Responsive Ad Slot

Showing posts with label Ghazal. Show all posts
Showing posts with label Ghazal. Show all posts

सारा देश रोए पछि

No comments

Monday



सारा देश रोए पछि फेवा रुन्छ रारा रुन्छ
धरती रुन्छ जून संगै आकासको तारा रुन्छ

उजाड़ भा'छन वस्ति हरु सपना हरु धुवां धुवां
खंडहर याद बोकी रोल्पा रुकुम खारा रुन्छ

जलेका छन जिउदै कति निर्दोषहरु,यो माटोमा
छटपटिदै काजोल रुन्छे ,चितवन भंडारा रुन्छ

चिठ्ठी ख़बर कही छैन फर्कदैनन छोराहरू
छाती दुख्छ आमाको बाच्ने सहारा रुन्छ

इतिहास लेखनेहरु रगतैले लेख्छौं भन्छन
आफ्नै भाईको रगत हो यो रगतको धारा रुन्छ 2003

शहरमा छोराहरु हराउनुको कारण छ

No comments

Wednesday

सुनसान छ चौतारो, पँधेरो र गाउँसम्म जाने गोरेटो । लाहुरे छोरा फर्कने प्रतिक्षामा छ त्यो झुपडी त्यो आँगन र बाआमाका रसिला आँखाहरु ... तर छोराहरु कतै हराएका छन । किन हराएका छन ?

ती रुखा ताता बालुवामा उँट र भेडाका गोठाला भएका छन, ती रुखा मरुभूमि भएका छन। ती उदास मन भएका व्यस्त शहर भएका छन । ती बाँडिएका छन कतै जुलुस भएर कतै आन्दोलन भएर । ती कतै पसिना बनेर पोखिएका छन या कतै भएका छन राता बाकसका उपहारहरु ...

यद्यपी प्रिय छोराहरु ! सधै-सधैं छ र रहिरहनेछ - तिम्रो प्रतीक्षा ।



--------------------------------

शहरमा छोराहरु हराउनुको कारण छ
नयाँ मान्छे देख्दा गाउँ, डराउनुको कारण छ

भो नसोध किन देशमा, घटदैछन युवाहरु ?
अरबमा उँट भेडा चराउनुको कारण छ

पक्कै केही कारण छ, हाम्रो देश नबन्नुमा
सधैँ बिरोध भाँडभैलो गराउनुको कारण छ

संविधान बनेकोमा खुसी छैन कोही कोही
देश भाँड्न मतियार अह्राउनुको कारण छ

फर्किएनन चुनावपछि सर्वाहारा भन्नेहरु
तिनले पनि दर्बारै मन पराउनुको कारण छ

शहरमा उसको महल त्यसै छैन उभिएको
भ्रष्ट तस्कर मिलि पैँचो भराउनुको कारण छ

भक्ते, माने, वीरबहादुर हरु ज्युँदै मरेका छन
गल्ली गल्ली बहुलाकाजी, कराउनुको कारण छ

कृष्णपक्ष
धादिङ, हाल इजरायल

ढुंगाजस्तो पानीजस्तो कहिले त कपासजस्तो

No comments

Sunday

ढुंगाजस्तो पानीजस्तो कहिले त कपासजस्तो
पराग बोकी उड्छ मन वसन्तको बतासजस्तो

हुनेछैनौँ यो शहरमा भोली हामी सधैँ सधैँ
अलिकति रहनेछौँ सम्झना र आभाषजस्तो

घरि घरि देश दुख्छ परदेशमा परदेशीलाई
गमलाको फूल कहाँ हुन्छ लेकको गुराँसजस्तो ??

