Responsive Ad Slot

Showing posts with label News Magazines. Show all posts
Showing posts with label News Magazines. Show all posts

रीत ..

14 comments

Thursday

 तस्वीर - www.crunchyroll.com


ठिक छ तिमीले भन्यौ
यो रीत हो- वियोग

मिलन पछिको विछोड ..
घाम पछिको छाया ...
भेटिनु अनि छुटिनु ..

तर खै त
रात पछिको दिन
प्रतिक्षा पछिको प्राप्ति

फेरि यसबेला .. भन त
तिमी किन सम्झाइरहेछौ
रीत सधै रीत जस्तो हुदैन ..... .

कृष्णजी, ब्लगलाई किन माया मार्नु भएको ?, शुक्लपक्ष लागेर उज्यालो भेटीयो कि कसो :) यस्तै हरफहरु फेसबुकमा टासिन थालिसकेका थिए ... कतै केहि नकेरेको धेरै भएको थियो ।






ब्लग लेखन को यो बिश्राम - कारण के थियो? हुनसक्थे - विदेशको वसाई, जागीरको प्रकृति वा अर्थमोह.... इ त पहिले पनि थिए वा सधै नै रहिरहनेछ्न । त्यस बाहेक पत्रिका प्रकाशनको व्यस्तता, अनेसासका कार्यक्रमहरु, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको साधारण सभा, श्रम मन्त्रीज्युको इजरायल भ्रमण र इजरायलको रोजगारीका लागि नेपालीको फसेको करोडौं रकमको उद्धार हुने झिना आशा र त्यसले उब्जाएको व्यग्रता ..

व्यस्तताको सेरोफेरो धेरै लामो थियो , तथापि यी सबै केवल बहाना मात्र थिए भनेर मभित्रको ब्लगर बारम्बार गुनासो गरी रहेछ ।


त्यसो त लेखन पनि वहाना लाग्न थालेको छ - मन बुझाउने , मनको भारि बिसाउने वा भावनाको पनि अस्तित्व कतै हुन्छ भनेर देखाउने..तर कति उदासी हरु यस्ता हुन्छन जो न कतै लेखेर हल्का हुन्छन न कसैलाई सुनाएर । लाग्छ जो पोख्नु र नपोख्नु को कुनै अर्थ नै छैन । तर अर्को मनले त्यो पनि मान्दैन उ भन्छ तिम्रा भावनाहरु अभिव्यक्तिकै लागि मात्र हुन्, जब तिमी तिनलाई थुन्छौ ती अझ ज्यादा कष्टप्रद हुनेछन । त्यसो भए किन थुन्छ मान्छे आफुलाई र लुकाउछ अरुसंग कहिलेकाही ? मनहरुको अंतर्द्वंदमा धेरै हप्ता बितिसकेका छन - यतिखेर दोश्रो मन संग सहमत भएको छु र लेख्न बसेको छु ।

इखिलोभ भन्ने ठाउँ छ , टेड अरिसन स्वास्थ्य तथा अनुसन्धान केन्द्र, अर्थात सौरास्की अस्पताल । घडीले रातको दुइ हानिसकेको हुन्छ । झ्यालबाहिर दिउसो भन्दा पनि रमाइलो र झिलिमिली उदाइसकेको छ । म लोरिया लाइ सम्झिरहेछु, उ भर्खर भर्ना भएकी हो, त्यहि तलामा यियाल पनि भर्ना भएको छ म केहि हप्ता देखि यहि छु त्यसैले सदा भन्दा व्यस्त छु, (ब्लग विश्रामको मुख्य कारण पनि यहि हो ।) उनीहरु बिरामी हुन् म होइन , म काम गर्छु । अरु पनि छन - रसियन, रोमानी, माल्दोवा, फिलिपिनी वा इस्रयालीहरु । उनीहरु विहान सात बज्दा नबज्दै ड्युटी सकेर गैसकेका हुन्छन , म भने १० बजेसम्म बस्छु । कारण - मेरो ९३ बर्षको बिरामी छ- उ हरेक बिहान ९ बजे "फोर्टेओ" नामको सुइ लगाउदै आइरहेछ र त्यो मैले नै दिनु पर्छ । यो अलि नया र झन्झटिलो भएकोले नर्समा पनि उसको विश्वाश छैन ।

93 बर्षको यो बुढो मान्छेलाई जीवनको कत्रो मोह! उसको रगतमा हेमोग्लोबिनको मात्रा १२ १० हुदै ७ सम्म झरे पछी राति नै २ पैक रगत दिइयो, HB बढ्न थालेको संकेत पाएपछि उसको चाउरे अनुहारमा छाएको मुस्कान, हेर्नलायक हुन्छ, म हेरी रहेछु । त्यो जिजीबिषा रातको उज्यालो मा पनि चम्किरहेको उसको मधुरो बोली र इशारा बाटै प्रष्ट देख्न सकिन्छ ।

केहि समय म साच्चिकै कृष्णपक्षको अँध्यारोमा धकेलिएँ । रातभरको ड्युटी अनि दिनभरको सुताई त्यो भन्दा अरु अँध्यारो संसार अरु कुन बेला अनुभूत हुन सक्ला? ८ घण्टा भंदाका थप एक्स्ट्रा हावरहरु वाध्यतावश डलर संग साटिएका थिए र त्यसपछि बचेको समयले यताउता बरालिने बाहेक लेख्ने पढ्ने मा कहिले स्थान पाएन । पहिले ड्युटीमै यी सब हुन्थे, अहिले यहाँ "काखे निषेधित क्षेत्र" लेखिएको थियो ।


टिभी हेर्ने, रसियन फिलिपिनी वा रोमानिहरु मिलेर गफ चुट्ने बाहेक अरु कुनै उपाय थिएन , बिदाका दिन कुनै न कुनै प्लान पहिले नै तय भै सकेका हुन्थे ।


म यहाँ छु भन्ने थाहा पाएर मारिसेल माथिल्लो तलामा आइ । मारी लोरियाकी साथी । "क्रिश ! तिमीलाई कसैले सुनायो? लोरीलाई त क्यान्सर भएछ नि, अब के गर्ने होला? म तल्लो कक्षमा नपुग्दै उसका साथीहरुले लोरीलाई लम्फोसाइटिक लिम्फोमा अर्थात लिम्फ ग्ल्यांडको क्यान्सर भएको कुरा भने" ।

लोरीलाई क्यान्सर.... ? मैले हाम्री देवीमाया दिदीलाई सम्झिएँ । पोहोर साल उनि यसरी नै बिरामी परिन, डाक्टरहरुले उनलाई पाठेघरको क्यान्सर भएको ठहर मात्र गरेनन अवस्था जटिल भएको र उनी बाच्ने दिनहरु केहि महिना मात्र रहेको तोकेरै भिनिदिए । त्यो यहि तीजको बेला थियो । एउटा सांस्कृतिक कार्यक्रम मार्फत पांच लाखजति जम्मा गरेर एन आर एन तथा अन्य संस्थाहरुले सहयोग गरे ।

कुनै गणना छैन यस्ता कति देवीमायाहरु... लोरियाहरु, पराइको आँगनमा कर्म गर्दा गर्दै मृत्युसंग नजिक भैरहेछन । यसपाली पनि तीज उसैगरी आयो, कृषिमा काम गर्ने दाजुभाईहरुले आफ्नै हातले उत्पादन गरेका अन्न, तरकारी, फलफुल, दुध र घ्युले प्रवासमा रहेका १२०० भन्दा बढी चेली हरुलाई सामुहिक दरभोजको आयोजना गरेर माइतीको परिचय दिए । तेल अभिभको यो विशाल लेविन्सकी पार्कभरि राता र रंगीचंगी पहिरनमा सजिएर दिदीवहिनीहरु नाचे, मादलको घिन्तांग शहरी भरि गुन्जियो, विदेशी पत्रकार तथा टेलिभिजन च्यानल हरुले रमाइलो मानेर समाचार बनाए ।

तीजकै सन्दर्भ पारेर, राता तस्विरहरु टासेर चिटिक्क परेको टासो लेख्ने सोच त्यो दिनभर रह्यो, फेरी कुनै कारणले त्यो पुरा हुन पाएन । अर्को दिन महामहिम राजदूतको निवासमा मन्त्रीज्यूको स्वागतार्थ आयोजित रात्रिभोजमा सरिक भइयो । इजरायल सरकारले भर्खर नेपाली हरुको ४०० पेड भिसाहरु रद्द गरेको थियो , तत्काल रेस्क्यु हुन नसके करिब २० करोड बराबरको हाराहारीमा नेपाल र नेपालीको पैसा फस्ने पक्का छ । चाहे त्यो म्यानपावरको होस् चाहे ऋण काढेर विदेशिन लागेका गरिब बेरोजगार नेपाली दिदीबहिनीको ...त्यो हाम्रो पैसा हो । नेपालीको हो।

शुरुदेखि इजरायलको एउतै शर्त छ- म्यानपावरहरुले मनपरी पैसा उठाए, त्यो प्रथा तुरुन्त अन्त्य गरी यदि न्युनतम लागतमा कामदार आउने अवस्था हुने हो भने इजरायलको रोजगार आजै खुल्नेछ, तर अवस्था त्यस्तो छैन ।

वैदशिक रोजगारमा आउनु र दोश्रो दर्जामा उभिएर श्रम गर्नु नेपालीको रहर नभई वाध्यता हो । विग्रदो अर्थतन्त्र, वेरोजगारी. र असुरक्षाले त्यो सब निम्त्याई रहेको छ ।र सुरक्षित गन्तव्य खोज्दै हामी आफै "को भन्दाको कम" गरी लागत रकम बढाबढ गर्न वाध्य भैरहेका छौं ।


किन नियतिले अझै लेखिरहेछ हाम्रो भाग्यमा पराइभूमिमा यसरी दोश्रो दर्जामा उभिन र कर्म गर्न .. र स्वाभाविक भै रहेछन विदेशिने रहरहरु । लोरिया, उसको देश फिलिपिन्स पनि रेमिटेन्सलाई अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनाएर उभिएको छ ... घर छाड्नु वा विदेशिनु संग त उनलाई कुनै गुनासो थीएन । उसको गुनासो यो छोटो जीवन संग छ, या यो अस्वाभाविक मृत्यु संग ।

सबिना, लोरिया, मालो, नुया, सारा,जोहन, लोर्ना, सुदर्शन मारी...हामीहरु संगै दिजिंगोफमा रहदाका ती रमाइला दिनहरु सम्झन्छु । समुन्द्रको किनार सम्म लम्किएको लामो बगैचा क्याफे, गोरेटा र गल्लिहरु...हामीले संगै हासखेल गरेका, खाएका र डुलेका क्षणहरु फर्केर हेर्छु, कति छिटो बितेछ यो एक बर्ष? बिदाका दिनहरु एक अर्काको अनुपस्थितिमा हामिलाई खल्लो महशुश हुन्थे र अर्को दिनको प्रतीक्षामा रहन्थ्यौं । छुटिनु त हामीले छदै नै थियो एकदिन, तर लोरियासंग यस्तरी बिछोडिनु पर्ला भन्ने कलपना सम्म थिएन । प्रेमी प्रेमिकाको नाम नदिई यदि कसैले त्यो भन्दा बढी माया बाड्न सक्छ भने हाम्रो मित्रताको परिभाषा शायद यस्तै केहि हुन्थ्यो होला ।

