कृष्णपक्ष

krishnathapa.com

मसँग केही एक्रेलिक रंगमा कोरिएका चित्रहरू तयार भैसकेका थिए । इबेन गिबरोलको आर्टिस्टहाउसमा पेन्टिंग सिक्न जान थालेपछि अभ्यासका क्रममा कोरिएका, हिड्दा हिड्दै बाटोमा देखिएका, इन्टरनेटमा भेटिएका या आफ्नै कल्पनाको पखेटा हालेर उड्दा देखिएका दृष्यहरू मेरा क्यानभासमा अटाउन थालेका थिए । प्रेम र प्रकृति - मेरा चित्रमा प्रस्तुत हुने मूख्य विषयहरू थिए ।

कर्मले जस्तो प्रकृतिको सेवाम समर्पित भएपनि चित्रकलासँग भने कहिल्यै नटुट्ने अनौठो साइनो थियो । मलाई रंगसँग खेल्दा अपार आनन्द आउथ्यो, मानौँ म ध्यान गरिरहेछु, तपस्या गरिरहेछु, मेरो कलाको भगवानको पूजा गरिरहेछु ।

परदेश बसाईको यो एकतमासे व्यस्तता, घरदेखि टाढा हुँदा हुने एकप्रकारको नैराश्यता, विचलन र मानसिक थकानको एकमात्र सहारा अब यिनै रंग र कुचीहरू हुन थालेका थिए । मेरो खुसीको आधार । मलाई पेन्टिङ गरेर कुनै महान कलाकार बन्नु पनि थिएन, न त मनग्य पैसा आर्जन गर्ने, व्यवसायिक सफलता प्राप्त गर्ने तृष्णा थियो ।

मेरो लागि चित्रकला थेरापी थियो । तिर्खाएको प्यासीलाई पिउने पानीजस्तो या छटपटाएको विरामीलाई औषधीजस्तो स्वरुपमा आएको थियो । यो मेरो एक्लोपनाको साथी बनेको थियो, मनका बोझहरू विसाउने चौतारी बनेको थियो ।

अनवरत लडिरहेछु परिस्थिति या नियतिसँगको यो लडाइँ, जोसँग थाक्ने या भाग्ने अधिकार छैन मान्छेलाई । कर्मका प्रकृतिहरूसँग असहमति हुन सक्छन, हुनसक्छ परदेशसँग अपार असहमति होला मेरो यद्यपि हाँसेर सामना र स्वीकार गर्ने बानीको विकास समयले गराइसकेको थियो मलाई ।
यसर्थ मलाई कहिकतै कुनै दुख या गुनासो थिएन कि म किन डाक्टर भइन, इन्जिनियर भइन ? किन उच्च सरकारी कर्मचारी भइन ? किन बा आमा र शिक्षकहरूले देखेको सपना मबाट पूरा हुन सकेन ? शुरुमा यस्ता अनेक प्रश्न र गुनासाहरू गर्ने मन अब नितान्त अभ्यस्त भइसकेको थियो – समयले हिडाएका बाटोहरू हिड्न र नियतिले रचना गरेका कथाहरू बाँच्न ।

मलाई बारम्बार लाग्छ – म पात्र हुँ अभिनय गरिरहेछु । यो पात्र कहिले सुखको च

मलाई बारम्बार लाग्छ – म पात्र हुँ अभिनय गरिरहेछु । यो पात्र कहिले सुखको चरीत्र निभाउँछ त कहिले दुखको कहिले प्रेम र विछोडको । यो पात्र विम्ब हो प्रतिनिधि हो, जो परदेशको बाटो हिड्ने आम युवा नेपालीले बाँचेको जिन्दगीजस्तै बाँचिरहेछ ।

एकदिन मसँग भेट भई स्मदार । तेल हासोमेर अस्पतालमा ड्युटी थियो, फुर्सदको समय मैले स्केच प्याड बोकेर चित्र कोर्दै गरेको उसले देखेकि रहिछ र ऊ आफैपनि फोटोग्राफीको शोखिन भएको उसले बताई । शोख, रहर र रुचीमात्र हैन हाम्रो जिन्दगी तर पनि मनको कतै कुनाभित्र रहरहरूलाई जतनले जोगाएर राखेको हुन्छ मानिसले ।

स्मदार अचेल न क्यामरा नै बोकेर हिड्थी न पहिलेझैँ फोटो नै खिच्थी । उसलाई आफू फोटोग्राफरजस्तो पनि कहिल्यै लागेन रे। ती त म स्कुल पढ्दाका दिनहरू थिए, जे देखेपनि तस्वीरमा उतारुँजस्तो लाग्थ्यो । अहिले साइन्टोलोजीको कार्यलयमा सामान्य कर्मचारी छु । फोटोग्रफिरहर हो तर रहर अँझै कायम छ ।

मैले इजरायली कला र आर्ट ग्यालरीहरूसँग सामिप्यता बढाउन चाहेको बताएँ । उसले मेरा पेन्टिंगहरू देखेर प्रभावित भएँ भन्दै सक्दो सहयोग गर्ने बताई ।

जसरी जतिसुकै हन्डर ठक्कर खाएरपनि वर्षौँदेखि मभित्र एउटा चित्रकार बाँचिरहेको छ, एउटा कलाकार बाँचिरहेको छ त्यसरी नै स्मदार भित्र फोटोग्राफर । एकदिन उसले भनी – क्रिश ! म फोटोग्राफी, पेन्टिङ र एन्टिक सामाग्री, कलेक्टिबलहरूको अउटा पसल खोल्दैछु, तिम्रा चित्रहरू पनि संकलन गरेर राख्छु के छ तिम्रो विचार .. ?

म कुनै विख्यात कलाकार हैन, यद्यपि उसका प्राइभेट कलेक्सनमा केही थान चित्रकला अटाउने कुराले स्वभाविक रुपमा खुसी नै दियो मलाई ।

उसले भनी – ‘तिम्रा चित्रहरू राम्रा छन, तर तिम्रो नाम छैन, गुमनाम छौ इजरायलको बजारमा, यसर्थ शुरुमा तिम्रा चित्रहरूको मूल्य कमजोर हुन्छन ‘।

लौ यो केटी त पक्का व्यापारी पो निस्की ।

‘तिम्रो चित्रहरूको मूल्य राख म सप्पै लिइदिन्छु ।’ मलाई रिस उठ्यो – हैन यो केटीले के सोचेकी छ ? यसलाई लाग्यो होला, रंग यति पर्छ क्यानभास यति पर्छ ब्रस यतिपर्छ र हल्का समयको हिसाब जोडेपछि यसको कलाको मूल्य सजिलै निस्किहाल्छ ।

मैले भने – स्मदार मेरा चित्रहरू वास्तवमा अमूल्य छन र यी बिक्रीका लागि पनि होइनन ।

प्रदर्शनी गर्ने या कतै सहभागी हुने भयौ भने म तिमीले भनेको बेला उपलब्ध गराउँला । अहिले केहीथान म लिइदिन्छु डिस्प्ले गराउ । तिमी आफैपनि मेरो मूल्यभन्दा बढीमा बिक्रीका लागि राख्न सक्छौ, र कसैले लिन चाहेमा मबाट लैजान सक्छौ । मैले लिएपनि सर्वाधिकार तिमीमै रहनेछ ।

मलाई थाहा थियो योसँग प्रशस्त पैसा छैन तैपनि मेरा चित्रहरूको केही मूल्य दिएर संकलन गरिदिने इच्छा राख्छे भने ठिकै छ । मेरा चित्रहरू यसैपनि मेरो कोठाभन्दा बाहिर कहाँ जाने कसले नै किन्ने होर ? अलिअलि प्रकाश र परीचय पनि हुन्छ । आखिरमा हामीले प्रति वर्गसेन्टिमीटर २० सेकेलका दरले हिसाब राखेयौँ र हिब्रु भाषामा लेखिएको कन्ट्र्याक्ट पेपरमा मन्जुरी जनायौँ ।

चित्रका शीर्षक र विवरणहरू केही मिलेका छैनन । उसले मेरो बारेमा पनि आफ्नै तरिकाले लेखेकिरहिछ, मैले केही भनिनँ । मर्मेलादा आर्ट मार्केटमा मेरो पेन्टिंगहरू डिस्प्ले भएको देखेपछि खुसी भएर चुपचाप फेसबुकमा लिंक शेयर गरेँ । त्यतिकै रमाइलो लागिरह्यो मलाई जस्तो रमाइलो रंगमा कुची डुबाएर क्यानभासमा पोत्न बस्दा अनुभूत हुन्छ ।





साभार

यस्तै यस्तै :

No comments:

Leave a Reply







    COMING SOON !!!





    COMING SOON !!!