Responsive Ad Slot

latest

साँझ समुन्द्र र रंगीन क्षितिज

Monday

| Krishna Thapa
Xey

साइप्रसको लारनाका विमानास्थलमा उत्रदा साँझको सिरसिरे बतास चल्न थालेको थियो । बाहिर आकाशमा पश्चिमतिर पुगेको घामले धरतीसँग बिदा माग्दै थियो ।

सुरक्षाको कारण इजरायलको राष्ट्रिय ध्वजावाहक विमान ‘एलाल’ को उडान सधैं यस्तै हुन्छ – निर्धारित समयभन्दा अलिकति ढिलो । साइप्रस उत्रिसकेपछि सबैभन्दा पहिले होटलमा सम्पर्क गर्नु थियो । मैले फोन हेरेँ, मेरो फोनको चार्ज सकिएर बन्द भएको रहेछ ।

लौ फसाद पर्यो, होटलको नम्बर, अनि लिमासोलका साथीहरूको नम्बर मोबाइलमै थियो । एअरपोर्टमा चार्ज गर्ने कोशिस गरेँ तर भएन ।

यदाकदा सोच्ने गर्थेँ म, टाढा कतै घुम्न निस्कँदा कुनै अनकन्टार निर्जन गाउँमा या विल्कुल अन्जान शहरमा बेफिक्रि हराउनु र सोध्दै सोध्दै बाटो पहिल्याउदै यात्रा गर्नु कस्तो हुन्थ्यो होला ?? इन्टरनेट र फोन नभएपछि आज यतिखेर यस्तै अनुभव भइरहेको थियो ।

नयाँ देश, नयाँ शहरमा यो अनुभव विल्कुल नौलो र रोमान्चक थियो ।



यसपाली छुटीमासँगै युरोप घुम्न जाने भनेर हामीले मिल्ने साथीहरूको समूह बनाएका थियौँ । त्यो समूहमा अनन्य मित्रदेखि भर्खर परिचय भएका साथीहरू पनि थिए । भ्रमणको कल्पना गर्दा गर्दै, ग्रुप च्याट गर्दा गर्दै, यहाँ जाने यस्तो खाने र यो खेल्ने सपना बुन्दा बुन्दै धेरै समय बितिसकेको थियो ।

‘त्यो दिन’ पनि आइसकेको थियो आखिरमा कामको प्रकृति, बिदाको समस्या र भिसाको झन्झटजस्ता परिस्थितिहरूले हामीलाई बेग्लाबेग्लै ठाउँमा पुर्याइदिएको थियो ।

कोही साथी नजाने भएपछि कोही इटाली गएपछि र कोही साथी नेपाल गएपछि म भने साइप्रस आइपुगेको थिएँ । पौराणिक ग्रिक मिथक अनुसार प्रेमकी देवी एफ्रोडाइटको जन्मस्थान साइप्रस, जहाँ हरेक महिना लाखौँ पर्यटक छुटी मनाउन आउछन ।

समयको चक्रले हामीलाई सँगसँगै घुम्न दिएन । थाहै भएन कतिखेर हामीलेसँगै भ्रमण गर्ने भनेर तय गरेको मिति आएर पनि चुपचाप गइसकेको थियो । कल्पनै कल्पनामा हाम्रा मनहरू पनि कहिल्यै नपुगेका सुन्दर शहरहरूमा पुगेर धेरै पटक फर्किसकेका थिए ।



साइप्रस जानुपूर्व मैले सामाजिक सञ्जालका माध्यमबाट परीचय बनाएका र पहिलै चिनेका साथीहरूलाई साइप्रस भ्रमणको बारेमा मेसेज गरेको थिएँ । यसै क्रममा पोर्तुगलमा रहेका मेरा प्रिय साथी अर्जुनले परमेश्वर दाजुसँग परीचय गराइदिनुभएको थियो ।

त्यसदिन पनि उहाँ ड्युटीको शेडुल मिलाएर हामीलाई पर्खिरहनुभएको रहेछ । लार्नाका विमानस्थलबाट करीब एक घन्टा लामो यात्रा गरेपछि हामी लिमासोल पुग्यौँ क्रमश: समुद्र र त्यसको किनारै किनारमा बनेका शहरहरू, ठूला ठूला होटल रेस्टुरेन्ट र पर्यटकीय चहलपहलसँग हामी साक्षात्कार हुदै गयौँ ।

समुद्रको किनारैमा थियो वगैचा र त्यही बगैचाको ठिक अगाडिरहेको थियो – ‘मिस्त्राल’ । यो हाम्रो होटलको नाम हो जसको अर्थ ग्रिक भाषामा ‘चिसो हावाको झोक्का भन्ने हुदोरहेछ जो जहाजमा यात्रा गर्दा सामुद्रिक लहर चलेपछि महसुस गरिन्छ – हामीलाई होटलका स्टाफले बताए । साँझको सिरसिरे बताससँगै चौथो तलामा रहेको हाम्रो अपार्टमेन्टको टेरेसबाट समुद्र र मरिनाको मनमोहक दृष्य अवलोकन गर्न सकिन्थ्यो ।

होटल पुगेपछि मेरो पहिलो काम फोन चार्ज गर्नु थियो, एकछिन चार्जमा राखें, फोन अन भएन । घुम्नकै लागि नयाँ चार्जर किनेर ल्याएको थिएँ, ला ! शायद चार्जरले काम नगरेको हो कि ? म विल्कुल सम्पर्क विहीन भएँ । तैपनि काम गरिहाल्छ कि भनेर आइप्याड र फोन होटलको रुममै राखेर हामी डुल्न निस्कियौं ।



Newer Post Next Story: Older Post Home
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI