धेरै दिन भयो, व्यस्त व्यस्त छु तर केमा ? यसको उत्तर भने आफैसंग पनि छैन । सबै कुरा अनियमित । एउटा कुरा भने नियमित जस्तै भएको छ - ब्लग लेख्ने बेला सधैजसो व्यस्तताकै प्रसंग उठाएर शुरु गर्नु :) केही कथाहरु त छन, अलिकति च्यातिएका, लेख्दा लेख्दै छोडेका अधुरा वा पुरै लेखेर पनि राख्न मन नभएका । दिनहरु भिन्न प्रकृतिले व्यतित हुन् थालेका छन, पहिलेको भन्दा बिल्कुल भिन्न । ओह! म हिड्ने, हास्ने, खेल्ने र म रम्ने बिषयहरु कस्तरी बदलिएका ? पार्थक्यको यो भिषण पर्दा लाउने समयसँग बारम्बार सोधी रहेछु म, सिर्जनामा हराउन चाहने र प्रतिभा उजागर गर्न चाहने त्यो मन कहाँ गयो ? ए कोही फर्काइदेउ, त्यो कृष्णपक्ष कहाँ गयो ?
रहर र चाहना अनि लक्ष्य उद्देस्य अनगिन्ती हुन्छन मानिसका.. केही पुरा र केही अधुरा । ब्लग र लेखन त्यस्तै एउटा रहर । हामी हरेक दिन इन्टरनेटमा जान्छौं, दिनमा कैयौं पटक गुगललाइ सामाग्री खोज्न अह्राउछौँ । फेसबुक त हामी धेरैको आदत नै भएको छ । संसार डिजिटल दुनियामा प्रवेश गरेजस्तो, इन्टरनेट संस्कृतिमा हामी रमाइरहेका छौँ । हाम्रो यही इन्टरनेट ट्राफिक यानेकि भिजिट र क्लिकको फाइदा फेसबुक र गुगल जस्ता कम्पनीहरुले उठाइरहेका छन । हामीले प्रयोग गरेको भिजिट ट्राफिकको आधारमा उनीहरुलाई इन्टरनेट एड मिल्ने गर्छ तर त्यो पैसा एक्लै लिइरहेका हुन्छन । राम्रा ट्राफिक भएका ब्लग, साइटहरुलाइ केही विज्ञापन शेयर गरेर नाउँमात्रको आय गुगलले बाडे पनि तपाईं हामी जस्ता सामान्य प्रयोगकर्ता (ट्राफिकको खास श्रोत) लाई भने उनीहरु केही शेयर गरिरहेका हुदैनन् ।
अघिल्लो बर्ष नेपाली ब्लगरहरुको भेलामा मैले गुगल आम्दानीको बिषयमा कुरा उठाएको थिएँ । सबैको जोड स्तरीय सामाग्री सम्प्रेषणमा केन्द्रित रह्यो, पैसामा हैन । हुन त हो, सिर्जना अर्थमुखी हुनुहुन्न र यो पैसामा तुलना हुन पनि सक्दैन । त्यसमाथि नेपाली भाषामा लेखिएका ब्लगहरुमा गुगलको पैसा आकाशको फलजस्तै हो । तर छिमेकी राष्ट्र भारतका अमित अग्रवालले ब्लगबाट मात्र महिनाको ३६ हजार डलर आम्दानी गर्दा रहेछन । ३६ हजार डलर ? यो हाम्रो लागि अपत्यारिलो लाग्न सक्छ । तर सत्य हो, उनका थुप्रै प्राविधिक विषयका सक्रिय ब्लगहरु छन, उनीजस्ता भारतमा सिक्स डिजिट आम्दानी हुने असंख्य फुल टाइम ब्लगर/पब्लिशरहरू छन, उनीहरूको पेशा नै व्यवसायिक ब्लगिङ हो ।
नेपाली वेब पब्लिशरले किन सक्दैनन् त? जहाँ ट्राफिक र क्लिक हुन्छ भने त्यहाँ रेभिन्यु हुन्छ, थोरै हुन सक्छ तर हुन्छ । यही सिदान्तलाइ पच्छ्याउदै मैले सानो टार्गेट बनाएँ - टेन डलर टार्गेट पर डे । अर्थात दिनको दश डलर बनाउने । एड्सेन्स र एडवर्ड भन्ने कार्यक्रम अन्तर्गत विज्ञापन राख्न दिन्छ गुगलले । गुगलको अर्बौं आम्दानीको मुख्य श्रोत पनि यही नै हो । पहिलो पब्लिशरलाइ र दोश्रो पब्लिशर + विज्ञापनकर्तालाइ । पहिलो कार्यक्रममा भाग लिएँ जसमा मेरा सर्च इन्जिन र युट्युब होस्टेड विज्ञापन पनि शामिल छन । र इन्टरनेटमा बिताउने फुर्सदको समयलाइ सामाग्री खोजी, पोस्टिङ, शेयरिंग र भिजिटर ग्यादरिंगमा लगाएँ। दश डलर निकै सानो टार्गेट हो, विदेशमा बस्नेहरुलाई एकडेड घन्टाको पारिश्रमिक होला । तर मैले सम्झिएँ - 'स्मल थिंङ्गस क्यान मेक अ बिग डिफरेन्स' । त्यसमाथि म गाउँमा जन्मिएको हुर्केको सामान्य किसानको छोरा । घर फर्केपछि दिनको दश यानेकि महिनाको ३०० मेरो जागिर बन्न सक्छ । फेरी त्यसबेला सम्म त यो टार्गेट दोब्बर हुन पनि के बेर ?
My google adsense overview
म धेरै समय यही स्मल थिंङ्गमा अल्झिएँ ।
यो सानो टार्गेट त क्रस भएको छ तर यसले मेरो दिनचर्या र सिर्जनामा पारेको असरलाइ न्यून गर्नेपर्ने अर्को आवश्यकता साथसाथै थपिएको पनि छ । समयको व्यवस्थापन कसरी गर्ने ?
आफुलाई अनुशासन र नियममा नबाँधी केही हुदैन, यो त प्रष्ट छ । त्यसैले मैले अब हरेक हप्ताको शुक्रबार एउटा रचना (कथा, कविता, गीत, गज़ल या गन्थन मन्थन जेसुकै ) यही ब्लगमा लेख्ने अर्को टार्गेट बनाएको छु, 'दश डलर टार्गेट' जस्तै त्यो टार्गेट पनि पुरा गर्न सकिएला ?