कृष्णपक्ष

krishnathapa.com

लिमासोल दर्बारमा हामीले सदियौं पुराना प्राचीन ढुंगाहरू मात्र देख्यौं । यहाँ दरबारका अवशेष बाहेक दर्बार भन्न योग्य केहीपनि थिएनन थियो त केवल यो भूमिको इतिहासमा लेखिएको निकै पुरानो सम्भवत: पहिलो ऐतिहासिक प्रेमकथा … ।

साइप्रस पौराणिक कालदेखि नै एक प्रेमिल र रोमान्चक स्थलको रुपमा प्रख्यात थियो । यहाँ प्रेमका उत्सवहरू मनाइन्थे, वेलायतका मध्ययुगीन राजा किंग रिचार्ड प्रथम बाह्रौँ शताव्दीमा यो प्रेमनगरीमा आइपुगेका थिए । उनको र राजकुमारी बेरेंगेरियाको रोमाञ्चक प्रेमकथा लिमासोल गढले आफ्नो छातीमा लुकाएर राखेको थियो ।

रिचार्ड प्रथमकी प्रेमिका साइप्रसमा पक्राउ 


बेलायतका राजा किंग रिचार्डले आफ्नो जीवनकालको अधिकांश समय दरबारमाभन्दा प्रवासमा बिताए । १६ वर्षकै कलिलो उमेरदेखि सैन्य कमान्ड सम्हालेका किंग रिचार्डको जीवन राजकाजभन्दा पनि एक योद्धाको रुपमा युद्धमैदानमा या त पराजीत भएपछि युद्धबन्दीको रुपमा कैदमा व्यतित भयो ।

अप्रिल ११९१ मा किंग रिचार्ड फौज र बन्दोबस्तीसहित इटालीबाट इजरायलको लागि रवाना भए । उनको यस यात्रामा उनकी प्रेमिका बेरेंगेरिया पनि सवार थिइन तर उनीहरु अलग अलग जहाजमा थिए । स्पेनको पैम्प्लोनामा भएको भव्य खेलकुद उत्सवमा बेलायतका तत्कालिन राजकुमारले बेरेंगेरियालाई पहिलोपटक देखेका थिए, त्यसबेला देखि नै उनीहरुको प्रेम भएको थियो ।

यात्राको क्रममा समुद्रिक आँधीमा परेर उनकी दिदी जोआना र प्रेमिका बेरेंगेरियाको जहाज भने आँधीसँग जुद्धै साइप्रसको दक्षिणी तटमा उत्रियो । उनीहरूसँग खरखजाना र अन्य मालवाहक जहाजहरू पनि थिए । दुर्घटनामा केही यात्रुहरू घाइते र केही हताहत समेत भए । साइप्रसका तत्कालीन शासक इज्याक कम्नेनसले भड्किएर आएको जहाज कब्जा गरेर उनीहरुसंग भएको खर खजाना लुट्नुका साथै रिचार्डकी प्रेमिका राजकुमारी बेरेंगेरिया लगायत सम्पूर्ण यात्रुहरूलाई बन्दी बनाए ।

यो खबर थाहा पाउने बितिकै ग्रीसमा आइपुगेका रिचार्ड प्रथम मे ११९१मा लिमासोल आए । उनले साइप्रसका अधिकारीहरूलाई आफ्नी प्रेमिका र अन्य सम्पूर्ण बन्दीहरूलाई रिहा गर्न अनुरोध गरे तर साइप्रसका अधिकारीहरू मानेनन् त्यसपछि उनले साइप्रसमाथि हमला गरेर आफ्नी प्रेमिका र यात्रुहरूको रिहाई मात्र गरेनन, साइप्रस नै आफ्नो कब्जामा लिए । रिचार्डले लिमासोलपछि निकोसिया, पहाडी किल्लाहरू र उत्तरी क्षेत्र गिर्नेयामाथि समेत हमला गरेर साइप्रसको सम्पूर्ण शासन शक्ति हातमा लिए । इज्याक कम्नेनस लगायत अधिकारीहरूलाई सजाय दिइयो । यसरी साइप्रसमा अंग्रेज शासनको आरम्भ भयो ।

