कृष्णपक्ष

krishnathapa.com


अर्को पोडकास्ट लिएर आएको छु । प्रेम र भगवानका बिषयमा जति लेखिए, कोरिए या अभिव्यक्तिका अनेकौं माध्यमहरुबाट प्रस्तुत गरिए, बुझाउने कोसिस गरिए ती केवल सागरबाट एक अन्जुली पानी उबाए सरह मात्र हुन् । मलाइ थाहा छ , फेरी पनि जिद्दी मन, त्यसैको सेरोफेरोमा अल्झेर लेखेको छु ।

कथा सुन्न यहाँ प्ले बटन थिच्न्नुस ।




इश्वरको तस्वीर - कृष्णपक्ष

सृष्टिका समस्त अवयवहरु रहस्यमय लाग्दै जान थाले । आफ्नै देह, त्यसभित्र बाँचेको प्राण, आफु उभिएको जमिन, ढुंगा माटो र भित्ताहरु.... । तल्लो मुस्ताङको मुक्तिनाथ स्थित मेब्राक गुफा भित्र भेटिएका ३५०० बर्ष पुराना मानव अवशेषका बारेमा टेलिभिजनले समाचार देखाई रहेको थियो । यो जति रहस्य र अनुसन्धानको बिषय थियो त्यति नै रहस्यमय थिए गुफाभित्र कुँदिएका कलात्मक चित्रहरु ।

'ठ्याक्कै त्यस्तै रैछ है, हामीले बनाउने भगवान जस्तै ?' सुन्तलीले सँगै टिभी हेर्न बसेका सन्तोषका बालाई कोट्याउदै भनी ।

आमा र छोराको कंकाल - वृत्तचित्रमा यस्तो पनि देखाइयो । कंकालको प्रकृति हेर्दा प्रसव वेद्नामा आमाको निधन भएको देखिन्थ्यो, त्यो युगमा नवजात शिशु आमाविना एक्लै बाँच्न सक्ने प्रश्नै थिएन । उ पनि आमासँगै पुरियो। सबै भन्दा जीवन्त चित्र त त्यही थियो । जेठा जन्मदा भएको प्रसव पीडाको स्मरण गरी उसले र मातृत्वभावले द्रविभूत भई ।

तर क्यामाराले भित्तामा कोरिएका भगवानका चित्रहरु धेरैबेर देखाए । टिभीमा सधैंझैं हत्या आतंक र भोका नांगा मानिसका समाचार आउन थाले पछि उसले टिभी बन्द गरी । यस्ता कुरा देखाएर टिभी कहिले थाक्दैनथ्यो ।

सुन्तली तामाङ । धादिङबाट काठमान्डु आउँदा भर्खरकी तरुनी थिई । यिनै सन्तोषका बासँग भागेर पोइला आएकी, त्यो सोह्रबर्षे जवानीको प्रेमकथा त उहिल्यै मेटिईसक्यो । त्यसपछि राजधानीमा हात मुख जोर्ने संघर्षका दिनहरु शुरु भए । स्वयम्भुको भगवान पाउमा थियो डेरा, थाङकामा रंग भर्ने काम । विस्तारै सुन्तलीले पनि सिकी, उसको प्रयोग कोमल थियो - उजस्तै । क्यानभासमा अरुले स्केच कोरेर दिन्थे, उ शेडिंग गर्थी । उसका कुचीका घातहरु नरम हुन्थे। सबै कुरा साधना रहेछ, उसले थान्कामा ज्यान भर्ने कला सिक्दै गई । तर त्यो कला गुजारा गर्ने कर्ममात्र थियो ।

उनीहरुले कुँदेका थान्काहरु ठमेलका शोरुममा गएर टाँगिन्थे। ती कसले कति मुल्यमा किन्थे अनि कुन देशको, कुन शहरको आलिशान महल वा गुम्बाका भित्ताहरुमा गएर सजिन्थे, उनीहरुलाई थाहा हुदैनथ्यो ।

हरेक मानिसभित्र एउटा कलाकार हुन्छ, आदिमकाल देखि उभित्र कलाको अतृप्त प्यास लुकेको छ । रंगसँग खेल्दा कहिलेकाही सुन्तली पनि सोच्थी, शायद अलि सम्पन्न र पढेलेखेकी भए मपनि पेंटिंगको किनारमा आफ्नो नाम लेखेर देश विदेश प्रदर्शनी गर्थें होला । तिनको पत्याउनै नसक्ने मूल्य तोकी दिन्थें होला, अनि हेर्थें कसले किन्न सक्दो रहेछ मेरो कलालाइ ?