घरजस्तो कहाँ हुन्छ? पराई आगन पराई माटो
एकैछिनमा खुसीजस्तो, एकैछिनमा उदासजस्तो

भएको छ देश मेरो मानौँ स्वर्ग डढेजस्तै
घाम डुब्नै लागेको त्यो रातो रातो आकाशजस्तो

चराजस्तै लहरजस्तै पुगिने हो भोली कहाँ ?
केहिबेर सँगै बाँचौँ पुतली र सुवासजस्तो

एउटा गज़ल निष्ठुरीको नाउँमा

No comments
विश्वासको फूल थियो, झरेपछि मन फाट्यो
छातिभित्र 'माया' भन्ने, मरेपछि मन फाट्यो

धेरैपर पुग्नु थियो, यात्रा लामो जिन्दगीको
यौटा जंघार संगसंगै तरेपछि, मन फाट्यो

भएजति खुसी सबै दिन्छु भन्थेँ तिमीलाई
मेरो भागमा दुखैदुख परेपछि मन फाट्यो

कस्को मनमा को पस्छ र ? को पराई को हो आफ्नो ?
बाहिर हाँसि हाँसि छल गरेपछि मन फाट्यो

कल्पनाको सानो शहर रित्तो रित्तो बनाएर
निष्ठुरीले बसाइ अन्तै सरेपछि मन फाट्यो ..

गज़लमा लेखिएको एउटा कथा

2 comments

Saturday

यसपाली मेरो गज़लको रदिफ उसका शेरहरुमा कथा सुनाउदैछ । शेरहरु अलग अलग सन्दर्भर भूमिकामा रचिएका छन जहाँ आएका छन - प्रेम मृत्यु र धर्मका बिषयहरु । प्राय गज़लमा अनेक बिषय अनेक प्रसंग र अनेक भावहरु अटाउने कोसिस गर्छु, यसरी नै यो गज़लमा पनि सो प्रयासको निरन्तरता छ ।

गजल यसप्रकार छ ।

 

सुनाउदैछ कोही आफ्नै पियारीको कथा
र छुटेको साथ अनि सवारीको कथा


उदास मनको आँगनीमा, भमराले लेख्यो
ओइलिएको फूल अनि फूलबारीको कथा

मृत्युको खेल खेल्ने कसाहीसँग मिल्छ
जाल बोकी उभिएको, जलारीको कथा

किसानको छातीभित्र त्यस्तो धेरै हुन्छ
खडेरीको खेत र रित्तो भकारीको कथा

किन किन लाग्छ मलाई पापी शिकारीझैं
मन्दिरमा खुँडा बोक्ने पुजारीको कथा

कृष्णपक्ष, धादिङ
हाल इजरायल


यसलाई फेसबुकमा यहाँ पढ्न सकिन्छ (तस्वीर गुगल)

 

मानिलिउँ यौटा झुठो

No comments
अलिकति उदासीको गज़ल फुरेको अवस्था ...]
.

मानिलिउँ यौटा झुठो, म भ्रम भएको छु
या दुख र आँसु लेख्ने कलम भएको छु ।
.

जो गरिन्छ पटक पटक र तोडिन्छ पनि
धोकेवाज प्रेमिकाको कसम भएको छु ।
.

कहिले फूल कहिले काँडा, कैले कडा ढुंगा,
फेरि कहिले कपासजस्तो, नरम भएको छु ।
.

लक्ष्य थियो धेरैधेरै पर पुग्नु पर्ने,
आरम्भमै अल्झिएको कदम भएको छु ।
.

दुनियाँ यो जितेपनि के अर्थ छ त्यस्को ?
पराजित आफैसँग, अहम भएको छु ।
.

अन्धकार कायमै छ, आकाशमा मेरो
बादलुले छोपिएको पूनम भएको छु ।।

शकुनीको टेढो चाल

3 comments

Friday

शकुनीको टेढो चाल, चालेको छ यहाँ कसले
अमृत भनी मिठो बिष हालेको छ यहाँ कसले ?
.
भोको नाङ्गो भएँ भन्दै, घुर्क्याउँदै आमासँग
देशै खाने अभियान थालेको छ यहाँ कसले ?
.
राष्ट्रघाती भूकम्पले थर्काएर आज आफ्नै
स्वाभिमानको धरहरा, ढालेको छ यहाँ कसले ?
.
चिसो चुल्हो नजलेको, धेरै दिन भयो भन्दै
घरै जलाउने आगो, बालेको छ यहाँ कसले ?
.
अति भयो ब्यूँझ साथी, निमोठ्नु छ शीर त्यसको
दुध खुवाई सर्पलाई, पालेको छ यहाँ कसले ?
.
उठाएर हेर आजै, किन भुत्ते भो खुकुरी ?
खिया लाग्ने गरी कतै फालेको छ यहाँ कसले ?
.
कृष्णपक्ष थापा, धादिङ
हाल - इजरायल


यसलाई फेसबुकमा यहाँ पढ्न सकिन्छ

आँधीहुरी चलेको छ

4 comments

Wednesday

भर्खरै देशमा आंधीहुरी चलेको समाचार आएको छ । हरघडी भुकम्प, बाढी पहिरो तथा अन्य बिभिन्न किसिमको त्रासमा बाँचेको छ हाम्रो समय .. यतिखेर गज़लका शेरहरुमा पनि आएका छन यस्तै केही हुरीका प्रसंगहरु, राजनीति र सामाजिक बेथितिका कुराहरु ...

.
मनको छानै उडाउने आँधीहुरी चलेको छ
चलेको छ शहरमा दिउँसै छुरी चलेको छ
.
स्वाभिमान बेचि जस्ले राष्ट्रघाति कर्म गरे
हिजोआज देख्छु तिनकै चुरीफुरी चलेको छ
.
हाम्रा व्यापार व्यवसाय, बन्द भयो भन्छौ तिमी,
आँगनीमै किन उस्को पानीपुरी चलेको छ ??
.
प्रभु हजुर ! भनी हिजो जसका गुणगान गायौ
आज तिनकै कटाक्ष र 'कुरी कुरी' चलेको छ
.
सिन्कोसम्म भाँचिएन आफ्नै देशमा हुँदाखेरि
परदेशमा पसिना र मजदुरी चलेको छ ।
.
कृष्णपक्ष
धादिङ, हाल इजरायल

मेरो फेसबुकमा यहाँ पढ्न सकिन्छ

दखिनतिर हावाहुरी चल्न सक्छ फेरि

No comments

Sunday

केही गज़लहरु जो नेपालको संविधान २०७२ जारि भएपछि भारतले नेपालमाथि लगाएको नाकाबन्दीको पृष्ठभूमिमा आधारित भएर लेखिए । त्यसै क्रमको यो एक गजल हो । छिमेकीलाई चिन्यौ अब सतर्क होउ, आत्म निर्भर हुने यत्न गर .. अब हुने सरकार र नेतृत्वलाई आग्रहसहित यो गजल सुनाउन चाहन्छु ।


दखिनतिर हावाहुरी चल्न सक्छ फेरि
हेर्नू जङ्गे पिलरहरु ढल्न सक्छ फेरि


खोल्यौँ भन्यो नाकाबन्दी, भरै छैन त्यस्को
धेरैचोटी छलिसक्यो छल्न सक्छ फेरि

भेदीहरु छिमेकमा सलाई माग्न जालान
आगो ताप्छु भन्दा घरै जल्न सक्छ फेरि

आत्मनिर्भर हुने बाटो, शुरु गर आजै
पराइको भरमा पाउ गल्न सक्छ फेरि

बुझाउ हरेक नेपालीलाई 'नयाँ खाका' नत्र
अमृत भनी रोप्दा, बिष फल्न सक्छ फेरि ।

कृष्णपक्ष, इजरायल

चिहान कस्तो हुन्छ ?

No comments

Thursday

पृष्ठभुमिमा एउटा समाचार लेख्छु र त्यसपछि गज़ल शुरु गर्छु

११ भदौ– टीकापुर नगरपालिका–६ शंकरपुरस्थित टायलले छाएको एकतले घरको आँगनमै थिइन्, सीता बर्मा । भाग्दै एक जना बर्दीधारी उनको दक्षिणतिरको ढोकाबाट भित्र छिरे । उनी बाहिरबाट ढोका तानेर लगाइदिँदै थिइन् । ती प्रहरीले भित्रबाट चुकुल लगाउन भ्याएकै थिएनन् । हात हातमा भाला, लट्ठी, चक्कु बोकेकाको हुल दपेट्दै आइपुग्यो । भित्र लुको मान्छेलाई तानेर पिट्दै उनीहरुले बाहिर आँगनमा निकाले । ती प्रहरी उनीहरुसँग जीवनको भिख मागिरहेका थिए । सीताले सहन सकिनन् । क्रुर ढंगले हानिरहको देखेर उनले हात जोडेर बिन्ति गरिन्,‘यसरी नमार्नुस, छाडिदिनुस् ।’ तर उनीहरुले छाडेनन् । लखेटी– लखेटी घरेलु हतियार प्रहार गरेर ती प्रहरीको ज्यान लिए । तिनै व्यक्ति थिए नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने । ‘जीवनको भिख मागिरेका व्यक्तिलाई छाडिदिनुस, नमार्नुस भनेर बिन्ति गर्यौं’ सीताले त्यस दिनको दृश्य सम्झँदै सुनाइन्, ‘मानेनन्, उल्टै हामीलाई धम्की दिए ।


---------------------

अँध्यारोमा डुब्यो देश, विहान कस्तो हुन्छ ?
भेटिएन उज्यालोको निशान कस्तो हुन्छ?

लेख्छौँ भन्यौ अग्रगामी, विकास मिलिजुली
यौटा हाँस्ने अर्को रुने, विधान कस्तो हुन्छ ?

जब विकास गाडीबाट साइकलतिर सर्छ
सोधिनेछन भोली पक्कै, विमान कस्तो हुन्छ ?

जंगल र ओढारमा बस्छन अझै कति
थाहा छैन ओछ्यान कस्तो सिरान कस्तो हुन्छ ?

दालचामल, फलफूल र सब्जी किनी खाने
कुटो हैन भाला बोक्ने किसान कस्तो हुन्छ ?

जो छातिमा रोपिएर, ज्युँदै जल्दै ढले
भो नसोध खेत कस्तो, चिहान कस्तो हुन्छ ?

पचास लाख मूल्य पर्ने बलिदानका कुरा

No comments

Wednesday

मधेश आन्दोलनको यो र यस्तै यस्तै समाचारहरुको पृष्ठभुमिमा छ यो गज़ल

मधेस आन्दोलनमा लागेर ज्यान गुमाउनेलाई ५० लाख रुपैयाँ दिने मधेसवादी नेताहरुको घोषणालाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

राजनीतिक विश्लेषक मुमाराम खनालले ट्वीट गरेका छन्- ‘ए प्रीय मधेसी मोर्चा ! मरेकालाई ५० लाख दिनुभन्दा जिउँदोलाई ५० हजार देऊ । मधेस सुन्दर हुन्छ ।’

नविन गिरीले मधेसी मोर्चाको निर्णयप्रति व्यग्यं गर्दै भनेका छन्- ‘मधेस आन्दोलनमा जाऔं, सम्पत्ति कमाऔं । आन्दोलनमा सहिद हुनुस् ५० लाख उपहार पाउनुस् ।’

त्यसैगरी शिव न्यौपानेले ट्वीट गर्दै भनेका छन्- ‘इराकमा काम गर्नुभन्दा मधेसतिर आन्दोलन गर्न जानुपर्लाजस्तो छ, परिवारले ५० लाख पाउँछन् कि ।’

पत्रकार मिलन तिमिल्सना लेख्छन्- ‘सोझा जनताको ज्यानको मूल्य तोक्नेहरु राजनीतिबाट सन्यास लिएर घरमै बसुन्, बरु सरकारले वृद्धभत्तासरह मासिक भत्ता दिएर पालोस् ।’

मधेसी मोर्चाको बुधबारको बैठकले मधेस आन्दोलनमा मृत्यु हुने सहीद परिवारलाई प्रादेशिक सरकार बनेपछि ५० लाख रुपैयाँ दिने घोषणा गरेपछि यो निर्णय सोसियल मिडियामा ‘भाइरल’ बनेको हो ।

मधेसवादी मोर्चाको निर्णयमा शहीद एवं घाइतेका परिवारलाई निशुल्क शिक्षा दिइने र जागिरसमेत दिइने प्याकेज घोषणा गरिएको छ । मोर्चाको यो निर्णयले मानिसहरुलाई मर्न अभिप्रेरित गरेको प्रतिक्रिया सामाजिक सञ्जालहरुमा आएका छन् । केहीले चाँहि जनतालाई मर्न उक्साउने नेताहरु आफैं मर्न जाओ भन्दै निर्मम गालीसमेत गरेका छन् ।


-----------
सुन्छु अचेल चोकचोकमा संविधानका कुरा
पचास लाख मूल्य पर्ने बलिदानका कुरा

