Responsive Ad Slot

मेरो बारे

Xey

समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौं मौसमहरु लेखिएका छन । असंख्य अस्तित्वहरु अटाएका छन यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले 'कृष्णपक्ष' भन्ने नाम बोकेर हिडेको छ । जसरी संसारका समस्त अवयवहरु भिन्न अस्तित्व बाँचेका छन, त्यसरी नै 'कृष्णपक्ष' पनि एउटा पृथकता बाँचेको छ ।

मुलत: म कथाहरु लेख्छु, चित्रहरु कोर्छु यद्यपि लेख्नु र रंगसंग खेल्नु यी दुवै मेरा पेशा भने होइनन  । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही बर्षदेखि इजरायलमा बस्छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरुको ठूलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ । बाध्यता, रहर, बेरोजगारी, नियति या पलायन ... जे संज्ञा दिएपनि मेरो कर्म नेपाल र नेपालीको तितो सत्य हो । म त्यही सत्य हिडेको छु - परदेश यात्रा । परदेश, जहाँ रहर र सपनाहरु धेरै तर फुर्सद कम भएका लाखौँ युवाहरु छन, घर छाडेर विरानो मुलुकमा कर्म गर्न आएका, तिनै श्रमजीवीहरुको लहरमा उभिएको छु म । र घर छोड्ने यो यात्रा, यो लहर सदियौं देखि चलायमान छ ।

स्वाभावले म सानैदेखि अन्तर्मुखि रहेँ । कल्पनामा हराउनु, रंग र कुचिहरुसँग खेल्नु मेरा रुचीका विषयहरु थिए । आफैँसँगको सम्वादले मलाई हरदम साहित्य र चित्रकारितामा डुव्न प्रेरित गरिरहे । आफैँसँगको यो स्ववार्तालाप कुनैवेला यति सघन भइदिन्छ, म बिर्सन्छु कि अभावले पराजित भएका छन मेरा सपनाहरु, बिर्सिन्छु कि यो व्यस्तता र मरुभूमिका पसिनाहरु ... र कोर्छु दुईचार अक्षर, त्यही हो मेरो साहित्य ।

'तिर्खा कथासंग्रह' मेरो पहिलो प्रकाशित कृति हो । सम्पादनको हिसाबले इजरायल प्रवासबाट प्रकाशन हुने साहित्यिक पत्रिका नेपाल चौतारी र मेरो नेपालको सम्पादन पनि गरेँ । त्यसका साथै 'इजरायल भूमिमा नेपाली कलमहरु' नामक संयुक्त संग्रह पनि निकाल्यौँ । साहित्यिक रचना, समाचार र अन्य गतिविधिहरुसँग अपडेट रहन इन्टरनेटमा 'साहित्यसंसार डट कम अनलाइन पत्रिका पनि सञ्चालन गर्दै आएको छु ।

कहिलेकाही लाग्छ म सपनै सपनाले भरिएको मानिस हुँ , शायद हामी सबै यस्तै छौँ । यदि सपनै नहुदो हो त जीवन यति सुन्दर, यति प्रिय र अर्थपूर्ण पनि हुदैनथ्यो होला । सपना र विपनाको अन्तर समयले सिकाउदै जाँदो रहेछ मान्छेलाई । हेर्दै जाउँ कति छुट्ने हुन, कति साकार हुने हुन ... ।
मलाई भेट्न मेरो फेसबुक- http://facebook.com/ekrishnathapa 
ट्वीट- http://twitter.com/ekrishnathapa 
या ब्लग http://blog.krishnathapa.com/ मा ढकढकाउनु होस्,

म त्यही हुनेछु ... मेरा शव्दहरुसँग ।



Don't Miss
© all rights reserved
Crafted with by NetKUTI