाट ओर्लेर सडकमा स्वस्फुर्त उत्रेको छ । सबैले एउटै नाराका काला पर्चाहरू छातीमा टासेका छन् जसमा लेखिएको छ -
भत्ता पुरा लियौ अब संविधान देउ

के थाहा यी मध्ये कतिले विदेश पढ्न जाने फर्म भरी सकेका छन कि ? या कति केही बर्ष बाहिर बसेरै फर्केका पो हुन् कि ? आज जस्तो भएपनि कामना गर्छु, भोली कोही भौतारिदै बाहिरिन नपरोस, यिनीहरु सबैले आफ्नो भविष्य अब नेपालमै सुरक्षित गर्न सकुन ।




image:mysansar & purbelitimes
Next Story: Older Posts Home

अपरिभाषित प्रेम

9 comments

Tuesday

फेब्रुअरीको जेरुसेलम शहरमाथि बिहानको मधुरो घामले अघि नै आँखा उघारी सकेको थियो । इजरायलको राजधानी शहर जेरुसेलम, नाब्लास स्ट्रिटको किनारमा उभिएको यो अग्लो भवनको पाँचौ तल्लाको झ्यालबाट एकपटक भुइँतिर नियाल्छु । एउटा भुवादार स्विटर र मफलरले हिउँ खस्ला जस्तो सिरेटोलाई छेक्दै भ्यालेन्टिना रातो गुलाफ लिएर अघिदेखि पर्खिरहेकी छ ।

जाडो याम भ्यालेन्टिनालाइ शत्रु जत्तिकै लाग्छ । किन ? यसो भन्न उसलाई पटक्कै संकोच लाग्दैन कि उसले यी चिसा मौसमहरुमा आफ्नो जवानीलाई उनीका बाक्ला लुगाभित्र कैद गर्नु पर्छ र आफ्नो रहर लाग्दो यौवन यसरी गुम्सिएलाझैं थुन्नु परेको उसलाई पटक्क मन पर्दैन ।


हाइ भ्यालेन्टिना !
हाइ ! किन ढिला गर्यौ त ओर्लन ?
माथिबाट केहीबेर तिमीलाई हेरेर बसेँ, मलाइ पर्खिरहेको ।
त्यसो भए मेरो कविता पनि लेख्यौ कि ?

भ्यालेन्टिना ओभिलिन्स्की, यो रसियन युवतीलाई थाहा छ, म कविता लेख्छु मेरो भाषामा । पारिला घामका धर्काहरु पछ्याउदै पार्कमा बिताएका स्वर्णिम पलहरु हुन् या मुखबाट उठेका बाफका धुँवाहरु साट्दै कुनै रेस्टुराँमा बितेका अनमोल क्षणहरु , कत्रो खुसीको कुरा ! नबुझे पनि बुझेझैं गरी भ्यालेन्टिना मेरा कविताहरु सुन्न मन पराउँछे, र म उल्था गरी गरी उसलाई सुनाउछु ।

पार्कबाट बहेको मिठो सुवास, भ्यालेन्टिनाको तनको सुगन्धसंग मिसिएर वातावरण मोहक बनिरहेको थियो । फुलको हांगा माथिमाथि उचाल्दै छाता ओढेर पर्खिएझैं पार्कको एउटा कुनामा रहेको खाली बेन्चमा जिउ बिसाउने बित्तिकै भ्यालेन्टिनाले आज पनि प्रश्न गरी - तिम्रो साच्चिकै बिहे भएको छैन ?

'होइन'को भावमा टाउको हल्लाउदै म भन्छु - तर कसैसँग मेरो प्रेम भएको चाहिं म स्वीकार गर्छु ।
को हो नि त्यो ? कस्ती छ म पनि चिन्छु कि ?
यी, यो गुलाफ जस्तै मेरै आँखा अगाडी उभिएकी, उसको आँखामा हेरेर म भनिदिन्छु - मेरी प्रेमिका उही हो।
भ्यालेन्टिना शर्माएर रातो हुदै भन्छे - फेरी ढाँट्यौ तिमीले ।

......................................

हो भ्यालेन्टिना, शायद तिमी सही छ्यौ.. यो सम्बन्धको नाम प्रेम नहुन सक्छ । प्रेम कस्तो हुन्छ ? यसको आकार स्वरूप या अनुभूतिका कुनै पनि रंगहरु मैले केलाउन सकेको छैन । एउटा लेखक भएर मैले प्रेम र यसका परिभाषाहरुलाई अनेकौं तरहमा व्याख्या गरें हुँला यद्यपि म आफू चाहिं कहिले प्रष्ट भईन कि प्रेम के हो ?

हरेक पटक प्रेमको वहसले गहिराइ लिदै गए पछि म त्यही स्मृतिको सागरमा डुब्न पुग्छु जुन स्मृति करिब एक दशक देखि म भित्र थुनिएर रहेको छ ।

हँ फेरी कता हरायौ ? आफ्नै सम्झनाको समुन्द्रमा डुबेको मेरो आँखा अगाडी हात हल्लाउदै उ भन्छे - भनि हालें नि मैले, तिम्रो कोही छ जसलाई तिमी सम्झिरहेका छौ, को हो त्यो ?

प्रिय भ्यालेन्टिना ! बर्षैादेखि एउटा अन्जान, अज्ञात अन्धकारले थुनिएर म आफै बसेको बेला कसरी भनुँ, मेरो छाती भित्र कैद भएका ती स्मृतिहरु प्रेमका डोबहरू हुन् या होइनन ? सुन्छैा भने सुन, यो उसैको कहानी हो जसलाई तिमी यतिखेर मेरी प्रेमिका भनेर सोची रहेकी छ्यौ ।


त्यो समय थियो जुनबेला अहिले झैं छपक्क इन्टरनेट, वेव्डायरी या विद्युतीय संजालहरु थिएनन । यसर्थ लेखकले प्रतिक्रिया कुर्न महिनौं पर्खनु पर्थ्यो, पत्रिका या पोस्ट बाकसमा ती पाठक प्रतिक्रिया बनेर आउँथे । म आफै पनि मन परेको लेखकलाई यसरी पत्र कोर्थे र प्रसंशा गर्थें या उनका रचनाहरुमा टिप्पणी गर्थें । लेखक र पाठकको भावनात्मक सम्बन्ध गहिरो हुन्थ्यो ।

म त्यस्ताका एउटा सामान्य लेखक थिएँ, समयले बनाएको । पत्रिकामा साहित्यिक स्तम्भ चलाउथेँ । साहित्यिक अभिरूचि भन्दापनि अनेकैाँ सपना बोकेर गाउँदेखि शहर पस्ने एउटा प्रतिनिधि किशोरले गर्ने अभावसंगको संघर्ष या जिविकोपार्जनको उपक्रम मात्र थियो मेरो लेखन । यद्यपि प्रतिक्रियाहरुबाट के अनुमान गर्न सक्थें भने, पत्रिकाको मेरो जागिरे साहित्यकर्मले एउटा बहाव बनाई सकेको छ । म मान्छेको प्रेम र जीवन, भोगाई, घटनाक्रम र आवृत्तिहरुको एउटा अटुट सिलसिला लेखिरहेको छु जुन सिलसिला प्रत्येक अंकका स्तम्भमा कुँदिएर कहिले नटुंगिने धारावाहिक उपन्यासमा परिणत भएको होस् ।

अचानक कुनै विशेष कारणले पत्रिकामा लेख्ने क्रम टुटेको मात्र थिएन, मेरो लेखन यात्रा र साहित्यिक गतिबिधि निमिट्यान्न भयो । दिन, हप्ता गर्दै महिनौं बित्यो । म लेखनमा फर्किनँ । मैले रमाउने बिषय अरु नै केही पाउन थालें ।

त्यसपछि, एकदिन एउटा लामो पत्र आयो ।



प्रिय लेखक!

म तपाईकी प्रशंसक । सम्झनुहोस यत्ति हो मेरो परिचय । जो तपाईले कुँदेका शब्दहरुसंग मोहित भएकी छे । तपाईका श्रृजनाहरुको प्रभाव मेरो मनको भित्री सतहमा प्रेम भन्दा गहिरोसंग बसेका छन्, कोरिएका छन् । तपाईले किन लेख्न छाड्नु भयो ? मेरो मनभित्र उर्लिरहेको यही प्रश्न र अस्वीकृति यो पत्रको कारण हो । तपाई यसरी पाठकसंग लयात्मक सामिप्यता राखी सकेर एकाएक आफै विमुख कसरी हुन पाउनु हुन्छ ?

साच्चै भनौँ मेरो उमेर र यो यौवनको चञ्चलताले कुनै ठुला ग्लामर क्षेत्रका कलाकार या रंगिन दुनियाका स्टारहरु प्रति कहिल्यै आकर्षण राखेन । मेरो आकर्षण भन्नु आदर्श भन्नु सधै लेखक साहित्यकारहरुमात्र भए । मेरो कोठाका भित्ता देखि लिएर मनका कुनाकुनामा भानुभक्त देखी लक्ष्मी प्रसाद पारिजातका तस्वीरहरु टाँसिएका छन । एउटा तस्वीर तपाईको पनि यसरी टाँसिएको छ, मानौ तपाईको शब्द साह्रित्य भाव वा शैलीले मेरो मन सुटुक्कै चोरेर लगेको होस, कुनै प्रेमिले प्रेमिकालाई चोरे जस्तै ।

प्रिय लेखक! म यो सब किन लेखी रहेको छु थाहा छैन । हुन सक्छ हाम्रो भेट कहिल्यै हुने छैन र यो एउटा साधारण पाठक पत्र बाहेक अरु केही पनि होइन । पत्रिकामा छापिने तपाईका हरेक स्तम्भहरुको पर्खाइमा सधै अधीर भैरहेकी हुन्थेँ र त्यो धैर्यताको सिमाना आज टुटेकोले यो पत्र लेख्न विवश भएकी हुँ । त्यसो त मेरो मनको डायरीमा तपाईका कविताहरु र कथाहरु कहिल्ये नउप्किने गरी सजिएका छन् । तपाईका ती पँक्तिहरु,पत्रिकाका कटिङ्गहरु मैले मेरो शयन कक्षका भित्ता दराज र ऐना भरी पनि टाँसेको छु । तपाइका कति कथाहरुहमा मैले आफूलाई नायिकाको रुपमा उभ्याएकी छु । आफै हाँसेकी छु र आफै रोएकी पनि छु । साथीहरुले संगित फिल्म वा फेसनका कुरा गरिरहँदा मैले तपाईका कुरा गरेकी छु र साहित्यका कुरा गरेकी छु ।

एक हिसावले ती शब्दहरुसंग मेरो प्रेम भएको छ, एकतर्फी प्रेम । कुनै पाठकले यतिका प्रेम गर्दागर्दै पनि तपाई किन साहित्यबाट भाग्दै हुनुहुन्छ ? म यही बुझाउन चाहान्छु ।
प्रिय लेखक, तपाईले लेख्न छाड्नु भयो भने तपाईका शब्दसंग त्यो मेरो अनुराग सबै मर्नेछ । त्यसको हत्या हुनेछ र तपाईलाई पाप लाग्ने छ ।

पत्र रहस्यमय थियो ।
न पत्र प्रेषकको नाम थियो न ठेगाना । खुलदुलीका बादलहरु छाती भरी मडाडीइरहे धेरे दिन सम्म । पत्र मेरो कथाको मख्य विषय जस्तो बन्यो । साहित्यमा फर्कन उत्साह बढेजस्तो भयो । मान्छेको मन न हो । सानै कुराले कति छिटो प्रेरित हुदो रहेछ । मैले फेरी लेख्न थालेँ ।

दोस्रो तेस्रो चौथो उसका पत्रहरु आउन थाले । प्रत्येक पत्रहरुले उत्साहको नयाँ संचार बोकेर ल्याउँथे । लेखनमा निरन्तरता आउन थालेपछि उ सबै भन्दा धेरै खुशी भएकी थिर्इ । एउटा अब्यक्त खुशी ममा पनि छाउन थालेको थियो उसका पत्रहरु आउन थाले पछि । कहिलेकाही त लाग्थ्यो उसैको मीठो प्रतिकृयाकै लागि यो सब लेखी रहेको पो छु की ? पोष्ट बक्सहरु घरिघरी खोल्दै म उस्का पत्रहरु पढ्न बर्षौदेखी आतुर भै रहेको छु जस्तो लाग्थ्यो । केवल एउटा पाठकपत्रले मेरो स्वभाव पुरै बद्ली दिएको थियो । तर, दुखको कुरा, पत्र एकतर्फी हुन्थ्यो । मेरो मनमा उसप्रति उठेका भावनाहरु पठाउने उसको कुनै ठेगाना थिएन ।

धेरै पछि मैले थाहा पाएँ मलाई प्रेम भएको छ, त्यो पत्रसंग, त्यो पत्रलेख्ने मनसंग, मान्छेसंग र भावनासंग । यस्तै भावनाले भरिएको मैले केही लेखेर छपाएँ “मेरो पहिलो प्रेम” ताकी उसले बुझोस । जसमा मैले उसलार्इ जान्न चाहे, "को हौ तिमी ?"

लगत्तै अर्को पत्र आयो, त्यही पत्र थियो जस्ले मेरो प्रेमको दृष्टिकोण पुरै बद्ली दियो । – निर्णायक र अन्तीम पत्र ।
पत्र यस्तो थियो ।

प्रिय लेखक!
एकैसाथ खुशी वा दुखी दुवै भर्इ रहेकी छु । प्रेमको कुनै परिधि हुदैन यसर्थ तपाई भित्र अंकुरित प्रेम प्रति मेरो कुनै गुनासो छैन । यद्यपी “तिमी को हौ” भन्ने प्रश्नले र मेरो भौतिक खोजीले म यतिखेर विचलित भै रहेकी छु । त्यसमा प्राप्तीको अभिलाषा निहित छ जुन मेरो प्रेमको परिभाषामा पर्दैन । तपाईको आग्रह अनुसार यदी म प्रस्तुत हुने हो भने म एउटा आम पाठकबाट तपाइकी विशेष कोही बनौला तर त्यसले मेरो पाठकीय प्रेम र तपाई प्रतिको लेखकीय सम्मानको न्याय गर्न सक्छ ? कदापी सक्दैन । मानिलिनुस मेरो नाम क, ख वा कुनै होला र मेरो ठेगाना कतै होला त्यसले के फरक पार्छ ? म तपाईकी प्रेमिका होइन । म तपाईको भौतिक उपस्थितिलाई प्रेम पनि गर्दिन यदि मेरो प्रेम छ भने तिनै शब्दहरुसंग मात्रै छ, जो तपाई लेख्नुहुन्छ ।

र तपाई पनि मेरो प्रेमको खोजी मेरै पत्रहरुमा गर्नुहोला । तपाईका हरेक प्रश्नहरूको उत्तर त्यहीँ खोज्नुहोला । ल ! सम्वोधनकै लागि सोध्नुहुन्छ भने भनिदिएँ मेरो नाम 'प्रेरणा' । एउटा आम पाठक बनेर भ्याएसम्म तपाईलाई लेख्दै गर्नेछु ।

प्रेरणा

अधुरो लाग्यो उसको पत्र । तथापी त्यसपछिका दिनहरुमा अझ गाढा हुदै गयो उसका प्रेमका आभास । खै किन थाहा भएन । प्रेरणा, त्यो नाम छातीभित्र सजिए झैँ लाग्न थाल्यो । जब जब म लेख्न बस्थेँ उसैको प्रेमको आभासले तरंगित भएको पाउन थालेँ । सायद त्यही थियो मेरो पहिलो प्रेम । उसले स्वीकारोस नस्वीकारोस तर मेरो स्मृतिको घरबाट त्यो नाम कहिल्यै मेटिएन । मेरो पहिलो प्रेमको रंग बनेर बस्यो जो अझ गाढा गाढा हुदै गयो ।


...............

भ्यालेन्टिनाको मुहारमा खासै परिवर्तन देखिन मैले हुन सक्थ्यो उसलाई मेरो पहिलो प्रेम कथा बनाउटी लागिरहेको छ । उसमा न त प्रेरणा प्रति इर्ष्या थियो न म प्रति सहानुभुति । उसले सहजै प्रश्न गरी, अनि आजकल उसको पत्र आउदैन त ?

भ्यालेन्टिना, म स्पष्ट छैन, तर यो इन्टरनेटको जमानामा अहिले पनि आउदो हो उसका पत्रहरु । टिप्पणी, इमेल, कमेन्ट वा थम्प्सअपहरु बनेर । तर, म आफैले पहिचान गर्न नसकेको मात्र हुँला ।

उसको संकेतलाई अहिले बुझ्दा मैले के थाहा पाएँ भने प्रेरणा कुनै भौतिक शरीर होइन, यो त एउटा आभास मात्र हो । जसरी प्रेमको कुने आकार या मुर्तस्वरुप छैन, जो देखिँदैन, जसलार्इ मनले मात्र अनुभव गर्न सकिन्छ । ज–जस्ले मलाई पढ्छन्, सुन्छन् मेरा कथाहरुमा डुब्छन् ती सवै मेरा 'प्रेरणा' हुन् । र, मेरो पहिलो प्रेम साहित्य हो ।

ड्रामाको कक्षा छ भ्यालेन्टिनाको, उसले कक्षा लिन नगर्इ हुदैन । पारिपट्टि माउन्ट ओलिभ उभिएको छ साँगुरो र घुमाउरो कुइनेटोनेर पुगेपछि सधै झै छुट्टिनेबेला भ्यालेन्टिनाका ताता ओठका स्पर्शहरू महशुस गर्छु म, जो हिउँदका घाम जत्तिकै प्यारा हुन्छन् ।

.......................

भोलि दिउसो फुर्सदमा म उसकोमा गएँ । उ तलसम्म लिन आर्इ ।

यो के अचम्म ! भ्यालेन्टिनाका कोठाको सजावट अचम्मसँग परिवर्तन भएको थियो । उसका प्रिय कलाकारका तस्वीर सधैँ मुस्काइरहने भित्तामा आज रूसी साहित्यकारहरू म्याक्सिम गोर्की, लियो टोल्सटाय, एन्टोन चेखोभ तथा अलेक्जेण्डर पुस्किनका तस्वीरहरु टाँसिएका थिए र महत्वपुर्ण वाणीहरु फ्रेमभित्र सजाएर राखिएका थिए । दराजको ऐनामा टाँसिएको थियो - मेरो एउटा तस्वीर र मेरो नेपाली हस्ताक्षरमा सजिएको कुनै कविताको टुक्रा । कोठाको यो परिवर्तन देखेर मैले भने भ्यालेन्टिना, के हो यो ? तिमी ‘प्रेरणा’को नक्कल गरिरहेकी छौ ?

हैन लेखक ! तिम्रो पहिलो प्रेमको नक्कल गरेर मैले तिम्रो त्यो पहिलो र संग्लो अनुभुतिलाई धमिल्याउन खोजेकी होइन। तर तिमी मलाई पनि एकपटक प्रेरणाप्रति हेर्ने नजरले हेर, जस्ले तिम्रा साहित्यहरु नपढेपनि, नबुझे पनि तिमीलाइ पढेकी छ, तिम्रो प्रेमलाई पढेकी छ । तिमीलाई थाहा छ प्रेमको कुनै भाषा हुदैन ।

अनुनयका शव्द बनेर यतिखेर भ्यालेन्टिनाको प्रेम पोखिई रहेको थियो मेरो अगाडी, प्रेमको नदीमा नुहाएर भिजेका जस्ता थिए उसका प्रत्येक वाणीहरु! सुस्केराहरु, जहाँ उसकै नदी भोल्गाको सुसाइ मिसिएको होस् ।

प्रेम के हो ? कस्तो हुन्छ प्रेमको रङ्ग ? म भित्र जुलुस बनेर उभिन्छन प्रश्नहरु । भ्यालेन्टिनाको आखाँको सागरमा छाल जसरी उर्लिएको जे देखी रहेको छु, प्रेम त्यो हो या प्रेरणाको पत्रमा कोरिएका शब्दहरु ? आज मेरो आखा अगाडि यी दुबै अनुभुतिहरु एउटै रङ्गमा रुपान्तरित भर्इ रहेका थिए । र मभित्र त्यो प्रेमको रङ्ग अझ गाढा गाढा हुदै गइरहेको थियो ।



(अडियो यशजीको आवाजमा)



कृष्णपक्ष
http://krishnathapa.com/


Next Story: Older Posts Home

जब हिउँ पर्छ

2 comments

Friday

कृष्णपक्ष,इजरायल

यो हिउँद, यी सेताम्य हिउँका ढिस्काहरु, चिसो हावाको स्पर्श... कस्तो गाढा सम्झना, यतिखेर म छातीभरि घर सम्झिरहेछु ।

जुन पोखिएको रात, झिस्मिसेमै यात्रा शुरू हुन्छ । यो यात्रा पैदल यात्रा नभएकोले हिँउ खेल्न जाने जस्तो पटक्कै लागेको छैन । यात्रा बढ्दै जान्छ, सुर्योदय हुनुपूर्व नै हामी पहाड्का थुम्का थुम्की र हरिया पाखा र डाँडाकाँडा देख्न थाल्छौँ ।

लहरै उभिएका सल्लाका बोटहरु, लहरे पिपल अनि ठुला ठुला अंगुरका बगैचाहरु । आफ्नै पाखो पखेरो जस्तो । यस्तो बेला मनभरी नेपालको सम्झना हरित भएर सल्बलाउनु कुनै अस्वाभाविक पनि त होईन नि ।
त्यसो त हिमालै हिमालको मेरो देश यस्ता पहाड र हिमाल कति छ्न कति? मेरो निम्ति यो अनुभव किन यस्तो नौलो ?, त्यति साह्रो रोमान्चक हुनु पर्ने कारण के छ, यो सानो हिउँ खेल्ने यात्रामा ? तर उत्साह र रोमान्चकताले हामी यसरी पुलकित भएका छौं, मानौं हामीले कहिल्यै हिउँ देखेकै छैनौँ, हिमालको चिसो सिरेटो महशुश गरेकै छैनौँ र फुलजस्ता हिउँका थुङाहरु छोएकै छैनौ र कहिल्यै हिउँ खेलेकै छैनौं । यस्तो पनि हो? आफ्नै उत्सुकता र चंचलता ननिको लाग्छ ।

विदेशमा रहँदा मलाई धेरैले सोधेका छ्न, माउन्ट एभेरेष्टको देशको मान्छे तिमी कति हिउँ खेलेका होलाउ, कति हिमाल चढेका होलाउ । छैन भन्न लाज हुने भएकोले सधैं ढात्ने गरेको छु - अलि अलि ।
माउण्ट हेर्मन इजरायलको उत्तरी खण्डमा अवस्थित गोलान क्षेत्रको उचाइमा पर्ने सुन्दर पहाड हो, जहाँ हिउद र वसन्त दुवै रितुहरुमा फुरूरू हिउँका फूलहरू खस्छन - र हिउँले छपक्क ढाकिन्छ यसको शिर । , जसले सिरिया लेबनान र इजरायल तीन वटै देशहरुलाइ स्पर्श गरेको छ । यो हिमाल इजरायल अरब युद्ध पश्चात 1967 देखि इजरायलको नियन्त्रणमा रहि आएको छ ।

हेर्मनको फेदमै पुगेपछि हामीलाई चिसो महशुश हुन थाल्छ, आकाशमा कतै कतै हिउँदे बादलका धमिला धर्काहरु पोतिएका छ्न । यो त्यही ठाउँ हुनुपर्छ जहाँ जिशस र उनका शिश्यहरु गलिल समुद्र देखि यहासम्मको यात्रा यसरी नै हिडेका हुँदा हुन, हेर्मन हिमालको यो काखमा बसेर उनले कति धेरै गाथाहरु सुनाएका थिए होलान् , प्रार्थना गरेका थिए होलान् । नयाँ करार भन्छ उनले धेरै पटक आफ्ना शिश्य सहित हेर्मन आएर प्रार्थ्ना गरेका थिए ।

यतिखेर म आँखाभरि सजाइ रहेछु -पवित्र भुमीको यो पवित्र हेर्मन । यद्यपी यस्कै आँगनमा मध्यपुर्वका ठुला ठुला युद्धहरु भएका छ्न र यस्का श्वेत बर्को भरी रगतका राता कथा लेखिएका छ्न । सिरियाली सैनिकले कुल्चेका बुटका डामहरु छन र इजरायली सैनिकले फेरी धपाएका कथाहरु यसको छातीभित्र कोरिएका छन ।

अङ्गुरका झूत्ताहरु, हरिया चऊर, नांगी ।जती हेरे पनि नअघाउने यस्तो प्रकृतिमोह आफ्नै देशमा हुँदा थियो की थिएन ममा ? अहँ यतिखेर पटक्कै सम्झना हुँदैन ।

माथि माथि यात्राले उचाइ लिदै गएपछी फेरी कथा पढे जस्तो लाग्न थाल्छ - कुनै पौराणिक ईतिहास कुनै ग्रन्थ वा कुनै सुन्दर लेखकको आख्यान जस्तो - जहाँ गाई बाख्रा र भेडाका हुलहरु हुन्छ्न र घोडाका लश्कर ... यो उनीहरुको चरन हो, खेल्ने ठाउँ हो ।


हरियो पातलिदै जान्छ, हेर्मनको सेतो र टाटेपाटे टाउको देखिन्छ - कुहिरोको घुम्टोभित्र बाट चियाउदै गरेको । इजरायलको उत्तरतर्फको प्रसिद्ध पर्यटकीय क्षेत्र हेर्मनका पहाडहरुमा मोतिका दाना जस्तै हिउँका कणहरु देखा पर्न थालेपछि मेरा आँखाहरुमा मेरै घरमाथिको गणेश हिमाल झल्झली हास्न थाल्छ र यो चिसो बतास सँग बगेर म उतै हराउन पुग्छु ।मभित्र पहरामा फुल्ने लाली गुरासको स्मृति छाई रहेछ । यहाँ लाली गुरांस छैन, लाली गुराँस र सुनाखरीको सम्झना गाढा हुदै गएपछि - म त भन्छु यी केवल हिउँले छोपिएका ढिस्काहरु मात्र हुन । यहाँ कुनै अग्लो पहाड पनि छैन हिमाल पनि हैन । हिउँको पहाड त त्यस्तो हुनु पर्छ जो बाह्रैमास हिउँले ढाकिएको होस मेरो देशमा जस्तै अग्ला अग्ला हिमालहरु ..। अटल... चुलिएर आकाश चुमिरहेको ।

मन प्रेमिल भएको छ यसबेला.. ।

गीत सुन्न तस्विर खिच्न र बाहिर छाएको सुन्दरतामा रमाउन मस्त छ प्रेम । अब हाम्रो गाडी माउन्ट हेर्मनको प्रवेशद्धार मै रोकिन्छ गाडीहरु र भ्रमणमा आउने पर्यटकहरुको लश्कर यति लामो छ कि म जनयुद्धका पछिल्ला बर्षहरुमा थानकोटको चेकजाँच र कल्यांग बल्यांग गाडीहरुको लश्कर सम्झन्छु ।

बीच बाटोमै 'प्रकृति' भेट भई ।
"म एकैछिन तिमीसंगै बसेर तस्विर लिन्छु नि हुन्छ ? "
'प्रेम' सोधिरहेछ ।


महिनौं व्यस्तताको साँघुरो जेलमा थुनिएर भर्खर फुक्की भएजस्तो निकै उत्साहित भई रहेको छ उ, लाग्छ अब एकै छिनमा पखेटा फिजाउदै उड्नेछ इजरायलको यो उत्तरी आकाशमा, उल्लासको क्षितिजतिर ..... र नाच्न थाल्नेछ प्रकृतिको हात समाउदै यो हिमाली भेगका गह्रा गह्रामा उन्मुक्त भएर ।

प्रेम अनौठो स्वभावको छ, उ मेरो लेखनीको पहिलो पाठक पनि हो । जब म कुनै खेस्रा कागजमा आफ्ना शव्दहरुलाई काव्यिक आकार दिन्छु या आख्यानका टुक्राटुक्री कोर्न थाल्छु उ त्यसलाई शुरुदेखि पढ्छ । त्यसको नायक आफैलाई ठान्छ । कथामा जस्तै उसलाई छिनमै माया बस्छ र छिनमै उसको बिछोड पनि हुन्छ । कति पटक मैले उसलाई मेरो कथा पढी सकेर आसु पुछ्दै गरेको पनि देखेको छु ।

उसैको संगतले हुनसक्छ मलाइ पनि मेरा अधिकांश रचनाहरु उसकै वरिपरी केन्द्रित भएर घुमिरहे जस्तो लाग्छ । मेरो कल्पनाको क्यानभासमा उ अर्थात प्रेमकै प्रणय प्रसंगका चित्रहरु कतै न कतै कुंदिए झैं लाग्छ ।