चित्र कुद्ने परम्परा उसको कल्पनाको क्षितिजभन्दा निकै पुरानो, युगौंयुग देखि चल्दै आएको थियो यो संसारमा । शव्दमा अभिव्यक्त हुन नसक्ने कैयौं मानवीय संवेदनाहरु, प्रेम, आस्था र विश्वासहरु चित्रका माध्यमबाट प्रस्तुत गरिन्थे । मानव हृदयका अमूर्त भावहरु पनि चित्रकै बाटो भएर बताउन सकिन्थ्यो । सृष्टि स्थिति, प्राकृतिक चक्र जीवन मृत्यु, भौतिक आध्यात्मिक चिन्तन , तिनीहरुको अस्तित्व.. यस्ता अनेकन रहस्यका बारेमा शताब्दियौं देखि खोज र अध्ययनहरु भैरहेका थिए । शिला र धातुका पत्रहरुमा, मन्दिर, गुम्बा र घरका भित्ताहरुमा, पातहरुमा, कागजका पानाहरुमा, मखमली क्यानभासहरुमा र कम्प्युटरका बिटहरुमा करोडौं चित्रहरु कोरिईसकेपछी, करोडौं ग्रन्थहरु लेखिई सकेपछि अझै पनि मान्छे त्यस्ता कैयन रहस्यको ज्ञानबाट वन्चित थियो, यसर्थ उसलाई लाग्थ्यो - यी सम्पूर्ण रहस्यको ज्ञाता अरु नै कोही छ । यो उसको विश्वास थियो, र यही विश्वास नै 'इश्वर' थियो ।

सुन्तली र उसका श्रीमान हरेक दिन थान्कामा इश्वरको चित्र बनाउथे ।

इश्वरका चित्रहरु अनेकौं मुद्रामा, अनेकौं भाव भंगीमा कोरिन्थे। जंगल , आकाश ,वादल वा मण्डलाहरु चित्रको पृष्ठभूमि हुन्थे । उसले बोक्ने वज्र, ध्वजा, माला, पुष्प, शुल, डमरु, मुरली ... उसले चढ्ने वाहन .... चित्र बडो आकर्षक र लाइभ हुनु पर्थ्यो । जो मुर्त देखिन्थे र सजिव प्रतित हुन्थे। थान्कामा आँखा कोर्ने काम अन्त्यमा गरिन्थ्यो, यो प्राण प्रतिस्थापन गरेजस्तै हुन्थ्यो । त्यसपछि भगवानले जीवन पाउथ्यो ।
-----------------



यो निष्ठुरी संसारमा एक्लै दुख गर्न लेखेको रैछ । सुन्तलीका श्रीमानलाइ दैवले यस्तरी चुडेर लग्यो, कि एकदिन खाना खाएर बाहिर निस्केको मान्छे फेरी फर्किएनन । शहरमा न्याय, समानता र अधिकारको नारा लाउनेले गराएको विष्फोटनले उनको प्राणहरेर लग्यो । सुन्तलीको जीवन र सारा संसार नै अँध्यारो भयो । भगवानको चित्र कोर्ने मान्छे मात्र हैन, अब सुन्तलीको भगवान पनि मर्यो ।

तीन सन्तानहरु थिए, शहरमै जन्मेका । गाउँ फर्केर दुख गर्न जाने हैनन्, तिनलाइ लाउनु खुवाउनु, काठमान्डूमा राखेर पढाउनु, डेरा भाडा तिर्नु ... यी सबै जिम्मेवारी अब उसको काँधमा थुप्रिएको थियो ।


"पापी रैछौ नि भगवान ! सँगै दुख गरी खानपनि दिएनौ, उफ!!!.... " यी सुन्तलीका रातका सुस्केराहरु हुन । थान्का कोरेरै पेट पाल्न सक्छेस केही चिन्ता लिनुपर्दैन सुन्तली ! - सम्झाउनेले भन्ने त यही हो । तर उसलाई लागेन, उ एक्लैले खर्च धान्न सक्छे । तैपनि विकल्प थिएन ।


भगवानको अनुहार पहिले जस्तो शान्त र सुन्दर हुन छाड्यो । कुची समाउदा उसलाई हातहरु काँपे जस्तै लाग्न थाले । उसले घरि घरि भगवानको तस्वीरमा सन्तोषका बाको निरिह अनुहार देख्न थाली । भगवान रोएको जस्तो पनि लाग्न थाल्यो, उसले मनमनै भनी- म अब यो काम गर्न सक्दिन । मैले कोरेको इश्वरको तस्वीर अब इश्वर जस्तो छैन ।

तर कसले देखेको छ इश्वरलाई ? उसको स्वरुपलाई ? के थाहा इश्वर मान्छे जस्तो नभएर ढुंगा जस्तो पो छ कि ?

-------

होचो कदकी ३५ बर्षिय सुन्तली तामाङसंग जीवनका धेरै रंगहरु, आयामहरू बाँकी नै थिए । धेरै चाहनाहरु शेष थिए, अब उसको सबै भन्दा ठुलो चाहना आमा भएर बाँच्नु थियो । अब उसले आफ्नो अगाडी दुइटा बाटाहरु देखी, देश छोड्ने या लालाबाला लिएर गाउँ फर्कने । धन कमाउने भन्दा पनि सन्तानलाई कर्म दिने, न्यानो छहारी दिने, तिनका रहरहरु पुरा गरिदिने,आफुले जति दुख पाए पनि सन्तानलाई सुख दिने चाहना थियो उसको ।

चाहनाको यो रंग यति गाढा थियो कि यसले अरु सबै इच्छाहरुलाई छोपी दिएको थियो । जसरी सिन्दुर र चुरापोते असमयमै दैवले उसबाट खोसेर लागेको थियो । मिल्ने भए त उ निथ्रिई सकेको यो यौवन पनि कतै थन्क्याएर निस्फिक्री हिडथी होली, तर प्रकृति हो, त्यसो गर्नु सम्भव थिएन ।
-----

सरकारले राहत दिने भनेको त धेरै भयो, तर कसैले खबर गरेका छैनन् । उसले समाचार हेर्न टिभी खोली, विदेशबाट फर्किएकी भुन्टीमाया मगरको दुखद मृत्युको खबर चिच्याई चिच्याई सुनाइ रहेको थियो त्यो । उ झसंग भई - हिजै मात्र एकजनाले थान्का सान्का छोडेर उसलाई कुवेत जाने सल्लाह दिएको उसले सम्झी ।

समाचार भन्दै थियो - विरामी अवस्थामा कुवेतबाट फर्के लगत्तै गेस्ट हाउसबाट अस्पताल लगिएकी भुन्टीमायाको निधन भएको छ । न्यूमोनिया र कमजोरीका कारण निधन भएकी भुन्टीको गर्भमा आठ महिनाको शिशु समेत रहेको शिक्षण अस्पतालका डाक्टरद्वय अनामिका झा र निता कटुवालले जानकारी दिएका छन । केही समय अघि नै उनको श्रीमानको पनि मृत्यु भएकोले अब उनका चारजना बालबच्चाको रेखदेख कसले गर्ने भन्ने चिन्ता रहेको छ ।"


पछिल्लो खबरले त सुन्तलीको मुटु चिरिएझैँ भयो । उसले एकपटक भुन्टीको ठाउमा आफुलाई राखेर हेरी । उसलाई इश्वरको अस्तित्वप्रति ठूलो शंका भयो ।

झ्यालबाट छिरेको एक झोक्का बतासले छेउमा क्यानभास बाँधिएको काठको फ्रेम भुइमा ढल्यो । सधै जस्तो इश्वर विल्कुल चुपचाप थिए, मौनताको घना जंगलमा हराइरहेका । यो पहिलो पटक हो, उसलाई आफुलाई भन्दा इश्वरप्रति दया जागेर आयो । ओठ बाट केही शव्द बाहिर निस्किए - कठै भगवान कति निरिह तिमी !

उसले नियालेर हेरी ।
आज इश्वरको तस्वीर उसलाई भुन्टीको अभागी अनुहार जस्तै लाग्यो ..... ।

यस्तै यस्तै :

  1. Anonymous01 May, 2012

    तपाई समाचारको घटना उठाएर कथा लेख्नु हुदो रहेछ । त्यो उनीहरुको निजी जिन्दगीको घटना हो । सक्नु हुन्छ भने आफ्नै परिकल्पनामा लेख्ने गर्नुस ।

    ReplyDelete
  2. Anonymousजी,

    तपाइँलाई मेरो जवाफ .. घटना, परिवेश त्यही हो , कथा त्यही हो, पात्र तिनै हुन् । ती हाम्रै वरपर कै घटनाहरु हुन । तर प्रस्तुती मेरो हो, लेखाइ मेरो हो, पस्कने दृष्टिकोण र विचार मेरो हो । मेरो कथामा वास्तविक घटनाकै छायाँ पाउनु त झन् मेरो प्रस्तुतिको सफलता हो भन्छु म ।

    यो पनि थपुँ, जतिजति कथाव्यथाहरु म लेख्दै जानेछु, त्यति त्यति नै यथार्थताको नजिक लानेछु ।

    धन्यवाद ।

    ReplyDelete
  3. asafal thapa01 May, 2012

    बिहानै उठी हातमा चिया लिदै सधै बस्ने कुर्चिमा बसी फेशबुकका पाना पल्टाउने क्रममा भाई को कथा भेटे सुन्दै गए सुन्दै गए मेरो हात चिया सेलाएको आँफै थाहा भएन ।। भाईको कथा अनी यो धुन ।। आवाज कता कता हेडफोन मा दाँया बाँया आवाज चेन्स भईरहने सबै कुराहरु ले यो मनै खायो सिप र ज्ञान हो त भाई को जस्तो ।। शुभ दिन आगामी कथाहरु पनि यसरी नै सुन्न पौ भन्ने मा आशा गर्दछु,, धन्यबाद्द मार्मिक कथा कोलागी ।।

    ReplyDelete







    COMING SOON !!!





    COMING SOON !!!