Responsive Ad Slot

Showing posts with label Diaspora. Show all posts
Showing posts with label Diaspora. Show all posts

अधुरा सपनाको बाटो हुँदै.....

3 comments

Tuesday

१. अधुरा सपना :

जीवन र मृत्यु बिचको दुरी छोटिदै मेटिदै गएको वा अझ समिपै आइरहेको सत्य देख्दा मान्छेको मनभित्र त्रासदीका भावहरु कति उद्वेलित हुँदा हुन् ? उसभित्र जीवनप्रतिको मोह र उसको जिजीविषाले कस्तो आकार लिदो हो ?आमाशयको क्यान्सर लागेर त्यस्तै भयमा बाँचिरहेका एकजना दाजुको लागि कार्यक्रममार्फत सहयोगको हात बढाउन अनुरोध सहित फेसबुकको इनबक्समा पत्रहरु भरिएका थिए ।

भरे सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै थियौं, कार्यक्रममा गरिने नाटक रिहर्सल र अन्य तयारीमा अनिदो थियो रात । सांस्कृतिक प्रेम र सामाजिक सन्देशको कुनै मिठो प्रेरणाले मोहित र अभिप्रेरित भएर म लगायत सहकर्मीहरु दिनेश प्रसाई, रुपा घिमिरे र ओम प्रसाई हिजो पनि राती तीन बजे मात्र निदायौं, र केहि दिनदेखि अहोरात्र यही प्रक्रिया चल्दै थियो। कार्यक्रमको मिठो कल्पना थपक्क आएर परेलीमा बसेपछि निन्द्राको बादल सबै पन्छिदो रहेछ । बिहानै पनि उत्तिकै फ्रेश थियौं, शायद यो अनुभव पहिलो पटक थियो ।

... तर घामको झुल्को झुल्किनु भन्दा अगाडी वाण जस्तो गरि आएको तितो खबरले अघि बुनेको स्फुर्तिको महल सबै भत्काइदियो एकै पलमा । खबर थियो, एउटी चेली गीता गुरुङ,जो सुन्दर भविस्यको सपना साँचेर परदेशमा संघर्ष गर्दा गर्दै बितिन । उनका सपनाहरु यहीं थाति रहे, यहि कतै अल्झिए यो बिरानो मुलुकमा । खुसीमा अनुवाद भएर साकार हुन अब कहिले नेपाल फर्कने छैन उनका रहरहरु - फर्कने छ त केवल एउटा निष्प्राण देह।

मैले व्यक्तिगत रुपमा उनलाई चिनेको थिए, इजरायल आएदेखि उनीसंग धेरै पटक भेट पनि भएको थियो, उनी मिलनसार थिईन । मृत्यु कति अपत्यारिलो सत्य? निमोनियाको बहाना पारेर चुडेर लग्यो उसको जीवन । उनको असामयिक निधन भयो ।

इश्वरले धेरै रहस्यको ज्ञानबाट वर्जित गरेको छ मान्छेलाई । त्यसमध्य एउटा हो मृत्यु, जो अनिवार्य जोडिएको हुन्छ जीवनसँग । यदि त्यस्तो थिएन भने अस्पतालको शैयामा गीता गुरुङले पक्कै भन्ने थिईनन् आफ्ना संगीहरु संग -
" म बिरामी हुदाको, यो मेशिनको, यो पाइप जोडिएको बेलाको राम्रो राम्रो फोटो खिचेर राख्नु है केटी हो, निको भएपछि हेर्नुपर्छ"
तर उनी यसरी निदाइन - अस्पतालका अन्तिम घडीका ती तस्वीरहरु अब उनले कहिलै हेर्न पाइनन् ।





२ परदेश र सांस्कृतिक तिर्सना


मध्यपूर्व इजरायलको मध्यभागमा अवस्थित यो शहर तेल अभिभ, अनि मेरोसंदेश सांस्कृतिक साँझको रमझम । हामीसंगै खुसि बाड्न चउरभरि भेला भएका छन परदेशी मनहरु ।

जुनको महिना, लेविन्सकी पार्कको फराक आँगनमा हामीले सांस्कृतिक र सन्देशमुलक कार्यक्रम गर्यौं । सुनौलो भविष्यको कल्पना सहित सधैं घर परिवार वालबच्चा सम्झिएर संघर्ष गरिरहेका ती हजारौं दीदीबहिनी र दाजु भाइहरुका कथा व्यथाहरु सुनायौं जो सधैं ओझेलमा परे, तिनका आवाजहरु उठायौं र प्रवासमा फैलिदै गएको अर्थहीन र विकृत राजनीति तथा विसंगति बिरुद्ध औंला पनि उठायौं ।

स्वदेशी गीत संगीत, नृत्य तथा कार्यक्रम हेर्न प्रवेश टिकटमा नै हजारौं रुपैयाँ खर्च गर्नु पर्ने बाध्यताको शिकार भएका नेपालीहरुलाई हामीले त्यही स्तरको कार्यक्रम यसपाली उदांगो र खुल्ला चौरमा देखायौं ।

दर्शकदीर्घामा जब हाँसो र तालीको गडगडाहट गुन्जन्थ्यो या नारीप्रधान वियोगान्त नाटक हेरेर आफ्नै भावना संग मेल खाएका धेरै दीदी बहिनीका आँखा रसिला हुन्थे, हामी कार्यक्रमको उद्देस्यमा सफल हुदै गएको अनुभुतिले द्रविभूत हुन्थ्यौं ।

धेरैले हार्दिक सहयोग गरे, उद्योग व्यवसायीहरुले आर्थिक सहायता गरे । कलाकार, टेक्निसियन, पत्रकार, फोटोग्राफर सबैले आ आफुले सकेको निस्वार्थ भावले सघाए । सबै भन्दा महत्वपूर्ण कुरा नेपाली समुदायको सद्भाव माया र हौसलाले हामीलाई नैतिक बल मिल्यो, कार्यक्रम सफलताका रहस्य तिनै थिए ।

इन्टरनेटमा देखाइने भिडियो कार्यक्रमका सन्दर्भमा हामीले अझ केही पनि गरेकै छैनौं । गर्नु पर्ने धेरै बिषय र कार्यहरु बाकी छन । प्राविधिक हिसाबले हेर्दा यो केवल ब्लग मात्र हो सामुहिक ब्लग, र यसको नाउमा कार्यक्रम गरिए पनि यो केवल हाम्रो उदेस्यको बहाना मात्र हो भन्ने मलाइ लाग्छ, सामाजिक सांस्कृतिक सन्देश र सचेतना हाम्रो मूल धेय हो र जसका लागि यस्ता कार्यक्रमहरु हामीले गर्दै रहनु पर्छ ।

नियालेर हेर्दा चिनेजस्ता लाग्ने झपक्क दारी जुँगा पालेका धतुरे बाजे इजरायल आएपछि २ दर्जन भन्दा धेरै संस्था खोलेर राजनीति गर्न पल्केका नेताप्रवृत्तिको अभिनयमा दुरुस्त उत्रिएका कलाकार श्याम रोक्कालाइ सम्झाउदै थिए,, हेर बाबै पितृले सराप्लान, मरे पछि पनि जाने ठाउँ राख । घरिघरि उनी दर्शकतिर फर्केर भन्थे दुइ दिनको रमझममा भुलेर सधै विदेश विदेश भनेर पनि हुदैन, अब घर फर्कनु पर्छ, आफ्नै देश फर्कनु पर्छ । यौवनको जोश जाँगर र सिपको लगानी अब देशकै माटोमा गर्नु पर्छ ।

मेरोसंदेश साँझमा प्रस्तुत नाटक गीत वा सङ्गीतहरु हाम्रै परिवेशका दृष्टान्तहरु थिए । बेरोजगारी र बिग्रदो अर्थतन्त्रको मारमा चेपिएर परदेश हानिएका किशोर किशोरीका विवशताहरु थिए । परदेश लागेपछि नारीलाई हेर्ने दृष्टिकोण र पुरुषवादी मानसिकता विरुद्धका अभिव्यक्ति पनि त्यहाँ पोखिएका थिए । र नेपाली प्रवासी समुदाय बिचमा आफै भित्र फैलिएको वेमेल र विसंगत अवस्थाको चित्रण थियो - मेरोसंदेश साँझ ।






३ भोट र इजरायल
लाक्पा दाइ र मदनका कथा


मुनामदनको कथा आज पनि उस्तै छ
ठाउ ठाउँ फाटेका अभावका थोत्रा राडीहरु टाल्न
मदनहरु खाडी चाहार्दैछ्न
र चराउदैछ्न भेडाहरु ।

ल्हासा त एउटा कथा मात्र हो तिमीले लेखेको
लालाबालाका आङ ढाक्ने ठिहिरो रहर बुन्दै
ऊन टिप्न कहाँ कहाँ मात्र पुगेका छैनन् मदनहरु?


मुनामदन महाकाव्य र यसको कथानक दृश्य परिदृश्यहरु एक एक गर्दै सल्बलाउछ्न । त्यहाँ पुगेपछि, (जहाँ मदन ल्हासाबाट फर्कदा बाटोमा बिरामी परेका थिए) बारम्बार लागिरह्यो त्यस्तो नभई दिएको भए हुन्थ्यो । त्यही त मुल कारण थियो मुनामदनको कथा वियोगान्त हुनु ।

मदनको ठाउँमा उभिएका थिए संखुसभाका लाक्पा दाइ हामी माझ, २ बर्ष पनि पुगेको छैन, इजरायल आएको । त्यो निष्ठुरी दैवको आँखा लागे पछि कसको के लाग्छ ? उनको आमाशयमा क्यान्सर देखियो यतिखेर उनि जीवन र मृत्युको दोसाँधमा उभिएका छन । अझै २ वटा किमोथेरापी पश्चात मात्र चिकित्सक हरुले निर्क्यौल गर्ने छन उनको बाच्ने सम्भावना र आधार कति छ भनेर । त्यसैका लागि मेरोसंदेश साँझ मार्फत आवाज उठाइयो ।

ल्हासाको जंगलमा मदन बिरामी परेर थलिंदा उनका साथीहरुले एक्लै छोडेर गएपछि उनलाई कसैले नभेटेको भए, वा भेटेर पनि वास्ता नगरेको भए के हुन्थ्यो होला ?

हो कथाभित्रको त्यो निष्ठुर मन भएका मदनका साथीहरुको उदाहरण कुनै पनि परदेशीले बन्नु हुदैन । हामी मान्छे, वा भनु सामाजिक मान्छे भएर जिउँदा मात्र हाम्रो प्राप्ति र सन्तुष्टिले गहन अर्थ राख्नेछ । लाक्पा दाइको भावना बोलिदिने तेन्जिंग शेर्पा, ऋतु गिरी र खुशी विष्टले मेरोसंदेश मार्फत अरु मनहरु संग यसै भने ।

उनको उपचारार्थ कार्यक्रममा संकलित २४७५ डलर लाक्पा दाइलाई र १००० सेकेल साइकलमा विश्व घुम्न निस्केका यात्री धनेश्वर क्षेत्रीलाइ हस्तान्तरण गर्दा मेरोसंदेशले एउटा अर्को अर्थपूर्ण सामाजिक कार्य गरेको गर्वानुभुती पनि गर्यो । लाक्पा दाइको यो कथा सुखद घुम्ती भएर गुज्रियोस र फर्कियोस उनको मुहारमा मिठो मुस्कान, सबैसंग एउटै कामना थियो ।




तर यहाँ मन दुख्ने अरु धेरै अलिखित कथाहरु छन
एउटा कथा यो
४ "ढुंगाहरुको लश्कर"

शरणार्थी हुने नेपालीहरुको लाम देखिरहेछु केही दिन देखि यहाँ । युद्धै युद्धले भग्नावशेष जस्तो इतिहास बाँचेको यो इजरायलमा ।

हुनसक्छ देश अलिकति भत्किएको होला, बन्द भएको वा हड्ताल जुलुश अस्तव्यस्तता र सङ्कटग्रस्त अवस्थामा होला देश । तर पक्कै त्यस्तो अँध्यारो पनि छाएको छैन जहाँ बाच्ने आधारभूत आवश्यकता नै निभेको होस् ।

फेरी किन फर्कन चाहि रहेका छैनन् , कृषिमा काम गर्न आएका कामदार, अध्ययन गर्न आएका विद्यार्थी, वकील, पत्रकार वा कार्यक्रम देखाउन आएका कलाकार पनि । यो मरुभूमिमा आएर शरणार्थी हुन पाउदा किन औधि खुशी भै रहेछौ हामीहरु ?

तिनका आँखाहरुमा देखिने डर, त्रास आशा वा खुसीका असंख्य भावहरु एकैपटक पढ्दा मलाइ के लाग्न थालेको छ भने अभाव र बेरोजगारीको अत्यासबाट हुत्तिदै मान्छेले परदेशको बाटो समातेपछि शायद उसले आफ्नो अहम संग पुरै सम्झौता गरिसकेको हुन्छ । अनि उसभित्रको सप्पै आदर्श र स्वाभिमान कहाँ कतिखेर विचलित भैसकेको हुन्छ उसले पत्तै पाउदैन ।

सुखको सपनामा बन्दी भएर भौतारिनु कति दुख लाग्दो नियति ?

मान्छेको अहम्ले महत्व पाउने र गर्व गर्न सक्ने स्थिति विद्यमान भएको त्यो रेखा नाघेर बाहिरिए पछि उ आफु आफु नै हुदैन रहेछ, उ त केवल ढुंगा जस्तोमात्र हुदो रहेछ ।

आफ्नै परीचय बिर्सदै गएको बेला उसलाई कुन देश चाहियो कुन राष्ट्रियता चाहियो ? धेरैले यस्तै अस्पष्ट उत्तर दिए । यो बिचित्रको सम्झौता हो, जहाँ मान्छे आफ्नै मन संग पराजित् भएको हुन्छ, हारेको हुन्छ ।

होला, अलिकति विवशताका अंशहरु पनि होलान, ... तर जसले बाध्यताको परिभाषामा थुने पनि म यो अवस्थालाइ स्वप्नमोहकै संज्ञा दिन्छु अब । नेपाली हुँ भन्नासाथ एउटा कामदार मात्र ठान्ने इजरायलीको देशमा शरणार्थी हुन जाँदा हाम्रो आत्मसम्मानमा किन चोट नलागेको ? किन नदुखेको देश?