हेर्मनको टाउकोलाइ तल पारेर केबलकारबाट माथि माथि उक्लदै गर्दा र हिउँका थुप्राहरुसंग बरालिदा वा हिउँकै छातीमा धीत मरुन्जेल चिप्लेटी खेल्दाका सबै सबै अनुभवहरुमा प्रकृति र उ निकै नजिक भएको मैले महसुस गरें । भनिहालें नि उ अलि छिटो छ, परबाट हेर्दा यस्तो लाग्थ्यो - प्रेम प्रकृतिलाई आफ्नो बाहुपाशमा बाधिरहेको छ र माउन्ट हेर्मनको उचाईबाट तिनै देश सिरिया लेबनान र इजरायलको खुला धर्ति र आकाश नियाली रहेको छ । अनुभूतिको यो उच्चतम बिन्दुमा पुगेर उनीहरु मन र आत्मीयताले एकै आकार भएका छन र हार्दिकताको निस्सीम सगर अविरल चुमिरहेछन ।


उमंग र उत्सुकताले निकै चंचल हुदै गई रहेको प्रेमलाई प्रकृतिले नदेख्ने गरी सुटुक्क सम्झाउछु -

'फेरी तेरो माया बस्यो हैन ? तर तेरो यो भावना दैहिक आकर्षण र आवेग मात्र हो । तलाइ थाहै छ छिटो तेल अभिभ फर्कनु पर्छ नत्र रात पर्छ ।'
उ मौन थियो केही बोलेन ।

हिउँसँगको मिठो सामिप्यता साच्चै लोभलाग्दो हुदो रहेछ, कहिले नछुटु जस्तो लाग्ने ।हिउँले घेरिएको पहाड भएर मस्त बग्ने चिसो हावा मा कावा खादै हिउन्हरुको घर त्यही हिमालमै खेलिरहूँ लाग्ने । त्यसो त हिमालको परिभाषा स्थान अनुसार फरक फरक हुदो रहेछ मुश्किलले ३००० मिटरपनि उचाई नभएको र हिउद सकिने बित्तिकै पग्लिएर नांगै हुने यो होचो पहाड इजरायलको ठूलो हिमाल बनेको छ । हाम्रो देशमा हिउँको स्थायी उपस्थिति नभए सम्म त्यो हिमाल हुदैन र त्यो परिभाषामा पर्न कम्तिमा पनि त्यसको उचाई ५००० मिटरको हाराहारीमा हुनुपर्छ । यद्यपि अहिले यहाँ हिउँ परेको छ मोती जस्तै सुन्दर ... र यो हिमाल भएको छ यतिबेलाको लागि ।र हामी हिउँका पदयात्रीहरु ।

केही समय पछि मैले प्रेमको आवाज सुने उ प्रकृति संग केही भनी रहेको थियो ।

'परदेशी हुँ त के भयो ? हो, यो देश मेरो होइन, यो बाटोघाटो माटो र यी हिउँका ढिस्काहरु मेरा होइनन तर प्रकृति सुन ! यो अनुभूति मेरै हो । मायाको कुनै देश, जात र धर्म हुदैन, म यो हिउँलाइ साक्षी राखेर तिम्रो मायाको कसम खान्छु संसारमा कस्ता कस्ता असमानताका पर्खालहरु भत्किएका उदाहरण छन, म त्यस्तै अमर प्रेम गर्न चाहन्छु तिमीलाई , मेरो छातीभित्र सम्झनाको विशाल आकाशमा म तिमीलाई जुन जस्तै सजाउन चाहन्छु । '

फर्कने बेला सम्म पनि प्रेम मसंग थिएन, उ मबाट फुत्किएर स्वतन्त्र भए झैं प्रकृतिसंगै हराई रह्यो .. हिउँका तहहरुमा धर्ति पुरिएझैँ उ प्रकृतिको आँचलमा लुकी रह्यो धेरैबेर ....।

घर फर्कंदा मसंग स्मृतिका ताजा डोबहरू थिए, छायाहरु थिए र भर्खर खिचेका तस्वीरहरू । पृष्ठभूमिमा हेर्मनका अग्ला अग्ला पर्खालहरु टाँगेर तस्विरमा प्रकृति उस्तै मुस्काई रहेकी थिई, भ्यालेन्टाइन डेका लागि फ़क्रिएकी गुलाब जस्ती । यता प्रकृतिलाई केवल मिठा सम्झनाहरूमा बोकेर बिचरो मेरो 'प्रेम' फेरी मेरै छातीभित्र कैद हुन फर्किई सकेको थियो ।


Next Story: Older Posts Home

रेगिस्तानको मृगतृष्णा

3 comments

Tuesday

Tiquetonne2067's flickr
अनौठो संग प्रस्तुत भएको छु यसपाली अलिकति, एकै-पटक सात वटा नया पोस्ट सहित, हुन त ती ब्लग बाहेक अन्यत्र टाँसिईसकेका पनि छन ।



कथा
कृष्णपक्ष,इजरायल

सम्भवत: मध्यपूर्वतिरको कुनै सामुद्रिक तटमा थियो त्यो बस्ती ।

धर्तीमा साँझ ओर्लिएपछि एउटा मिठो मेहेफिल जम्थ्यो त्यहाँ । संगीतकारले रसिलो धून भरेझैं मन्त्रमुग्ध आवाजमा एउटा युवक कथा सुनाउथ्यो, कविता गीत या गज़ल गाउथ्यो । उसका प्रत्येक कथाहरुमा प्रायश: यही वस्तीका तस्वीरहरु कुँदिएका हुन्थे । उसको आवाज सुन्न र त्यसमा डुब्न र हराउन एकैछिन थुप्रै प्यासी मनहरु भेला हुन्थे । कुनै अधुरो लक्ष्य लिएर भौतारिदै हिडिरहेजस्तो एउटा यात्री थियो, उसलाई पनि यो स्थानका बारेमा स्पष्ट परिचय भने थिएन।

नजिकै समुद्रका चंचल छालहरूले किनार चुमिरहेको देख्न सकिन्थ्यो भने अर्कोतर्फ पर क्षितिजसम्म फैलिएको एउटा रेगिस्तान । बालुवाको अपार बिस्कुन फिजाएर बसेको धर्ति जोरजोरले तातिदै गए पछि आकाश छुने क्षितिजतिर मृगतृष्णा शुरु हुन्थ्यो । पहाडै पहाडका दृष्टिभ्रमहरु देखिन्थे -सेतो हिमाल, हरियो जंगल, झरना, खोला, नांगी र फराकिला चउरहरु ... उसको देश । यस्तो साँझ उ नोस्टाल्जिक भावनाले भिजेका सपनाका कथाहरु भरेर गीत गाउँथ्यो, भोलिपल्ट उसको आवाज अक्षरहरुमा अनुवाद भएर ब्लग या फेसबुकका भित्ताहरुमा टाँसिन्थे, कसैले पढ्थ्यो लाइक गर्थ्यो वा कमेन्ट लेख्थ्यो, अनि उसको मन बुझाउने आधार र खुसीको सिमाना अझ फराकिलो हुदै जान्थ्यो ।



ऊ को थियो ? मानिलिउं उसको नाम स्वप्निल हो - स्वप्निल नेपाल ।
ऊ कहिले विद्रोह, क्रान्ति, संघर्ष र बहादुरीको कथा सुनाउथ्यो त कहिले शव्द शव्दमा कला, सौन्दर्य, चेतना र बौद्धिकता खिपिएका कविता । कैयौं पटक उसले यो वस्तीलाई विरहको आँसुमा डुबाएको छ र कतिपटक मदिरालेझैं मादकतामा रंगाएको पनि ।

वस्तीको सुदूर इलाकातिर पुराना पुस्तकहरु भरिएको पुस्तकालय झैं लाग्ने कुनै घर भेटियो भने त्यहाँ थोरै अंग्रेजी र धेरै उर्द्धु , अरबी, पर्सियन वा हिब्रु साहित्यका पुस्तकहरु भेटिन्थे । युरोप अमेरिका देखि भागेका यहुदीका निरीह अनुहार वा अग्निकाण्ड (होलोकाष्ट) का दर्दनाक तस्वीरहरु पाउन सकिन्थ्यो त्यहाँ ।तस्वीरहरूमा शासक वा योद्धाका घोडाहरु हुन्थे, बुर्काले मुख छोपेका आइमाई वा उँट र हरितपना चटक्क बिर्सेर फ़ुस्रिएको रेगिस्तानको चित्र । विश्वयुद्धका कथाका पात्र बनेका बुढाहरु त आजसम्म घर घरमा भेटिन्थे । ताजा भन्नु टेबलका अखबारहरु हुन्थे, जो अझै आफै च्यातिने गरि मध्यपूर्वीय शान्ति प्रक्रिया र युरेनियमका शिर्षकहरु दोहोर्याई रहेका हुन्थ्यो ।


मन कहाँनेर दुख्छ, बुझ्नु छ यो साँझ प्रिय
आफ्नै आँसु बगाएर रुझ्नु छ यो साँझ प्रिय


फेरि उसको गज़ल गुन्जियो । अँध्यारोसंग खेल्दै पर कुनामा पिलपिल चम्किरहेको मैनबत्तीनिर उभिएकी एउटी युवती उसका प्रत्येक शव्द बुझेझैं भावुक बनिरहेकी थिई । अनुमान सही गर्नु भयो - उ स्वप्निलकी प्रेमिका - पेजिया। स्वप्निल "परी" भनेर पनि बोलाउछ ।


समुद्रले बोकेर ल्याएको शितल हावाले शहरको ताप मात्र होइन । दिनभरको दैाडधुप वा व्यस्तताका सबै गर्मिपना साेहाेरेर लैजान्थ्यो । लहरले छुदै भाग्ने सागरको किनारमा बसेर परीलाइ कुनै मिठो प्रेमकथा सुनाउदा सुनाउदै कति रातहरू उसले थाहै नपाइ काटेको थियो ।


हजाराै बर्ष पहिलेदेखि यो वस्तीमा संसारका कुना कुना देखि व्यापारी, अनुसन्धानकर्ता तथा विज्ञहरू अाउथे, रात बिताउथे सभ्यताको कथा सुनाउथे । व्यापारिक वस्तुहरू सुन, हिरा, मोती हुोउन वा राजा रानी र युध्दका बयानहरू । अधिकांश मानव सभ्यताहरूको उत्पति र विकास सामुद्रिक किनारबाटै भएको उदाहरणले के पनि लाग्थ्यो भने हुनसक्छ शायद त्यसैले पनि यो वस्ती यति सुन्दर छ, यति विकसित छ, यस्तो धिपधिप बलेको छ।



अन्त्यहीन तिर्खा बोकेर युगौंयुग भौतारी रहने यात्रीहरुको लश्करमा शामिल हुन वालुवाको शहर रेगिस्तान भूमिमा उ कसरी आइपुग्यो ? उत्तर रेडिमेड थियो- देशमा बेरोजगारी छ, संकट छ । दशकौं देखि हाम्रो पुस्ता आउदै/जादै छ- रोजगार, व्यापार, बहादुरी, अध्ययन वा बिभिन्न बहानामा । त्यही क्रमको निरन्तरता मात्र हो उसको आगमन । आउने जानेको यो आकार उसको वस्तीमा ठूलो भए पनि उसलाई थाहा थियो संसारभरि फैलिएको छ यो यात्रा ।


" ....अन्नपुर्ण बेस क्याम्प, ती उकाली ओरालीका पदयात्राहरू र त्रिशुलीको राफ्तिंग ।" केही बिर्सनै नसकिने घटनाहरु छन पेजियासंग बितेका, राफ्तिंग गर्दागर्दै पेजिया एकपटक झन्डै त्रिशुलीमा समाहित भएकी थिई ।कस्तरी बचाएको थियो उसले त्रिशुलीको भेललाई काटेर । त्यसपछि कतिखेर पेजिया उसकी "परी" भइ, उसलाई हेक्का छैन ।


समुन्द्रको किनारमा छ उसको कफीशप, जहाँ हरेक साँझ विशेष साँझ हुन्छ। खाने पिउने र गज़ल सुनाउने । आफ्ना दौतरी यात्रीहरुसंग बसिबियालो गर्न उ आफैले खोलेको। यसलाई कफिघर भन्दा पनि ज्यादा सङ्गीत या साहित्यघरको नाम दिए हुन्छ ।

वस्तीको रमझम उत्रिए पनि यो कफिघरमा प्रेमको सङ्गीत गुन्जिई नै रहन्छ भोलीको सुर्योदय सम्म। पहरा गरेझैं रातभर बेफुर्सद डुल्ने हावाका झोंक्काहरु कोठाको भित्र र बाहिर झुन्ड्याइएका वाइंड बेलमा धून भरिरहेका हुन्छन । पर समुन्द्रको आँगनमा हरदम सल्बलाइरहने पानीको चंचलता त्यस्तै मिठो सुनिन्छ ।


त्यो रात उसले अनौठो सपना देख्यो, अकस्मात् रेगिस्तानको त्यो यात्रा फनक्कै फर्किएको थियो । देश यति बेला समृद्ध भैसकेको थियो । अरब, दुबई, कतार, इजरायल, मलेशिया हंगकंग हुदै युरोप अमेरिका वा अस्ट्रेलिया चारैतिरबाट सबै सबै क्रमश: देश भित्रिए । मरुभूमीमा दृष्टिभ्रम भएझैं सबैले आफ्ना आँखा अगाडी सग्ला हिमाल, पहाड र तराइ सदृश पाए ..।



"तिमी रातभर गीत गाउछौ, विहान अबेरसम्म सुत्छौ, उठ स्वप्निल" -
परी कानैमा आएर कराई । "एउटा खुसीको कुरा छ । "
"यति खुसि कि म भन्न पनि सकिरहेको छैन, बर्षौं देखिको हाम्रो सपना साकार भएको छ हेर, अब तिमीले स्थायी परिचय पत्र पायौ । अब तिमी यहाँको नागरिक भयौ - म जस्तै । "


स्वप्निल न त खुशी नै भयो न त दुखी, यतिको तटस्थ अनुभूति जीवनमा पहिलोपटक भैरहेको थियो ।बाहिर बालुवाको साम्राज्य उस्तै फैलिएको थियो, पर क्षितिज सम्म।

समय रोकिदैन । त्यो वस्ती, त्यो कफीघर, त्यो साँझ, त्यो रमझमको सिलसिला दोहोरिईरहन्छ । अहिले पनि युगौदेखिको त्यो अनवरत यात्रामा शामिल हुन उसका दौतरीहरु आउछन, र उ सबै भन्दा पहिले त्यही कथा सुनाउछ - रेगिस्तानको मृगतृष्णा ।



कृष्णपक्ष
मध्यपूर्व, इजरायल
Next Story: Older Posts Home

ढुंगाहरुको लश्कर

1 comment



शरणार्थी हुने नेपालीहरुको लाम देखिरहेछु केही दिन देखि यहाँ । युद्धै युद्धले भग्नावशेष जस्तो इतिहास बाँचेको यो इजरायलमा ।

हुनसक्छ देश अलिकति भत्किएको होला, बन्द भएको वा हड्ताल जुलुश अस्तव्यस्तता र सङ्कटग्रस्त अवस्थामा होला देश । तर पक्कै त्यस्तो अँध्यारो पनि छाएको छैन जहाँ बाच्ने आधारभूत आवश्यकता नै निभेको होस् ।

फेरी किन फर्कन चाहि रहेका छैनन् , कृषिमा काम गर्न आएका कामदार, अध्ययन गर्न आएका विद्यार्थी, वकील, पत्रकार वा कार्यक्रम देखाउन आएका कलाकार पनि । यो मरुभूमिमा आएर शरणार्थी हुन पाउदा किन औधि खुशी भै रहेछौ हामीहरु ?

तिनका आँखाहरुमा देखिने डर, त्रास आशा वा खुसीका असंख्य भावहरु एकैपटक पढ्दा मलाइ के लाग्न थालेको छ भने अभाव र बेरोजगारीको अत्यासबाट हुत्तिदै मान्छेले परदेशको बाटो समातेपछि शायद उसले आफ्नो अहम संग पुरै सम्झौता गरिसकेको हुन्छ । अनि उसभित्रको सप्पै आदर्श र स्वाभिमान कहाँ कतिखेर विचलित भैसकेको हुन्छ उसले पत्तै पाउदैन ।

सुखको सपनामा बन्दी भएर भौतारिनु कति दुख लाग्दो नियति ?

मान्छेको अहम्ले महत्व पाउने र गर्व गर्न सक्ने स्थिति विद्यमान भएको त्यो रेखा नाघेर बाहिरिए पछि उ आफु आफु नै हुदैन रहेछ, उ त केवल ढुंगा जस्तोमात्र हुदो रहेछ ।

आफ्नै परीचय बिर्सदै गएको बेला उसलाई कुन देश चाहियो कुन राष्ट्रियता चाहियो ? धेरैले यस्तै अस्पष्ट उत्तर दिए । यो बिचित्रको सम्झौता हो, जहाँ मान्छे आफ्नै मन संग पराजित् भएको हुन्छ, हारेको हुन्छ ।

होला, अलिकति विवशताका अंशहरु पनि होलान, ... तर जसले बाध्यताको परिभाषामा थुने पनि म यो अवस्थालाइ स्वप्नमोहकै संज्ञा दिन्छु अब । नेपाली हुँ भन्नासाथ एउटा कामदार मात्र ठान्ने इजरायलीको देशमा शरणार्थी हुन जाँदा हाम्रो आत्मसम्मानमा किन चोट नलागेको ? किन नदुखेको देश?

किनकि ढुंगालाई दुख्दैन, छुदैन र पोल्दैन । अहँ, ढुंगालाई केही पनि हुदैन ।
म चुपचाप स्थुल शरीरहरुको एउटा लामो लर्को र ढुंगामा अनुवाद भएका एक थुप्रा मनहरु हेरिरहेछु ।
नेपालीहरुले यसरी ढुंगा हुनु पर्ने दिनको अन्त्य कहिले होला?

साभार केहि दिन अगाडिको फेसबुक नोट
Next Story: Older Posts Home
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI