Responsive Ad Slot

Showing posts with label Musings. Show all posts
Showing posts with label Musings. Show all posts

परदेशमा दुख्छ मन

2 comments

Friday




परदेशमा दुख्यो मन दुखाएर रोएँ
परेलीमै सबै आँसु लुकाएर रोएँ



मधुर स्वरमा शिव परियार गज़ल गाइरहेका छन्, यही बेला इन्टरनेटका भित्ताहरुमा कोरिया जानको लागि आवेदन दिनेहरुको लामो लश्कर सहित समाचार छापिएको हुन्छ । पोहोर बर्ष जस्तै यसपाली विदेश जान चाहने त्यो भिडको आकार अझ बढी थपिएको छ । घरदेशबाट परदेश लाग्ने यो यात्रा किन बढि नै रहेको हो ? एकछिन सोचमग्न हुन्छु, सपनाहरुको यो ओइरो कहिले थामिने हो ?

परदेश हुदै लेखिएको उद्धृत गज़लकी लेखिका उमा सुवेदी स्वयम इजरायलबाट पांच बर्षे लामो वसाई सकेर भर्खर स्वदेश फर्किसक्नु भएको छ । केही दिन पछि उहाँको फेसबुक स्टाटसमा लेखिएको देख्छु -

परदेशबाट सोध्यैा तिम्ले घरदेशको के चाल छ
खै कसरी वयान गरूँ जताततै वेहाल छ ....


हो, यी यसरी युवाहरुमा बढ्दै गएको विदेशमोह र समाचारमा छापिने यस्ता तस्विरहरुले देशको बिग्रदो स्थितिलाई नै प्रतिबिम्बित गरिरहेका हुन्छन । रोजगारी छैन, हरेक क्षेत्रमा अवसर र सम्भावनाहरु कम छन, राजनीतिक अवस्था सधै तनावपूर्ण छ । विजुली छैन, पानी छैन, इन्धन छैन .. समस्या र अभावै अभावको यो पहाडबाट उम्कने सजिलो बाटो बनेको छ विदेशको यात्रा ।





सजिलो कहाँ छ र?

के विदेश सोचेजस्तो सजिलो छ त ? विगत केही बर्ष देखि इजरायलमा छु । एकछिन फर्किएर विगतमा छोडेर आएका दिनहरु हेर्दा र विदेश बिताएका समयहरु केलाउदा मन गह्रुङ्गो भएर रुन आउछ, शिव परियारले गाएको त्यो गज़ल जस्तै । अध्ययन, रोजगार या अन्य विभिन्न वहानामा परदेश हिडेका सबै सुखी कहाँ होलान र ? मलाइ लाग्छ केहीलाइ छाडेर अधिकांशको मन शायद त्यसरी नै रुन्छ, जसमा परदेश लाग्नु अघि उसले साँचेका अधुरा सपना र आकाङ्क्षाहरु पनि मिसिएका हुन्छन ।

वैदेशिक रोजगार थोरैलाई सजिलो होला तर अधिकांशलाई फलामको च्युरा जत्तिकै कठिन छ । विदेश जान सोच्दै गरेका युवाले पनि यो तथ्यलाई केही हदसम्म पक्कै बुझेका छन, यद्यपि स्थिति विवश बनेको छ । आफ्नै देशमा सिप र श्रमको उपयोग गर्ने पर्याप्त सम्भावना भए किन कोही श्रम सिप विनिमय गर्न विदेशिन्थ्यो ?


विहान देखि सर्भिसमा हुन्छु, कसैले मेरो समय किनेजस्तो लाग्छ । यी फराकिला सडकहरु, घुम्न जाने पार्क, खाने ठाउँ, प्राथना गर्ने मन्दिर (स्थानीय भाषामा बेट केनेसेट) या यी रेस्टुराँहरु ... कुनै पनि मेरा रोजाइका स्थानहरु हैनन् । आउदा जाँदा मजस्तै असंख्य अनुहारहरु भेटिन्छन - काममा इन्जोय गर्नु पर्छ यार खुब रमाइलो पो हुन्छ त, उनीहरुको तर्क यस्तै हुन्छ । तर त्यही धारो पधेरो, वरपिपलको चौतारी र घर सम्झेर कहिलेकाही दुखि हुने मनलाई कसले पो छेक्न सक्छ र ?


फेरी एकपटक घरदेशकै कुरा गरौँ ।

राजनीति घृणित खेल हो भन्दै यसको गन्ध पटक्कै नरुचाउने जो कोही पनि तर आज यसबाट यति प्रभावित भएको छ कि उ त्यतिकै मौन बस्न सकिरहेको छैन । नयाँ नेपाल बनाउदै गरेको सरकार र राजनेताहरुले कुर्सी तान्ने खेल खेल्नु बाहेक अरु कुनै खास काम गर्न सकेका छैनन् । संविधान निर्माण हुने कुनै अत्तो पत्तो छैन । उल्टो सभाषदहरु समेत भ्रष्ट हुदै गएका समाचार दिनप्रतिदिन आउन थालेका छन ।

यस्तो बेला, बिरोध र दवाव दिन युवाहरुको एक जमात सामाजिक संजाल फेसबुकबाट ओर्लेर सडकमा स्वस्फुर्त उत्रेको छ । सबैले एउटै नाराका काला पर्चाहरू छातीमा टासेका छन् जसमा लेखिएको छ -
भत्ता पुरा लियौ अब संविधान देउ

के थाहा यी मध्ये कतिले विदेश पढ्न जाने फर्म भरी सकेका छन कि ? या कति केही बर्ष बाहिर बसेरै फर्केका पो हुन् कि ? आज जस्तो भएपनि कामना गर्छु, भोली कोही भौतारिदै बाहिरिन नपरोस, यिनीहरु सबैले आफ्नो भविष्य अब नेपालमै सुरक्षित गर्न सकुन ।




image:mysansar & purbelitimes

बुबाका कथाहरु

2 comments

Sunday

अरुङ खोलामा पौडी खेल्नु, दुवाली छेकेर माछा मार्नु वा झम झम झरी परेका बेला निथ्रुक्क भएर रुझ्नु .. सम्झनाका क्यानभास भरि अनेकौं चित्रहरु छन वाल्यकालका । सिम्पानीको पँधेरोनेर वर् पिपलको ठूलो चौतारी थियो, दशैँ आउथ्यो ढकाल बाजेको घरमा मेरा बुबा, भादगाउंले बा, डिठ्ठाबा, गोकर्णे मामाहरु भेला हुन्थे र रातभर बसेर बाबियोको डोरी बाटथे । र भोलीपल्ट सिम्पानीको चौतारीमा पिङ लगाउथे।

पिङको याद आयो अचानक, इजरायलका सडकका किनारभरि ठाउँ ठाउँ मनोरम उद्यानहरु छन । घुम्ने पार्क, थकाइ मार्ने बेन्च र पाइलै पिच्छे खुला व्यायामशाला र केटाकेटीले खेल्ने रंगीचंगी पिङहरु ... । मन केटाकेटी भएर आउँछ, हुरुरु उडेर पुग्छ त्यही घर आँगन र वाल्यकालका दिनहरुमा र सम्झनाका रोटे पिङमा मच्चिएर झुल्न थाल्छ ।

केटाकेटीहरुको भीड जम्मा भए पछि पालो ढिलो आउथ्यो, अलि ठूला दाजुहरु पारिपट्टि राम्चेगाउँ जाने बाटोमा सानेको घरनेर लगाइएको पिङतिर जान्थे, रोटे पिङ खेल्न चाहि उकालो चढेर थापागाउँ जानु पर्थ्यो । थापागाउँबाट पौवा नपुग्दै गैरीगाउँको स्कुल तलतिर काठको पिर्का भएको रोटेपिङ बनाइएको हुन्थ्यो ।

केटाकेटी हुँदाका सम्झनाहरु धेरै धमिला भैसकेका छन यतिखेर । केही त यति पुराना भैसके जसलाई सम्झेर ल्याउदा ल्याउदै बिर्सिई जान्छन । अधिकांश सम्झनाहरुमा भने म आफुलाई त्यतिकै खुसि भएर उफ्रिरहेको, रमाइरहेको या खेलिरहेको पाउँछु । कुनै विशेष घटना नभएका ती सामान्य दिनचर्याका स्मृतिहरू जसलाई उल्लेख गर्नुमा कुनै रोचकता हुदैन । अहिले लाग्छ किन मेरा धेरै सम्झनाहरु रमाइला मात्र छन ?

धादिङ बेसीको शितल बजारबाट पौवा तिर जाने बाटोमा छ, एउटा सानो गाउँ सिम्पानी । त्यहिँ थियो हाम्रो घर । क्रमश वेसी झर्ने क्रममा थुप्रै घरहरु बनाउनु भयो बुबाले । सबै भन्दा पहिले पुर्ख्यौली थलो थापागाउँमा थियो हाम्रो घर, त्यसपछि तल झरेर सिम्पानी र धादिंग बेसी ।

मेरो सम्पूर्ण वाल्यकाल त्यही सिम्पानीकै पाखामा बित्यो, गाउँको पुछारमा अरूङ खोला थियो, एउटा झोलुंगे पुल तरेर गएपछि धादिंग बेसीको शिरमा पुगिन्थ्यो, जसलाई शिरान बजार भन्थ्यौं । पछि यसलाई शितल बजार भनिन थाल्यो ।

