कृष्णपक्ष

krishnathapa.com



मृत्यु शाश्वत सत्य हो, जो जन्मसँगै जोडिएर आएको हुन्छ । केवल प्रश्न के हो भने भौतिक शरीरको अवसान भैसकेपछि पनि ऊ बाँचेको समाजमा उसको कति योगदान रह्यो ? या मानिसका हृदयमा ऊ कति सम्झना बनेर बाँच्न सक्यो ? यी प्रश्नहरूले विशेष अर्थ राख्छन र केही मानिसहरू मृत्युपर्यन्त पनि यस धर्तीमा बाँचिरहन्छन ।

लगभग एक दशकदेखि म प्रवासी जीवन बाँचेको छु, इजरायलमा ‘केयरगिभर’को रुपमा जागिरे भएर । पराईभूमि न इच्छा थियो न रहर, नियतिले लेखेको यो कर्म केवल सम्झौता मात्र थियो – जिन्दगीसँग गरेको सम्झौता, समयसँग गरेको सम्झौता । यद्यपि आजकल ‘केयरगिभर’ नामको यो कर्ममा अभ्यस्त भइरहँदा लाग्छ यो पुण्य कर्म पनि हो । हुन सक्छ यो आफैले आफैसँग गरेको एउटा मन बुझाउने बाटो । तर लाग्छ अशक्त, असहाय या शक्ति क्षीण हुदै गएका वृद्ध वृद्धाहरूको स्याहार जागिरे उपक्रममात्र हुन सक्दैन, यसमा कहीं न कहीं आत्मीयता जोडिएको हुन्छ, यसमा केही न केही अंश सेवा र पुण्यभाव जोडिएको हुन्छ ।

यो प्रश्न मेरालागि मात्र होइन, यो त प्रवासमा श्रम र पसिना बगाउने तर कला र साहित्य बाँच्ने हरेक नेपाली मनहरूको दुरावस्थाप्रतिको चिन्ता र चासो थियो । मैले यसरी बुझें, जो पसिना पोख्दा पोख्दै, लेख्दा लेख्दै या सपनाहरूलाई आकार दिँदादिँदै सपनै जसरी विलाए ।
नेपालका एक वरिष्ट साहित्यकार, साहित्य सेवी कमलमणि दीक्षितको भौतिक देह अवसान भयो । कमलमणि दीक्षित नेपाली साहित्यको खोज, अनुसन्धान र उन्नयनका लागि अन्तिम घडीसम्म सक्रिय हुनुहुन्थ्यो । नेपाली साहित्यको क्षेत्रमा उहाँले गरेको योगदानलाई आगामी पुस्ताले श्रद्धा, आदर र प्रेमपूर्वक सधैँ सम्झिरहनेछन । नेपाली साहित्यमा लगभग परिचय नै नभएको मेरो एउटा पुस्तक पढेपछि उहाँले ‘केयरगिभर’ शव्दले आफू भावुक भएको बताउनु भएको थियो । हाम्रो इमेल आदान प्रदानको शृंखला शायद इजरायलमा मेरो परिचय बनेको यही ‘केयरगिभर’ शव्दबाट आरम्भ भएको हुनुपर्छ । उहाँ भन्नुहुन्थ्यो – म पनि एक ‘केयरगिभर’ हुँ ।

नेपाली भाषा साहित्यको खोज अनुसन्धान र शोधका विद्यार्थीका लागि अमूल्य खजानाका रुपमा रहेको ‘मदन पुस्तकालय’का संस्थापक तथा नेपाली साहित्यमा सर्वाधिक लोकप्रिय र उल्लेख्य रहेको मदन पुरस्कार गुठीका अध्यक्ष दीक्षित नयाँ पुराना सबै साहित्यकारलाई उतिकै माया र हौसला दिनुहुन्थ्यो । उहाँले एकपटक सोध्नु भएको थियो – तिर्खाको अन्तिम कथाभित्र मेरो कतिको आफ्नो अंश छ ? या कृष्णपक्षलाई त्यसले कति प्रतिविम्बित गरेको छ ? यो प्रश्नले पक्कै मलाई पनि भावुक बनाएको थियो ।

यतिखेर त्यो छोटो र अधुरो लाग्ने कथाको स्मरण भयो । हरेक मानिसले आफ्नो छातीको गहिराइमा पालेको हुन्छ कुनै न कुनै सपना । र जहाँ पुगेपनि, धर्तीको जुन कुनामा पुगेपनि ती सपनाहरूले उसलाई घच्घच्याइरहन्छ । तिर्खाको ‘अन्तिम कथा’ यस्तै वेमेल कर्म बाँच्ने कथाकारको कथा थियो, चित्रकारको कथा थियो, जो जागिरे जीवनबाट फुर्सद निकालेर चित्र कोर्न मन पराउँछ, कथा लेख्न मन पराउँछ । चित्र कोर्ने, रंगहरू मन पराउने, रहरहरू पच्छ्याउदै साहित्य सिर्जना गर्ने, कविता लेख्ने, सुनाउने र भाषा साहित्यको प्रेमलाई कुनै न कुनै रुपमा बचाइ राख्ने त्यो पात्रको तर ‘अन्तिम कथा’ लेख्ने धोको भने अधुरै रहन्छ ।

स्वर्गीय दीक्षितले उद्ग्रित गरेको मेरो कथाको सार यही हो । जसले म मात्र हैन मजस्ता धेरै परदेशीको प्रतिनिधित्व गरेको छ ।

डायोस्पोराको नेपाली साहित्य र यसको अस्तित्वलाई मुलधारले केवल रहर र नोस्टाल्जियाबाहेक बढी नठानेको या गम्भीरतापूर्वक स्वीकार नगरेको गुनासो सधैँ रहने गरेको छ । यसर्थ प्रवासका हरेक साहित्य साधकहरूलाई मुलधारबाट आउने सानोभन्दा सानो टिप्पणी, शुभकामना या गालीहरू पुरस्कार लाग्छन, ठूलो हौसला भइदिन्छन ।

वरिष्ठ साहित्यसेवी कमलमणि दीक्षितसँगको मेरो अभाषी आत्मीयता यस्तै प्रकृतिको रह्यो । हिजो सेतोपाटिमा भैरव रिसालले लेख्नुभएको रहेछ – कमलमणिजीको विशेषता त्यही हो जस्तो लाग्छ, उहाँ दोस्ती बनाउनलाई सम्पन्नता र विपन्नता हेर्नुहुन्नथ्यो ।” नत्र कुन प्रेरणाले नेपाली साहित्यका यी अग्ला पुरुषबारे म यसरी लेखिरहेको या सम्झिरहेको हुन्थेँ होला र ? जीवन यापनका कर्म एकातिर छ भने भाषा साहित्य कला र संस्कृतिको प्रेमले डोर्याएका, देशप्रेमले डोर्याएका कर्महरू एकातिर ।

दीक्षित अन्तिम घडीसम्म नेपाली साहित्य लेखन र अनुसन्धानमा सक्रिय रहनुभयो । उहाँले साहित्यमा कलम चलाउने वरिष्ट देखि कनिष्ट सम्मलाई माया गर्नुभयो । उहाँकै सक्रियतामा नेपाली साहित्यको सर्वाधिक लोकप्रिय पुरस्कार मदन पुरस्कार स्थापित भयो ।

मैले धेरै मृत्युका कथाहरू लेखेको छु, भौतिक देहको समाप्ति त एउटा अकाट्य सत्य हो । नेपाली भाषा साहित्यको श्रीवृद्धिमा अनवरत सक्रिय साहित्यसेवी कमलमणि दीक्षितको देहावसानसँगै म यतिखेर सोचिरहेछु – उहाँले किन त्यो ‘अन्तिम कथा’ र त्यो पात्रप्रति चासो राख्नुभयो होला ? उद्ग्रित गर्नुभयो होला ?

यो कथाभित्र म आफै कत्तिको थिएँ ? यो प्रश्न मेरालागि मात्र होइन, यो त प्रवासमा श्रम र पसिना बगाउने तर कला र साहित्य बाँच्ने हरेक नेपाली मनहरूको दुरावस्थाप्रतिको चिन्ता र चासो थियो । मैले यसरी बुझें, जो पसिना पोख्दा पोख्दै, लेख्दा लेख्दै या सपनाहरूलाई आकार दिँदादिँदै सपनै जसरी विलाए । जसका यत्नहरू मरुभूमिको बालुवामा कोरिएका अक्षरहरू झैं मेटिए …. र मेटिइरहेछन ।

यसरी साहित्यमा कलम चलाउने स्वदेश या प्रवासका, साना र ठुला सबैलाई सम्झने अन्तिम घडीसम्म अनवरत नेपाली साहित्यको श्रीवृद्धिमा समर्पित श्रष्टा कमलमणि दीक्षितलाई हार्दिक श्रद्धान्जली ।

कृष्णपक्ष थापा 
इजरायल 

यस्तै यस्तै :

No comments:

Leave a Reply







    COMING SOON !!!





    COMING SOON !!!