साइप्रसमाथि विजय प्राप्त गरेपछि राजा रिचार्ड प्रथमलाई स्थानीयहरूले तथा इजरायलबाट समेत विशेष गरी गाइ अफ लुसिग्नानको आदेश अनुसार अनेकौं राजकुमारीहरू विवाहको प्रस्तावसहित साइप्रस ल्याइए । साइप्रसका शासक इज्याकले समेत सम्झौता प्रस्ताव स्वरुप आफ्नी एकमात्र राजकुमारी सुम्पिएर राजाकै इच्छा अनुसार बिहे गरिदिने र सन्धी गर्ने निर्णय गरे । तर उनले पटक पटक धोका दिएर पुन आक्रमणको प्रयास पनि गरे । इतिहासकारका अनुसार किङ्ग रिचार्डले इज्याक कम्नेनसलाई सुन र चाँदीको सिक्रीले बाँधेर जेल पठाएका थिए किनकि अन्तिम पटक आत्मसमर्पण गर्दै सम्राट इज्याकले आफूलाई फलामले नबाँध्ने वाचा गराएका थिए ।

वेलायती राजा रिचार्ड प्रथमले वास्तवमा इजरायलको जेरुसेलममाथि विजय हासिल गरेर क्रिश्चियन प्रभुत्व स्थापित गर्ने सपना देखेका थिए । त्यसैले उनले साइप्रसमाथिको विजयलाई खासै महत्व दिएनन र यहाँ शासन पनि गरेनन । प्रेमिकाको लागि सिंगो देश जितेपनि उनले साइप्रसमा राज्य भने गरेनन, विवाह गरेपछि लगत्तै यो जोडी इजरायलतिर लागेको इतिहास छ ।


बेलायतका राजा किङ रिचार्ड प्रथमको चित्र 


वेलायती राजाद्वारा भएको साइप्रस कब्जा इतिहासमा निकै अर्थपूर्ण रुपमा लिइन्छ किनकि सामुद्रिक द्विप या समुद्रको सहयोग बिना इजरायलमाथि धावा बोल्न र क्रिश्चियन अधिपत्य कायम गराउन असम्भव थियो । यद्यपि राजा रिचार्ड जेरुसेलम आक्रमणको यस अभियानमा कहिले सफल भने भएनन् ।

वेलायतका राजा रिचार्ड र तत्कालीन नभार अधिराज्य (अहिलेको स्पेन)की राजकुमारी बेरेंगेरियाको १२ मे १९९१का दिन साइप्रसको लिमासोलमा विवाह सम्पन्न भयो । वेलायती राजाको यो वैवाहिक समारोह अत्यन्त भव्य र उल्लासपूर्ण भएको थियो । त्यसै दिन राजकुमारी बेरेंगेरियालाई साइप्रस र वेलायतकी महारानी घोषित गरियो भने किङ्ग रिचार्डले आफूलाई साइप्रसका राजा घोषणा गरे । त्यसपछि साइप्रसबाट उनीहरू ८ जून ११९१मा इजरायलको लागि प्रस्थान गरे ।

राजकुमारी बेरेंगेरिया बेलायतकी रानी घोषित त भइन तर उनको वेलायत फिर्ती भने सहज भएन,युद्धको मैदानमै उनीहरूको अधिकांश जीवन बित्यो । राजा रिचार्डको दुखद मृत्यु भइसकेपश्चातमात्रै उनले आफू रानी भएको त्यो देशमा पाइला टेक्न पाइन् ।

एकादेशमा साइप्रसको लिमासोलमा घटेको कथा हो यो । यो कथा सुनिसकेपछि म एकपटक फेरि राजा रिचार्ड र बेरेंगेरियाको त्यही रात्रिभोजको बर्णनमा हराउछु, जहाँ रोमान्चक झ्यालीहरू प्रदर्शित भएका थिए, गीत संगीतको प्रस्तुति गुञ्जिएको थियो । थरीथरी मदिराको वर्षा गरेर यो शहर पुरै उत्सवमय भएको थियो । हामी अब त्यो ठाउँ जानेछौं – कोलोसी, जसले संसारकै पहिलो मदिरा ‘कमाण्डरिया’ उत्पादन गर्यो र राजाहरुलाई मिठो नशामा झुलायो ।

लिमासोल किल्लाका यी सुनसान भित्ताहरूले राजा र रानीको यो कथा प्रत्येक आगन्तुक पर्यटकलाई सुनाउछ, मैले पनि सुनेँ र तपाईंलाई सुनाएँ । भन्नुस त कस्तो लाग्यो ?

कृष्णपक्षको यो ब्लगबाट साभार गरिएको पुरा लेख पढ्न यहाँ जानुहोस् 

यस्तै यस्तै :

No comments:

Leave a Reply







    COMING SOON !!!





    COMING SOON !!!