नयाँ जुत्ता, नयाँ लुगा लगाउनु, ठाँटिएर बजार घुम्न निस्कनु या चाडवाडमा मामाघर जानु सबै भन्दा उत्कृष्ट क्षण हुन्थ्यो । बा आमाको हात समाउदै धादिङ बेसी देखि नलाङ आप्रिछापमा रहेको मामाघरसम्मका उकाली ओराली र भन्ज्याङहरु कति सजिलै पार गर्थे ती कलिला खुट्टाहरुले, अहिले सम्झंदा लाग्छ - वालापनको उमंग र उत्साहलाई शायद जीवनको अन्य कुनै पनि अनुभूतिहरुले जित्न सक्दैन होला ।

बा-आमाले हामीलाई असाध्य माया गर्नु हुन्थ्यो, मलाइ सम्झना भएसम्म एक थप्पड पनि हिर्काउनु भएको छैन बुबाले। उहाँले आफ्नो वाल्यकालमा भोग्नु भएको दुखले पनि होला शायद, हामीलाई सानो भन्दा सानो कुराको अभाव हुन् दिनु भएन । क्याम्पस पढ्न राजधानी नछिर्दा सम्म घरमा एकदिन पनि दुध,दही,घ्यु टुटेन । उहाँसँग जीवनका धेरै नमीठा कथाहरु थिए, उहाँ भन्नु हुन्थ्यो - मैले जस्तो दुख तिमीहरुले भोग्नु नपरोस ।

हामी अलि ठूला भएका थियौं, बुबाको अर्कै ठाउँमा सरुवा भयो । जागिरको सिलसिलामा टाढा कहाँ कहाँ पुग्नु भयो बुबा । केही हप्ता वा महिना-महिनामा घर आउन थाल्नु भएको थियो । त्यसरी आएको बेला पनि उहाँ हामीलाई छेउछाउमा राखेर कथा सुनाउन बस्नु हुन्थ्यो । त्यसमध्य धेरै जसो उहाँ आफैले भोगेका घटनाहरु हुन्थे ।

उहाँका ती कथाहरुमा यो कथा धेरै दोहोरिन्थ्यो ।

- " हजुरबा खुबै जुवातास खेल्थे अरे, सबै भन्थे -उनलाई सरकार लाग्यो, बुझ्दा गाउँलेको तिरो सबै जुवातास, मदिरामा खर्च गरेर, उड़ाएर सिध्याएपछि उनको जिम्मावाल पदमात्र गुमेन, उनी आफ्नै घरको खाँबोमा बाँधिए । घर जग्गाको ठूलो हिस्सा समेत त्यही बहानामा बाटो लाग्यो । "

मेरो बुबा, सानै उमेरमा बा-आमाको मायाबाट वन्चित हुनु परेको थियो । भन्नु हुन्थ्यो- "१० बर्षको हुँदा बा बित्नु भयो आमाको त झन् अनुहार पनि सम्झना छैन । " अहिले सोंच्दा पनि मलाइ अत्यास लागेर आउछ, कहाँ कसरी संघर्ष गर्नु भयो होला उहाँले ती एक्ला टुहुरा दिनहरु ?

गाउँका बुढापाकाहरु कहिलेकाहीं हाम्रो घर आउथे । मेरो बुबाको बिषयमा कुरा गरेको म सुन्थें । ' बुबा दुई बर्षको नाबालक हुनु हुन्थ्यो । जिजुबुबाले उहाँलाई बोकेर खेलाउदै हुनुहुन्थ्यो, त्यसबेला थापागाउँमा एउटा नया घर बन्दै थियो रे । नातिलाई लिएर नयाँ घर हेर्न जादा अचानक घर भत्किएछ् र दुवै पुरिएछ्न । गाउँमा हाहाकार भएछ, भत्केको घर खोतल्दै जाँदा पहिले जिजुबुबाको मृत शरीर भेटाएछन, तर कस्तो संयोग गाउँले सबै स्तब्ध हुने गरी दुइ बर्षका बालक (मेरा बुबा)भने झ्याल र दलिनको टांड परेको ठाउँमा सुरक्षित भेटिनु भएछ ।'

उनीहरु भन्ने गर्थे - नियतिको असाध्य कठिन परीक्षा वा दुखद दुर्घटनाका घडीहरु पार गरी सक्यौ तिमीले । थापाकाजी! अब तिम्रो जिउलाई आगोले पनि जलाउन सक्दैन ।"

नियतिले कोरेको बाटो हिड्दै जादा हरेक मान्छेको जिन्दगी अनेकौं घुम्ती र जंघारहरु भएर गुज्रदो रहेछ । जीवन भन्नु आफैमा एउटा अलिखित उपन्यासको कथा रहेछ र यसका घटनाक्रमहरु सिलसिला नमिलाई लेखिएको कुनै लामो उपन्यासका प्रकरणहरु जस्तै ।

सानैमा परिवारका सदस्यहरु गुमाएपछि कसरी मेरो बुबाको घरजग्गामाथि अरुका आँखा लागे ? हेर्दा हेर्दै सम्पूर्ण थापा खलककै अगाडी कसरी उहाँको पैत्रिक सम्पत्ति, पौवाका झ्यालढोका र टुडालमा चित्र बनाउने मामुली सरदारका सन्तानहरुले बक्सिसमा पाएको बिर्ता ठानेर बर्षौं सम्म हडपेर कब्जामा लिए ? कसरी उहाँले एक्लै संघर्ष गरेर, मुद्दा लडेर ती सबैको पन्जाबाट फुत्काउनु भयो ?


हामी त्यतिबेला निकै जान्ने सुन्ने र बुझ्ने भै टोपलेका थियौं । बुबाका यस्ता कथाहरु सुन्न झर्को पनि लाग्थ्यो । हरेक पटक बुबा घर फर्कदा के के ल्याइदिनु भयो त्यसैतिर मात्र हाम्रो ध्यान धेरै जान्थ्यो । अहिले म उहाँले सुनाउनु भएका कथाहरु सम्झन्छु। - लाग्छ उहाँ नायक हुनुहुन्थ्यो, हामीले हेर्ने सिनेमाको जस्तै - तर वास्तविक जीवनको नायक हुनु हुन्थ्यो उहाँ ।

यतिखेर बुबा आमा धादिङ बेसीको बीचबजार तिर कतै साइबर क्याफेमा हुनुहुन्छ, मसंग कुरा गर्न । भन्दै हुनुहुन्छ - क्यामेरा देखा त बाबु ! न्यास्रो लागेर पो यसरी आएको तँलाई हेर्न, कुरा त फोनमा पनि भै हाल्छ नि ।

उहाँलाई हेर्छु अनुहार उस्तै छ, सधै हासिरहेजस्तो, ओठ माथिको कालो जुँगा र दर्विलो मुस्कान । अलि अलि बुढ्यौलीका रेखाहरु थपिदै गएका छन । फर्कने बेला बा-आमा सधै भन्नु हुन्छ - यसरी न्यास्रो मेटिदैन छोरा.. अलि छिटो विदा मिलाएर घर आइज है।

अनायास मेरा आँखाहरु रसिला हुन्छन ।




image - google

बुढो मान्छेको मन

3 comments

Friday



रातभर बेस्मारी हुरी चल्यो ।

आंधीबेहरी चलाएर सुनामी ल्याउला जस्तो उग्र थियो हावाको वहाव । समाचार बनेर उत्तरी क्षेत्रतिर बिस्तारै खस्न थालेका फुसफुस हिउँका दृश्यहरु बाहिरै पोखिएला झैं टेलिभिजनका स्क्रिनभरि  छाएका थिए  । रोकिंदै दर्कन्दै गरेको बतासे झरी र त्यसले बोकेर ल्याएको चिसो सिरेटोले बसेको ठाउँबाट उठ्न मन थिएन ।

यस्तो बेला थरिथरिको मुडबाट गुज्रन्छु म । कहिले अल्छी नामको सतुर लागेपछि झ्याल ढोका बन्द गरेर विच्छ्यौनामा पल्टिईरहन मात्रै मन पर्छ त कहिले भने झरी जस्तै दर्कन्छन भावनाका तरंगहरु र डायरीका पानाहरुमा पोखिन्छन  । आज दुवै भैरहेको छैन, यो बतासको मीत जस्तो मन त्यतिकै अस्थिर छ ।

झ्याल खोलेर बाहिर हेर्छु, एउटा बिरानो शहर आँखामा ठोकिन्छ, भिजेको सडक र रुझेका यात्रीहरु । मौका पर्खेर बसेझैं एक झर बाछिटा कोठा भित्रसम्म पस्छ, पुन झ्याल बन्द गर्छु ।

"ख्वाङ ख्वाङ .........." बैठकबाट एउटा बुढो मान्छे खोकेको आवाज आउछ  । "एउटा बुढो मान्छे" इजरायलमा कार्यरत हरेक केयरगिभरको दैनिकीको मुख्य चित्र हो, चरित्र हो । त्यो बुढो मान्छे , जसलाई बिदाका दिन बाहेक हरेक दिन उसले स्याहार गर्दै आएको हुन्छ ।

घाम हराएको दिन, बेचैन छ उ पनि  । टुटे-फुटेका सम्झनाहरुले गिज्याउन आउँदा हुन् । पोल्याण्डमा रहेको उनीहरुको घर उजाड बनाएर बा आमा र आफन्त  सबैलाई नाजीहरुले होलोकाष्टमा जलाउन लगेको बेला उ रसियन सैनिकमा भर्ति भएकोले मात्र बाँचेको थियो ।   "कुन सन्जोगले किन  बाँचे  ममात्र, यो निस्सार जिन्दगी  जिउन ?" कहिलेकाही  उभित्र नैराश्यताको  बाँध  भत्कन्छ  र हद  नाघ्छ  । शुन्य तलका माइनस पचासौं डिग्रीको तापमान बोक्ने रसियाको जमिनजस्तो कठांग्रिएर् बा आमाको न्यानो  मायाविना नै उसको सम्पूर्ण किशोरावस्था व्यतित भएको थियो । उसलाई लाग्छ यहि अनभिज्ञतामा शायद मैले पनि आफ्ना छोराछोरीलाई भने जस्तो माया दिन जानिन कि ?


 त्यसपछि कसरी उ इजरायल प्रवेश गर्यो,, घर बनायो ? जागीर खायो? उफ~~ सबै बिर्सिइयो , आफ्नै जीवनकथा सिलसिला मिलाएर सम्झन सक्ने क्षमता पनि छैन अब उसमा । स्मरण शक्ति क्षीण हुदै गएको छ कुनै पनि कुराको स्पष्ट हेक्का रहदैन ।

मन्दिर जाने बाटो र प्रार्थनाका एक दुइ ऋचा  मन्त्रहरु बाहेक उसको सम्झनामा सबै कुरा अधुरा छन । दिनभरिको अधिकांश समय यिनै कुरामा सिमित गर्दै आएको यो बुढो मान्छे संग कति खुसिका क्षणहरु होलान, कति संघर्ष वा दुखका कहानीहरु होलान ?  म बारम्बार सोध्ने यत्न गर्छु, उ मुस्काई मात्र रहन्छ ।

आज त त्यो मुस्कान पनि उसले बिर्से जस्तो छ, घरिघरि एक्लै बर्बराएको सुन्छु " हे भगवान, कति एक्लो जीवन !"

एक कप तातो कफी पिई सकेपछि बल्ल् भने मुखबाट उठेको बाफ पर पर फ्याक्दै उ प्रश्न गर्छ -
"किबुचको बिषयमा कति लेखि भ्यायौ त ? पुस्तक कहिले तयार हुन्छ तिम्रो ?"
किबुच एक प्रकारको सामुदायिक विकासको अवधारणा हो, इजरायलमा यसको उदाहरणीय र अनुकरणीय प्रयोग भएको छ ।

"अहँ आधा पनि सकेको छैन, यस्ता खाले पुस्तकको हाम्रो देशमा खासै महत्व या उपयोगिता होला जस्तो पनि लाग्दैन ।  त्यसैले यी अहिले त कथा पो लेख्न थालेको छु,  फेसबुकतिर टाँस्दिन्छु , एक दुइ जनाले पढ्छन पनि । "

मेरो नजीक आएर भन्छ उ, त्यसो भए आज के लेख्यौ त, सुनाउन त  ?

कहिलेकाही म आफुले कोरेका भावनाहरु अंग्रेजीमा उल्था गरेर पनि सुनाउथे,  घुर्कीको भाषामा जवाफ फर्काउछु अहँ यस्तो  हास्दै  नहास्ने  मान्छेलाई त म केहि पनि सुनाउदिन  , बरु यो लामो  दाह्री भएको  तिम्रै  फोटो  टाँसेर तिम्रै कथा पो लेखिदिन्छु  । त्यसपछि भने उ मुस्काउछ  , अनि  2/4 टुक्रा  जे  पायो  त्यहिँ  नभनी  म धर  पाउँदिन  ।


यो भौतिकवादी जीवन शैलीले मान्छेलाइ कति एक्लो बनाउदै लगेको हो, यो बुढो मान्छेको मनको साक्षी बसेको छु, यतिबेला । छोरा छोरीको माया भन्नु सेवा र सुबिधा मात्र भएको  छ  । हप्ता दिनमा हाइ भन्दै आउछन , म्वाई खान्छन र जान्छन, त्यत्ति हो । कसैले त्यति पनि गर्दैनन् । त्यसैले बारम्बार उ मलाइ प्रश्न गर्छ

"तिम्रोतिर त बा आमा संगै बस्छौ नि हैन ?"
"पखेटा लागे पछि कोचाहि संगै बस्छ र , जहाँ पनि उस्तै हो, तर यहाँ जस्तो साह्रै अशक्त भएको बेला पनि वृद्दाश्रम वा  कर्मचारीकै भरमा एक्लै चाहि पार्दैनन, चाहेपनि त्यसो गर्न समाजको डर हुन्छ हाम्रोमा ।"