किनकि ढुंगालाई दुख्दैन, छुदैन र पोल्दैन । अहँ, ढुंगालाई केही पनि हुदैन ।


म चुपचाप स्थुल शरीरहरुको एउटा लामो लर्को र ढुंगामा अनुवाद भएका एक थुप्रा मनहरु हेरिरहेछु ।


नेपालीहरुले यसरी ढुंगा हुनु पर्ने दिनको अन्त्य कहिले होला?

सुनको बाला

11 comments

Sunday




कम्प्युटर कल्चर र सब्बातको त्यो एउटा साँझ

आफनै घरको आँगन जस्तो सडकै छेकेर टन्न टेबलभरि प्यालाका प्याला मदिरा सजाएका रसियन र रोमानी रेस्टुराँहरूमा नबुझिने सङ्गित बज्न थालेका छन र त्यही ताल पछ्याउदै झुमिरहेछ्न खैरा कपाल भएका किशोर किशोरीहरू । सडकभरि पोखिएको मदिराको बास्ना र संगीतको नशाले लपक्कै भिज्नुको विकल्प छैन, यी बाटो र गल्ली भएर गुज्रने हामी नेपालीहरूलाई ।

सधैको जस्तो शुक्रबार ... सेरुत र बसहरू यात्रु ओसार्न अलि बढी नै व्यस्त छन । आज कति धेरै हतार हुन्छ इजरायलमा, भोलि सब्बात- साप्ताहिक बिदाको दिन भएकोले । आजै राति देखि भोलि दिनभर सरकारी कार्यालय सवारी पसल तथा कलकारखाना सबै बन्द हुन्छ यहाँ र त्यसैले शायद धेरै जसो विदेशी कामदारलाई यही दिन छुट्टी दिइन्छ । सबै काम छिटो छिटो सकेर त्यसपछि चाहि सिन्को पनि नभाची इजरायलीहरू बिदा मनाउन बसेको बेला यता अब हाम्रो साँझ शुरु हुन्छ, खुसी बोकेर आएको कुनै उत्सव जस्तो, इजरायलमा कार्यरत विदेशी कामदारको ।

पुरानो बसपार्क देखि नया बसपार्कतिर पसारिएको चाइनिज बजार आज अलि धेरै घुइचो छ । छुट्टीमा आएकाहरूलाई रासन भर्ने ठेक्का जो छ यसको । तरकारी, पेय, माछा, मासु लगायतका खाद्य सामल मात्र हैन, पुरानो बसपार्कको कुनै कुनातिर डान्सबार या रातो प्रकाशकी किन्नरीहरू प्रेमकै विनिमय गर्न समेत उभिएका छन । लौ बिदा भएकोले होला, बाटो भरि पसल राख्न होस् या सडकको बिचमै पासा खेलाउनेलाई समेत आजको साँझ पुलिसले देखे नदेखेको झैं गर्छ ।

शहरको मध्यभागमा राजदाइको पसल अघिदेखि नै नेपालीहरूको चहल पहलले रंगिन थालिसकेको छ । चिउरा तरकारी, मम: चाउचाउ, अहा! यहाँ त साच्चिकै नेपालै जस्तो "फील" हुने, ठमेलको कुनै व्यस्त रेस्टुराँ या साइबर छिरे जस्तो आभास । फोन गर्ने कार्ड, ड्रिंक्स, स्न्याक्स देखि सबै थोक उपलब्ध हुने उनको साइबरमा अघिदेखि नै बसेकी छिन मैयाँ दिदी । बाहिर पोखिएको उज्यालो र भद्दा रंगसँग विल्कुल बेखबर .... ।

मैया दिदीको कम्प्युटरको झ्यालबाट चियाउदै छन उनका श्रीमान र छोराछोरी पालैपालो । भर्खर हो च्याट गर्न सिकेको, राम्ररी अँझ आउदैन । जान्नेसँग सोधी सोधी बस्छु । जानी नजानी कहिले किबोर्डमा औंला थिचेर त कहिले बोलेर आवाजमार्फत सप्पै माया खन्याउछिन् उनी । सबैभन्दा धेरै माया त उनका रसिला आँखाले नै पोख्छन ।

कहिलेकाही वर्षा यामको तप्तपी चुहिने बलेसी जस्ता परेला भएको बेला सानो छोरा भन्छ -धत् ममी ठुलो मान्छे भएर पनि रुने हो ?

राम्ररी चलाउन आउने भएपछि एउटा काखे "ल्यापटप" पनि किन्नु छ - उनले भनिन, हप्ता दिनसम्म पनि साह्रै न्यास्रो लाग्ने । यसरी हल्ली हल्ली कुरा गर्ने जिनिस आफैसँग भए'सी ढुक्क ।

त्यसो त उनलाई कम्प्युटरको झ्यालबाट राजु परियार वा सिन्धु मल्लका लोक तथा दोहोरी भाकाहरू धित मर्ने गरी सुन्ने, मेरोसन्देश डट कममा कसले के के भनेछन हेर्ने अथवा आफूभन्दा आधा उमेरका केटाकेटीले झैं हाइ फाइभ या फेसबुकजस्ता नेटवर्किंग साइटमा प्रोफाइल बनाएर फोटो राख्ने, साथी बनाउने रहर पनि छ । सिक्दै गए कम्प्युटरबाट धेरै कुरा गर्न सकिने उनको मान्यता हो ।

मैया दिदी एउटी प्रतिनीधि पात्रा थिइन ।

इजरायलमा काम गर्ने धेरै दिदीबहिनीको सप्ताहान्त यसरी नै बित्छ । हामीमा कम्प्युटर कल्चर विकसित हुदै जानुंको कारण विदेशी संस्कृतिको नक्कल मात्र हो त? होइन, सुबिधा भएर मात्र हुन्छ ? न आफन्त न छर छिमेक यो बिरानो परदेश, त्यसमाथि नियास्रो र पट्यारलाग्दो कामको प्रकृति । नजान्नेले समेत सिकेर च्याटिंग कै लागि ल्यापटप किनेका छन, करिब २ हजारभन्दा बढीको हातमा ल्यापटप छ यतिखेर, कम्प्युटर बनाउदै आएका भाइ ओम भन्छन । यसले एक्लोपन या विरानोपन घटाउन मद्दत गर्छ, शायद ।

पढ्ने लेख्ने वा सिक्ने भनेर कहाँ हो र ? खालि मन बुझाउने मेसो बनेको छ कम्प्युटर संस्कृति । साथी साथी कुरा गर्न पनि फोन महँगो पर्छ, फुर्सद मिलाएर च्याटमा आइज भन्यो कुरा गर्यो ।धेरै यसो भन्छन फामभिलमा नक्कली खेतबारी खनेर, हरियो परियो रोपेर, पाठापाठी हुर्काएरै भए'नि गाउँघरको तिर्सना मेट्नेहरू पनि धेरै छन । अथवा नचिनेकै मान्छेसँग रमाइला गफगाफ गर्यो, टाइम पास त हो, गज़बको बहाना बनेको छ ।




साँझको अँध्यारो बढार्न ठड्याइएका विजुलीका खम्बाहरू टाउकाभरि बत्ती बालेर चम्किरहेका छन । जोसँग दोहोरी खेलिरहेछन पार्टीलाइट घुम्दा ढोकाको काप कापबाट फुत्त फुत्त बाहिर निस्कने चहकिला प्रकाशका रंगहरू । यो त सबैले देख्ने कुरा हो, तर मनको कुनामा छाएको अँध्यारो कसले देख्छ ?
झरी परेको होस् या चर्को घाम लागेको दिन या कुनै सुनशान र चकमन्न रात, घरको यादमा भक्कानिएर नरोएका कमै नेपाली चेलीहरू होलान यो बिरानो परदेशमा । घर फर्कदा सबै बन्दोबस्त मिल्ने गरी मनग्य पैसा कमाएर जाउँ भन्दै छुट्टीमा समेत नगई बसेका कति दिदी बहिनीहरू छन यहाँ, आँसु पिउँदै बसेका । क्षितिजतिर फर्किएर औंला भाँच्दै पर्खिएका लाला बाला र जहान सम्झिएर हरेक साँझ एक्लै रुने हजारौं चेलीहरूको पीडा इजरायलको प्रवासले लुकाएर बाँचेको छ ।
पराई मुलुक बिझ्नुको दुखद यथार्थलाई कुनै बहानामा भुलेर हासोको अभिनय गर्ने कसरत कहाँ सजिलो हुदो रहेछ र? बस स्टेशनको गेटैमा इमिग्रेसन पुलिस प्रवेशाज्ञा जांच गरिरहेछ । काम छोडेकै दिनदेखि "पर्यटक" र त्यसको एकमहिना पुग्ने बित्तिकै "अवैध" भइने यो कष्टकर नियम बोकेको शहरमा भौतारिदै कति दिन देखि जागिर नपाएर एजेन्सी धाउदै फर्किएकी एउटी दिदी फोनमा भनिरहेको छिन - बाबा मेरो कुनै चिन्ता नलिनु है, मलाई सबै राम्रो छ ।

हो सुखद भविष्र्यको चाहनामा अनन्त सपनाहरू सहित प्रवास अंगाल्न विवश भएका नारीहरूको त्यो पक्ष कति दर्दनाक छ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । सधैं जस्तो क्यालेन्डरले तीज, दशैं वा तिहार पल्टाउदै जान्छ । यसरी चाडपर्व कुनै खुसी र उमंग विनै आउनु अनि पत्तै नपाइ सुटुक्क जानु कस्तो दुखद नियति । त्यसमाथि मानसिक प्रताडना र चारित्रिक लान्छना थपियो भने यो पीडा कति असह्य होला ?
नारीलाई संधै चुल्हो चौकाकै देवी मानेर पूजा गर्ने या घरको संघार नाघेर बाहिर पाइला राख्ने बित्तिकै असुरक्षित ठानेर शंल्कालु नजरले हेर्न पल्किएको यो समाज र यसका ठेकेदारहरूसँग धेरै गुनासो छ वैदेशिक रोजगारमा रहेका चेलीहरूको ।




यहानेर यो गुनासो वा तितो पोख्नुको कारण या सन्दर्भ नया पत्रिकामा छापिएको "यौन समस्याका साक्षी बस्दा" शिर्षकको लेखको हो । आफूलाई नारी पुरुष समान हौँ भनेर कहिल्यै नथाक्ने र ठुला ठुला रेडियो टिभी च्यानलहरूमा कार्यक्रम समेत चलाउने शिक्षित भनाउदाहरू समेत यस्तो संकुचित मानसिकताले ग्रसित छन भने गाउँका कुना कन्दरामा बस्ने अशिक्षितहरूको अवस्था कस्तो होला? लेखमा इजरायलमा कार्यरत नेपाली महिलाहरूको इज्जतमाथि प्रश्न चिन्ह लगाउन खोजिएको रहेछ ।

पहिलो कुरा मानव अधिकार र सामाजिक सुरक्षामा अत्यन्त संवेदनशील राष्ट्र हो इजरायल । यहाँ आफ्नो इच्छा बिरुद्ध कसैले छुन पनि पाउदैन । अधिकांश युरोपियन मुलुकभन्दा उच्चस्तरको हकहित सेवा सुबिधा तथा सामाजिक स्थिति भएको सभ्य देशमा काम गर्ने दिदीबहिनीलाई "यौनदासी" जस्तो घृणित शब्द ओकलेर त्यस लेखका लेखकले हदैसम्मको वौद्धिक दरिद्रता वा लठैतपन प्रस्तुत गरेका छन ।

सामाजिक जीवन र पारिवारिक सम्बन्धमा समेत प्रभाव पार्ने यस्तो लेखले इजरायलमा काम गर्ने धेरै नेपालीको मन कुंडिएको मात्र छैन उनीहरू आक्रोशित पनि बनेका छन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले त यसको बिरोध र घोर भर्त्सना गर्दै प्रेस विज्ञप्ति समेत निकालेको छ ।


प्रसंग उठ्ने बित्तिकै मैया दिदीको आक्रोश बढ्छ - नर्सिंग या केयरगिभिंग भनेको के हो, त्यसलाई कतिको थाहा छ ? नसोचि नबुझि मनगढ़न्ते कुरा लेख्न पाइन्छ ? यस्तो निम्न स्तरको दृष्टिकोण राखिएको लेखले वैदेशिक रोजगारीमा हुनु भएका सबै महिलाहरूले अपमानित महशुश गरेका छन ।

अरु पनि थपिन्छन, यो विषयमा तपाईं सबैको भनाइ राखेर म एउटा लेख नै लेखुँला, सम्बन्धित ठाउँमा प्रतिक्रिया वा इमेल पठाएका पनि छौं अहिलेलाई यत्ति नै है त ?

कारण, यो एउटा साँझ धेरै थोक गर्नु छ । भोलि त फर्कनु छदैछ काममा, प्रवासबाट तपाईंंको आवाज सुनाउन लागिपरेका भीडियो म्यागजिनका कार्यक्रम प्रस्तोताहरू भोलिको कार्यक्रमको तयारी गर्दै छन, उनीहरूलाई वेव साइटमा देखिने बनाउनु छ । दराजभरि प्रवासमा बस्नेहरूका भावना गुटुमुटु पारेर अनेसास इजरायलको पत्रिका मेरोनेपाल प्रकाशनको अन्तिम तयारी कुरेर बसेको छ, डिजाइनिंग / सेटिंग अँझै सकिएको छैन ।

बाहिर सडकको हल्ला र संगीतको झंकार अनि रंगिला प्रकाशहरू रातको अँध्यारो धोइरहेछ्न सुस्तरी . टेबलमा अघिदेखि मुस्काइरहेको एस्ट्रे चुरोटको ठुटाले भरिइसकेको छ । ल अब यो अन्तिम खिल्ली, आफैलाई सम्झाउछु र लामो सर्को तान्छु ।

ल्यापटपमा फेरि कुनै दुखी परदेशीको कथा सुनाउन बसेका छन, अविनाश घिसिंग र रामचन्द्र काफ्ले । परदेशीको मनै छुने भाका हालेर उनीहरू गाइरहेछन ...



सुनको बाला लाउने धोको
फुकाउनु छ ऋणको पोको ~~



साइनो बेच्ने केटी

12 comments

Tuesday


राम्ले कारागार इजरायल 


प्रिय आविया, 

 
हाम्रो भेट एउटा संयोग । कारण्ँवश प्रेमको विनिमय गरेका छौं हामीले यो मुलुकमा चाहेर वा नचाहेर । यद्यपि म यो भन्न विवश भएको छु आविया,  हामी  बीच भएका अन्तरंगका अनमोल पलहरु, तिम्रो स्पर्श र देहको न्यानोपन ,मेरो अनुभूतिको घरमा काउकुती बनेर यसरी थुप्रिएको  छ, जति पन्छाए पनि नपन्छने ।   तिमी संगको औपचारिकता या केही भेटहरु मात्र पनि मेरो निमित्त प्रेमको अविस्मरणीय उदाहरण बनेका छन । हरेक पटक आउदा जादा मेरो अधरको क्यानभासमा तिम्रो ओठको स्पर्शले रंगाएर गएका कोमल चित्रहरु स्मृति भरि भरि कुँदिएर बसेका छन । औपचारिकता मै किन नहोस तिमीसंगका प्रत्येक संवादहरु संगीत भरिएर कतै गुञ्जिएको म सुनिरहन्छु । तिम्रै शव्दमा भनुं तिमीलाइ असाध्य मिस गर्न थालेको छु म । 


तिमी भन्न सक्छौ -म प्रेमको नाटक गर्दैछु या तिमीलाइ बहकाउने कोशिश। तर जे भन आविया, केही दिनयता मलाइ यस्तै भएको छ, जुन हामी बीच हुनु हुदैन थियो । …

पत्र लेखि नसक्दै एकपटक पढ्छ र फेरी च्यात्छ । उसलाई किन के भै रहेको छ ? के उ आवियालाइ प्रेम गर्छ त ? होइन उसले त केवल सम्झौता मात्र गरेको हो उसको गैरकानुनी पेशा वा वसाइलाई बैध बनाउने जमर्कोमा उ भेटिई, बस त्यति हो । यो लिभ इन् केयर गिभरको झन्झटिलो पेशाबाट मुक्ति पाउन इजरायलमा त्यति सजिलो कहाँ थियो ?

 दुइ महिना अघिमात्र हो, आविया हामी दुवैलाई राम्रो  हुन्छ भन्दै बिहेको प्रस्ताव लिएर आएकी थिई । बढ्तै घमण्डी भएर उसले सिधै इन्कार गरेको थियो- फेरी आज अचानक यो कस्तो अनुभूति उ भित्र बढिरहेको ? कतै प्रेम पलाउने कुरा त हैन? कुनै हलक्क बढ्ने बिरुवा जस्तो?  त्यसो भए त्यो बिरुवा भर्खर रोपिएको हुनु पर्छ उसको मनको आँगनमा । आवियालाइ यो सब बुझाउन समय लाग्नेछ उसले त जरुर यही सोच्नेछे - जेल परेपछि बचाउको उपायमात्र गरिरहेको छ उ । उसले सोच्यो -अहिले केही भन्दिन ।
 


तेश्रो पटक हो उ पक्राउ परेको …… जेलमा छदा कस्ता कस्ता भावनाहरुले खेद्दा रहेछन । सासै बन्द होला जस्तो उकुश मुकुश भएर आउछ । कति धेरै उमंग थियो त्यो बेला  विकल्पहरु पनि अनेकौं थिए । त्यस्तै विकल्पहरु मध्ये फ्रेन्डशिप भिषाको भरपर्दो  उपाय उसले प्रयोग गरेको थियो । यहाँ प्रेमीप्रेमिका विवाह पुर्व नै संगै बस्ने चलन हुदो रहेछ । यदि कुनै इजरायलीको विदेशी संग प्रेम सम्बन्ध रह्यो भने  उसलाई आकस्मिक भिषा दिईने रहेछ र त्यसैलाई यहाँ फ्रेन्डशिप भिषा भनिदो रहेछ । धेरै झन्झट पनि गर्नु परेन एजेन्सीले नै सबै ठिकठाक मिलायो । महिनाको तीन,चार सय डलर बुझाउने शर्तमा आविया उसकी प्रेमिका भएर उसलाई भिषा दिन राजी भइ। उसको फ्रेन्डशिप भिषा लाग्यो  स्वतन्त्र भएर जहाँ पनि काम गर्न पाउने भयो । कमाइ पनि राम्रै हुन् थाल्यो … साधारण केयेरटेकरको भन्दा तेब्बर सम्म हुन्थ्यो ।तर उनीहरु साच्चिकै सम्बन्धमा छैनन् र भिषाकै लागि यो प्रपन्च गरेका हुन् भन्ने थाहा पायो वा प्रहरीमा उजुरी पर्यो भने उसको भिषा बदर हुन सक्थ्यो ।  त्यही भयो … कसैले पोल लगायो । ढुक्क के थियो भने पटक पटक आवियाले उनीहरुको सम्बन्ध झुठो नभएको बयान गर्थी र उसको बचाउ ।

आज पनि उसले यसै गर्नु पर्नेछ । 

फागु पुर्णिँमा । तर सबै रंग उडेर गएजस्तो उदास र आफै भित्र रित्तो महशुश गरि रहेछ उ।  काठमान्डूका गल्ली, पानीका लोला, पिचकारी र रंगी बिरंगी अबीरहरुको स्मृतिभित्र केहीबेर उ हराउँछ । एकैछिन निस्कन पाए पनि हुने । नेपाली समाज इजरायलले तेलअभिभमा होली खेलौं मिलिजुलीको आयोजना गर्दैछ विदाको दिन कति रमाइलो भयो होला ?

होलीकै बेला यहाँ पुरीम भन्ने चाड पर्दछ । यी दुवै रंगीन उत्सवहरु वसन्त ऋतु आगमनका संकेतहरु हुन् । होली  रंग छयापाछयाप गरेर खेलिन्छ भने पुरीममा चाहि रंगीचंगी पोशाक लगाउने कपाल रंगाउने विभिन्न चरित्र तथा पात्रहरुको नक्कल गरेर शहर डुल्ने । विशेष गरि केटाकेटी असाधारण र अनौठो  फेशन गर्छन । पोहोर साल आवियाको भाइलाइ उसले ढाकाको दौरा सुरुवाल मगाइदिएको थियो नेपालबाट । आफुले कुनै अवसरमा नलगाए पनि अरुले यसरी आफ्नो पोशाक लगाएर शहर डुलेको देख्दा खुब रमाइलो लागेको थियो उसलाई । राजा, रानी, परी, बन्नीहिरो, बेहुला, बेहुली, सुपरम्यान, जोकर र अवतारहरुको इन्द्रेणी लश्कर उसको कल्पनाको बाटो भएर गुज्रन्छ ।

बाहिर घाम पोखिएको छ । यस्तो पारिलो घाममा समुन्द्रको छालमा तैरनु,  बालुवामा उत्तानो पल्टनु  वा जिउभरि डेड सीको माटो दलेर ढाड सेकाउनु । आविया संग डेड सी घुम्न जाँदा सिकेको- त्वचा सुन्दर हुन्छ रे ।

  धेरै निम्ताहरु व्यस्तताको कारण देखाएर आफै बदर गरि दिन्थ्यो । अवशेष जस्तो समयको डायरीमा आविया संगै बिताएका दिनहरु त कति नै थिए र उसका? यद्यपि आज यस्तरी पल्टिरहेछन ती पानाहरु, मानौं उसको छाती भित्र कुनै ठुलो आधिबेहरी मडारिई रहेको छ ।

 सम्झाैता बमोजिम महिनावारी बुझाउने बेलाबाहेक अरुबेला आवियासंग खासै उस्तो निकटता रहेन । फ्रेन्डशिप भिषा लगाएपछि शुरुको एउटा काम खोज्न चाहि उसले सघाएकी थिई। त्यो रिशोनको सुपर बाउलमा थियो - मार्करको । अलि टाढा र कम घण्टाको भएकोले पछि उसैले छोडीदियो । जुनसुकै क्षेत्रमा गर्न मिल्ने भएपछि कामको त केही दुख थिएन । पछि सुपरमार्केटमा काम गर्न थालेपछि भने उसको इर्ष्या गर्नेहरु पनि धेरै भएका थिए ।

बेला बेला आविया निम्तो गर्थी । यस्तो बेला कुनै विशेष चाडपर्व वा उत्सव छ भन्ने बुझ्नु पर्थ्यो
 । आफ्नो बसाइलाई वैध बनाउने बहानामा उसले यो एक बर्षमात्रै हजारौं डलर बुझाइ सकेको छ । पक्राउ परेपछिको वकील खर्च यसरी समातिदा काम नभएको अवस्था । यी सबै झमेलामा फस्दा उसलाई यो फ्रेन्डशिप भिषा जतिको झन्झटिलो केही लाग्दैन थियो। सोच्थ्यो बरु लिभ इन् केयर गिभर मै गएको भए हुने न कसैलाई पैसा बुझाउनु पर्ने, न त भिसाको समस्या  । जेल बाहिर निस्केपछि भने भोली पल्टै यो सबै बिसंथ्र्यो उ । अरु त सबै आनन्दले बसेकै छन दिनभरी तेल अभिभ डुल्ने खाने खेल्ने पैसा कमाउने कुनै व्यवधान छैन । अभागी खप्पर जहाँ गए पनि ठक्कर भनेझैं उसैलाई मात्र कसले पोल लगाउछ कुनी ? या उसको काम सेन्टरमा भएर हो या आवियाको घर टाढा भएर पो होकि  या उ आफै अलि जोगिने कोशिश नगरेर हो॥ कारण जान्ने असफल प्रयास गर्छ । 

किन यति साह्रो कडाइ गरिएको यहाँ? श्रम बेचेरै दुइ चार पैसा कमाउन आएको विदेशी प्रति यो कस्तो अप्ठेरो कानुन ? यस्तो लाग्छ उ कुनै प्यालेस्टिनी सैनिक संगठन वा हमासको आतंककारी गुरिल्लामा भर्खर भर्ति भएको छ र आत्मघाती विष्फोट गराउन इजरायल छिरेको छ । 

मुद्दा चल्यो, वकील लगाइए, मानव अधिकारवादी, हटलाइन र अन्य गैर सरकारी संघ संस्था सबैले आ आफ्नो स्थानबाट सक्दो प्रयास गरेका छौं भने  । अन्ततः आज एक महिना दुइ हप्तापछि उसले आफुलाई जेलमुक्त पायो । बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै अनिच्छित यात्राको लागि पखिर्रहेको । उसको हातमा टिकट थमाइएको थियो घर फर्कने । उभित्रको एउटा नेपाली आफ्नो घर फर्कन पाउँदा पटक्कै खुसि नभएको यो कस्तो निरीह स्वाभिमान उसको ?  आफूखुसी काम गर्न र स्वतन्त्र भएर हिड्न उसले रचेको यो सानो उपक्रम बारुदको खेति गर्ने देशमा किन मान्य हुन्थ्यो ?

फर्कने बेला कसैलाई भेट्न पनि पाएन । अपार्ट कै एकजनाले एअरपोर्ट सम्म सामान ल्याइदियो । निराशाको अँध्यारोले ढाकेजस्तो शुन्य थियो मन, जहाँ उसंग एउटा अर्थहीन गुनासो शेष रहिरह्यो आविया प्रति । त्यतिका पैसा लिएर पनि यसपाली प्रहरीसमक्ष र कोर्टमा उसले किन भनिन - हामी प्रेमीप्रेमिका थियौं  ।

पागल शिर्षकको कथा

12 comments

Friday



डेडलाइन डेडलाइन डेडलाइन, चारैतिर डेडलाइनका हुलहरु थिए जुलुस जस्तै । अस्पताल, फिजियोथेरापी क्लास, साघुरो पार्किंग, रिक्रियशन क्लब, व्हिल चियर र बगैचाका छरपष्ट दृश्यहरुको बाक्लो स्मृति मनभरी फैलिई रहन्थे । हो, त्यो म थिएँ, र कुनै अस्तव्यस्त केयरगिभर, कुनै बिरामी, कुनै बेड ......... ।

लाग्थ्यो उ दौडिरहेको छ मरुभूमिको कुनै दौड - समयको बगर बगर ... किनारै किनार । खुसीका उज्याला रंगहरु अनि जीवनका शुक्लपक्षहरु चटक्कै बिर्सेर एकोहोरो कुनै युद्ध जित्ने धुनमा लागे जस्तो, यदि उ यो वालुवाको शहरमा कतै हरायो भने मेरा प्यारा मित्रहरु! "आइ एम एक्सट्रीम्ली सरी !" भर्खरै उसले डायरीको पातो कतै टाँसेको छ । "म संग हिड्नै पर्ने अरु धेरै यात्राहरु छन, र जित्नै पर्ने युद्धहरु" । उसका अधिकांश प्रेमपत्रहरुमा पनि यिनै शव्दहरु दिक्क लाग्ने गरि दोहोरिएका हुन्थे ।




(कलाकार बेन्जामिन द्वारा जेरुसेलममा भित्तेचित्र बनाइएको )





फेसबुक वा ब्लगका भने कुनै डेडलाइन थिएनन..., जहिले अपडेट गर्दा पनि हुने, गर्दै नगर्दा पनि हुने- स्वतन्त्र र यो स्वतन्त्रताको उपयोग गर्न उसलाई औधि मन पर्थ्यो । त्यसो त ऐच्छिक बिषय समेत कालान्तरमा अनिवार्य बन्दै गएका उदाहरणहरु पनि थिए जस्तो - पत्रिका प्रकाशन, जसको आफ्नै समय सिमा निर्धारित हुदै गयो। मनका भावना र तरंगहरु सबै सामु बाडेर आफुलाई हल्का बनाउने अनेकौं उपायहरु थिए- भित्ताहरु, पर्खालहरु, इन्टरनेटका सामाजिक संजालहरु, तर ती बिषयहरुले नै उसका दैनिकीलाई अझ बिथोलेको अनुभव हुनुको कारण के होला?

हरेक दिनहरु र सांझहरु अनियमित भए झैं लागिरहन्थ्यो । आफ्नै मानसिक थकाइले हो या कार्यव्यस्तताले ? बेचैनी बढ्न थालेपछि पिउनु, काखेमा हराउनु वा कहाँ कसले के लेखेछ भनेर चियाउनु या मुभी हेर्नु बाहेक खासै गतिलो विकल्प थिएन ।
अँ धेरै पहिले एकजना योगा मास्टर संग भेट्दा उनले भनेको याद आयो - हरेक बिहान ५ मिनट योगा र २० मिनट कार्डियोका लागि समय निकाल, बस सम्पूर्ण तनाव आफ से आफ हराउदै गएको महशुश गर्नेछौ । "उफ त्यति पनि राम्ररी म्यानेज गर्न सकिरहेको छैन" उ अझ चिन्तित भयो । कहिले काहीं समयले उसलाई र उसको दिनचर्यालाई नियन्त्रण गरे जस्तो लाग्थ्यो त कहिले भुतकाल बाहेक वर्तमान र भविष्यका सम्पूर्ण घटना र प्रकरणहरुलाई आफैले सम्हाल्न सक्छु भन्ने दरिलो आत्म विश्वाश पनि पलाउथ्यो । धेरै कुरा बुझ्न गाह्रो भैरहेको थियो के सबैलाई यस्तै हुन्छ त ?

भर्खरै उसलाई लाग्यो उसले "उ" भनेर सम्बोधन गरेको मान्छे उ आफै हो। आफु" अर्थात "म" । कहिले काही यस्तै हुन्छ । जब आफुले आफुलाई देखिन्छ - "केहि लेखिरहेको, कतै गैरहेको, केहि बोलिरहेको" । देख्ने र देखिने मान्छे दुवै आफै हुदा कसलाई के भनेर सम्बोधन गर्ने ? प्रत्येक ससाना बिषयहरु किन यस्तो जटिल बन्दै गएका ? त्यसोभए आफुलाई "म" भनेर लेख्दा के फरक पर्छ र?

चिन्तित हुदै पत्रिकाका सम्पादक सहकर्मी र घनिष्ट मित्र हरिजीले सोधे - तपाईलाई के भैरहेको छ हँ कृष्णजी ? सामाजिक संस्थाका मिटिंगहरुमा पनि उपस्थिति पातलो हुदै गएको छ, आफैले संचालन गर्नु पर्ने कार्यक्रमको जिम्मेवारी पन्छाएर फुर्सदै नभएको बहाना गर्दै कता भौतारी रहनु भएको छ ? हिजो साँझ अबेरसम्म भूमध्यसागरको किनारै किनार डुल्दै हुन्नु हुन्थ्यो । कहिले डकुमेन्ट्री बनाउने भन्दै डरलाग्दा सिमेट्रि(चिहान)का पहाडहरु खिच्दै हिड्नु हुन्छ रे ? तेल अभिभका शहरमा भत्किएका पर्खाल भरि पेन्ट गरि हिड्ने भित्ते कलाकारहरु संग मिलेर सघाउन पनि थाल्नु भएको भन्ने सुनिन्छ । ब्लग अपडेट नभएको पनि एक महिना ज्यादा भै सक्यो ।

हँ कसले सुनाएछ उहाँलाई यस्ता कुरा ? यस्तो व्यस्ततामा म कहिले समुद्र गएँ हुला ?अझ मशान........? कामै नभए जस्तो वाल पेंटिंग गर्नेको पछि किन लाग्थें ?
यो कस्तो चक्कर ? यी सबै सोधाइ र मेरो अवस्था घनचक्करमा पहिले कतै छापिए जस्तो लाग्न थाल्यो । हैन हैन - छाल, बगर,बीच भलिबल,बार्बिक्युको धुँवा ........ अलिकति सम्झना भएं झैं भयो । ए त्यो त अरु नै कोही थियो, समुद्र कहाँ छ भनेर सोधेपछि मैले बाटो देखाई दिएको मात्र थिएँ ।

हो त्यसदिन उ धेरैबेर बगरतिर बरालिएकै हो, कहिले काही यसरी बरालिदा सम्पूर्ण थकाइ मेटिए जस्तो हुन्थ्यो रे - उसको धारणा । कतै म पनि उसंगै किनार किनार हिड्दै त थिईन? हो उ कसैसंग कुरा गर्दै थियो, शायद त्यो म नै थिएँ, हुनसक्थ्यो हामी मशानतिर पनि संगै थियौं - खै प्रष्ट सम्झना भएन । आ, थिएँ भने पनि के भो त ? म मात्र जान्थें र त्यसरी घुम्न ? एक एक गर्दै सम्झनाका चांगहरु अटेसमटेस गरि सल्बलाउन थाले । रंग, कुची, भित्ता, क्यानभास, सिंगमरमर, चिहान... खुलिएझै ती चित्रहरु किन अस्पष्ट देखिएका ?

अलिकति बेचैन मनलाई सान्त्वना दिन गीत गुनगुनाउनु, कतै घुम्न निस्कनु वा कतै केही लेख्नु पोख्नु वा कोर्नु ... पक्कै अस्वाभाविक हैन । त्यसै पनि दिनहरु कुनै नियमबद्धतामा बाधिएका छैनन् आजकल । त्यसो भयो भन्दैमा यसरी अफवाह र हल्ला फैलाउदै हिड्नु कति सम्म जायज हो ? परिस्थिति संगै मान्छेका रुचिहरुमा अनेकौं परिवर्तन आउछन, यतिखेर मेरा रुचिहरु पनि बदलिएका छन भनेर नबुझेपछि कसको के लाग्छ ?

चिठी पत्र, संदेश र गफगाफ भित्ताभरि सोहोरेर काखे टेबलमा मुस्काई रहेको छ । भेटघाट र छलफलमा सहभागिताको निम्तो छ , पढ्न भनेर ट्याग गरिएका लेख रचनाका ओइरो लागेका छन । ह्विस्कीको पेग र सिगरेटको धुँवामा धमिलिएको यो रंगिन साँझ, म प्रति फैलिएका अफवाह र भ्रमहरु गलत साबित गर्न तम्सिएको छ, जो मलाइ भनिरहेछ --अब फेरी केही लेख्नु पर्छ, मिटिङहरुमा उपस्थिति जनाउनु पर्छ , पत्रिका समयमा निकाल्नु पर्छ, वेवसाइट अपडेट गर्नु पर्छ, अब सबै व्यवस्था मिलाउनु पर्छ, परिस्थिति संगको अभ्यस्तता नै जीवनको कला हो । तर त्यो कला सिक्ने कसरी?

सम्हालिएर एउटा गज़ल लेख्न बस्छु ३ खिल्लि सिध्याएर २/४ हरफ केरकार पारेपछि एउटा गज़ल तयार हुन्छ ...




क्षितिजमा गोधुली यो, साँझ डुबेजस्तो
किन उदास छ समय, जहाज डुबेजस्तो

अस्तव्यस्त सधै सधै, कुन्नि केको हतार ?
कतैतिर मुख्य काम, काज डुबेजस्तो

हिजो फर्कंदैन केहो, थाहा छैन भोली
यहि वर्तमान पनि आज डुबेजस्तो

पराजित सिपाहीझैं, यौटा राजा आयो
दर्बार संगै मानौं उस्को, ताज डुबेजस्तो

कृष्णपक्ष अँध्यारोमा रुमलिँदै थियो
खोल्न नपाइ उज्यालोको, राज डुबेजस्तो




तन्मयतालाइ भंग गर्दै एउटा मिठो गीत छेउमा उसैगरि गुन्जिरहेको छ
"हुँ यात्री एउटा रुमल्लिई हिड्ने अँधेरी रातमा
हुँ यात्री एउटा कहानी लेख्ने जंगली पातमा ......



कलाकार देदी द्वारा दिजिंगोफ सेन्टर  तेल अभिभमा भित्तेचित्र बनाइएको)

तिम्रो शहरमा अचेल

15 comments

Monday

आज फेरी आएँ लौ, अर्को एउटा जेपिटी टासो लिएर । मूल कविता लेख्दै गरुँला , तर अहिलेलाई यही टाँस्न मन लाग्यो, त्यसैले जेपिटी भन्या... कारण ? कारण छ - कविता सुनाउन कार्यक्रम जाँदा वातावरण देखेपछी ट्वाक्क फुरेको .. ।

हितैसी मित्रहरुका सुन्दर पोस्टहरु आ आफ्ना ब्लगहरुमा चम्किरहेका छन । आफुचाहिं केही हप्ता अलि बढी नै व्यस्त भइयो र यो क्रम अगस्त महिनाभरि चल्ने तीव्र सम्भावना छ । वायरलेसरुपी चोर कनेक्सनले बेला बेला इन्टरनेट चोर्न नसक्नु, ड्युटीमा काखे निषेधित हुनु जस्ता पापी नियमहरु थपिनाले यस्तो भा' हो ।

खैर छाडौं अल्छीका बहाना कति छन कति...भनि साध्य छैन । त्यहि पनि पाठक {;)}वृन्दहरुलाई निराश नहुन अनुरोध गर्दछु :D ।

म बसेको प्रवासमा विभिन्न खाले नेपाली कार्यक्रमहरु भै रहन्छन, सामाजिक, सांस्कृतिक तथा राजनीतिक । विदेशमा रहेका नेपालीहरुमा यसरी सामाजिक चेतनाको विकास हुनु, बिभिन्न संघ संस्था हरुको स्थापना हुनु वा कार्यक्रम गरिनु आफैंमा सकारात्मक हो।

हुन त यस्ता आक्कल झुक्कल गरिने सुस्ते कार्यक्रमका के कुरा? नाचघर (डिस्को) र मदिरालयमा हरेक साँझ हुने मस्ती र धुम अनि चर्काचर्कीले हाम्रो "खास" परिचय गराएकै छ ।

यसपाला ढिलै भए पनि भानुभक्तलाई सम्झने सानु कार्यक्रम राखियो, कार्यक्रमभरि टिकट काटेर हेरिने सांस्कृतिक साँझ र पोइसो तिरेर नाचिने डिस्कोको "भरिभराउ" सम्झना आइह्यो ।

अनि कार्यक्रम मै एउटा कविता कोरियो ।


तिम्रो शहरमा अचेल

निधारभरि पसिना
आगो जस्तै बलेको सुर्य
मध्यदिनको यो प्रचण्ड गर्मी

शान्तिको -एउटा प्यासो वटुवा
एक अन्जुली पानी पिउने
कुवा खोजिरहेछ - तिम्रो देशमा ।
मानौं बालुवा जस्तै उसको छातीमा
युगौंयुगको प्यास अल्झिएको छ।

रम्घा जस्तै कैयौं गाउँहरु थिए
जहाँ रहरलाग्दा सपना बोकेका घांसीहरु हिड्थे
उकाली ओराली गर्ने थकित यात्रुलाई
पाटी र चौतारा बनाउदै ...
कुवा खनाउदै ...


खै त आज ?
किन अतृप्त यतिसारा प्यासहरु?
किन सुकेका जरुवाका मुहानहरु?

भानु के तिमीलाई थाहा छ?
अचेल हसिया भिर्ने घासीहरु घास बेच्दैनन,
यौवनको वल, रगत र पसिना बेच्न मुग्लान पस्छ्न
या बन्दुक भिरेर जंगल ।

ती फर्कदैनन गाउमा
र खनाउदैनन कुवाहरु,
जहाँ चिसो पानीको मूल बोकेका
आँत हरहर हुने घाँसे कुवाहरु
सुकिसकेका छन
खडेरीको खेत धाँजा फाटे झैं ।

शव्दहरु काव्यमा बुनिएर
सुरिलो भाकामा गुन्जने
कुनै साहित्यिक डबली छैन अचेल,
भानु तिमीलाई म कहाँ बोलाउँ?

तिम्रो शहरमा अचेल
रामायण पढ्ने जोकर हुन्छन,
उपेक्षित छ नेपाली भाषा,
घासीको कुवा जस्तै सुकेको,

नत्र किन हुन्थे यति थोरै तिमीलाई सम्झनेहरु,
किन हुन्थ्यो तिम्रो जन्म जयन्ती साँझ
यतिसारो सुनसान ??

यी हेरत,
तिम्रो श्रद्धा मनाउने कार्यक्रम
के कुनै डिस्को जस्तो भरिलो छ त?













होली र पुरिम

1 comment

Wednesday


रंगीन वसंत ऋतूको आगमन संगै आपसी मिलन र सदभावको सन्देश लिएर आउने हाम्रो एक प्रमुख उत्सव होली यसपाली पनि लोला रंग र पिचकारी खेलेर हर्षोल्लासका साथ मनाइदैछ।


holi








किम्वदंती अनुसार हिरण्यकशिपु नामक दैत्यले उनका इश्वरभक्त पुत्र प्रल्हाद लाइ मार्न अनेक उपाय रच्ने क्रममा, ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी उसकी बहिनी "होलिका" लाइ प्रल्हादलाइ लिएर दनदनी आगो बलिरहेको अग्निकुंडमा पस्न लगाउदा, उनी आफै भस्म भएकी थिइन ।





त्यही समय देखि होलिका भस्म भएको दृष्टान्त लाइ असत्य र पापको पराजयको प्रतिकको रुपमा लिई "होली" मनाउने चलन चलेको मान्यता छ यो विशेष उत्सवमा देश विदेशमा रहनु भएका सबै नेपाली हरुलाई हार्दिक शुभकामाना !!ह्याप्पी होली!


इजरायलमा होली


1



इजरायली हरु पनि होली खेल्दा रहेछन भन्ने भ्रम मा नपर्नु होला यो होली जस्तै "पुरीम" नामको एक विशेष उत्सव हो जसमा केटाकेटी हरु विभिन्न प्रकारका रंगी चंगी वस्त्र लगाएर मनाउने गर्छन, यसले पनि वसंतको आगमनको संकेत गर्छ


3

purim




गाजा र विष्फोटनका धुंवाहरु

No comments

Monday






"तिमीलाई एड्भेन्चर्स एक्स्पेरियंस गर्न कत्तिको मन पर्छ? ""साहसिक अनुभव" मैले मनमनै उल्था गरेँ । "अँ,मन त पर्छ तर एक्स्पेरियंस चाहि कमै गरेको छु ।"
म तिम्रो देशमा जन्मिएको भए, आहा, कति हिमाल चढ़थेँ, ट्रेकिंग वा राफ्टिंग गर्थें होला, मलाई हरिया डांडापाखा पैदल यात्रा गर्न खूब रमाइलो लाग्छ, उ रोमांचक भयो ।





रुबेन लिवोभिच, सान फ्रांसिस्कोमा कम्प्यूटरको विद्यार्थी । अघिल्लो हप्ता मात्र यहाँ आइपुगेको, उ यसरी मसँग पुरानो साथी जस्तै गरि नज़िकिंदा उसका हजुरबा नाथन मातालोन छक्क परे । रुबेन र रोनी हरेक बर्ष इजरायल आउछन, यसपाला चाहीं रोनी (रुबेन को भाई) बार्षिक बिदाको छुट्टी मनाउन अस्ट्रेलिया गएको ले उ एक्लै आएको हो । यो छुट्टीमा नेतान्यामा हर्स राइडिंग गर्ने, याफोमा बोटिंग गर्ने र मृत सागरको किनार (बालुवा)मा पैदल यात्रा गर्ने उसको आफ्नै खाले योजना छ ।

इजरायलमै हुर्किएको हो रुबेन लगभग, उ दश बर्ष हुदा मात्र उनीहरु अमेरिका बसाई गएका थिए। इजरायल संग उसको बाल्यकालको सम्झना मात्र गाँसिएको छैन, उ भन्छ "यो पवित्र भूमिमा म मेरो जाती धर्म र यहूदी आत्मासंग भावनात्मक रुपमा बढ़ी जोडिएको छु ।" त्यसो त मेरै उमेरको यो तन्नेरी उस्तो धार्मिक पनि होइन । यद्यपि उ भन्छ संसारका हरेक यहूदीहरुको मन इजरायलसंग गाँसिएको हुन्छ, म त्यस बाट अछुतो रहन सक्दिन ।

अलिकति असमयमा आएछु जस्तो लागेको छैन?
"किन" उसले जवाफ फर्कायो ।
"अहिले युद्ध छ नि त," मैले भने ।

हा.., यहाँ सधैँ यस्तै हो । युद्ध र आक्रमण इजरायलको पर्याय बनिसक्यो र यसको भविष्य यसैमा छ । इजरायलको पराक्रमण र शक्ति प्रदर्शनको निरन्तरता उसको अस्तित्व रक्षा को आधार हो ।जून दिन यो मौन रहन्छ यसको अस्तित्व पनि संकटमा पर्छ, रुबेनको बिचारसँग म शतप्रतिशत सहमत रहिन, किनकी यो कूटनीतिक हिसाबले सही छैन । यसपालीको आक्रमणमा सर्वसाधारण र बालबालिका जुन रुपमा प्रभावित भए त्यसले इजरायलको छवि माथि दूरगामी नकारात्मक असर पर्नेछ ।

आम नागरिकको तुलनामा हमास मिलिसिया वा तिनका नेताहरु कम मारिएका छन यसले इजरायलीहरुलाई पनि चिन्तित बनाएको छ ।

यस्तै हो भने, मैले जिस्किएको शैलीमा शंका व्यक्त गरेँ, एकदिन चारैतिरबाट जिहाद छेड़छन र तिमिहरुलाई फेरी धपाउछन । मुस्लिम दाजूभाइमाथि अन्याय भयो भनेर एक हुदै गएका विश्वभरका मुस्लिम राष्ट्र र समुदायको आँखाको तारो बनिरहेका छौ नि त तिमीहरु ।
उ भन्छ, त्यो त हामी पहिले देखि नै थियौं, युद्ध नहुँदा पनि इस्लामिकहरु संग हाम्रो सम्बन्ध भनेको कदापि मित्रवत हुन सक्दैन यदि उनीहरूले सक्ने भए धपाइसक्थे । उनीहरु त्यही त चाहन्छन, तर यो असंभव छ ।

छेउमा यार्कोन नदी छ। झिस्मिसे देखि साँझ सम्म पानीको छाल र वेग सँग जिस्किएर सर्फिंग गर्नेहरुबाट यार्कोनले शायदै फुर्सद पाउँछ । यो रोमांचक पार्क फन्को मार्दै गर्दा मैले आधुनिक मनोरन्जनको शैलीमा आएको परिवर्तनको विश्लेषण गर्ने अधुरो चेष्टा गरेँ । आजभोली खेलकूद वा रिक्रियशन साहसिक र जोखिमपूर्ण बन्दै गएका छन ।

पार्श्वमा भुइन नै थर्किए जस्तो आभास हुने गरि इमिनेमको अंग्रेजी गीत बजिरहेको छ, यही संगीतको तालमा एकातर्फ़ स्केटिंग खेल्नेहरूको संसार छ । मैले देखें साना केटाकेटीहरु समेत स्केटिंगमा गुडदै विशेष प्रकारले बनाइएको डीलबाट आकाश तिर उडे जस्तै गरि हुईँकिन्थे र रोलिंग गर्दै भुईँमा संतुलन मिलाएर फेरी गुडन आइपुग्थे ।

पार्क भरि बिभिन्न प्रकारका खेलकूदको व्यवस्था गरिएको थियो । नखेल्नेहरु या त व्यायामशालामा वा दौडी रहेका भेटिन्थे । कुनै खेलमा आफु सहभागी हुनु भन्दा पनि यी रोमांचक दृश्य हेर्नु मै रमाई रहेको बेला अकस्मात ३ वटा ट्यांकर आकारका साना गाड़ीहरु मेरै समीप बाट हुत्तिए । साँच्चै जस्ता लाग्ने ती गाड़ीका चालक हरु भने ८/१० बर्षका कलिला केटाकेटीहरु । टेलिभिजनमा सधैँजस्तो गाजा तर्फ हानिएका इजरायली सैनिक ट्यान्कको दृश्य हेर्न अभ्यस्त यिनीहरु मानौं यसो भन्दै छन - "हामी पनि भोली प्यालिस्तिनि संग युद्ध खेल्नु पर्छ, त्यसैले यो सिकेको ।"


आज मैले कुनै न कुनै खेल खेल्नै पर्ने थियो रुबेन सँग । त्यतिकै फ़र्क्यौ भने यार्कोन आएको बेकार हुन्छ । अँ, सम्झिदै उसले भन्यो तिम्रो देशमा त धेरै पहाड़ हरु छन नि होइन? पहाड़ मात्र होइन सर्वोच्च शिखर एभरेष्ट पनि मेरै देशमा छ, भनेर बुझाउन अलि समय लाग्यो मलाई ।

"ल त्यसो भए रक् क्लाइम्बिंग गरौं, यो चाही तिमीलाई सजिलो लाग्नेछ", उ उत्साहित भयो सानै छँदा बारीको कान्लाहरु उक्लेको वा भीर पहरामा हुर्की खेलेको अनुभवको बलले मैले भनेँ, ओ के ल यसमा चाहि, म तिमीलाई पछि पार्छु रुबेन! मलाई त यो पर्खाल चढ़न सुरक्षा डोरी नै चाहिदैन होला ।तर त्यसो भएन, बाँदर जस्तै रक क्लाइम्बिंगमा पनि उ निकै सिपालु रहेछ । यसको लागि अलि अभ्यास नपुगेर मात्र हो, मैले आफुलाई सांत्वना दिदै भने "तिमी त साच्चीकै एड्भेन्चर्स रहेछौ रुबेन ।"

उ मुस्कायो "शायद हाम्रो प्रकृति नै यस्तै होला ।"
"तर तिमी त इजरायली हैनौ नि" उ अमेरिकी नागरिक थियो ।
हैन मैले "जेविस स्पिरिट" को कुरा गरेको, उसले प्रस्ट्यायो ।

जेवीस स्पिरिट अर्थात यहूदी आत्मा, यहुदीपन -उसको बिचारमा साहसिक हुन्छ ।

आकाशमा कालो धुँवा बढ्दै गएपछि मलाई जन आन्दोलनको काठमांडूको सम्झना आउँछ, प्रदर्शनकारीहरुको इँटा र ढुंगामूढाको थुप्रो अगाडी प्रहरी आफैं रमिते बनेर टोलाई रहेको बेला एउटा पर्यटक "रोयल इनफिल्ड"मा चढेर जबरजस्ती हुल र तिनको छेकबार छिचोलेर आउँछ र उल्टो यो के हो भन्दै थर्काउदै गरेको दृश्य म अझै पनि बिर्सन सक्दिन । पछि बुझ्दा, उ इजरायली थियो । इजरायलीहरु संसार मै जबरजस्त, सन्की, हेपाहा र जिताहा स्वभावका हुन्छन् । कति हदसम्म भने नेपालका कतिपय होटल तथा रेस्टूराँहरुमा त यिनीहरुलाई निषेधित जस्तै गरिएको छ ।

इजरायल कालो अरिंगालको देश हो, मध्यपूर्व को यो रणभूमिमा आउनु अघि बुबाले भन्नु भएको कुरा अहिले मलाई सही लाग्छ । सधै रेडियो टेलिभिजनको अंतर्राष्ट्रीय समाचारमा प्यालेस्टाइन र इजरायलको झगडा सुनेर उहाँले शायद यस्तो धारणा बनाएको हुनु पर्छ । यसबेला म यिनिहरुलाई नजिकबाट अनुभव गरिरहेछु ।

मानव अधिकारवादी शान्तिकर्मीहरुको छेकबार र अंतर्राष्ट्रीय बिरोधलाइ नाघेर यिनिहरू गाजामा निरन्तर आक्रमण गरिरहेछन । टेलिभिजनबाट प्रसारित भिडियो दृश्य हेर्दैछु, इजरायली युद्दक विमानका ककपिटमा जडित क्यामेराबाट कैद गरिएका ती दृश्यहरु हेर्दा मलाई कम्प्यूटरमा खेलिने भिडियो गेम जस्तै लाग्यो , जहाँ आकाशबाट जमिन्तिरको लक्ष्य (टारगेट )मा जूम गर्दै लेन्सको केन्द्र बिन्दु x पारेर रकेट प्रहार गर्थे यिनिहरू । यिनिहरूको लक्ष्य प्राय एकदम स्पष्ट र निर्दिष्ट हुन्थ्यो । तत्क्षण विष्फोटको दृश्य, चर्को आवाज र धुवां उडेको देखिन्थ्यो र टारगेट ध्वस्त बनाउदै विमान चक्कर लगाउथ्यो । एउटा मिशन सकिन्थ्यो, फेरी अर्को शुरू हुन्थ्यो ।

युद्धले शिथिल गाज़ाको समाचार पढ़छु, संरचनाहरु तहसनहस भएका छन । सैयौं निहत्था नागरिक मरिएका छन ।
इजरायली युद्ध कौशलतालाइ भिडियो गेम सँग तुलना गर्ने मेरो कल्पना क्षणभरमै भंग हुन्छ । अ हो वारूदका धुँवाहरु मात्र उडेका छैनन, घरबार उजाडिएका छन, रगत बगेको छ र अमूल्य जीवनहरु बर्बाद भएका छन । रक्तपात, धनजनको क्षति र मानवीय संकट कहाँ भिडियो गेम जस्तो हुन्छ? जसको कुनै अर्को लेवल छैन, अर्को विकल्प छैन । प्यालेस्तिनीको भागमा परेको यो नियतिलाइ बदर गर्ने उपाय खोज्न किन सकिरहेको छैन विश्व?





गाजा क्षेत्रको आकाश अँध्यारो जस्तो छ धुंवाले । बारुलोको गोलोमा जिस्क्याए जस्तै प्यालिस्तिनीहरु इजरायलतिर रकेट प्रहार गर्न छोडेका छैनन । लेबनानबाट पानी रकेट आउन थालेपछि र स्थिति अलि गंभीर बन्दै गएपछि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलले आकस्मिक बैठक बसि, प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरि सीमा इलाकामा काम गर्ने नेपालीहरुको स्थिति बुझ्ने कोशिश गरयो, यो अवस्थामा हामीले के गर्न सक्थ्यौं? गाजासँग जोडिएको इजरायली सिमानामा हावा भरिएका ठूला ठूला बेलून आकारका राडारहरु थिए, जसले इजरायली आकाशतिर रकेट छेडिन साथ साइरन बज्न शुरू हुन्थ्यो । जसको निश्चित समय अबधिभित्र सुरक्षित स्थान र अवस्थामा रहन सर्वसाधारणलाइ सुचना जारी गरिएको थियो । कुन कुन स्थानमा साइरन बजेको कति समय पश्चात् रकेट खस्छ, भनेर हेक्का राख्नु जरुरी थियो । सचेतनामूलक सतार्क्ताको जानकारी सकेसम्म नेपालीहरुमाझ पुरयाउने र सहानुभूति दिने बाहेक गर्न सकिने केही थिएन ।

नेपाली दूतावासले पनि गाजा क्षेत्रको सीमावर्ती इलाकामा काम गर्ने नेपालीहरुलाई सतर्कताका सुचना र जानकारी गराउनुका साथै आपातकालीन अवस्थामा नेपालीहरुलाई हिंसा प्रभावित स्थानहरुबाट सुरक्षित स्थानमा सार्नु पर्ने अवस्था आएमा उद्धार र सहायताको प्रतिबद्धता व्यक्त गरेको थियो ।यस्ता रकेटहरु अहिले स्देरोत अस्दोद हुँदै किरयातगात सम्म आइपुगेका थिए, इजरायलले हमास माथि गरेको कारवाही पश्चात यो क्रम कम हुनुको सट्टा झन बढेको र द्वंदको अवस्था चर्किएको थियो ।

रुबेन यतिखेर इलातमा घुम्दैछ । नेपाली नारी आवाज़द्वारा आयोजित नयाँ बर्ष सांस्कृतिक तथा सम्मान साँझको झलक उसले इन्टरनेटबाट हेरेछ । मलाई एउटा प्रस्ताव सहित मेल पठाएको छ - अर्को हप्ता म तेल अभिभ फ़र्कन्छु, हामी गाजामा भड़किएको द्वन्दको बारेमा एउटा लघु वृत्तचित्र निर्माण गरौं । उसको यो आइडिया पनि एड्भेन्चर्स नै थियो तर यो सजिलो भने थिएन ।

संयोग नै मान्नु पर्छ - तेल अभिभ अँाउदै गर्दा मेरो भेट "एरिक"संग भयो "एरिक तविव" । रुबेन र मेरै उमेरको यो ठिटो चाहिँ उस्तो एड्भेन्चर्स छैन । उसलाई भेट्नासाथ मलाई आस्दोद (अहिलेको रकेट प्रभावित क्षेत्र)मा रहँदाको विगत याद आउछ उसकै हजुरबा "रहमतुल्ला तविव पोर"का लागि मलाई नेपालदेखि झिकाइएको थियो, अर्थात -मेरो शुरुको जागीर ।

रहमतुल्ला -उनी पारसी ज्यादा बोल्थे अंग्रेजी कम । मुस्लिम नाम जस्तै लागेर शुरुमा त म झस्केको थिएँ । उनी इरानबाट आएका रहेछन । उनिसंग होलोकास्टमा सबै आफन्त गुमाएको तितो कथा थियो । होलोकास्ट अर्थात "अग्निकांड" संसारभरिका यहूदीहरुको विनाश गर्न जर्मनीका हिटलर र उसको पार्टी नाजीद्वारा रचिएको थियो ।जसमा युरोपतिर छरिएर विस्थापित भएका ६० लाख यहूदीहरु जिउँदै जलाइएका थिए । त्यसबेला उनीहरुसँग आफ्नो देश थिएन घर थिएन । त्यही बेला देखि पुर्खाको पहिचान खोज्दै, इतिहास खोतल्दै उनीहरूले आधुनिक यहुदी राज्य इस्राइल फर्काएका हुन। जहाँबाट यिनीहरू पटक-पटक लेखेटिएका, धपाइएका वा विस्थापित भएर लाखापाखा लागेका थिए । तिनीहरुका पुर्खा राजा डेविडले आजभन्दा २००० बर्ष अघि नै यो पवित्र भूमी इजरायलमा राज्य गरेको कुरा हिब्रू बाइबलमा उल्लेख गरिएको छ ।यूरोप अमेरिका वा प्यासिफिक क्षेत्रका यहूदी हरु सबै एक एक गरेर यहाँ आए । आफ्नै देश बनाउने अभियान का रुपमा । युरोपमा उनिहरुमाथि भएको अन्यायले उनिहरु के कुरामा दृढ़ भए भने, "अब चाहिँ हामी कदापि भाग्ने छैनौँ "।

उनीहरूले पुर्ख्यौली घर फेरि कब्जा गरे, र १९४८ मा प्यालेस्टाइनमाथि यहूदी राज्य इजरायल स्थापना भएको घोषणा गरे । यसरी आएका यहूदीहरुबाट यहाँका प्यालेस्तिनीहरु विस्थापित भए । युरोपमा यहूदीमाथि भएको अमानवीयताको मूल्य यहाँका प्यालेस्तिनीहरुले बिनाकरण तिर्नु पर्यो । उनिहरु बस्दै आएको घर जग्गा खोसियो । ती जोर्डान, सिरिया वा लेबनानतिर भागेर शरणार्थी बने । आज तिनै प्यालेस्तिनीहरु त्यही मूल्य खोजिरहेछ्न, हिजोको प्यालेस्ताइन खोजिरहेछन, गाजा र पश्चिम किनारको सांघुरो टुक्रा होइन , प्यालेस्ताइन त विशाल थियो । उनीहरु त्यो देश फिर्ता चाहन्छन । आख़िर यो देश कसको ? कसले कोर्यो यहाँ मानवता बिरोधी बिभाजनका धर्काहरू/ सिमानाहरु?

एरिकलाइ यो कथा थाहा छ । अहिलेको पिंढी तिनै संसारका बिभिन्न कुनाबाट फर्किएर पुनस्थापित भएका यहुदीका दोश्रो वा तेश्रो पुस्ता हुन । एरिकका पिता धर्मतिर लागेका थिए । लामो दारी, कानको दुवै छेउमा घुंघुरिएको टुपी जस्तो लामो लुन्द्रो, कालो ह्याट र घुंडा सम्म छोपिने कालो लामो कोट । पहिलो पटक देख्दा म यो कस्तो जोगी होला भनेर मनमनै हासेको थिएँ ।

२ बर्ष अघि म इजरायल आउदा एरिक अनिवार्य सैनिकमै थियो । एरिकलाई नचाहँदा नचाहँदै पनि यसरी सैनिकमा जानुपर्ने यो देशको नियमप्रति वितृष्णा थियो । विज्ञान र आविष्कारमा रूचि राख्ने उ, त्यो समय खोज र अनुसंधानमा बिताउन चाहन्थ्यो । उसलाई त्यो दुई बर्ष खेर गए जस्तै लागेको थियो । उसकी बहिनी एन्जिलाको बिहे समारोहमा भाग लिन बिदा नमिलेकोले उ एकदिन भागेर आउदा सैनिकहरु आएर बिहेको पार्टीबाटै जबरजस्ती लगेको घटना मैले धेरै दिन सम्म बिर्सिएको थिइन ।एंजिला ले १६ बर्षमै बिहे गरेकी थिई । यो विकसित देश अनि बाल विवाह? म आश्चर्य मा परेको थिएँ । पछि थाहा पाएँ, उ अनिवार्य सैनिक मा जान चाहन्नथि, र विवाहित युवतीहरुलाइ यो नियम अनिवार्य थिएन । त्यसबाट बच्नैका लागि उसले विवाह गरेकी थिई ।एरिक मैले पहिलो युवक भेटेको थिएँ, जसमा यहूदी स्पिरिट शायद अलि कम थियो । उसलाई धेरै कुराहरुमा रूचि थिएन। कतिपय नियमहरु उसलाई वाहियात लाग्थे ।

गाजामा सीमा सुरक्षा कडा भएपछि बिगतमा जस्तो आत्मघाती आक्रमणका घटना चाहिँ घटेका छैनन । इजरायलको भनाइअनुसार उसको आक्रमण ती आतंककारी आक्रमणकारी बिरुद्धमात्र हो, जो दिनदिनै इजरायलमा रकेट प्रहार गर्छ । यो डिसेम्बर २७ २००८ को कारवाही पनि प्यालिस्तिनीहरुको लगातार रकेट आक्रमणबाट एक इजरायलीको मृत्यु भएपश्चात् प्रतिकारमा गरिएको हो ।

'कारवाहीको निर्णय पूर्व यहूद अल्मर्टले संचारसँग भनेको यो शव्द म बारम्बार सम्झिरहन्छु - "हामीले कतिपटक भन्यौं रोक, रोक, रोक , उनीहरूले मानेनन" ।


गाजामा जारी द्वंदले मध्यपूर्व मात्र होइन विश्व नै बिथोलिएको छ । समाधानका उपायहरु चारैतिरबाट खोजी हुदैछ क्षणिक नै सही तत्काल युद्धबिरामको प्रयास भै रहेको छ । यतिखेर समाचारहरु युद्ध बिरामका बिषयमा भएका प्रयासका फेरहिस्तहरु सुनाई रहेका छन । यद्यपि यो लेखोट कोर्न बस्दा सम्म भने युद्ध बिराम भएको छैन । गाजामाथि भड़किएको हिंसाको ताजा अवस्था छ ।

गरुड़ झै इजरायली युद्दक बिमान हरु गाजापट्टीको आकाश माथि सल्बलाई रहेका थिए । जमिनमा ट्यान्करका लश्कर अनि हमास बिरुद्ध कारवाहीको नाउमा बेहिसाब राकेटहरु खनिएको थियो । खै कहाँ कहाँ भत्किए हमासका तालीम शिविरहरु ? हतियार भण्डार वा गतिबिधि केन्द्रहरु? भत्किए केवल मानिसले बनाएका संरचनाहरु, सभ्यताहरु अनि मानवीयताका परिभाषा हरु ! जति निरीह प्यालिस्तिनीका घर स्कूल र कार्यालयहरु भत्किए, जति महिला वालवालिका र निहत्था नागरिकहरु मारिए, तिनको संख्याले आतंकवाद माथिको कारवाहीको औचित्य वा प्रक्रिया माथि असंख्य प्रश्नचिन्ह उठाएको छ ।





सैयौं सर्वसाधारणका बाँच्ने अधिकार खोसिएका छन, कैयौं घरबार विहीन भएका छन । अनि सधैं जस्तै मानवीय मूल्यको उपहास भएको छ त्यहाँ । जसरी हरेक युद्धमा सधैं हुने गर्छ । गाजापट्टीको प्यालेस्टाइन ध्वस्त भैरहेछ यतिखेर । इजरायलको स्थापना संगै बिस्थापित भएका प्यालिस्तिनी र तिनको उम्मीद माथिको अर्को चोट हो यो । प्यालेस्ताइन फर्काउने र जुन उम्मीद हो, त्यो केवल अरवी सहित्यमा, कविता वा शव्दहरुमा मात्र बाचेको छ । सिमाना मेटिएर छरपष्ट भएका उनीहरूले नक्सा खोतल्दै फेरी फेरी देश खोज्नु केवल दिवास्वप्न मात्र हो, इजरायलको प्रत्येक शक्तिशाली आक्रमणले यही तथ्यलाइ उजागर गरिरहेको छ ।


जाडो बढेको छ । कहिले काही झरी पनि पर्छ । हिउदमा पानी पर्ने मौसम यही हो । तेल अभिभको आकाश अलि शान्त छ यद्यपि आस्दोद र किरयातगात सम्म क्षेप्यास्त्र आइपुगेको खबरले सबै क्षेत्रका इजरायलवासी खल्बलिएका छन ।सधैँ तनाव ग्रस्त इजरायल प्यालेस्ताइनबीच चर्किएको पछिल्लो घटनाक्रमलाइ लिएर यहाँ बस्ने हामी बिदेशी नागरिकहरू केवल रमिते मात्र बन्न सकिरहेका छैनौं सुरक्षा का कारण परोक्ष रुपमा प्रभावित भै नै रहेका छौं कही नया नियम हरु पनि लागू भै रहेका छन
यसरी इजरायल मा नेपाली नागरिकका सुरक्षा स्थितिका सम्बन्धमा जारी सचेत्नामुलक सुचना सहित नेपाली दूतावास बाट ई मेल आएको छ। सीमावर्ती इलाका मा काम गर्ने नेपाली हरुको सुरक्षामा दूतावासको सरोकार र आवश्यक परेको खण्डमा सहायताको प्रतिवद्धता पनि व्यक्त गरिएको संदेश प्रसारण गर्न आग्रह गरिएको छ, सधै रकेटको त्रासमा रहेर काम गर्ने ती नेपालीहरुले यसबाट भावनात्मक सुरक्षा र अभिभावकत्वको महशुश कतिको गर्ने हुन?

मानव अधिकारवादी अंतर्राष्ट्रीय सामाजिक संस्थाहरु, मध्यपूर्वको राजनीतिमा चासो राख्ने राष्ट्रहरु, संयुक्त राष्ट्रसंघ, शान्तिकर्मी तथा राजनैतिक चिन्तकहरु सबैको टिपण्णी र विश्लेषण, संभाव्यताका सुझावहरु एकातिर पंछिएका छन । युद्ध जारी छ ।

यहीबेला अर्को हरफ यो पनि लेखुं- " पवित्र भूमि इजरायल लाइ इतिहास मा पटक पटक भनिएको छ -यो युद्धभूमि पनि हो "

दक्षिणी गाज़ाको राफामा इजरायली विमानहरुले सर्वसाधारणलाइ घर खाली गर्न पर्चा छरिरहेछन। परबाट हेर्दा हिउँ खसेजस्तै देखिने यो दृश्य हेर्दा यस्तो लाग्थ्यो, मानौं यहाँ कुनै उत्सवको तयारी हुदैछ । लेखिएको छ -हमास मिलिसिया को हतियार ओसार प्रसार प्रणाली तथा सुरुंगहरु भत्काउन अर्को मेजर अपरेसन हुदैछ, अप्रेशन अवधीभर सुरक्षित स्थान तर्फ सरेर आतंकवादमाथिको कारवाहीमा सहयोग पुरयाउनु हुन अनुरोध गरिन्छ ।

एरिक तविव लाइ गाजामाथि उडेको धुवांको कुनै वास्ता छैन । यद्यपि विज्ञानको विद्यार्थीको नाताले ट्यान्क र युद्दक विमान वा क्षेप्यास्त्रका कार्यप्रणालीका बिषयमा वा विष्फोटकका रासायनिक संरचनाका बारेमा अध्ययन चाहिँ जरुर गरेको होला भन्ने मेरो अनुमान छ।

"शासकहरुको राजनितिक स्वार्थका लागि कति निर्दोष नागरिकले रगत बगाउनु परेको छ,
भन त एरिक यहाँ सधैं किन र यस्तो कहिले सम्म ?

उसले यत्ति भन्यो
"तिमीलाई थाहा छैन क्रिश, प्रेम र युद्ध मा सबै कुरा जायज हुन्छन् " ।
उसको उत्तरले फेरी मलाई पूरा निराश बनाउछ ।

समाचारहरु चर्को स्वरमा हताहत हुनेहरुको संख्या फुकी रहेका थिए "प्यालिस्तिनी तर्फ एक हजार दुई सय..... "



(लेख इजरायलले गाजामा हमास बिरुद्ध गरेको कारवाहीको पृष्ठभूमिमा लेखिएको हो।)

भत्किएका पत्थरहरु

No comments

Saturday





भत्किएका पत्थरहरु
कृष्ण थापा इजरायल

आशा छ तिमीले मेरो सानो बुद्ध र मेरो मायालाई अझ विसर्िएका छैनौ । इतिहास धर्म दर्शन र सामाजिक रचनाका विषयमा तिम्रो रुचिसंग त म त्यहीबेला देखि नै परिचित थिएँ तर नेपाल चौतारीको त्यो स्तम्भकार तिमी नै होलाऊ भन्ने मलाई आजसम्म अवगत थिएन । पत्रिकाको तस्वीर र तिम्रो वास्तविक अनुहार धेरैदिन सम्म नियालीरहेँ ।…… म अहिले पनि आस्दोदमै छु यहाँ संगै काम गर्दा तिमीले भनेको भिक्षु उपासकका कथाहरु आजसम्म सम्झिरहन्छु । शायद वुद्धमार्गी भएर पनि हुनसक्छ तथागतका धेरै आख्यानहरु मेरो स्मृतिमा सधै ताजा रहेको छ जुन तिमीबाट सुन्न पन पराउँथे ।

<>
।र आज फेरि एउटा पाठककै हैसियतले सही तिमीले मेरो बुद्धधर्मको विषयमा केही लेखेको म पढ्न चाहान्छु । यहुदी इश्लाम वा कि्रशिचयनलाई छोएर लेख लेखि रहँदा तिमीले बुद्धलाई किन सम्झिएनौ यसलाई इष्र्या भन्छांै भने पनि मान्छु तर एउटा अङ्क बुद्धको लागि लेख है…॥





साथी निमा


पाठक प्रतिकि्रया भन्न पनि मिल्दैन इजरायल आएपछि शुरुको दिनमा उ र म आस्दोदमा संगै काम गथ्र्यौ । नयाँ वर्षको शुभकामना सहित उनले एउटा मेल सन्देश पठाएका रहेछन् ।

म के लेखुँ कुनै खास विषयमा केहि लेखुँ भनेर मैले कल्यिै केहि लेखेको छैन । शायद कुनै प्रसंगमा कतै धर्मका कुरा पनि आए होलान् तर तिम्रो आस्थाको उपेक्षा गरें भन्ने नठान । तिम्रो यो अनुरोध संगै मेरो सम्झनामा परशु प्रधानको माइ लिटिल वुद्धुको कथा स्मरण हुन्छ । जापानतिर पलायन भएका शेर्पा युवकको विवशता उनले समेटेका छन् यसमा । तिमीले पनि वौद्धका गल्लीहरुमा उनी व्यापारीको हैसियतले मानेपेमे गर्दै प्रेयर ह्वीलु घुमाउदा र आज इजरायलको सडकहरुमा ह्वील चेयर घुमाउदाको अन्तरमा तितो वास्तविकतासँग साक्षात्कार गरेका छौ । तिम्रो मेरो र हामी सबैको नियति इजरायलमा लगभग उस्तै छ । हामीसँग महत्वाकाँक्षा जोडिएका समयका घातहरु छन् । वौद्धिक शुन्यता भरिएका कर्महरु छन् अनि त्यहि कर्म गर्न हामी अभ्यस्त भएका छौं ।


तिम्रो सानो वुद्धलाई तिमीमा अनुवाद गरेर यस्तै केहि लेखुँ जस्तो लागेको थियो तर यस विषयले धर्मसंग कुनै सम्वन्धै राख्दैन जुन तिम्रो अनुरोध प्रति अन्याय हो । फेरि तिमी लेखको शीर्षक मानेपेम्मे हुँ राख भन्छौ । मित्र मानेपेमेको शाब्दिक आकारलाई श्पर्श सम्म गर्न सकें । यसको गहिराईमा चुर्लुम्म डुबेर लेखको शीर्षक नै मानेपेमे राख्ने साहस गर्न नसकेकोमा मलाई माफ गर्नेछौ ।


यसैपनि सन्दर्भ र अध्ययनको अभाव छ इजरायलमा । यदि तिमीले त्यो सानो वुद्ध प्रतिमाको सट्टामा धम्मपद वा नेपालीमा उल्था गरिएको कुनै वुद्ध ग्रन्थ उपहार दिएको भए सम्भव पनि हुन्थ्यो होला । तिम्रो अनुरोधको विरोधाभाष जस्तैलाग्ने गरि यसको शीर्षक "भत्किएका पत्थरहरु" लेखिरहेछु पत्थरहरु भित्रबाट तिमी वुद्धको आत्मा खोजि हेर ।







वर्षौ पहिले केन्द्रीय एशिया मध्यपूर्व यूरोप अनि भारत र चीनसंगको प्रमुख व्यापारिक मार्गको रुपमा विकसित भएको सिल्करोड अफगानिस्तानको वामियान उपत्यका हुँदै जान्छ । जस्को छेउमा उभिएका पहाडहरुबाट विशाल चट्टानी श्रृंखला शुरु भएको छ । आदिवासीको स्वर्ग जस्तै प्रतित् हुने ती चट्टाना पहाडमा अनौठा र अनकन्टार सुरुङहरुमात्र थिएनन् शताब्दीऔं पुराना कलाकृति र मूर्तिहरु यी चट्टानहरुमा कुदिँएका थिए । र मानव इतिहासकै सवैभन्दा विशाल बुद्धमूर्तिहरु कोषैपरबाट ती पहाडमा चम्किरहेका देखिन्थे । आजसम्म कुनै कालीगढले यस्तो विशाल भीमकाय मूर्ति किहं बनाएकै छैन । पत्थरको अग्लो पहाड नै मूर्तिमा ढालिएको यो विश्वकै सबैभन्दा ठूलो वुद्धमूर्ति थियो ।

सुन्दर वामियान उपत्यकाको सुरक्षार्थ यसको नजिकै एउटा पहरेदारी वस्ति वसाइएको थियो । ३००० मनिसहरुले यो उपत्यकालाई शत्रुका हातबाट बचाउन एउटा शहर नै निर्माण गरेको थिए । वाह्रौ र तेह्रौ शताब्दीतिरको त्यो शहरुलाईृ लालशहर भनिन्थ्यो जुन वामियान उपत्यका प्रवेश पूर्व ८०० फिट नजिकै थियो । १२२१ मा यहाँ जेंगिज खानका नातिले आक्रमण गरेको थिए । त्यो युद्धमा उनी मारिएपछि आक्रोशित भएका जेंगिज खानले वदलामा सारा वस्ति खण्डहरुमा परिणत गराइ दिएका थिए । यो आक्रमणपछि लाल शहरले कल्यिै जीवन्तता पाएन पौराणिक इट्टाका भित्ताहरु चाहि यथावत रहिरहे किनकी यो मरुभूमि शहरमा तिनको अस्तित्व सखाप बनाउन सक्ने भीषण वर्षा शायद कहिल्यै आएन होला ।

उता वामियान उपत्यकाको वुद्ध वस्तिबाट वुद्ध धर्मावलम्वीहरु सधै सधैंका लािग विस्थापित भएर गए । अफगानिस्तान भन्ने वित्तिकै आतँककारी ओसामा विन लादेनलाई खोज्दै अमेरिकाले ध्वस्त वनाएको मुस्लिम राष्ट्रको चित्रण हुन्छ-हाम्रो मनमा । तर हामीले सुनेको यही आतंकको थलो कुनैवेला हजारौ वुद्धगार्मीहरु भिक्ष्ा र तपस्वीहरुको तपोभूमि थियो । धर्मचक्रहरु घुमिरहेका त्यहाँका गुम्वाहरुमा खीटका धुन सँगै "ओम मणि पद्मे हुँ" का मन्त्रहरु गुञ्जिरहेका सुनिन्थे । मानव सभ्यताको विकास हुदै जाँदा शुरुको समयमा तेस्रो वा चौथो शताब्दी देखि नै यहाँ वुद्ध धर्म फक्रिएको थियो । "ॐ माने मेम्मे हुँ" को संकेत वुद्ध ध्वजाहरु गुम्वाका भित्ताहरु र घुमाउने चक्रहरु जहितिहं कोरिएको हुन्छ किन सम्मानित वुद्ध मन्त्र ॐ मणि पद्मे हुँ -ओम मानेपेमे चल्तीमा को प्रत्यक्ष कमल पुष्पको यज्ञमाथि मणिको अर्पण भन्ने जनाउँछ । यस मन्त्रोच्चारणले आत्मालाई मुक्तिको बाटोतर्फ डो-याउछ । यो सुक्तिलाई लाखौ वुद्धगार्मीहरुले दैनिक धार्मिक अभ्यासको रुपमा हजारौं पटक उच्चारण गरेर वा जप गरेर आफूलाई नितान्त अनाशक्त शान्त र पवित्र बनाइरहेका हुन्छन् । मणिको अर्पणले वहुमूल्य जुहारतको दान भन्ने प्रत्यक्ष अर्थमात्र राख्दैन कि यसले लोभ लालच आशक्ति र व्यग्रतालाई पन्छाएर मनलाई दुःखबाट छुटाउछ । वुद्धधर्ममा यसको महत्व र अर्थ यति व्यापक छ कि यसले सुख शान्ति समृद्धी खुसी र ज्ञान र महामुक्तिको सम्पूर्ण कामना एकैपटकमा गरेको हुन्छ ।





चीनको हिमाली भूभाग सम्म लम्बिएको ुहिनुदक्रशु पहाडि श्रृंखलाको अन्तिम लहर र लालशहरलाई काखमा राखेर तरेली जस्तै परेको ुकोही बाबाु पहाडी श्रृंखला । यी दुई पहाडी श्रंृखलाहरुको बीचमा शान्तिको सुन्दर वामियान उपत्यका अवस्थित थियो जुन अफगानिस्तानको काबुलदेखि करीब २३० किलोमिटर पर रहेको छ । विशेषतः तेस्रो शताब्दी देखी नवौ। शताब्दीसम्म यहाँ बुद्ध धर्मावलम्वीहरुको घना वस्ती रहेको थियो पछि विस्तारै इश्लाम धर्मको प्रभाव वढ्दै गएको कुरा इतिहासबाट बुझ्न सकिन्छ ।

चिनीया तीर्थयात्री हुआङ साङले वामियान उपत्यका सन् ६३० मा भ्रमण गरेको थिए । उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्- "हजारौं भिक्षुहरु र दशवटा गुम्वाहरु भएको वामियान वुद्धिष्टहरुको केन्द्र हो । ती आश्चर्यलाग्दा भीमकाय वुद्ध प्रतिमा जुहारतले सजिएको रंगिन र सुन्दर थिए । यति बिशाल चित्राकर्षक मूर्ति भविश्यमा शायदै वन्नेछ ।" उनले अझ अर्को तेस्रो वुद्ध मूतिको विषयमा पनि उल्लेख गरेका छन् तर त्यो धेरै पहिले नष्ट गरिएको मनुमान गर्न सक्छौ ।

साच्चै नै आजसम्म त्यो अति नै भिमकाय वुद्धको प्रतिमा कतै बनेकै थिएन जसलाई दुष्ट तालिवानीहरुले केवल पत्थरमात्र देखे र विश्वकै अमूल्य सम्पदा सधैंको लागि भत्काएर धार्मिक कट्टरताको परिचय दिए ।

कुनै समयमा ती बुद्ध प्रतिमाहरु कोषौ परबाट सम्म निश्चय नै सुन्दर अलौकिक देखिन्थे होलान् । तामाका मुहार र हातहरुयुक्त ती दुई प्रतिमाले संसारमा वुद्धज्योति छरिरहेको जस्तो लाग्थ्यो । बाह्रौ शताब्दीसम्म वामियान भारतीय उपराज्य गान्धाराको अधिनमा थियो । वुद्धमार्गी वा हिन्दुहरुको धार्मिक क्षेत्र तथा धर्म दर्शन र ग्रीक-भारतीय कलाको केन्द्रस्थलको रुपमा स्थापित भएको थियो ।