जीवन गन्तव्य हैन यात्रा हो , त्यसो भए के यो यात्राको गन्तव्य "मृत्यु" हो त? त्यो महाशुन्य जहाँ सबै भावनाहरु निमिट्यान्न हुन्छन । जसको नजिकै आज उ उभिएकी छ । जीवनको यो कालो अन्तिम बिन्दुका विषयमा ज्यादा बहस नगरिए पनि या जति नै डराएर टाढा रहन खोजे पनि, मृत्यु हाम्रो अस्तित्वको एउटा अकाट्य वास्तविकता हो वा अझ भनुँ मृत्यु हाम्रो अस्तित्वको समाप्ति हो जुन कुनै पनि घडी आउन सक्छ , त्यो घडीका बिषयमा अनभिज्ञ हुनु हाम्रो अज्ञात सुख हो, जसबाट लोरिया बिमुख भएकी छ ।

"किन मलाई नै हुनु परेको? " शुरुमा उसका धेरै आसुहरु बगे ...उसंगको भेटले पनि सान्त्वना भन्दा अझ पिडा दिएजस्तो आभास हुन्थ्यो मलाई । तर यो घातक समाचार पछिको अस्वीकृति, आक्रोश, निराशा र समयसंग्को सम्झौता वा स्वीकारोक्ति सबै चरणहरु लोरियाले पत्याई नसक्नु संग सजिलै पार गरी ।

"जीवन त आजको नाम हो वर्तमान हो, त्यो मसंगै छ , भोलि के थाहा?" लोरिया हामीलाई नै सम्झाउन थालेकी थिई । उ भन्न थालेकी थिई , मसंग अझ धेरै बिहानहरु छन् हास्नलाइ, अझ धेरै साँझहरु छन् रम्नलाइ ... "म जतनले ती दिनहरु खुसि संग जिउन चाहन्छु" ।

पहिलो किमोथेरापी पश्चात उ यहाँ बस्दिन , हिजोका रहर र सपनाहरु सबै सबै भत्किसकेका छन । कामना र प्रार्थना बाहेक हामीसंग अब केहि छैन उसलाई दिन ।

लोरिया तिमीले त स्विकारि सक्योउ त्यो नियतिलाई जसको प्रतिवाद गर्ने कुनै अदालत छैन , तर कति गाह्रो छ त्यो कालो खबरलाइ स्वीकार गर्न म केवल अनुमान मात्र गरिरहेछु ।


यसबेला अरुणा लामाको स्वरमा सजिएको यो गीत
असाध्य सम्झना आइरहेछ --

भेटिनु छुटिनु त के हो र जीवनको रीत हो
नसम्झ तिमी यो मेरो विदाको गीत हो ...

अभासी परीचय र डिजिटल संसार

12 comments

Friday



एल्टोन टावरको बाहिरी परिसरमा हो उनीहरुले पहिलो पटक भेटेका । पहिलो भेटमै रुबीले आफु चंचल भएको प्रमाण दिई - रमाइला गफ गरेर .. . गफ गर्न र घाम ताप्न बाहिर भेला भएका थुप्रै साथीहरु, कोही टिक ट्याक टो खेल्नमा कोहि कुरा गर्नमा र कोहि रमिता हेर्नमा मस्त थिए । मानौं त्यहानेर भर्खर एउटा मेला लागेको छ । छेउमा अर्को हटडग बेच्दै थियो धमाधम, "पशुपतिको जात्रा सिद्राको व्यापार"...सम्झिएँ ।


म त सधैँ आउछु खुब रमाइलो लाग्छ तिमी कतिको आउछौ? 'तिमी' अर्थात प्रभात ढुंगाना, यो मेलाको नया आगन्तुक ठिटो लाइ सम्बोधन गर्दै उसले भनी । प्रभात भन्दै थियो - मैले त आज मात्र अपार्ट लिएको यहाँ, कसैलाई चिनेको छैन उ नयाँ थियो उसका साथीहरु थिएनन ।


कस्तो छ त अपार्ट? के के किन्यौ?

उसले नारीसुलभ उत्सुकता देखाई र उसको घर सजाउन मद्दत पनि गर्ने भई । मलाइ त सलोन भन्दा पनि भान्सा नै ज्यादा आकर्षक बनाउन मन पर्छ । कुरै कुरामा उसले थपी, त्यसो त योभिलमा मैले धेरै मानिस देखेको छु, जो नाइट क्लब, क्यासिनो जाने, खाने, खेल्ने र फेशनमा पैसा उडाउने बाहेक केही गर्न जान्दैनन, अनि घर चाहि जस्ताको तस्तै ......म चाहिँ घर सजावटमा विशेष महत्व दिन्छु। यसो कहिले काही चिया पिउन पस्दा होस् वा बेलाबेला गेट टुगेदर गर्दा होस् घरको वास्तुकलाले छुट्टै प्रभाव पार्छ नि हैन र?

एकै पटक धेरै नै कुरा गरी उसले ।

शायद होला, यो मामिलामा केटीहरु अलि अगाडी नै हुन्छन ।


उसले गुन्द्री, रातो माटो, कमेरो अनि भकारी, धन्सार र बार्दली सम्झियो,
त्यो घर जहाँबाट हिमाल छर्लंग देखिन्थे ।

फ्लोरल कार्पेट बिच्छ्याईएको उसको सलोन, ३ वटा ठूला सोफाहरु, आमने सामने राखिएका थिए । मध्यभागको टेबुलमा राता पहेँला फूलका थुंगाहरु । भित्तामा ठूलो स्क्रिन भएको प्लाज्मा टिभी टाँगिएको थियो । सोफाको ठिक अघिल्तिर फायरप्लेस ...,वाँया पट्टि कुनामा पारदर्शी पार्टिशन गरेर टेबल कुर्सि, पुस्तकहरुको दराज र कम्प्युटर चिटिक्क पारेर सजाइएका थिए । बेडरुम र किचेन झनै राम्रो थियो ।

कति भयो यहाँ आएको ? अहा! साह्रै आकर्षक रहेछ तिम्रो घर ,तिमी त वास्तुकलामा निक्कै निपुण रहिछौ । अरुलाई फ़ुर्क्याउन त प्रभातले पनि जानेकै हो ।

अँ म त धेरै नै भयो . शुरुशुरुमा यो लुगा र समान किन्ने कुरामा एडिक्ट जस्तै भएको थिएँ । अहिले चाहि पैसा त्यति खर्च गर्दिन, नजिकै एउटा प्याड हेरेकी छु, २५००० डलर रे, त्यसकै लागि पैसा जम्मा गर्दैछु ।

रोज, दिक्षा, जिया, ड्युस, एमी, किम, लाउ, लेन, मोटी, चिरन,राखी, आसाफ, शेर्लिन., बेन ,इभा, उदेश,ग्याबी,सुबास, द भी, र म । विस्तारै प्रभात धेरै साथीहरु संग जोडियो, जति सुकै हतारोलाइ थन्क्याएर पनि साँझ ९ बजे पछि भेला हुने रुटिन नै बनायौ हामीले - कहिले विन्निको डिनर, कहिले डिस्को, कहिले क्यसिनो अगाडी ।

घुम्न कहिलेकाही समुद्रको किनार पनि गईन्थ्यो । साँझको बेला छालहरु नजिकै बसेर साथीहरु संग वेफ्वांकका गफ, भलाकुसारी गर्नु, जिस्किनु, वा लहर संगै बगेर पौडी खेल्नु । अत्यन्त रमाइलो लाग्न थाल्यो, अनुपम अनौठो र आनन्द ।

प्रभातले हामीलाई धेरै पटक उसको अपार्ट लिएर गयो, बाहिर डुल्ने मुड नहुदा, हामी प्राय रुबीकोमा पनि आसन जमाउथ्यौं । शायद यो क्रम ज्यादा भएकैले हुनु पर्छ बिचमा प्रभातले आफ्नो अपार्ट पनि चिटिक्कै पारेको थियो । दिन दिनै नया नया सामानहरु थपिन्थे, उसलाई मखमली रंग खुब मन पर्दो रहेछ । अरुको भन्दा विशेष उसले एउटा अग्लो मान्छेको मुर्ति र पुराना ३ थान बन्दुक ढोकाको छेउ मै राखेको थियो । धेरैलाइ यो अनौठो लाग्यो ।आ आफ्नो शोख त हो, मलाइ भने राम्रै लाग्यो ।

त्यसो त पश्चिमाहरु रातो रंग पनि कहाँ यसरी मन पराउछन र? हाम्रो भने संस्कृति जोडिएको छ यसमा - रातो माटो, सिम्रिक, अक्षता, लाली गुराँस वा सौभाग्यको रंग । उनीहरु चाही खालि खतराकै चिन्हको रुपमा हेर्दा हुन् ।

पछिल्लो पटक प्रभातले एउटा बुलडग किनेर ल्यायो, शुरुमा उ "खैरे" भनेर बोलाउथ्यो । खैरे खुब मायालु थियो , पछि पछि जादा भने "खैरे" त "स्पाइक" भएछ। रुबीले नै होला चेन्ज गरी दिएकी ।


एकदिन उनीहरु दिनभर "बीच" (समुद्रको किनार) मा हराए,। पौडी खेल्न हैन, बल्छी थाप्न गएका भन्थे। त्यसपछि काममा संगै जाने फर्कने , शपिंग वा खान खान पनि संग संगै हुन थाले ।

अब उनीहरुकै साथी (हामीहरु) बीच जिमघर, चौर , बगर वा क्याफेहरुमा उनीहरुको बेस्मारी कुरा काटिन थालेपछि, नानाथरी गफको बब्बाल धुवा उड्न थाले पछि र उनीहरु पनि यसरी हराउन थालेपछि, के शंका गर्ने ठाँउ हुदैन र?

(त्यसैले त यो कथा लेख्ने जाँगर चलेको...... खैर, कथा चाहि अधुरो छ है ।)


काम बाट फर्कने बित्तिकै प्रभात अनौठो कुतुहलता, रोमान्चकता, वा नया उत्साह को संचार भरिएझैं महशुश गर्न थाल्यो । दिनदिनै नया योजना र कार्यक्रम लिएर उ आफै उपस्थित हुन्थ्यो र साथीहरु संग शेयर गर्थ्यो तर एक्लै हुदा भने उ कसैको सम्झनामा हराए झैं वा कसैको प्रतीक्षा मा कुरेझें हुन थालेको थियो । के उ रुबीलाई मन त पराउन थालेन? वा यो सप्पै फुर्ति, किनमेल, सजावट विशेष अरु कसैको लागि पो हो कि भन्ने भान हुन थालेको थियो ।

फुर्सद हुने बित्तिकै उ प्राय कसकोमा चियाउन जान्थ्यो?
.... हैन हैन, रुबीकोमा अलि धेरैं नै जान्थ्यो होला, तर अरुको मा पनि त बराबार गइ रहन्थ्यो नि ।


रुबीको र उसको प्रेमकथा लेख्न बसेको यो ब्लगरलाइ यसबेला उस्ले पुरा का पुरा निराश बनायो । उसले भन्यो - अँहँ, प्रेम -स्रेम उ कसैलाई गर्दैन रे, यदि मनकै कुरा गर्ने हो भने हामी सबैसंग उत्तिकै बाडीएको छ रे उसको मन । "हामी" अर्थात उसका साथीहरु ।

योभिलमा कति रुबीहरु छन कति प्रभातहरु छन, तिनको के गणना ? पल पलमा कति नज्जिक भए जस्ता हुन्छन कति टाढिए झैं, कति नयाँ हरु थपिन्छन, कति पुराना घट्दै जान्छन, यद्यपि योभिलमा पस्नेहरु भने कहिले काही कतै हराए जस्तो महशुश गर्छन , मान्छे हराउनु मन हराउनु रहेछ ।

त्यसपछि कति साथीहरु फेसबुकमा पनि जोडियौं, कति पहिल्यै थिए, यो भ्रम जालोले स्वैरकल्पनालाइ अर्को उचाई थप्दो रहेछ, कम्प्युटर खोले पछि बेग्लै संसारमा हराइने, बादल माथि माथि । भ्रम भन्ने थाहा पाएर पनि धेरै कुरा हरु कति प्यारा हुदा रहेछन ती वास्तविक झैं आभास हुन थाले, नामै नसुनेका कैयौं मान्छेहरु परिचित र नजिकका जस्ता लाग्न थाले। यस्ता धेरै परीचय र सम्बन्धले हाम्रो कल्पनालाइ अनौठो आकार दिदा रहेछन ।

संचार र प्रविधिको यो पछिल्लो उपलब्धिले हामीलाइ आजकाल अभासी (भर्च्युअल) संसारमा रमाउन सिकाएको छ । त्यो अदृश्य संजाल मा हामी एक अर्का संग जोडिदै जान्छौं । सागरमा छालहरु तरंगित भए जस्तै मनका तरंग हरु सजिलै प्रसारण हुने यस्ता माध्यम हरु नेटवर्किंग चौतारीहरु आधुनिक जीवन शैलीको अभिन्न पाटो बनेका छन । यसको स्वरूप रोधी मेला वा चौतारीको जस्तै छ । जहाँ एउटा मित्रमण्डली (ग्यांग) तयार हुन्छ। प्रयोगकर्ताको भावना बोकेर हिडेका प्रत्येक प्रोफाइल कम्प्युटरको कुना देश विदेश चहार्छ र फेरी उसमै फर्कन्छ ।

यस्ता चौतारीमा छपक्कै सुचना पाटीहरु हुन्छन कोही आफ्नो नोट राख्छन, कथा कविता वा तस्विरहरु टास्छ्न कोही समाचार वा चल्दृश्यका सेतुहरु पनि जोडछन ।


हेर्न जानेले राम्रो नराम्रो वा आफ्नो धारणा राखेर केहि लेखिदिन्छ, उ मख्ख पर्छ अनि कोही चाहि दम्भी पनि हुन्छन, उनीहरु चाहि खुब रिसाउछ्न, नराम्रो कसैले केहि लेख्यो भने, मानु त्यो चौतारी उनीहरुकै पेवा हो ।

यी घटना हरु कतै छापिएरै बस्छन . तिनका टाउकामा लेखिएको हुन्छ , फलानो ले यी यसो भन्यो यति साल यति गते .... तिलानोले यस्ती टिप्पी हान्यो ।

अँ त तपाइँ कथा सुन्दै हुनुहुन्थ्यो परीक्षाको कारण रुबीले योभिल खेल्न चटक्कै छाडेपछि ...उफ कथा अनपेक्षित रुपमा यतिकै सकियो, प्रभात पनि उत्ति आउदैन ।

अब त थाहा पाई सक्नु भयो ।म योभिल नामक खेलको पो कुरा गर्दै छु । जसलाई फेसबुक वा माइस्पेसका प्रयोगकर्ताहरुले खेल्न सक्छन । जहाँ तपाइँ तपाइकै रुप रंगको अवतारमा प्रतिस्थापित हुन सक्नु हुनेछ र त्यो अवतार तपाइको मन बोकेर योभिल शहर शहर घुम्न थाल्छ , मन परेको लुगा किन्छ, घर किन्छ, बस्छ उठ्छ पौडी खेल्न जान्छ, हल्ली हल्ली च्याट गर्छ त्यो पनि साथिकै घरमा गएर -सोफामा बस्दै चिया पिउदै । अनि तपाईलाई लाग्छ त्यो तपाइँ नै हो ।



अनलाइन साथि नहुदा र एडेड नहुदा वा शुरुमा अलमल पर्न सक्नु हुन्छ तर साथिहरु बनेपछि भने तपाइँ त्यो संसार बाट फर्कन चाहनु हुन्न फुर्सद, अनलाइन साथी र कनेक्सन स्पिड सबैले साथ दिनु पर्छ है यो खेल्नलाइ ल खेल्ने भए जानुस ।


http://www.yoville.com/

मुढो शरीर हुनु मात्र कहाँ रहेछ र मान्छेको अस्तित्व ? उसभित्र को मन त्यसको फैलावट, त्यसको यात्रा र त्यसकै सेरो फेरो मा हाम्रो जीवन घुम्दो रहेछ त्यसैले यस्ता भ्रमरुपी संसार को मोह बढ्दै गएको !

तपाइँ पनि यो ब्लगरलाइ यस्तै परिचयले त पढ्दै हुनु हुन्छ नि हैन र?
जादा जादै अलि अगाडीको मेरो फेसबुकको एउटा स्टाटस र कमेन्ट राख्न चाहन्छु , जसले यो टाँसो र कथा लेख्न प्रेरित गर्यो ।

अचम्म लाग्यो आफैलाई! अरुले प्रतिक्रया दिदा वा बूढी औला थिच्दा, किन
रमाइलो, खुसीको वा केही मिठो अनुभव भएको ?के आफ्नो मन अरुको भरमा चल्छ? के आफ्नै भावनाको गहिराईमा पनि अरुको बिचारले फरक पार्छ? त्यों पनि धेरैजसा कहिले नदेखेकाहरु, मन कस्तो चीज हो ?


साथ, भर र आत्मीयता यसैलाई त भन्छन् नि ! हामी एउटा ज्यान त आफैँमा ठोस मूढा मात्रै हौँ, यो ठोस ज्यानमा रक्तसञ्चार त हुन् अन्य परिवेश र पात्रहरू ।



रक्त संचार विनाको स्थुल शरीरमात्र त हुँदो त जीवन कति शुन्य र निरस हुन्थ्यो होला हगि?


सिमास्तम्भ

10 comments
फेसबुकमा बाडनुस



image-from the memory of holocaust

मध्यपूर्वको यो समृद्ध इजरायल
उत्तरको सुंदर पहाडी वस्ति हाइफा
जहाँ भू-मध्यसागरको किनार नजिक उभिएर
म लेबनान माथिको बादल नियाल्छु
जो भर्खर चांदी र सुनौलो हुदै
सिंदूरी रंगमा परिवर्तन भै रहेछ ।

बादलको रंग बद्लिनु
यो शुभ संकेत हो,
स साना बंदरगाह साथै जहाजका तांती लिएर
शान्तिको निलो रंगमा तरंगित यी छालहरू
समयका बगारहरूमा स्पर्श गर्दै -यही भन्छन ।

ध्वस्त भएका खंडहर संरचना जस्तै
हजारौं क्षेप्यास्त्रका प्रहारले भत्किएको मन बोकेर
लेबनान मौन छ,
जसरी यसको छातीमा खातका खात घातहरु
लुकाएर सगर मौन बसेको हुन्छ ।

यो राजकीय संध्या
जून जस्तै जुनको महिना
यहाँ धेरै राता गुलाफ़हरु फ़ुल्छन ।
यही सांझ कोबाक्लो घुमटाे उघार्दै
म देख्छु जून यहाँ पनि उदाउछ, मेरो देशमा जस्तै
यसका किरणहरु जब धरतीका छातीहरुमा छरिन्छन,
सायद त्यो शीतल स्पर्श
एउटा इजरायलीले उस्तै महशुश गर्छ,
जसरी कुनै प्यालेस्तिनीले गर्छ,
जसरी कुनै सिरियाली इजिप्सियन वा
मैले महशुश गरिरहेछु ।

तर यो जून, यो अकास, यो धरती र निश्छल सागरहरू
अनि प्रकृतिको यो शास्वत समानतालाई
हाम्रो मानव सभ्यताले कुन्नी कतिखेर भत्काइ सकेछ
हामीले थाहै पाएनौं,
यो साझा धरतीका हरिया जंगल ढुंगा र माटोमाथि
कुन्नी कतिखेर,
युद्धका पदचिन्हहरु छापिदै गएछन,
हामीले थाहै पाएनौं ।


यहूदीहरुको यो पवित्र भूमि
जहाँ धर्म र आध्यामिक चेतना को उदय भयो,
इतिहासका बिबिध कालखंड देखि आजपर्यंत
फेरी पनि शक्ति, शासन, र संघर्षकै कथाहरु
र युद्धका श्रंखला हरु यसका पर्याय बनिरहे
मानिसका पापहरुका निमित्त
क्रुशमा टांन्गिएर जीससले प्राणको आहुति दिएझै
आजको धर्म र राजनितिले
सधै सधै मान्छेको रगत मागीरह्यो मागीरह्यो ।

हामीले किन यो सत्यलाई बिर्सियौं?
पैगम्बर,जीसस,बुद्ध वा मोशेहरुले त कहिलै
हत्या, हिंसा र युद्ध लाई प्रेम गरेनन,
यो बिरोधाभास,
के मानवीय चेतनाको गंभीर उपहास होइन?

गाजा र पश्चिमी किनारमा
फेरी हिंसा भड़किएको छ,
फेरी बारुद्का धुवा हरु उडेका छन,
संग संगै जहाँ लाखौं शरणार्थीका शिविरहरु भत्किरहेछन,
हिज़बोल्ला, हमास र कट्टर इस्लामी समूहहरु अनि समस्त आतंकवाद
मध्यपूर्विय शान्ति का स्थायी अवरोध मात्र होइनन,
हाम्रो सभ्यताले, हाम्रो राजनितिले र हाम्रै युगले जन्माएका
घाऊहरु हुन,पीडाहरु हुन्,
यस्ता दुःखदायी अनगिन्ती खाटाहरु, डोबहरु
इतिहास भरी भरी छापिएका छन,पुरिएका छन,फेरी छापिएका छन ।

आफ्नो देशको ??? क्षितिजतिर टोलाउदै
पश्चिमी किनारमा उभिएर
यौटा बृद्ध प्यालेस्तिनी शरणार्थी
मलामिको लामो लश्कर जस्तै
१९४८ का टी दिनहरू सम्झंछ,
जोर्डन, सीरिया, लेबनान र इराकतिर भागेका
लाखौंलाख दौतरीहरु झै
उसको पनि घर फर्कने सपना
डुब्दै गरेको जहाजजस्तै, आफै भित्र मरिसकेको छ ।

विस्थापन,पराधीनता र आभावका
बग्रेलती अनुत्तरित प्रश्न माथि
सायद जीवन भोगाइको यो अन्तिम प्रश्न
उ आफै संग सोधिरहेछ ,

“धरती किन यसरी काडाका पर्खालहरु जस्तै
देशका सिमानाहरुमा विभाजित छ?”
उ प्रत्येक सिमास्तम्भहरुमा योद्धाका चिहानहरु देख्छ ।
उ प्रत्येक सिमास्तम्भहरुमा रगतका छापहरु देख्छ ।।




Israeli Defence Force(IDF) aiming the target.

इजरायल
भू मध्य सागरको पूर्वी किनारमा बारम्बार प्यालेस्टाइन र इजरायल भनिएको यो देशको लामो इतिहासमा ज जसको आधिपत्य रहे पनि जे जति सिमानाहरु कोरिए पनि आज इजरायल मध्यपूर्वको एउटा शक्तिकेंद्रको रुपमा स्थापित भैसकेको छ वास्तविकता यही हो, भलै अरबीहरु यो तथ्यलाइ स्विकार्न तैयार नहोउन ।
पूर्वजको थलो नछाडेका वा छाडेर पनि जेरुसलमको यो पवित्र माटोलाई ह्रदयमा राखेर श्रद्धा गर्ने संसारभरिका ती दृढ यहूदीहरुले एतिहासिक पुस्तकका कथाहरुबाट थपक्क झिकेझैँ जोर्डन नदीदेखि भूमध्यसागर सम्म (दक्षिणमा मिश्र, उत्तरमा लेबनान र पूर्वमा जोर्डन देशहरुले घेरिएको) यो भुमिलाई पुन आफ्नो गृह राष्ट्र बनाउन सफल भएका छन । धेरै पटक इतिहासमा रोमनहरुबाट खेदिएका र अरेबियनहरुबाट बारम्बार धपाइएका ती लाखों यहूदीहरुको हरेक दिनको प्रार्थना, दृढ संकल्प र एकता को परिणाम हो यो - इजरायल । सन १९४८ देखिमात्र पूर्ण अस्तित्वमा आएको कथा जस्तै लाग्ने यो आधुनिक इजरायलको स्थापना संगै यहूदीहरुले हजारों बर्ष अघिको आफ्नो पुर्ख्यौली घर फिर्ता त पाए, तर यो विजयले बर्षोंदेखि यहाँ आवादित भएका लाखों प्यालेस्तिनीहरु बिनाकारण शरणार्थी बन्न पुगे ।

गाजा पशिचिमी किनार र छिमेकी देशहरुमा अस्थाई शिविरहरु स्थापना गरिए र एकाएक रोग भोक गरीबी र असुरक्षा पनि जन्मियो । धेरै अरब राष्ट्रहरु इजरायलको अस्तित्वलाइ आजसम्म पनि स्विकार्न तैयार छैनन । यही अस्वीकारोक्ति मध्यपुर्वीय अशान्तिको प्रमुख कारण बनेको छ ।एकताका डेबिड बेन गुरियन (जसले त्यसबेला यो प्यालेस्ताइन अरबमा यिशुभ नामक सामुदायिक संगठन को नेतृत्वा गरेका थिए) उनैले यो विवादास्पद भूमिका विषयमा भनेका थिए -"यद्यपि प्रश्नको समाधान कसैले नदेखेको होस हामी एउटा स्वतन्त्र राष्ट्रको रूपमा यसलाई आफ्नो बनाउन चाहन्छौं र त्यस्तै अरवीहरु पनि चाहन्छ्न ' यो अनिश्चिततालाइ पंछाउदै उनी पछि स्वतंत्र इजरायलको प्रथम प्रधानमंत्री भए ।विस्थापन र असंतुष्टिका ज्वारभाटा उठेपछि प्यालेस्तिनीहरु बाट आफ्नो सार्वभौमिकता, पहिचान र पुनस्थापनाको खोजीमा अनगिन्ती आत्मघाती आक्रमणहरु भए । १९५६,१९६७,१९७३, र १९८२ का बर्षहरुमा इजरायलले ठुलो संघर्षको सामना गर्नु पर्यो । पछिल्ला बर्षहरु र आज सम्म पनि यसको अस्तित्वको निमित्त कम्ती संकटपूर्ण रहेनन । तथापि हरेक संघर्षमा इजरायलले अत्यन्त बलियो प्रत्याक्रमण गरिरह्यो । यसैबिच अनेकों आतंकवादी र अतिवादी संगठनहरु पनि जन्मिए अनि हरेकले यौटै इतिहासलाइ आफ्नो पक्षमा व्याख्या गरेर द्वंदको सम्पूर्ण कारण र परिणामको दोष विपक्षलाइ दिन थाले ।

इतिहास विजितहरुद्वारा लेखिंछ, जहाँ पराजितहरु सधै बदनाम वा गलत साबित भएका हुन्छन। एउटै घटनाका विषयमा पनि दुई इतिहासकारहरु कहिलै सहमत हुदैनन र अझ अनौठोसंग दुवै आफु सही भएको दावा गर्छन ह्यारी ट्रुम्यानको कथन हो यो ।यसर्थ इतिहास का आँखा हरु बाट मात्र सही पक्ष सही धार निर्क्यौल गर्ने कोशिश गर्नु आफैमा बिरोधाभास पूर्ण हुन जान्छ एउटई बिन्दुका असंख्य कोणहरु हुन्छन विविध पक्ष र धारणाहरुका बिचबाट संतुलित दृष्टिकोणको खोजी नै सार्थक बुझाई को गहनता हो द्वंद र संघर्ष को इतिहास बुझ्न त झनै कठिन हुने भएकोले पूर्वाग्रहरहित विशुद्द दृष्टिकोणको महत्व अझ धेरै हुन्छ ।

यहानेर म तटस्थ रहिन, म स्वीकार गर्छु, मैले अलीकती इजरायलको आँखाबाट हेरेको छू । पुनरागमन र विस्थापन
इजरायल प्यालेस्ताइन संघर्ष कै इतिहास हेर्ने हो भने, दुवैपक्षभित्र जेरुसलम माथीको अगाध आस्था र त्यसको प्राप्तिको अमूर्त अभीप्सा रैह्को पाउछौं । पौराणिककालमा यहूदीहरुको राज्य यहूदा माथी रोमनहरुले आक्रमण गरेर प्यालेस्ताइन नामकरण गरेका थिए । त्यसपछिका दिनहरुमा अरवीहरुले उक्त प्यालेस्ताइनमा आधिपत्य जमाएर हजारौं बर्षसम्म शासन गर्दै आएको हामी पाउछौं । बीसों शताव्दीको पुरार्धतिर सम्म यो क्षेत्रमा अरव इस्लामिक प्रभुत्व रही नै रहेको थियो । इतिहासका पछिल्ला दिनहरुमा मात्र अरवीहरुको भीषण जनघनात्वलाइ वेवास्ता गर्दै यूरोप र एशिया लगायत अमेरिकाका बिभिन्न भूभागमा विस्थापित हुन पुगेका यहूदीहरुले आफ्नो गृहभूमि फर्कने अभियान चलाए।उनीहरुका लागी धार्मिक र एतिहासिक दृष्टिकोणले जेरुसलम अत्यन्तै महत्वपूर्ण थियो । 'उनिहरु कथा पढ़थे । इशा पूर्व एक हजार बर्ष पहिले यहूदी राजा डेबिडले स्थापना गरेको त्यों इजरायललाइ आफ्ना पूर्वजको घर सम्झन्थे र अरवीहरुको हातबाट कुनै पनि मूल्यमा फर्काउन चाहन्थे तर जेरुसलमलाइ अरवीहरु पनि कम्ती श्रद्धा गर्दैनथे । कथन अनुसार मोहम्मद यही स्थानबाट एक रात अल्बुराक नामक घोड़ा चढेर स्वर्ग प्रस्थान गरेका थिए । हजारों बर्ष देखि बसोबास गर्दै आएका अरवीहरु पछि प्यालेस्तिनी भानिएकालाइ यो अतिक्रमण कदापि स्वीकार्य भएन र यी दुई भाईहरु बिच अनन्त दुश्मनीको श्रृंखला शुरुवात भयो ।

आज ४० लाख को हाराहारीमा प्यालेस्तिनी शरणार्थीहरु बिभिन्न क्षेत्रमा छरिएर रहेका छन ती मध्य धेरै जसो पश्चिमी किनार र गाजा क्षेत्रका शिविरहरु लगायत जोर्दान सीरिया र लेबनानमा दयनीय अवस्थामा बसोबास गरि रहेका छन आफ्नै आँगनमा शरणार्थी बनेका उनिहरु घर फरकन चाहन्छं बाजे बराजुले आर्जेको त्यों प्यालेस्ताइन चाहन्छ्न , जसको सीमारेखा आज निकै साघुरो भाई सकेको छ सबैको अनुमान के छ भने यदि उनिहरु पुनस्थापित हुने हो भने अरव प्यालेस्ताइन शक्ति बढन गई यहूदी राष्ट्रको रुपमा स्थापित इजरायलको फेरी तहस नहस हुन सक्छ शरणार्थी फिर्तीको अर्थ इजरायलको अन्त्य हुनु हो भनेर अरव राष्ट्र तथा सबै प्यालेस्ताइनहरु खुल्ला दावी गर्दै आईरहेका छन तर इजरायलको चातुर राजनितिक पृष्ठभूमि र विगतका संघर्षहरुको अनुभवले पनि यसको सम्भ्याव्यता आधारहीन भएको स्पष्ट गरि सकेको छ ।




white phosphorus bombs dropped by IDF over gaza


मध्यपूर्वको आंगनमा अनगिनती सीमारेखाहरु कोरिए , कोरिदै मेटिदै गरेका सीमारेखाहरुले मानवीयताको पवित्र नाता भत्काउदै आपसी वैमनस्य र कलह बधाउदै गयो । सदियौं देखिको यो केरमेट गर्ने परम्पराले यौटा सत्य सधैको लागि मेटी सकेको छ- " सृष्टि सबैको साझा हो र इश्वरले हामी सबैको लागि यो धर्ती बनाएका हुन" ।

किन जिउदै जलाइए ६० लाख यहूदीहरु जातीयताको नाउमा नाजीहरुद्वारा? र त्यसको मूल्य तिरे निर्दोष प्यालेस्तिनीहरुले ?
विश्वको इतिहासले मध्यपूर्वमा ल्याएर छाडेको अत्यन्तै गहिरो पीडादायी प्रश्न हो यो । यो अनुत्तरित प्रश्नको उत्तर जजसले दिने कोशिश गरे, ती सबै अधूरा अपुरा वा एकपक्षीय मात्र रहे। भूटदाभूट्दै मकै आगो भन्दा अलीपर उछिट्टीएझै भागेर बाचेका ती यहूदीका संतानहरु यूरोप अमेरिका वा संसार का अन्य कुनाकाप्चाबाट यसरी खेदिए पछि इतिहास पल्ताउदै बाइबलका पानाहरुमा आफ्नो जातीय उत्पत्तिको थातथलो खोज्दै इस्रायल आउछ्न र भन्छन यो हाम्रै घर हो
Hiding Holocaust evidence
अस्तित्वका लागि संघर्ष
यूरोपको अग्नि काण्डमा जिउदै पिल्सिएका यहूदी जातिले डार्विनको सिदांतको यो शास्वत सत्यलाइ यसरी बोध गरेछ्न की ती नासिएर तुहिएर कहिलै गएनन, बरु ठूला ठूला अरव राज्यहरु (जातीय दुश्मन)को बिचमा संघर्ष गरेरै अस्तित्ववान भए, भैरहेछन । त्यसो त वरीपरीका बड़े बड़े छिमेकीहरुले इजरायलको नक्शा विश्व मानचित्र बाटै हटाउने तानाबाना कति बुने कति ? सम्पूर्ण विश्वले आफुलाई अशांतिको कारक, युद्धप्रेमी वा धुन्दुकारीको कलंक लगाउदा पनि यो मौन छैन, किनकी यसलाई थाहा छ मौनताले यसको मानचित्रका रेखा फेरी मेटिन सक्छ, अनि कहाँ जाने?

आज हजारौं बर्षपछि इजरायल आफ्नो देशको सिमाना स्पष्ट बनाउन चाहन्छ कुनै जातीले बाच्न कै लागि रगतको सिमाना कोर्नै पर्ने यस्तो आत्मघाति सभ्यता किन बनायो होला मान्छेले ?

दशाओं हजार बर्ष अघिदेखि यो क्षेत्र निरंतर आवादित रहदै आएको थियो पुरातत्वविद हरुले जेरिचो मा इ पु ८००० बर्ष अघि को गहुँको नमूना प्राप्त गरेका छन जसले इजरायल संसारकै सबै भन्दा पुरानो कृषिक्षेत्र भएको प्रमाण दिन्छ यासै गरि पुरातात्विक उत्खननहरुबाट यहाँ होमो इरेक्टस तथा नेन्दार्थाल जस्ता आदिम मानवहरुका समेत अवशेषहरु प्राप्त भएका छन । नेन्दरथाल मानव र आधुनिक मानव बिच को त्यो आदिम कालखंडमा मान्छे को कुन देश थियो ? कुन धर्म र कुन जात थियो ? कुन रंग र वर्णमा विभाजित थिए उनीहरु?




आज विभाजन र वर्गीकरण का नाघ्ने नसकिने अगला अगला पर्खाल हरु हामी बिच स्थापित भै सकेका छन हामी आफैले सिर्जना गरेका फरक फरक आस्थाहरु हाम्रै बिनाशका कारण बन्दै गै रहेका छन ।



मनोहर जैतूनका रुखहरुले हरेक बसंतमा गाजा क्षेत्रमा फेरी संभावनाका फुलहरु लिएर आउथे अनि त्यसको पात च्यापेर परेवाहरु मध्यपूर्वको आकाशमा शान्ति र स्वतन्त्रताका गीत गाउथे आज कैयौं रुखहरु संगै सुरक्षाको बहानामा अस्थायी वस्तिहरु समेत उजाड़ भएका छन ।

अभिलाषा
उता प्यालेस्तिनीहरु आफ्नो घरबार खोस्ने इजरायललाइ भूमध्य सागरमा धकेलेरै छाड़ने अठोट लिएर लड़दैछन भन्छन -जब सम्म अंतिम एक प्यालेस्तिनी यो धर्तीमा रहन्छ, उ पनि इजरायल बिरुद्ध लड़ेरै मर्नेछ ।कत्रो मोह सिमाना को?

त्यसो त प्यालेस्तिनी मुक्ति नाउमा अहिले अनेकौं अतिवादी र आतंकवादी संगठनहरु जन्मेका छन, जो आफै एक हुन नसक्नु र प्यालेस्तिनी राजनीतिमै वर्चस्व कायम गर्न लागि पर्नु वा गृहयुद्धमा समेत फस्नुले उनीहरुको अंतिम लक्ष्य इजरायल माथिको प्रभुत्वलाइ असंभवप्राय बनाई सकेको छ । अरवी राष्ट्रहरुको भीतरी इशारा र सहयोगमा चलेका ती विद्रोहहरुले मुक्ति होइन शिविरहरुमा दयनीय जीवन बिताई रहेका शरणार्थीहरुको भविष्य अझ अन्यौल ग्रस्त बनाउने काम मात्र गरेको छैन, अझ धेरै असुरक्षा र गरीबीतीर धकेल्दै लगेको छ।

यद्यपि सड़कभरी सैनिकका ट्यान्कहरु लाम लागुन जतिसुकै घरहरु भत्कियुन र जतिसुकै साथीहरु शहीद होउन, त्यसको कुनै परवाहबिना उनीहरु जेरुसलम हाम्रो हो, भन्दै विद्रोहको आगो फेरी फेरी सल्काई रहेछन । जेरुसलममात्र होइन, श्रृष्टिका सम्पूर्ण अवयवहरु हामी सबैको हो भन्ने निर्धक्कता खै हाम्रो सभ्यताले बुझाउन सकेको?

प्रतिशोधको भावनाले अभिप्रेरित भएर आतंक र रक्तपातको बाटो हिड्दा हिड्दा उनीहरुको त्यो लक्ष्य क्षितिजबाट धेरै परपर गै सकेको छ । त्यसलाई पुर्ख्यौली नासो भन्दै फेरी फर्काउने कोशिश गर्नु इजरायलको शक्तिसंग अनभिज्ञ रहने विवेकहीनता वाहेक अरु केही होइन ।

बत्तिमा जब पुतलीहरु होमिदै जान्छन, त्यसलाई रोक्ने सबै कोशिश व्यर्थ हुन्छ । यो दुस्साहस उज्यालोको माया हो । फेरी इतिहास लेख्ने भ्रमित विश्वासमा आज धेरै प्यालेस्तिनी किशोरहरु इरान र सीरियाका जंगलहरुमा तालीम गरिरहेछ्न - नया नया सिमास्ताम्भ उठाउने अभिलाषा लिएर ...





सम्बंधित अर्को लेख
गाजा र विश्फोटनका धुंवाहरु


धमिला राता दागहरू

12 comments

Thursday





कल्पनाको निलो सगरतल
इन्द्रेणी रंगका यी प्रसूनहरु
मलाई घामको झुल्को जस्तै लाग्छन
म हेरी रहन्छु ।







तेल अभिभ केन्द्र नजिकैको यो सानो शहर, सानो वस्ति डीजिन्गोफ़, हरेक विहान जसले पश्चिमतर्फको भू मध्यसागरको सामुद्रिक आद्रता र पूर्वको न्यानो घाम एकैसाथ महशुश गर्छ। प्रभात संगै उदाउछ मेरो झ्याल पनि, जहा निलो आकाश र कंक्रीटको अपार जंगलले भरिएको अजब दृश्य नचाहेरै पोखिइसकेको हुन्छ । सुन्दर डिजाइन र वास्तुले सजिएका यी आलिशान महलहरु गगन चुम्न उद्यत भएझै क्षितिजपर सम्म यस्तै एकोहोरो फैलिएका छन ।

झ्यालमा टांगिएको एकतामासको दृश्य पर क्षितिजतिर हेर्छु अनि घर सम्झन्छु हिमाल पहाड़ र खोलानालाहरु.....। प्रकृतिको त्यो तरंगमा क्षणभर हराउदा जून अतुलनीय सुखद अनुभव हुन्छ,त्यो अन्य सबै आयातित खुसी र भौतिक सुबिधा भन्दा मिठो चोखो र आत्मीय हुन्छ, लाग्छ कल्पनाका तिनै डुबुल्किहरु मेरा जिउने आधार हुन।

सागर किनारका वगरहरु, सर्लक्क उठेर घरहरुको घना जंगलमा अनुवाद भएका मात्र छैनन, मान्छेका बिचार र भावना पोखने मंचहरू, मनको कुरा बाड़ने मेला र चौतारीहरु कम्प्यूटर भित्र सांघुरिएदै गएका छन, यद्यपि सल्लेरी पाखा कै तृष्णा मेटिने गरि ठाउं ठाउं मनोरम उद्यान, पार्कहरु पनि बनेका छन र सागरका छालहरु पाइपको अन्तरकुन्तर बाटो भएरै पनि शहरको भित्री उपवनमा संगीतमय झरना र फोहोरा बन्न आइपुगेका छन। यो शहर जहाँ मान्छेले प्रकृति र प्राविधिको संयोजन गरेर यसरी सजाएका छन मानु कुनै शिल्प कुचिकारका रेखा र रंग हरुले क्यानभास् सजिएको हुन्छ प्रत्यक शहर बाटो घाटों पार्क र घर अनि कोठाका भित्री तह सबै सबै योजित कलात्मक र सुन्दर ......।

सबेरै कसैले फोन गर्छ "ओ राजनितिक कवी के छ हालखबर?"
उसले भर्खरै मेरो एउटा ग़ज़ल पढेको छ फेसबुकमा ।

विगतमा मैले मेरा धेरै रचनाहरुमा श्रृंगार र प्रेम भन्दा क्रान्ति वा राजनीतिलाइ अली बढ़ी नै उठान गरेको थिए, त्यसो त मध्यपूर्वको यो रणभूमिमा बसेर लेखिएका मेरा प्राय सबै लेख रचनाहरु युद्धकै सरोफेरोमा केन्द्रित छन । त्यसैले उ शतप्रतिशत गलत चाहि थिएन। देशको स्थितिले भित्र वा बहिर प्रत्यक्ष/परोक्ष प्रभाव पारेकै हुन्छ र मेरो साहित्य यसबाट अछुतो कसरी रहन सक्छ, भनेर उसलाई सम्झाउने कोशिश गर्छु। हैन ग़ज़लमा सौंदर्य र प्रेम मात्र सुहाउछ, कोमलता मात्र सुहाउछ उसको ठम्याइ छ ।

अब मैले देखाउन भए पनि अराजनीतिक विशुद्ध केही लेख्नै पर्छ।

तैपनि भन्छु -नेपालको अविरल गाईजात्रा र वितंडाको त कुरै नगरु! देखेका छैनौ टुडिखेलमा घोडेजात्रा देखाए झै यहाँ कसरी बेला बेला आकाशको विशाल रंगशालाबाट क्षेप्यात्र र युद्धक विमानको संहारकारी जात्रा देखाउछन? र शत्रुको नाश गर्यौ भन्छन ?

को हो मान्छेको शत्रु ?

अली अगाडी मैले धाइबाको ढकमक्क काठमांडू शीर्षकको संप्रेषण पढेको थिए एउटै कुराको वाक्क दिक्क लाग्दो विषयलाइ पनि अली पृथक दृष्टिकोण बाट चियाउदा यदाकदा त्यो सुन्दर पनि हुन्छ म अलीकती प्रभावित भएँ ।

त्यसो त म नियमित ब्लग लेख्दिन , कार्यव्यस्तताका धारिला समयहरूबाट आफुलाई जोगाएर फाटफुट कविता ग़ज़ल कोर्छु .त्यसमा पनि कहिलेकाही वरीपरी शास्त्रीय फ्रेम र मीटर लिएर घुमिरहने केही साथीहरुदेखि डर लाग्छ । युद्धभूमिमा बसेर घुमिफेरी त्यही युद्धकै कुरा, संघर्ष, वेमेल र विसंगतिका कुरा कति लेख्छस? कति धुवाउछस आगोको गन्थन, कहिलेकाही फुलको कुरा गर, प्रकृतिको कुरा गर --मलाई धेरैले सुझ्याएका छन ।

आज त्यस्तै केही कोर्न चाहे तर सकिन, पुरानै धंगधंगीले पराजित गर्यो, र फेरी हारयो मेरो सिर्जना !





धमिला राता दागहरू

आशाको किरणहरु छरिरहेको
न्यानो घाममा बसेर
एकदिन मेरा कल्पनाहरुलाई मैले
सगरको विशाल तलाऊमा सयर गर्न दिएँ
र हराएँ वादल पारी पारी सम्म ...

सगरमाथाको उचाइमाथि पुगेर म टक्क रोकिन्छु,
र नियाल्छु- नदी नाला हिमाल पहाड़ र हरिया जंगलहरु,
लेक, बेसी, मैदान, वगर, किनार र सागरको गहिराई,
र अनुभूत गर्छु धरती, नभ, ब्रम्हाण्ड र प्रकृति।
सधै झै यसपाली नि मौसमले बाह्रमासे थुंगाहरु लिएर आएका थिए
मेरो दृश्यको आँगन भरी भरी
प्रकृति फक्रिएको थियो ।

खेत बारी, मान्छेले कोरेको माटो अनि बाटो
र उसले गाएको गीत, अहा! कति धेरै सुहाएको
प्रकृति संगको उसको आत्मीयता र उसलाई प्राप्त
यी अनमोल खजाना र उपहार
शायद ईर्ष्यालु भएर मनमनै मैले भने
मान्छे तं कति भाग्यमानी ?

हो यहिबेला आज
मात्र यो पल, धर्तीको छाती माथी
रगतको सांध कोर्न हिडेका
अन्त्यहिन जुलुशको कुरा गर्न मन भएन
विद्रोह र समर्थनका रयाली,
सैनिकका जत्थाहरु, विध्वंसकारी ट्यान्कका लाम
वा गंतव्यहीन दिग्भ्रमित संवत्सरका लश्करसंग
केही गुनासो गर्न मन भएन
हो आज म वहारमा रम्न चाहन्छु ।

रगतको प्यास बोकेको
तिम्रो राजनितिक रणभूमि र
रुखो माटो संग र
हरघडी विश्फोटनको आवाज़ले तर्सन अभिशप्त
तिमीहरुसंग पनि मौसम अनि प्रकृति
कहिल्यै उदासीन भएनन ।
बरु क्षेप्यास्त्र र युद्धक विमानहरुको पृष्ठभूमि
निलो आकाश पारी
फेरी आशा र उमंगका क्षितिजहरु उघारीरहे
उब्जीरहे अन्नहरू, भरिई रहे किसानका भकारीहरु ,
तिमीले कैद पारेको गमला मै सही
फुलिरहे खुसीका फुलहरु ।

हो भाचिएपनि, चुँडिएपनि प्रकृति पलाउँछ
प्रकृति आशा हो,
म त्यही लेख्न बस्छु ।

सागरको लहरसंग खेलि सकेर
समथर तराईबाट उक्लँदै पहाड़का थुम्काहरु
र ठोक्किदै हिमालको चिसोपना सँग
निरन्तर बगि रहने यी चंचल हावाका झोंकाहरुको कुरा गर्छु
जो कहिल्यै भन्दैनन
म दुखेँ --बारूदको पिरो गन्ध संग मिसिएर .
वा म घाइते भएँ --राँको र टायरका धुंवाले ।

ए मान्छे ,
म आज रक्ताम्य गह्रारुको कथा बिर्सिन्छु,
र लेख्छु भन्छु -जस्माथी क्रान्ति जस्तै एक एक गर्दै
छपक्कै उम्रिएका सुन्दर फुलहरुका कुरा,
पहेला टुसाहरुका कुरा र हरिया मुनाहरुका कुरा,
अनि सधै उत्साह बोकेर उदाउने प्रभातका कुरा ,
जसले मेरो आँखाको गुलुबभरी स्वर्णिम रंग पोतेका छन ।

कल्पनाको निलो सगरतल
इन्द्रेणी रंगका यी प्रसूनहरु
मलाई घामको झुल्को जस्तै लाग्छन
म हेरी रहन्छु ।

धेरै पछि पृथक मुडमा
फूलको सौंदर्यको बयान गर्न खोज्छु
ती नदी पहाड़ र हिमालका चित्र कोर्न थाल्छु
मनको आँखा भरीभरी
रंगाउन चाहन्छु प्रकृतिको रंग मेरो कवितामा ।

हठात
स्वप्नभंग भए झै अनायास झस्कन्छु,
कानैमा बज्रिएको चर्को नाराबाजीको कोलाहलले
खै कहाँ कहाँ बाट मेरो निलो क्यानभासमा
राता र धमिला रंगहरु बेढंगले लत्पतिन्छन ।




गाजा र विष्फोटनका धुंवाहरु

No comments

Monday






"तिमीलाई एड्भेन्चर्स एक्स्पेरियंस गर्न कत्तिको मन पर्छ? ""साहसिक अनुभव" मैले मनमनै उल्था गरेँ । "अँ,मन त पर्छ तर एक्स्पेरियंस चाहि कमै गरेको छु ।"
म तिम्रो देशमा जन्मिएको भए, आहा, कति हिमाल चढ़थेँ, ट्रेकिंग वा राफ्टिंग गर्थें होला, मलाई हरिया डांडापाखा पैदल यात्रा गर्न खूब रमाइलो लाग्छ, उ रोमांचक भयो ।





रुबेन लिवोभिच, सान फ्रांसिस्कोमा कम्प्यूटरको विद्यार्थी । अघिल्लो हप्ता मात्र यहाँ आइपुगेको, उ यसरी मसँग पुरानो साथी जस्तै गरि नज़िकिंदा उसका हजुरबा नाथन मातालोन छक्क परे । रुबेन र रोनी हरेक बर्ष इजरायल आउछन, यसपाला चाहीं रोनी (रुबेन को भाई) बार्षिक बिदाको छुट्टी मनाउन अस्ट्रेलिया गएको ले उ एक्लै आएको हो । यो छुट्टीमा नेतान्यामा हर्स राइडिंग गर्ने, याफोमा बोटिंग गर्ने र मृत सागरको किनार (बालुवा)मा पैदल यात्रा गर्ने उसको आफ्नै खाले योजना छ ।

इजरायलमै हुर्किएको हो रुबेन लगभग, उ दश बर्ष हुदा मात्र उनीहरु अमेरिका बसाई गएका थिए। इजरायल संग उसको बाल्यकालको सम्झना मात्र गाँसिएको छैन, उ भन्छ "यो पवित्र भूमिमा म मेरो जाती धर्म र यहूदी आत्मासंग भावनात्मक रुपमा बढ़ी जोडिएको छु ।" त्यसो त मेरै उमेरको यो तन्नेरी उस्तो धार्मिक पनि होइन । यद्यपि उ भन्छ संसारका हरेक यहूदीहरुको मन इजरायलसंग गाँसिएको हुन्छ, म त्यस बाट अछुतो रहन सक्दिन ।

अलिकति असमयमा आएछु जस्तो लागेको छैन?
"किन" उसले जवाफ फर्कायो ।
"अहिले युद्ध छ नि त," मैले भने ।

हा.., यहाँ सधैँ यस्तै हो । युद्ध र आक्रमण इजरायलको पर्याय बनिसक्यो र यसको भविष्य यसैमा छ । इजरायलको पराक्रमण र शक्ति प्रदर्शनको निरन्तरता उसको अस्तित्व रक्षा को आधार हो ।जून दिन यो मौन रहन्छ यसको अस्तित्व पनि संकटमा पर्छ, रुबेनको बिचारसँग म शतप्रतिशत सहमत रहिन, किनकी यो कूटनीतिक हिसाबले सही छैन । यसपालीको आक्रमणमा सर्वसाधारण र बालबालिका जुन रुपमा प्रभावित भए त्यसले इजरायलको छवि माथि दूरगामी नकारात्मक असर पर्नेछ ।

आम नागरिकको तुलनामा हमास मिलिसिया वा तिनका नेताहरु कम मारिएका छन यसले इजरायलीहरुलाई पनि चिन्तित बनाएको छ ।

यस्तै हो भने, मैले जिस्किएको शैलीमा शंका व्यक्त गरेँ, एकदिन चारैतिरबाट जिहाद छेड़छन र तिमिहरुलाई फेरी धपाउछन । मुस्लिम दाजूभाइमाथि अन्याय भयो भनेर एक हुदै गएका विश्वभरका मुस्लिम राष्ट्र र समुदायको आँखाको तारो बनिरहेका छौ नि त तिमीहरु ।
उ भन्छ, त्यो त हामी पहिले देखि नै थियौं, युद्ध नहुँदा पनि इस्लामिकहरु संग हाम्रो सम्बन्ध भनेको कदापि मित्रवत हुन सक्दैन यदि उनीहरूले सक्ने भए धपाइसक्थे । उनीहरु त्यही त चाहन्छन, तर यो असंभव छ ।

छेउमा यार्कोन नदी छ। झिस्मिसे देखि साँझ सम्म पानीको छाल र वेग सँग जिस्किएर सर्फिंग गर्नेहरुबाट यार्कोनले शायदै फुर्सद पाउँछ । यो रोमांचक पार्क फन्को मार्दै गर्दा मैले आधुनिक मनोरन्जनको शैलीमा आएको परिवर्तनको विश्लेषण गर्ने अधुरो चेष्टा गरेँ । आजभोली खेलकूद वा रिक्रियशन साहसिक र जोखिमपूर्ण बन्दै गएका छन ।

पार्श्वमा भुइन नै थर्किए जस्तो आभास हुने गरि इमिनेमको अंग्रेजी गीत बजिरहेको छ, यही संगीतको तालमा एकातर्फ़ स्केटिंग खेल्नेहरूको संसार छ । मैले देखें साना केटाकेटीहरु समेत स्केटिंगमा गुडदै विशेष प्रकारले बनाइएको डीलबाट आकाश तिर उडे जस्तै गरि हुईँकिन्थे र रोलिंग गर्दै भुईँमा संतुलन मिलाएर फेरी गुडन आइपुग्थे ।

पार्क भरि बिभिन्न प्रकारका खेलकूदको व्यवस्था गरिएको थियो । नखेल्नेहरु या त व्यायामशालामा वा दौडी रहेका भेटिन्थे । कुनै खेलमा आफु सहभागी हुनु भन्दा पनि यी रोमांचक दृश्य हेर्नु मै रमाई रहेको बेला अकस्मात ३ वटा ट्यांकर आकारका साना गाड़ीहरु मेरै समीप बाट हुत्तिए । साँच्चै जस्ता लाग्ने ती गाड़ीका चालक हरु भने ८/१० बर्षका कलिला केटाकेटीहरु । टेलिभिजनमा सधैँजस्तो गाजा तर्फ हानिएका इजरायली सैनिक ट्यान्कको दृश्य हेर्न अभ्यस्त यिनीहरु मानौं यसो भन्दै छन - "हामी पनि भोली प्यालिस्तिनि संग युद्ध खेल्नु पर्छ, त्यसैले यो सिकेको ।"


आज मैले कुनै न कुनै खेल खेल्नै पर्ने थियो रुबेन सँग । त्यतिकै फ़र्क्यौ भने यार्कोन आएको बेकार हुन्छ । अँ, सम्झिदै उसले भन्यो तिम्रो देशमा त धेरै पहाड़ हरु छन नि होइन? पहाड़ मात्र होइन सर्वोच्च शिखर एभरेष्ट पनि मेरै देशमा छ, भनेर बुझाउन अलि समय लाग्यो मलाई ।

"ल त्यसो भए रक् क्लाइम्बिंग गरौं, यो चाही तिमीलाई सजिलो लाग्नेछ", उ उत्साहित भयो सानै छँदा बारीको कान्लाहरु उक्लेको वा भीर पहरामा हुर्की खेलेको अनुभवको बलले मैले भनेँ, ओ के ल यसमा चाहि, म तिमीलाई पछि पार्छु रुबेन! मलाई त यो पर्खाल चढ़न सुरक्षा डोरी नै चाहिदैन होला ।तर त्यसो भएन, बाँदर जस्तै रक क्लाइम्बिंगमा पनि उ निकै सिपालु रहेछ । यसको लागि अलि अभ्यास नपुगेर मात्र हो, मैले आफुलाई सांत्वना दिदै भने "तिमी त साच्चीकै एड्भेन्चर्स रहेछौ रुबेन ।"

उ मुस्कायो "शायद हाम्रो प्रकृति नै यस्तै होला ।"
"तर तिमी त इजरायली हैनौ नि" उ अमेरिकी नागरिक थियो ।
हैन मैले "जेविस स्पिरिट" को कुरा गरेको, उसले प्रस्ट्यायो ।

जेवीस स्पिरिट अर्थात यहूदी आत्मा, यहुदीपन -उसको बिचारमा साहसिक हुन्छ ।

आकाशमा कालो धुँवा बढ्दै गएपछि मलाई जन आन्दोलनको काठमांडूको सम्झना आउँछ, प्रदर्शनकारीहरुको इँटा र ढुंगामूढाको थुप्रो अगाडी प्रहरी आफैं रमिते बनेर टोलाई रहेको बेला एउटा पर्यटक "रोयल इनफिल्ड"मा चढेर जबरजस्ती हुल र तिनको छेकबार छिचोलेर आउँछ र उल्टो यो के हो भन्दै थर्काउदै गरेको दृश्य म अझै पनि बिर्सन सक्दिन । पछि बुझ्दा, उ इजरायली थियो । इजरायलीहरु संसार मै जबरजस्त, सन्की, हेपाहा र जिताहा स्वभावका हुन्छन् । कति हदसम्म भने नेपालका कतिपय होटल तथा रेस्टूराँहरुमा त यिनीहरुलाई निषेधित जस्तै गरिएको छ ।

इजरायल कालो अरिंगालको देश हो, मध्यपूर्व को यो रणभूमिमा आउनु अघि बुबाले भन्नु भएको कुरा अहिले मलाई सही लाग्छ । सधै रेडियो टेलिभिजनको अंतर्राष्ट्रीय समाचारमा प्यालेस्टाइन र इजरायलको झगडा सुनेर उहाँले शायद यस्तो धारणा बनाएको हुनु पर्छ । यसबेला म यिनिहरुलाई नजिकबाट अनुभव गरिरहेछु ।

मानव अधिकारवादी शान्तिकर्मीहरुको छेकबार र अंतर्राष्ट्रीय बिरोधलाइ नाघेर यिनिहरू गाजामा निरन्तर आक्रमण गरिरहेछन । टेलिभिजनबाट प्रसारित भिडियो दृश्य हेर्दैछु, इजरायली युद्दक विमानका ककपिटमा जडित क्यामेराबाट कैद गरिएका ती दृश्यहरु हेर्दा मलाई कम्प्यूटरमा खेलिने भिडियो गेम जस्तै लाग्यो , जहाँ आकाशबाट जमिन्तिरको लक्ष्य (टारगेट )मा जूम गर्दै लेन्सको केन्द्र बिन्दु x पारेर रकेट प्रहार गर्थे यिनिहरू । यिनिहरूको लक्ष्य प्राय एकदम स्पष्ट र निर्दिष्ट हुन्थ्यो । तत्क्षण विष्फोटको दृश्य, चर्को आवाज र धुवां उडेको देखिन्थ्यो र टारगेट ध्वस्त बनाउदै विमान चक्कर लगाउथ्यो । एउटा मिशन सकिन्थ्यो, फेरी अर्को शुरू हुन्थ्यो ।

युद्धले शिथिल गाज़ाको समाचार पढ़छु, संरचनाहरु तहसनहस भएका छन । सैयौं निहत्था नागरिक मरिएका छन ।
इजरायली युद्ध कौशलतालाइ भिडियो गेम सँग तुलना गर्ने मेरो कल्पना क्षणभरमै भंग हुन्छ । अ हो वारूदका धुँवाहरु मात्र उडेका छैनन, घरबार उजाडिएका छन, रगत बगेको छ र अमूल्य जीवनहरु बर्बाद भएका छन । रक्तपात, धनजनको क्षति र मानवीय संकट कहाँ भिडियो गेम जस्तो हुन्छ? जसको कुनै अर्को लेवल छैन, अर्को विकल्प छैन । प्यालेस्तिनीको भागमा परेको यो नियतिलाइ बदर गर्ने उपाय खोज्न किन सकिरहेको छैन विश्व?





गाजा क्षेत्रको आकाश अँध्यारो जस्तो छ धुंवाले । बारुलोको गोलोमा जिस्क्याए जस्तै प्यालिस्तिनीहरु इजरायलतिर रकेट प्रहार गर्न छोडेका छैनन । लेबनानबाट पानी रकेट आउन थालेपछि र स्थिति अलि गंभीर बन्दै गएपछि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलले आकस्मिक बैठक बसि, प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरि सीमा इलाकामा काम गर्ने नेपालीहरुको स्थिति बुझ्ने कोशिश गरयो, यो अवस्थामा हामीले के गर्न सक्थ्यौं? गाजासँग जोडिएको इजरायली सिमानामा हावा भरिएका ठूला ठूला बेलून आकारका राडारहरु थिए, जसले इजरायली आकाशतिर रकेट छेडिन साथ साइरन बज्न शुरू हुन्थ्यो । जसको निश्चित समय अबधिभित्र सुरक्षित स्थान र अवस्थामा रहन सर्वसाधारणलाइ सुचना जारी गरिएको थियो । कुन कुन स्थानमा साइरन बजेको कति समय पश्चात् रकेट खस्छ, भनेर हेक्का राख्नु जरुरी थियो । सचेतनामूलक सतार्क्ताको जानकारी सकेसम्म नेपालीहरुमाझ पुरयाउने र सहानुभूति दिने बाहेक गर्न सकिने केही थिएन ।

नेपाली दूतावासले पनि गाजा क्षेत्रको सीमावर्ती इलाकामा काम गर्ने नेपालीहरुलाई सतर्कताका सुचना र जानकारी गराउनुका साथै आपातकालीन अवस्थामा नेपालीहरुलाई हिंसा प्रभावित स्थानहरुबाट सुरक्षित स्थानमा सार्नु पर्ने अवस्था आएमा उद्धार र सहायताको प्रतिबद्धता व्यक्त गरेको थियो ।यस्ता रकेटहरु अहिले स्देरोत अस्दोद हुँदै किरयातगात सम्म आइपुगेका थिए, इजरायलले हमास माथि गरेको कारवाही पश्चात यो क्रम कम हुनुको सट्टा झन बढेको र द्वंदको अवस्था चर्किएको थियो ।

रुबेन यतिखेर इलातमा घुम्दैछ । नेपाली नारी आवाज़द्वारा आयोजित नयाँ बर्ष सांस्कृतिक तथा सम्मान साँझको झलक उसले इन्टरनेटबाट हेरेछ । मलाई एउटा प्रस्ताव सहित मेल पठाएको छ - अर्को हप्ता म तेल अभिभ फ़र्कन्छु, हामी गाजामा भड़किएको द्वन्दको बारेमा एउटा लघु वृत्तचित्र निर्माण गरौं । उसको यो आइडिया पनि एड्भेन्चर्स नै थियो तर यो सजिलो भने थिएन ।

संयोग नै मान्नु पर्छ - तेल अभिभ अँाउदै गर्दा मेरो भेट "एरिक"संग भयो "एरिक तविव" । रुबेन र मेरै उमेरको यो ठिटो चाहिँ उस्तो एड्भेन्चर्स छैन । उसलाई भेट्नासाथ मलाई आस्दोद (अहिलेको रकेट प्रभावित क्षेत्र)मा रहँदाको विगत याद आउछ उसकै हजुरबा "रहमतुल्ला तविव पोर"का लागि मलाई नेपालदेखि झिकाइएको थियो, अर्थात -मेरो शुरुको जागीर ।

रहमतुल्ला -उनी पारसी ज्यादा बोल्थे अंग्रेजी कम । मुस्लिम नाम जस्तै लागेर शुरुमा त म झस्केको थिएँ । उनी इरानबाट आएका रहेछन । उनिसंग होलोकास्टमा सबै आफन्त गुमाएको तितो कथा थियो । होलोकास्ट अर्थात "अग्निकांड" संसारभरिका यहूदीहरुको विनाश गर्न जर्मनीका हिटलर र उसको पार्टी नाजीद्वारा रचिएको थियो ।जसमा युरोपतिर छरिएर विस्थापित भएका ६० लाख यहूदीहरु जिउँदै जलाइएका थिए । त्यसबेला उनीहरुसँग आफ्नो देश थिएन घर थिएन । त्यही बेला देखि पुर्खाको पहिचान खोज्दै, इतिहास खोतल्दै उनीहरूले आधुनिक यहुदी राज्य इस्राइल फर्काएका हुन। जहाँबाट यिनीहरू पटक-पटक लेखेटिएका, धपाइएका वा विस्थापित भएर लाखापाखा लागेका थिए । तिनीहरुका पुर्खा राजा डेविडले आजभन्दा २००० बर्ष अघि नै यो पवित्र भूमी इजरायलमा राज्य गरेको कुरा हिब्रू बाइबलमा उल्लेख गरिएको छ ।यूरोप अमेरिका वा प्यासिफिक क्षेत्रका यहूदी हरु सबै एक एक गरेर यहाँ आए । आफ्नै देश बनाउने अभियान का रुपमा । युरोपमा उनिहरुमाथि भएको अन्यायले उनिहरु के कुरामा दृढ़ भए भने, "अब चाहिँ हामी कदापि भाग्ने छैनौँ "।

उनीहरूले पुर्ख्यौली घर फेरि कब्जा गरे, र १९४८ मा प्यालेस्टाइनमाथि यहूदी राज्य इजरायल स्थापना भएको घोषणा गरे । यसरी आएका यहूदीहरुबाट यहाँका प्यालेस्तिनीहरु विस्थापित भए । युरोपमा यहूदीमाथि भएको अमानवीयताको मूल्य यहाँका प्यालेस्तिनीहरुले बिनाकरण तिर्नु पर्यो । उनिहरु बस्दै आएको घर जग्गा खोसियो । ती जोर्डान, सिरिया वा लेबनानतिर भागेर शरणार्थी बने । आज तिनै प्यालेस्तिनीहरु त्यही मूल्य खोजिरहेछ्न, हिजोको प्यालेस्ताइन खोजिरहेछन, गाजा र पश्चिम किनारको सांघुरो टुक्रा होइन , प्यालेस्ताइन त विशाल थियो । उनीहरु त्यो देश फिर्ता चाहन्छन । आख़िर यो देश कसको ? कसले कोर्यो यहाँ मानवता बिरोधी बिभाजनका धर्काहरू/ सिमानाहरु?

एरिकलाइ यो कथा थाहा छ । अहिलेको पिंढी तिनै संसारका बिभिन्न कुनाबाट फर्किएर पुनस्थापित भएका यहुदीका दोश्रो वा तेश्रो पुस्ता हुन । एरिकका पिता धर्मतिर लागेका थिए । लामो दारी, कानको दुवै छेउमा घुंघुरिएको टुपी जस्तो लामो लुन्द्रो, कालो ह्याट र घुंडा सम्म छोपिने कालो लामो कोट । पहिलो पटक देख्दा म यो कस्तो जोगी होला भनेर मनमनै हासेको थिएँ ।

२ बर्ष अघि म इजरायल आउदा एरिक अनिवार्य सैनिकमै थियो । एरिकलाई नचाहँदा नचाहँदै पनि यसरी सैनिकमा जानुपर्ने यो देशको नियमप्रति वितृष्णा थियो । विज्ञान र आविष्कारमा रूचि राख्ने उ, त्यो समय खोज र अनुसंधानमा बिताउन चाहन्थ्यो । उसलाई त्यो दुई बर्ष खेर गए जस्तै लागेको थियो । उसकी बहिनी एन्जिलाको बिहे समारोहमा भाग लिन बिदा नमिलेकोले उ एकदिन भागेर आउदा सैनिकहरु आएर बिहेको पार्टीबाटै जबरजस्ती लगेको घटना मैले धेरै दिन सम्म बिर्सिएको थिइन ।एंजिला ले १६ बर्षमै बिहे गरेकी थिई । यो विकसित देश अनि बाल विवाह? म आश्चर्य मा परेको थिएँ । पछि थाहा पाएँ, उ अनिवार्य सैनिक मा जान चाहन्नथि, र विवाहित युवतीहरुलाइ यो नियम अनिवार्य थिएन । त्यसबाट बच्नैका लागि उसले विवाह गरेकी थिई ।एरिक मैले पहिलो युवक भेटेको थिएँ, जसमा यहूदी स्पिरिट शायद अलि कम थियो । उसलाई धेरै कुराहरुमा रूचि थिएन। कतिपय नियमहरु उसलाई वाहियात लाग्थे ।

गाजामा सीमा सुरक्षा कडा भएपछि बिगतमा जस्तो आत्मघाती आक्रमणका घटना चाहिँ घटेका छैनन । इजरायलको भनाइअनुसार उसको आक्रमण ती आतंककारी आक्रमणकारी बिरुद्धमात्र हो, जो दिनदिनै इजरायलमा रकेट प्रहार गर्छ । यो डिसेम्बर २७ २००८ को कारवाही पनि प्यालिस्तिनीहरुको लगातार रकेट आक्रमणबाट एक इजरायलीको मृत्यु भएपश्चात् प्रतिकारमा गरिएको हो ।

'कारवाहीको निर्णय पूर्व यहूद अल्मर्टले संचारसँग भनेको यो शव्द म बारम्बार सम्झिरहन्छु - "हामीले कतिपटक भन्यौं रोक, रोक, रोक , उनीहरूले मानेनन" ।


गाजामा जारी द्वंदले मध्यपूर्व मात्र होइन विश्व नै बिथोलिएको छ । समाधानका उपायहरु चारैतिरबाट खोजी हुदैछ क्षणिक नै सही तत्काल युद्धबिरामको प्रयास भै रहेको छ । यतिखेर समाचारहरु युद्ध बिरामका बिषयमा भएका प्रयासका फेरहिस्तहरु सुनाई रहेका छन । यद्यपि यो लेखोट कोर्न बस्दा सम्म भने युद्ध बिराम भएको छैन । गाजामाथि भड़किएको हिंसाको ताजा अवस्था छ ।

गरुड़ झै इजरायली युद्दक बिमान हरु गाजापट्टीको आकाश माथि सल्बलाई रहेका थिए । जमिनमा ट्यान्करका लश्कर अनि हमास बिरुद्ध कारवाहीको नाउमा बेहिसाब राकेटहरु खनिएको थियो । खै कहाँ कहाँ भत्किए हमासका तालीम शिविरहरु ? हतियार भण्डार वा गतिबिधि केन्द्रहरु? भत्किए केवल मानिसले बनाएका संरचनाहरु, सभ्यताहरु अनि मानवीयताका परिभाषा हरु ! जति निरीह प्यालिस्तिनीका घर स्कूल र कार्यालयहरु भत्किए, जति महिला वालवालिका र निहत्था नागरिकहरु मारिए, तिनको संख्याले आतंकवाद माथिको कारवाहीको औचित्य वा प्रक्रिया माथि असंख्य प्रश्नचिन्ह उठाएको छ ।





सैयौं सर्वसाधारणका बाँच्ने अधिकार खोसिएका छन, कैयौं घरबार विहीन भएका छन । अनि सधैं जस्तै मानवीय मूल्यको उपहास भएको छ त्यहाँ । जसरी हरेक युद्धमा सधैं हुने गर्छ । गाजापट्टीको प्यालेस्टाइन ध्वस्त भैरहेछ यतिखेर । इजरायलको स्थापना संगै बिस्थापित भएका प्यालिस्तिनी र तिनको उम्मीद माथिको अर्को चोट हो यो । प्यालेस्ताइन फर्काउने र जुन उम्मीद हो, त्यो केवल अरवी सहित्यमा, कविता वा शव्दहरुमा मात्र बाचेको छ । सिमाना मेटिएर छरपष्ट भएका उनीहरूले नक्सा खोतल्दै फेरी फेरी देश खोज्नु केवल दिवास्वप्न मात्र हो, इजरायलको प्रत्येक शक्तिशाली आक्रमणले यही तथ्यलाइ उजागर गरिरहेको छ ।


जाडो बढेको छ । कहिले काही झरी पनि पर्छ । हिउदमा पानी पर्ने मौसम यही हो । तेल अभिभको आकाश अलि शान्त छ यद्यपि आस्दोद र किरयातगात सम्म क्षेप्यास्त्र आइपुगेको खबरले सबै क्षेत्रका इजरायलवासी खल्बलिएका छन ।सधैँ तनाव ग्रस्त इजरायल प्यालेस्ताइनबीच चर्किएको पछिल्लो घटनाक्रमलाइ लिएर यहाँ बस्ने हामी बिदेशी नागरिकहरू केवल रमिते मात्र बन्न सकिरहेका छैनौं सुरक्षा का कारण परोक्ष रुपमा प्रभावित भै नै रहेका छौं कही नया नियम हरु पनि लागू भै रहेका छन
यसरी इजरायल मा नेपाली नागरिकका सुरक्षा स्थितिका सम्बन्धमा जारी सचेत्नामुलक सुचना सहित नेपाली दूतावास बाट ई मेल आएको छ। सीमावर्ती इलाका मा काम गर्ने नेपाली हरुको सुरक्षामा दूतावासको सरोकार र आवश्यक परेको खण्डमा सहायताको प्रतिवद्धता पनि व्यक्त गरिएको संदेश प्रसारण गर्न आग्रह गरिएको छ, सधै रकेटको त्रासमा रहेर काम गर्ने ती नेपालीहरुले यसबाट भावनात्मक सुरक्षा र अभिभावकत्वको महशुश कतिको गर्ने हुन?

मानव अधिकारवादी अंतर्राष्ट्रीय सामाजिक संस्थाहरु, मध्यपूर्वको राजनीतिमा चासो राख्ने राष्ट्रहरु, संयुक्त राष्ट्रसंघ, शान्तिकर्मी तथा राजनैतिक चिन्तकहरु सबैको टिपण्णी र विश्लेषण, संभाव्यताका सुझावहरु एकातिर पंछिएका छन । युद्ध जारी छ ।

यहीबेला अर्को हरफ यो पनि लेखुं- " पवित्र भूमि इजरायल लाइ इतिहास मा पटक पटक भनिएको छ -यो युद्धभूमि पनि हो "

दक्षिणी गाज़ाको राफामा इजरायली विमानहरुले सर्वसाधारणलाइ घर खाली गर्न पर्चा छरिरहेछन। परबाट हेर्दा हिउँ खसेजस्तै देखिने यो दृश्य हेर्दा यस्तो लाग्थ्यो, मानौं यहाँ कुनै उत्सवको तयारी हुदैछ । लेखिएको छ -हमास मिलिसिया को हतियार ओसार प्रसार प्रणाली तथा सुरुंगहरु भत्काउन अर्को मेजर अपरेसन हुदैछ, अप्रेशन अवधीभर सुरक्षित स्थान तर्फ सरेर आतंकवादमाथिको कारवाहीमा सहयोग पुरयाउनु हुन अनुरोध गरिन्छ ।

एरिक तविव लाइ गाजामाथि उडेको धुवांको कुनै वास्ता छैन । यद्यपि विज्ञानको विद्यार्थीको नाताले ट्यान्क र युद्दक विमान वा क्षेप्यास्त्रका कार्यप्रणालीका बिषयमा वा विष्फोटकका रासायनिक संरचनाका बारेमा अध्ययन चाहिँ जरुर गरेको होला भन्ने मेरो अनुमान छ।

"शासकहरुको राजनितिक स्वार्थका लागि कति निर्दोष नागरिकले रगत बगाउनु परेको छ,
भन त एरिक यहाँ सधैं किन र यस्तो कहिले सम्म ?

उसले यत्ति भन्यो
"तिमीलाई थाहा छैन क्रिश, प्रेम र युद्ध मा सबै कुरा जायज हुन्छन् " ।
उसको उत्तरले फेरी मलाई पूरा निराश बनाउछ ।

समाचारहरु चर्को स्वरमा हताहत हुनेहरुको संख्या फुकी रहेका थिए "प्यालिस्तिनी तर्फ एक हजार दुई सय..... "



(लेख इजरायलले गाजामा हमास बिरुद्ध गरेको कारवाहीको पृष्ठभूमिमा लेखिएको हो।)

Don't Miss
© all rights reserved
Crafted with by NetKUTI