 आज सुखद शुक्रबार, साँझको प्रार्थना गर्न मन्दिर(बेट केनेसेट) जानुपर्ने अहँ झरीले कतै निस्कन दिएको छैन । तर केटाकेटी जस्तो  उ  अघि  नै  तम्तयार भने भै  सकेको  छ । कैले त्यतिकै फुरुंग भएर हास्छ त कहिले कुनै दुस्वप्न जस्तो नमिठो सम्झनाले आँखा रसिलो बनाउछ ।
तर बुढाबुढीमा हुने यस्तै सामान्य अधीरता पनि छोराबुहारीलाई विचित्रको लाग्छ र कुनै रोगको संज्ञा दिन्छन र निको पार्ने गोलीहरु । र विवश त्यो बुढो मान्छे मानसिक बिमारीका यस्ता गोलीहरु बर्षौं देखि लिंदै आइरहेको छ ।


छोरो आउनु झरीमा घाम उदाउनु जत्तिकै हो, उ आउँछ, बुढाको भुइंमा खुट्टा हुदैन । माया भन्ने कति ठुलो हुँदो रहेछ संसारमा ? उसको मुहारमा देखिने उज्यालो ले यी सब बताइरहेका हुन्छन ।त्यसैले त मलाइ सधैं लागि रहन्छ उसको मानसिक विमारी औसधिले हैन प्रेमको न्यानोपना ले मात्र निको बनाउन सक्छ ।

"बाबु, तेरो धन्दा कस्तो चल्दैछ,  बुहारीलाई कस्तो छ ,
कान्छो नाति कहाँ गयो - त्यो आजकल मसंग रेमिक्युब खेल्न किन आउदैन?"

एकै सासमा बुढाले प्रश्नका प्रश्न सोध्न थालेपछि छोरो चाहि म तिर फर्किएर भन्छ -
बुबालाई कस्तो छ बेचैनी घटेको छैन जस्तो छ नि ?

उसलाई किन लाग्दैन बुढेसकाल को बेचैनी स्वाभाविक हो, यो केटाकेटीपना, यो घुर्की या  प्रेमको अपेक्षाहरु सबै नितान्त प्राकृतिक हुन् । बुढो मान्छेको मनै यस्तो हो ।

म भन्छु,
"उनी एकदम सही छन्,  यत्ति हो घरि घरि राति ब्युझेर तिमीहरुलाई खोज्छन, अनि घरि घरि आफैलाई । शायद कतिपटक उनि आफ्नो हाट बात फुस्किसकेको जिन्दगि या बिगतका सम्झनाहरु खोज्दा हुन् ।"

अचानक उसको आँखा बैठकको रित्तो टेबलमा पर्छ, जहाँ हरेक शुक्रबार साँझ एक गुच्छा ताजा फूल राखिन्थ्यो । त्यो उनीहरुको धार्मिक परम्परा पनि हो । केहि हप्ता अघि मात्र उसले जर्मनीबाट मुगा र जेड (एक प्रकारको पत्थर ) मिश्रित फूलदानी लिएर आएको थियो । आज त्यो त्यहाँ थिएन ।

'टेबलको फूलदानी खै' ?
कम्पित स्वरमा बुढो मान्छेले भन्यो - 'अस्ति राम्रो लागेर हेर्दै थिएँ, एकाएक  हातबाट झरेर फुट्यो, कच्ची रहेछ बाबु त्यो त । "

छोराको आँखाको रङ गोलभेडा जस्तो रातो देखियो ।

रिसको आग्नेय दृष्टि फर्काउदै उ बुढो मान्छेलाई गालि गर्दै थियो ।
'तपाईंलाई थाहा छ त्यो कति अमूल्य थियो ? नसक्ने भए पछि चुप लागेर बस्नु भनेकै छु त, तपाईं किन मैले भनेको बुझ्नु हुन्न ?
(why do you not understand anything?)'

............
..................
.....................



" तँ सानो छँदा, तेरो बोली पनि नफुट्दा   चराको चिरबिर जस्तो तेरो मुखबाट निस्कने प्रत्येक अस्पष्ट शव्दको अर्थ बुझ्थें म , कसैले नबुझ्ने तेरो हात र  औंलाको इशाराको भाषा बुझ्थें म छोरा । "

बुढो मान्छेको आँखाभरि आँसु पोखिए,

"अहिले त म के नै बुझ्छु र ? अहँ केही पनि बुझ्दिन ।"

कुनै अबोध बालकझैं बुढो मान्छे घुँक्क घुक्क रोइरहेको थियो ।
बाहिरको झरी उहिल्यै थामिए पनि बुढो मान्छेको आँखाको झरी धेरैबेर सम्म थामिएन ।


(वास्तविक जीवनमा भेटिईरहने  पात्रहरुले यहाँ चरित्र निभाउन आएको भए पनि यो केवल एउटा कथामात्र हो ।)

यसरी बेखबर

No comments

Tuesday

marshill.org


यो मान्छे मान्छेको अनुहार बाँचेको
समयको क्यानभासमा तेरो एउटा अनुहार
किन छोपिएको छ ?
किन मेटिएको छ ?

किन बेखबर छ तेरो सपनाको रंग ?
उत्सव मनाउने हरुको भिडमा
विजयको खुसीको र तृप्तिको

भन् कृष्णपक्ष
तँ भित्रको मान्छे किन लेख्न सक्दैन
जिन्दगीका कविताहरु ?
एकै निमेषको लागि सहि जो निर्धक्क हासेको होस्
एकै दिवसको लागि सहि जो खुसि खुसि बाँचेको होस् ।

हो यतिखेर तँ एउटा प्रश्न उभिएको छस
लेख्न नसकिएका थुप्रै थुप्रै उत्तरहरूको
केर्न नसकिएका थुप्रै थुप्रै खाकाहरुको
र गाउन नसकिएका थुप्रै थुप्रै भाकाहरुको

संवेदनाहीन नियतिको क्यालेण्डरमा
गते नै नभएको एउटा खालि कोठा
तँ रित्तो रित्तो बाँचेको छस


ए शुन्य संगालेर बसेको क्षण,
ए रात भित्रै हराएको प्रकाश,
ए कालो भुइंमा मुछिएको रंग
ए सधैं उज्यालो हारेको कृष्णपक्ष !

यसरी मौन, यसरी चुपचाप, यसरी बेखबर
यसरी ढुक्क कति बस्छ्स ?

एउटा प्रश्न सोध्न मन लागेको छ
तेरो अराजक देश जस्तै
तँ मनपरी गर्न पाउँछस ?

सय दियोहरु बलेको साँझ

15 comments





हातको मैला सनको थैला के गर्नु धनले
साग र सिस्नु खाएको वेश आनन्दी मनले




आज धेरै मुनाहरु यसो भन्दैनन, समय बदलिएको छ । समयसंगै मुना मदन र ल्हासाहरु बद्लिई रहेका छन । नेपाली साहित्यका चम्किला तारा महाकवि लक्ष्मी प्रसाद देवकोटाको यो वर्ष सैयौं जन्मजयन्ति परेको छ । लक्ष्मी पुजाको साँझ हामीले सय दियोहरु बालेर उनको सम्झना गर्यौं ।

प्रवास अनि व्यस्तता ...। हामी मध्ये उस्तो साहित्यकर्मी वा श्रष्टा त कोही पनि छैनौं होला शायद , तथापि नेपाली भाषा साहित्य कला र संस्कृतिसंगको आत्मियताले जानेर वा नजानेर धेरै मनहरुलाई यो प्रवासमा कवि बनाएको छ, कथाकार बनाएको छ र फुर्सद हुने बित्तिकै आफ्नो भावनाहरु, पीडाहरु पोख्न घर सम्झेर केहि लेख्न उत्प्रेरित गरेको छ । अनि यस्तै मन मिल्ने केहि मनहरुको यौटा मण्डली तयार भएको छ जसलाई हामीले साहित्य समाज भनेर नाम राखेका छौं ।

देवकोटा शतवार्षिकीको यो विशेष अवसरमा अन्य कुनै पनि संघ संस्थासंग आवद्ध नरही आफ्नै साहित्यिक पत्रिका निकाल्ने सपना पनि पुरा गरेका छौं । अर्थात हामीले "मेरो नेपाल" को प्रारम्भ गर्यौं। मेरो नेपालको प्रकाशन संगै अनेकौं प्रश्नहरु उठे । हो, हामीमा पत्रिका किनेर पढ्ने बानीको विकास भएको छैन, हामी मनोरंजन, रेष्टुरेन्ट, फेशन वा डिस्कोमा आँखा चिम्लेर जति पनि खर्च गर्न तयार छौं तर पुस्तक वा पत्रिकाका लागि सानो अंश पनि छुट्याउदैनौं । यसर्थ यो ठाउँमा पत्रिका प्रकाशनको हाम्रो रहर व्यवसायिक हिसाबले पक्कै उपयुक्त छैन । यहीं नै एनआरएन इजरायलको विगत एक बर्ष देखि प्रकाशित हुदै आइरहेको "नेपाल चौतारी" यसको ज्वलन्त उदाहरण हो ।

तर साहित्य समाज व्यवसाय गर्दैन, हामी प्रवासमा रहेका नेपालीहरुमा एउटा विशुद्द नेपाली भाषाको पत्रिका पस्कन चाहन्थ्यौं, जसले हामीमा आफ्नो देश भाषा र साहित्यप्रति प्रेमको संचार गरोस, हाम्रा भावना, बिचार र आवाजहरु प्रसारण गरोस, जसले नेपाली जातीय एकताको शंखघोष गरोस !


देवकोटा शतवार्षिकी मनाउने क्रमको त्रिदिवसीय कार्यक्रममा सरिक भै समभाव बाड्नु हुने नेपाली दुतावास इजरायलका उपप्रमुख श्री मुक्तिनाथ भट्ट, सचिव श्री विष्णु गौतम तथा थान प्रसाद शर्मा एन आर एन इजरायलका अध्यक्ष भुवनसिंह कुँवर, कानुनविद श्याम रोक्का, तथा अन्य संघ संस्थाका प्रतिनिधिहरु साथै पत्रिका प्रकाशनका लागि सधै हौसला र प्रेरणा दिनु हुने महामहिम राजदूत वैजनाथ थपलिया प्रति हार्दिक आभार व्यक्त गर्दै देवकोटा शतवार्षिकीको यो एतिहासिक घडीमा "मेरो नेपाल" लोकार्पण गर्न पाएकोमा यो ब्लगरले यसपालिको तिहार धेरै खुसीको महशुश गर्यो, भलै यसका लागि उसले कैयौं रात र निन्द्राहरु माया मार्नु किन नपरेको होस्?




सय दिपहरु धेरैबेर प्रज्वलित भैरहे । हामीलाई लाग्यो यतिको पृथक उज्यालो र झिलिमिली तिहार यो प्रवासमा यसरी पहिले भएको थिएन । यो उज्यालो ज्ञानको उज्यालो बनोस , चेतना र सिर्जनाको उज्यालो बनोस । लक्ष्मी तिम्रा सम्झना र श्रद्धाका दिपहरु हाम्रो मन मस्तिष्कमा सधै सधैं बलि राखोस ।





ब्लगर

18 comments

Monday

तस्वीर-www.trigger.is

मिठो सपनाले
चटक्कै छाडेको
रित्तो रित्तो विपना जस्तो
या उदास उदास रातजस्तो
एउटा विरही मन
घोरिएर अक्षरपाटिमा*
तर लेख्न खोजिरहेछ
केही घामका कथाहरु ।

समयका दुर्गम वगरहरुमा
छाप्दै पाइलाका डोबहरु कतै
वा छाडदै यात्राका अनुभूतिहरु,
कम्प्युटरको भित्तै भित्ता ....
घाम डुबेपछिको साँझ जस्तो
एउटा यात्री मन
तर अनवरत हिडिरहेछ
कहिले नटुंगिने बाटैबाटो ।

कसैले नदेखे जस्तो
वा देखेर नपढे जस्तो
वा पढेर नबुझे जस्तो
शिशाकलमले कालोपाटीमा धमिलो धमिलो
उ केर्दैछ अस्पष्ट केही -समाजको गीत भन्दै
अगम्य गामको अनौठो लोक भाका जस्तो
तर उसलाई लाग्छ -उसका गीतहरु
सबैले गाउनेछन -पालै पालो
र सुनिनेछ्न सुदुर गाउँ सम्म
इन्टरनेटको जालै जालो .....

भोगाईका आँसु र हासोहरु
पिडा र खुसिहरु
र घुम्तीका रमाइला बयानहरु ...
उ पोखिने कुनै सिमा छैन,
उ लेखिने कुनै बिषय छैन ।

वेशिर्षकका उसका अमुर्त कला बुझ्न
तिमी उसंगै दुख्नु पर्छ -कुचीहरुको घातै घात
र उप्काउनु पर्छ पुराना पुराना पत्रहरु
अदृश्य ढुंगाका काप कापमा जो चेपिएका छन
क्यानभासहरुको खातै खात ।

नियतिमा ड्याम्मै "कालो" लेखिएको
फुटेको अभागी निधार बोकेर
बेथिति हाँसी रहेको - समाज र सभ्यताको चित्र
सबै भन्दा धेरै पटक कोरेको छ उसले
अनकन्टार जंगलका पातहरुमा ..

गहिरो गहिरो
इनार भित्र कराउनु
वा पर पर सम्म सुनिनु ती आवाजहरु
तर के अर्थ अवोध्य गुन्जनहरुको?
वा चौबाटोमै चर्को स्वरमा बर्बराउनु
र कसैले नसुने झैं हुनु उसका पाँडे गालीहरु ...

यद्यपि
आक्रोशले च्याँठ्ठिएझैं
एउटा सद्दे पागलमन
शव्दहरुको ढोल पिट्दै,
विरोध र खबरदारी लगाउदै हिड्छ
अराजक समय विरुद्ध
मान्छेहरुको जंगलै जंगल ....

ए को हो त्यो ?
काखे* अगाडी झुली रहेको
आफ्नै धुनमा मस्त मस्त ....।




शाव्दार्थ:
अक्षरपाटी -किबोर्ड
काखे -ल्यापटप

;)

Don't Miss
© all rights reserved
Crafted with by NetKUTI