पराईसँग आगो मागी देश जलायो जस्ले
उही गर्छ राष्ट्रीयता र स्वाभिमानका कुरा

विदेशबाट 'हाइ ड्याड !' भन्दै उसले गर्यो
जाति, भाषा, संस्कृति र पहिचानका कुरा

या जोडिन्छौँ अझ बलियो, या लुटिन्छ गवाँर
चलेको छ आन्दोलन र अभियानका कुरा

सत्य जिब्रो काटिएझैँ मौन बसेको छ
सुनिदैछ धूर्त फटाहा, बेइमानका कुरा ।

कृष्णपक्ष

खुकुरीको जवाफ

No comments

Monday

उ चाहन्छ हाम्रो घरमा दवाव हुनुपर्छ
उस्कै धम्की, शासन र रवाफ हुनुपर्छ

मित्रताको खोल ओढी आयो हाँस्दै हाँस्दै
पक्कै उसको मुहारमा नकाव हुनुपर्छ

घर भाँड्ने संक्रमण, भित्र्यो कहाँ बाट ?
यो दक्षिणी बतासको प्रभाव हुनुपर्छ

कहाँ जान्छ अरुबेला हाम्रो राष्ट्रियता ?
जाग्न कठै ! नुनतेलकै अभाव हुनुपर्छ

सगरमाथा जस्तो शीर, पहाड जस्तो छाती
स्वाभिमानी यस्तो हाम्रो स्वभाव हुनुपर्छ

घरि घरि हस्तक्षेप र प्रश्न किन गर्छ ?
अब सिधै खुकुरीको जवाफ हुनुपर्छ

छुनु पैले तर्सियोस, नेपाल त्यस्तो बनोस
काँडै काँडा मिसिएको गुलाफ हुनुपर्छ ।

एकछिन मनको सडकसँग

2 comments

Saturday


पहिले पहिले 'इतिहासको ब्याज' भन्ने वाक्यांश खूब प्रयोग गरिन्थ्यो । मेरा पुराना मित्रहरु ! त्यसको अर्थ कसकसलाइ थाहा छ ? हुन त जजसलाई थाहा छ, उसले मेरो ब्लग पढ्छ भन्ने के ग्यारेन्टी ? अनि जसले यो ब्लग पढ्छ उसलाई 'त्यो' इतिहासको बारेमा के थाहा ?

यो हप्तापनि व्यस्ततामै बित्यो । व्यस्त शहरजस्तै लाग्छन दिनहरु, जहाँ अति व्यस्त सडकहरु छन, यो मनको सडक हो । जो यति छिटो बग्छ,कुनै ट्राफिकबिना कुनै नियम बिना .. कुनै रोकावट बिना -- अनवरत । यो सडकको भीडमा अनेक कथाहरु छन, व्यथाहरु छन, अनेक बहानाहरु छन । जस्तै - एउटा फुल छ, पत्थर छ, एउटा अनुराग छ, एउटा प्रेम छ -एक नम्बरको मौसमी, एउटी युवती छे- - एकदम चंचल, जसको पहिलो प्रेम भएको छ कुनै युवकसँग । तर प्रेमको मौसम यतिखेर पतझर भएको छ । सडकमा रहर र सपनाका पातहरु ओइलिएर झरेका छन, यो मनको सडक हो ।

शहर, प्रेम, सडक, युवक, युवती, मन फुल र पत्थर.....सबै पात्रहरु काल्पनिक होइनन । यिनीहरु सही र असली पात्रहरु हुन् । बस, यिनको ठेगाना भने भेटिदैन, यिनीहरुको सम्बन्धलाई मेरो एउटा गज़लमा खोज्ने कोशिस गरौँ न त ।





सानो एउटा सानो प्रेम कहानी छ छातीभित्र
वैलिएको फूलजस्तो जवानी छ छातीभित्र

कोल्टे फेर्दै कल्पनामा सिंगै रात ढलेपछि
प्रहर प्रहर प्रतिक्षाको बिहानी छ छातीभित्र

कुन ऋण कस्तो ऋण ? कैले लिएँ थाहा छैन
प्रेमीजस्तो एउटा मान्छे जमानी छ छातीभित्र

प्रतिबिम्ब कस्तो देख्यौ, शिशाको यो वदनमा
पत्थरले चर्किएको निशानी छ छातीभित्र

कहाँ राखूँ तिम्रो प्रेम, सम्हालेर जतनले
मनमुटु जले पछि, खरानी छ छातीभित्र




यो फेसबुकमा पनि छ ।

जुनेली झैं वदनमा भरेर उज्यालो

8 comments

Friday




फूलहरुको यौवन र वसन्तको वैंश छाएको छ शहरमा । मौसम सफा छ, विहान र साँझपख अत्तर महकिएको पराग बोकेर हावा बग्न थालेको छ । तर मेरा दिनहरु भने अति व्यस्त बिते । यस हप्ता इजरायलमा यहुदी धर्मावलम्बीहरुको सबै भन्दा ठुलो चाड पेशाख परेको थियो । मेरो इम्प्लोयर अति धार्मिक र परम्परावादी भएकोले यो समय अत्यन्त व्यस्त रहनु पर्यो । सामान्यत शुक्रबार र शनिबार त सधै नै व्यस्त हुने दिन नै हो । यी व्यस्तताहरूका बीचमा परेको नेपाली नया बर्षको स्वागत पनि गर्न पाएकै छैन । साथीहरुसंग शुभकामनाको दुइ शव्द समेत राम्ररी बाड्न नभ्याएको अवस्था रह्यो । मैले अघिल्लो समय वाचा गरेको थिए, अब हरेक हप्ता नया नया रचना लिएर आउछु । सिर्जना र अर्थोपार्जनका कार्यहरु उस्तै कर्म होइन रहेछन। अरुका लागि समय महत्वपूर्ण हो तर सिर्जनाका लागि समय र मन दुवै चाहिन्छ । मन प्रेमिल भएको क्षण संगालेर आज एउटा शृंगारिक गज़ल लिएर आएको छु ।

 जुनेली झैं वदनमा भरेर उज्यालो 
 मुस्काउदै आयौ तिमी छरेर उज्यालो 

 मन छोउँ आँखा चिम्ली, खेलुँ यो रातमा 
 तनको किताब पढुँ बन्द गरेर उज्यालो 

 जगमगायो देह तिम्रो, कन्चन शरीर 
 मानौं आकाशबाट आयो झरेर उज्यालो 

 लुकी लुकी चियाउन प्रभात आएछ 
 कति छिटो पुर्वतिर सरेर उज्यालो 

 अबेर भो भन्दै जब पाइला बढायौ 
 कृष्णपक्ष भयो मन, मरेर उज्यालो ।। 

 जाँदाजादै धेरै बर्ष अगाडी बनाएको यो नया बर्षको यो भिडियोको साथमा सबैलाइ नया बर्षको हार्दिक मंगलमय शुभकामना । नया बर्षमा पुरा होउन अधुरा लक्ष्यहरु .... ।





गज़ल मुशायरामा बितेका ती अनमोल पलहरु

1 comment

Wednesday

गजलकार दलबीर सिंह घायलले केही समय अगाडी फेसबुकमा तरही गज़ल मुशायारा संचालन गर्नु भयो । मैले पनि केही मुशायाराहरुमा सहभागिता जनाएको थिएँ । उहाँको मुशायारा त बन्द भयो तर त्यसबेला भाग लिंदाका अनमोल पलहरु यतिखेर सम्झन चाहन्छु म । साथै त्यही मुशायारामा रचिएका आधा दर्जन गज़लहरु यो पोस्टमा पस्कने जमर्को गर्दैछु म आज ।

तरही मुशायारामा एकजना गज़लकारले दिएको मिसरा ए सानीमा भएका "रदिफ र काफिया" कै आधारमा अरु गज़लकारहरुले गज़ल निर्माण गरिन्छ ।



मुशायरा १
http://www.facebook.com/note.php?note_id=184357138254535
काफिया:- डोली
रदिफ:- लिई आउँछु


सजिएर बस्नु प्रिय डोली लिई आउछु
पन्चे बाजा नौमतिको टोली लिई आउछु ।

स्वर्ग जस्तै हुनुपर्छ हाम्रो सानो संसार
सपनाको मिठो मिठो, "भोली" लिर्इ आउछु

जिन्दगीका रंगहरू, सँगसँगै खेल्न
उल्लास र उमंगको होली लिर्इ आउछु

तिर्खाएका वैंशहरू, सम्हालेर राख
उर्लदो यो जवानीको खोली लिई आउछु ।

प्रतिक्षाको 'कृष्णपक्ष ' सधैँ कहाँ हुन्छ ?
संगै जिउने मर्ने मिठो बोली लिई आउछु ।






मुशायरा २
http://www.facebook.com/note.php?note_id=184709234885992
काफिया:- रुवाएको
रदिफ:- पाप लाग्ला


जानी जानी दिल मेरो, दुखाएको पाप लाग्ला
पिरतीको बन्धन यो, फुकाएको पाप लाग्ला

किन ढाट्यौ जुनी जुनी, तिमीसंगै जिउछु भनी
छाती भित्र अर्कै कोही, लुकाएको पाप लाग्ला

कसरी यो मुहार देखाउँ, दुनियाको सामु आज ?
रुझाएर मेरो नजर झुकाएको पाप लाग्ला

उर्लिएथे छातीभरि, उमंगका भेलहरु
खडेरी झैं अनायासै, सुकाएको पाप लाग्ला

अध्यारोमा कतैतिर, हिड्दै थियो कृष्णपक्ष
छल गरी मेरो लक्ष्य, चुकाएको पाप लाग्ला ।





मुशायरा ३
http://www.facebook.com/note.php?note_id=185147911508791

काफिया:- संबिधान
रदिफ:- कुर्चिको कारण
बेच्यौ आफ्नै स्वाभिमान, कुर्चीका कारण
भयौ साह्रै बेइमान, कुर्चीका कारण

भताभुंग लथालिंग, योजनै रोकिए
भत्के सबै अभियान कुर्चीका कारण

छिमेकीले आली ताछ्यो, मिच्दैछ सिमाना
घटे खेत खलियान, कुर्चीका कारण

बिरालो र कुकुर झैं, गरेर झगडा
लेख्न छाड्यौ संविधान, कुर्चीका कारण

कृष्णपक्ष तर्फ देश, क्रमश ढल्कियो
उदाएन त्यो बिहान, कुर्चीका कारण





मुशायरा ७
http://www.facebook.com/note.php?note_id=187298837960365
काफिया:-तोडी, माली
रदिफ:- गयौ, छैन


ओढी गयौ अर्कै माया, हेरें, सिउँदो खाली छैन
मोडी गयौ किन आज? भन्थ्यौ मन 'जाली' छैन

पहिले त घर मेरो, सजाउला भनेकी'थ्यौ
छोडी गयौ-भन्यौ अरे, बर्खा छेक्ने पाली छैन

मौसमी त्यो मन रैछ, नया बहार रोजी गयौ
तोडी गयौ वाचा सबै बगैचामा माली छैन

विश्वासको घरखेत जमाएरै बसेका'थ्यौं
फोडी गयौ पहिरो झैं, मन थाम्ने आली छैन

शिशिरको मौसम झैं, रित्तो भयो वाग मेरो
चोरी गयौ माया फुल्ने, फूलको यौटै डाली छैन




मुशायरा ८
http://www.facebook.com/note.php?note_id=188038874553028
काफिया:काम
रदिफ:-दिउँ आज

'प्रेम'रुपी सम्बन्धको नाम दिउँ आज
मुटुलाई माया गर्ने काम दिउँ आज

प्रणयको मिठो भाव लेखी शव्द शव्द
प्रेम पत्र कोरी यौटा खाम दिउँ आज

सपनीमा मात्र हैन बिपनीमै आएँ
प्रतिक्षाकी सीतालाई 'राम' दिउँ आज

सजाई दिउँ अंगअंग पिरतीको फूल
पिरतिकै तारा जून घाम दिउँ आज

बादलुको माथिमाथि कुनै शहर छैन
धरतिकै यौटा सानो गाम दिउँ आज ।


यो मुशायरा प्रेम दिवस विशेष थियो

हेप्पी भ्यालेन्टाइन डे - भिडियो

No comments

Monday




आज भ्यालेन्टाइन डे, प्रणयमा प्रतीकका रुपमा संसारभरका प्रेमीहरुले सन्त भ्यालेन्ताइन्को सम्झना गरिरहेका छन । मैले पनि उनको श्रद्धामा यो प्रणय गज़ल लेखें है त ।



कहाँ बाट प्रणयको यस्तो धून आयो
मुस्कुरायौ झुक्किएँ म, आहा! जून आयो


कसले गर्यो बेइमानी भुल मिठो मिठो,
मैले हो कि, तिम्रो अधर, आफै छुन आयो ?


माया राख्नु छातीभरि, प्रेम पूजा गर्नु
ल मलाइ भ्यालेन्टाइन, जस्तै हुन आयो ।


युगौंयुग अँगालोमा बाधी राखुँ भन्दा
समयको घन्टी हान्दै, फेरी कुन आयो ?


कृष्णपक्ष तिर चन्द्र, ढल्किएको जस्तो
बिरानो त्यो रात सम्झी, त्यसै रुन आयो ।





यो एनिमेसन मिरर या 'दर्पण' शिर्षकको छ । यसलाई जेसिका लोजानोले बनाएकी हुन् ।



आलेसान्द्रा सोरेन्टिनोले एनिमेसन गरेको यो सुन्दर भिडियो राखें मैले प्रेमिल मनहरुलाई ।

ल किन यसरी, रुनु भयो हजुर ?

5 comments

Friday





ल किन यसरी, रुनु भयो हजुर ?
पराइ जस्तो पो हुनु भयो हजुर ।

चिम्लेर गुलाफ, छुनु हुन्न भन्दा
फेरि के सोचेर, छुनु भयो हजुर?

प्रेमले बुनेको, माला पिरतीको
किन त डोरी झैं, फुनु भयो हजुर ?

राखेर सम्झना, पछि दाग' भन्दै
कसरी सजिलै धुनु भयो हजुर ?


कृष्णपक्ष

बगर

No comments

Tuesday

mikezphoto.com



छुदै भाग्ने सम्झनाको लहर बाँकी रह्यो
बगर संग अब कस्तो रहर बाँकी रह्यो ।

कसले लग्यो मनको राजै, देश हारेको छ
खण्डहर यौटा सानो शहर बाँकी रह्यो

यो समुद्र मन्थन मात्रै, जति गरे पनि,
अमृतको घडा खै त ? जहर बाँकी रह्यो

तिमी हास्दा सबै हासे, रुँदा एक्लै थियौ,
सन्सार स्वार्थी हुन्छ भन्ने, ठहर बाँकी रह्यो

कृष्णपक्ष रात हो यो, निभे दिपहरु
यी हेर त कति लामो प्रहर बाँकी रह्यो ।

सुटुक्क मन साटेकै राम्रो

No comments


सुटुक्क मन साटेकै राम्रो
उमेर छदैमा आँटेकै राम्रो

मुहारै छोप्न, आउँछ केश
सपक्क पारेर , बाटेकै राम्रो

लक्षण हो यो, यौवन खुल्ने
पुरानो चोली फाटेकै राम्रो

"कहाँ गएकी"? बाबाले सोधे
कहिलेकाहीं त, ढाँटेकै राम्रो

कृष्णपक्षको, रात भए'नि
मायाको साथमा, काटेकै राम्रो

किन बाल्छ्स तँ अगुल्टो?

No comments
अस्थिरता अराजकता, धेरै बेर नबुझिने
हाँडीगाउँको मेला हो कि, खै बुझेर नबुझिने

नौटंकी छ सडकमा, रमिते पो भयौं हामी
तिमी उस्तै,उस्तै छु म, हेराहेर नबुझिने

देशको भाग्य लेख्छु भन्दै, धेरै आए धेरै गए
खै के के लेखे कुन्नि , केरमेर नबुझिने

धेरै पछि संदेश आयो, सबै शुभसंदेश भन्थे
कति सारो धमिलो हँ, यो अक्षर नबुझिने

उज्यालोका बाटोहरु, अरु नै थे' कृष्णपक्ष !
किन बाल्छ्स तँ अगुल्टो, यहिंनेर नबुझिने ।

Don't Miss
© all rights reserved
Crafted with by NetKUTI