गुम्वाका भिक्ष्ाहरु वामियानका पत्थरी पहाडका गुफाहरुमा कुटी बनाएर ध्यान गर्थे । ती मध्य धेरैले गुफाहरुमा र नीर्जीब पत्थरहरुमा बुद्धधर्मका अनेकौं आकॄति कुंदेर जीवन थपेका थिए । वामियान उपत्यकाका ती पौराणिक अवशेषहरु र दुइ विशाल बुद्ध आकृतिलाई युनेस्कोले विश्व सम्पदासूचिमा सुचिकृत गरेको थियो । एउटा वुद्ध प्रतिमा ५०७ र अर्को सन् ५५४ मा निर्माण भएको अनुमान छ । जसको उचाई क्रमशः १२५ फिट र १७५ फिट थियो । वुद्धधर्म फैलिएको त्यो कालखण्डमा ती चट्टानी पहाडभित्र तस्स्या गरेर शान्तिको खोजिमा लागेका भिक्ष्ाहरुले वर्षौको मेहनत लगाएर संसारकै गौरव ती पत्थरका प्रतिमाहरुको सृजना गरेका थिए । उभिएको मूर्ति विरोचनको र वसेको मूर्ति शाक्यमूनि वुद्धको थियो । हजारौ वर्ष अघि अनकन्टार चट्टानी गुफाहरुमा सांसारिक मोहबाट टाढा रही भूमिगत जस्तै अलप भएर तपस्या गर्ने तपस्वीहरुले त्यो अग्लो चट्टानी पहाडलाई नै खोपेर वुद्ध आस्थाको कलामात्र देखाउन खोजेका थिएनन् उनीहरुले कुदेका प्रतिमाका प्रत्येक वस्त्र गहना वा अंग आकृतिहरु प्रेम शान्ति र सहनशिलताका प्रतिक थिए ।

विरोचनको यो एतिहासिक सिला आत्मालाई ढुंगामात्र ठानेर करिव १ महिना सम्म सैयौं रकेट गि्रनेट र विस्फोटकहरु प्रहार गरेर मानव धर्म विरोधीहरुले क्रुरताको कस्तो उदाहरण देखाउन खोजेका थिए जसले विश्व समुदायलाई नै आश्चर्यमा पार् यो । हाम्रो युगको सवैभन्दा दुखदायी घट्ना घटाएर आफ्नै समुदायबाट समेत आलोचित र कलंकित भएका उनीहरुले पत्थरमाथि आक्रमण गरेर धर्मको अर्थलाई नै भत्काउन पुगे ।

वामियान वुद्धमाथिको आक्रमण धेरै पहिले देखि नै गरिदै आएको थियो । विश्व राजनीति िहंश्रक र अशान्त वन्दै गइरहेको परिपे्रक्ष्यमा यस्तो कि्रयाकलापलाई हामी शान्तिमाथिको आक्रमणको संज्ञा दिएर हेर्न सक्छौं । पश्चिम भारत र अफगानिस्तानलाई वाह्रौ शताव्दीतिर धांजीका मुहम्मदले आक्रमण गरेपछि त्यहाँका धेरै गुम्वा र अन्य कलाकृतिहरु लुटिए वा नष्ट गरिए । इश्लाम प्रसारकहरुद्धारा कैयांै पटक ती विशाल प्रतिमाहरु भत्काउने प्रयासहरु भए । तर ती प्रतिमा भत्काउनु पहाड फुटाउनु जस्तै कठिन थियो । अन्तिम मुगल सम्राट औराङजेवले पनि धार्मिक इष्र्याको कारणले बाँकी रहेका कलाकृतिमाथि वारुद र तोपगोला वर्षाएर कुकर्मको हद पार गरेका थिए भने त्यसरी नै नदीर शाह नामक शासकले पनि ती मूर्तिमाथि निरन्तर आगो लगाएर नष्ट गर्ने असफल कोशिष गरेको थिए ।

बामियान बौद्धस्थल यूरोप भारत र चीन बीचको ऐतिहासिक व्यापारिक केन्द्रमार्ग त थियो नै साथै तीर्थयात्री भिक्ष्ा योगी वा लामो यात्राका व्यापारीहरुको अस्थायी आवासको रुपमा पनि ती चट्टाना गुफाहरु रही आएका थिए । पछिल्ला वर्षहरुमा ती खुल्ला र चिसा गुफाहरु अफगानिस्तानको िहंसात्मक गुहयुद्धको चपेटामा पि_िल्सएका आन्तरिक शरणार्थीको वासस्थान पनि भएको थियो ।

दुष्टहरुका कैंयौ कोशिष वावजुद पनि हामीले पाइला टेकेको २१ औ। शताब्दीसम्म ती भीमकाय प्रतिमाहरु यथावत रहेका थिए तर आजको यो चेतनसिल युगमा आइसकेर पनि हामीले तिनलाई यसरी गुमाउन पुग्यौ। कि विश्व समुदायले केही गर्न सकेन । मानव शान्ति माथि मानवरुपी दानवहरुद्धारा यसरी नै जघन्य आक्रमण भइरहेको छ । अर्को तिर चेतनशील वर्गहरु निरिह भएर मौनता अंगाल्न विवश भइरहेको छन् । तालिवानीहरुको घृणित कार्यले मानव सभ्यतामै दाग लगायो । चट्टानहरु संगै यसले धामिृक सहिष्णुतामा विश्वास गर्ने सबै मानिसहरुको विश्वास माथि आघात पुर् यायो । पर्वत समान प्रतित हुने ती प्रतिमाहरु महायाना वुद्धमार्गका महान विम्बहरु थिए । जसले भिक्ष्ा वा तपस्वीहरुमात्र नभई जो कोही पनि आत्मज्ञानको उज्यालो प्राप्त गर्न सक्छ भन्ने पे्ररणा दिइरहेको हुन्थ्यो । ती ऐतिहासिक वुद्ध प्रतिमाहरुको महत्व र मूल्य आजको पुस्ताको लागि अमापनीय थियो अनमोल थियो । लामो वामियान उपत्यकाको चट्टानी पहाड जसले हिन्दुकुश र कोहीवावा पर्वनीय श्रंखलालाई विभाजन गरेको छ त्यहाका ती धरोहर भत्काउन प्रयुक्त वम विष्फोटको आवाजले शान्तिप्रेमी सम्पूर्ण मानव समुदाय त्रसित हुन पुग्यो ।


मान्छे भित्रको बुद्ध आत्मा स्वार्थले पुरिदै गएको छ । आज समस्त शान्ती प्रीय मानिससमा यस्ता कुकृत्यको विरुद्धमा कसरी प्रश्तुत हुने सोच्न सकिरहेका पनि छैनन् । व्यस्तता मानवीय समवेदना हीनता र आधुनिकताले निम्त्याएको परिणाम हो यो । आफू बाहेक अरुको अस्तित्व स्विकार्न नचाहने र प्रदुषित मानसिकता बोकेको समुदाय धर्म वैमनस्ययुक्त विश्व राजनीति र अन्तर्राष्ट्रिय शक्तिहरुबीचको असन्तुलनको प्रभावबाट यसरी दिनदिनै निरिह बुद्धका सहनशिल मनहरु निशाना वन्दै गइरहेका छन् ।

ऐतिहासिक स्थलहरु मूर्ति-मन्दिर वा सांस्कृतिक धरोहरलाई संरक्षण गर्नुपर्छ भन्ने कालचेतना आजका शिक्षित मानिसहरुमा मात्र नभै वामियानका भेडा बाख्रा चराउने किसानहरु वा पर्यटकलाई खानेकुरा र पानी पुर् याउने स्थानीयहरु बीच पनि उत्तिकै थियो । तर िहंस्रक शैतानी मन बोकेका धार्मिक अगुवाहरु जो अिहंसा शान्ति विश्व वन्धुत्व र मिलनसारिताको आध्यात्मिक सन्देश फैलिएको हेर्न चाहदैन थिए उनीहरु सम्पूर्ण विश्वले आपत्ति विरोध र खेद प्रकट गर्दा पनि इतिहासकै घृणित र लज्जास्पद कार्यमा सफल भएरै छाडे ।

कट्टर राजनेताको उत्तेजित मनोवेगको विनाशकारी यो निर्णयले धर्मसंग मात्रैपनि सम्बन्ध नराखेर ज्यादा राजनिति र आतंकवादी गतिविधि संग सरोकार राख्छ भनेर धेरै विश्लेषकहरुले ठम्याए । सन २००६ मा तिनै विशाल मूर्ति र वौद्धक्षेत्रको सेरोफेरोको विनाश खिचिएको ूदि जियान्ट बद्धजू नामक डकुमेन्ट्री बनाइयो यसमा त झन के प्रमाणित गरेर देखाईएको छ भने- विनाशकारी त्यो आदेश २००१ मार्चमा इश्लाम नेता मुल्लाह ओभारको नभै आंतककारी नेता ओसामा विन लादेनको थियो जसले पछि अमेरिकाको ट्वीन टावर ध्वस्त गर्ने आदेश पनि दिएका थिए ।

जब जब धर्मको क्षति हुन्छ र पापकर्म वढ्दैजान्छ तव म अवतार लिनेछु भनेर कृष्णले महाभारतमा भनेका छन् । इश्वरीय अवतारको रुपमा नै सही अन्तत्वगत्वा आतंककै वहानामा भए पनि तालीवानी क्रुर शासकहरुको विनाश भएरै छाड्यो । लादेनलाई संरक्षण गरेको र आतंकको थलोको रुपमा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरि तालिवानीहरुलाई पतन गराएपछि धेरैले त्यो घट्नालाई आध्यान्मिक रुपमा गाासेर विश्लेषण गरे । त्यसो त अमेरिकी अभियान आफैमा अर्को आतंङ्क हो भनेर विश्व समुदायमाझ आलोचित भइराखेको छ । हामी त्यता नजाउँ यतिमात्र बुझौं मूर्तिमाथि अन्याय गर्नेहरु धेरै दिन टिकेनन् ।

निमा तिमीले थाहा पाएका थियौ हालका इजरायलका राष्ट्रपति सिमोन पेरेजले टेम्पल माउनट भित्रको मुस्लिम वाहुल्यता रहेको धार्मिक स्थलमा प्रवेश गर्दा यहुदीहरुले इजरायलभरी कत्रो विरोधको आगो सल्काएका थिए ! तिम्रो समुदायले पनि वुद्धमूर्ति भत्काएको त्यो क्षणमा के हिन्दु वा मुस्लिमजस्तै या कि्रशिचयन वा यहुदीहरु जस्तै विपक्षको मन्दिर मस्जिद वा चर्च भत्काएको आगो वाल्ने र पुस्तक ग्रन्थहरु जलाउने कार्य गर्न सक्दैनथ्यो र

तर अहँ उनीहरु वुद्ध मार्गमा हिडेका थिए । स्वभाविक रुपमा तिम्रो समुदायबाट खेद र आपत्ति त आयो तर यसले संघर्ष र रक्तपातको कुनै बाटो लिएन । सधै झै बुदमार्गीहरु उस्तै शान्त मौन र सहनशील रहिरहे । उनीहरु बुद्ध प्रकृतिजस्तै नितान्त उद्धेगरहित सागर बनिरहे । फलस्वरुप तिम्रो वुद्धका कालिगढ भिक्ष्ाहरु सन २०१० भित्रमा त्यही महान वुद्ध त्यहि स्थान र त्यही आकारमा निर्माण गरिरहेछन् र सहनशिलताको अर्को इतिहास कोरिरहेछन् ।

अफगानिस्तानमा वुद्धमार्गीहरु विस्थापित भएर मुस्लिमहरुको जगजगि भएपश्चात पनि त्यो ऐतिहासिक वामियान उपतयका र हजारौ वर्ष पुरानो विशाल बुद्ध प्रतिमा बुद्ध समुदायको लागि गौरवको पर्यटकीय क्षेत्र बनेको थियो ।

यद्यपी धार्मिक स्थलको रुपमा स्थानीयहरुले स्थापित हुन भने दिएका थिएनन् । कतिपयलाई त त्यो वुद्धको मूर्ति थियो भन्ने सम्म पनि थाहा थिएन । शाक्यमुनिको वसेको प्रतिमालाई उनीहरु कुनै स्त्रीको मूर्ति भनठान्थे र विेरोचनलाई पुरुषको आकृति । वुद्ध धर्मावलम्वीहरु त्यहाँ कोही बस्तैनथे ।

पछिल्ला धेरै वर्ष देखि यता त्यहाँ कुनै गेरु वस्त्रधारी बुद्ध भिक्ष्ाहरुले मानेपेमे हुँ भन्दै हिडेको देखिएको थिएन । न त भत्कदै गएको बुद्ध प्रतिमा र खण्डहरुको अस्तितवमा रुपान्तरित भै सकेको गुमवाहरु र ढुंगे गुफाहरुमा धर्मका कुनै मन्त्र वा भक्ति संगित गुिाजएको नै थियो । पर्यटकीय धरोहरका रुपमा भ्रमण गर्नेहरु त धेरै भए होलान् तर त्यहाँ धार्मिक तीर्थयात्राको लागि वुद्धमार्गीहरु नगएको धेरै वर्ष भैसकेको थियो ।

मान्छेको नयाँ वस्ती र नयाँ समाजको निर्माण संगै धार्मिक राजनितिक उचारचढाव र पिल्स्याइहरुबीच भत्किदै गएको त्यो पत्थरको मूर्तिबाट वुद्धको आत्मा पहिले नै हराइसकेको थियो कि ! शायद हुन सक्छ तिमीहरुले यस्तै केही सोच्यौ कि भनेर विश्व सशंँकित पनि भएको थियो । तिमीहरुको मौनता र मूर्तिमा आत्माको प्रतिस्थापन गर्ने परम्पराले यस्तै सोच्न वाध्य वनाएको थियो । तर तिमी विरोधमा नआएको त्यो कारणले थिएन ।

वुद्ध त शान्ति हो तिमीहरु शान्त भयौ । तिमीले कसैलाई शत्रु देख्नै सकेनौ अज्ञानीहरुको भूलको लागि सँघर्णमा जानु तिम्रै धर्मले दिएन । प्रतेक ढुङ्गाहरुमा वुद्ध आत्मा वाँचिरहेको थियो जसको भौतिक स्वरुप भत्काइदा तिम्रो मन दुखे पनि सधै अटल र निश्चल रहेको तथागतको शान्त आत्मिक स्वरुप र शान्तिप्रतिको आस्था तिमीले भंग हुन दिएनौ ।

गोपाल योाजनको यो गीत जस्तैः

समर खेल्न शत्रु छैन
जित्नुपर्ने युद्ध छैन
शान्ति भन्दा पर अर्को
भेट्नुपर्ने वुद्ध छैन ।
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI