Responsive Ad Slot

प्रेमिकाको लागि जितेको देश

No comments

Thursday

लिमासोल दर्बारमा हामीले सदियौं पुराना प्राचीन ढुंगाहरू मात्र देख्यौं । यहाँ दरबारका अवशेष बाहेक दर्बार भन्न योग्य केहीपनि थिएनन थियो त केवल यो भूमिको इतिहासमा लेखिएको निकै पुरानो सम्भवत: पहिलो ऐतिहासिक प्रेमकथा … ।

साइप्रस पौराणिक कालदेखि नै एक प्रेमिल र रोमान्चक स्थलको रुपमा प्रख्यात थियो । यहाँ प्रेमका उत्सवहरू मनाइन्थे, वेलायतका मध्ययुगीन राजा किंग रिचार्ड प्रथम बाह्रौँ शताव्दीमा यो प्रेमनगरीमा आइपुगेका थिए । उनको र राजकुमारी बेरेंगेरियाको रोमाञ्चक प्रेमकथा लिमासोल गढले आफ्नो छातीमा लुकाएर राखेको थियो ।

रिचार्ड प्रथमकी प्रेमिका साइप्रसमा पक्राउ 


बेलायतका राजा किंग रिचार्डले आफ्नो जीवनकालको अधिकांश समय दरबारमाभन्दा प्रवासमा बिताए । १६ वर्षकै कलिलो उमेरदेखि सैन्य कमान्ड सम्हालेका किंग रिचार्डको जीवन राजकाजभन्दा पनि एक योद्धाको रुपमा युद्धमैदानमा या त पराजीत भएपछि युद्धबन्दीको रुपमा कैदमा व्यतित भयो ।

अप्रिल ११९१ मा किंग रिचार्ड फौज र बन्दोबस्तीसहित इटालीबाट इजरायलको लागि रवाना भए । उनको यस यात्रामा उनकी प्रेमिका बेरेंगेरिया पनि सवार थिइन तर उनीहरु अलग अलग जहाजमा थिए । स्पेनको पैम्प्लोनामा भएको भव्य खेलकुद उत्सवमा बेलायतका तत्कालिन राजकुमारले बेरेंगेरियालाई पहिलोपटक देखेका थिए, त्यसबेला देखि नै उनीहरुको प्रेम भएको थियो ।

यात्राको क्रममा समुद्रिक आँधीमा परेर उनकी दिदी जोआना र प्रेमिका बेरेंगेरियाको जहाज भने आँधीसँग जुद्धै साइप्रसको दक्षिणी तटमा उत्रियो । उनीहरूसँग खरखजाना र अन्य मालवाहक जहाजहरू पनि थिए । दुर्घटनामा केही यात्रुहरू घाइते र केही हताहत समेत भए । साइप्रसका तत्कालीन शासक इज्याक कम्नेनसले भड्किएर आएको जहाज कब्जा गरेर उनीहरुसंग भएको खर खजाना लुट्नुका साथै रिचार्डकी प्रेमिका राजकुमारी बेरेंगेरिया लगायत सम्पूर्ण यात्रुहरूलाई बन्दी बनाए ।

यो खबर थाहा पाउने बितिकै ग्रीसमा आइपुगेका रिचार्ड प्रथम मे ११९१मा लिमासोल आए । उनले साइप्रसका अधिकारीहरूलाई आफ्नी प्रेमिका र अन्य सम्पूर्ण बन्दीहरूलाई रिहा गर्न अनुरोध गरे तर साइप्रसका अधिकारीहरू मानेनन् त्यसपछि उनले साइप्रसमाथि हमला गरेर आफ्नी प्रेमिका र यात्रुहरूको रिहाई मात्र गरेनन, साइप्रस नै आफ्नो कब्जामा लिए । रिचार्डले लिमासोलपछि निकोसिया, पहाडी किल्लाहरू र उत्तरी क्षेत्र गिर्नेयामाथि समेत हमला गरेर साइप्रसको सम्पूर्ण शासन शक्ति हातमा लिए । इज्याक कम्नेनस लगायत अधिकारीहरूलाई सजाय दिइयो । यसरी साइप्रसमा अंग्रेज शासनको आरम्भ भयो ।

साइप्रसमाथि विजय प्राप्त गरेपछि राजा रिचार्ड प्रथमलाई स्थानीयहरूले तथा इजरायलबाट समेत विशेष गरी गाइ अफ लुसिग्नानको आदेश अनुसार अनेकौं राजकुमारीहरू विवाहको प्रस्तावसहित साइप्रस ल्याइए । साइप्रसका शासक इज्याकले समेत सम्झौता प्रस्ताव स्वरुप आफ्नी एकमात्र राजकुमारी सुम्पिएर राजाकै इच्छा अनुसार बिहे गरिदिने र सन्धी गर्ने निर्णय गरे । तर उनले पटक पटक धोका दिएर पुन आक्रमणको प्रयास पनि गरे । इतिहासकारका अनुसार किङ्ग रिचार्डले इज्याक कम्नेनसलाई सुन र चाँदीको सिक्रीले बाँधेर जेल पठाएका थिए किनकि अन्तिम पटक आत्मसमर्पण गर्दै सम्राट इज्याकले आफूलाई फलामले नबाँध्ने वाचा गराएका थिए ।

वेलायती राजा रिचार्ड प्रथमले वास्तवमा इजरायलको जेरुसेलममाथि विजय हासिल गरेर क्रिश्चियन प्रभुत्व स्थापित गर्ने सपना देखेका थिए । त्यसैले उनले साइप्रसमाथिको विजयलाई खासै महत्व दिएनन र यहाँ शासन पनि गरेनन । प्रेमिकाको लागि सिंगो देश जितेपनि उनले साइप्रसमा राज्य भने गरेनन, विवाह गरेपछि लगत्तै यो जोडी इजरायलतिर लागेको इतिहास छ ।


बेलायतका राजा किङ रिचार्ड प्रथमको चित्र 


वेलायती राजाद्वारा भएको साइप्रस कब्जा इतिहासमा निकै अर्थपूर्ण रुपमा लिइन्छ किनकि सामुद्रिक द्विप या समुद्रको सहयोग बिना इजरायलमाथि धावा बोल्न र क्रिश्चियन अधिपत्य कायम गराउन असम्भव थियो । यद्यपि राजा रिचार्ड जेरुसेलम आक्रमणको यस अभियानमा कहिले सफल भने भएनन् ।

वेलायतका राजा रिचार्ड र तत्कालीन नभार अधिराज्य (अहिलेको स्पेन)की राजकुमारी बेरेंगेरियाको १२ मे १९९१का दिन साइप्रसको लिमासोलमा विवाह सम्पन्न भयो । वेलायती राजाको यो वैवाहिक समारोह अत्यन्त भव्य र उल्लासपूर्ण भएको थियो । त्यसै दिन राजकुमारी बेरेंगेरियालाई साइप्रस र वेलायतकी महारानी घोषित गरियो भने किङ्ग रिचार्डले आफूलाई साइप्रसका राजा घोषणा गरे । त्यसपछि साइप्रसबाट उनीहरू ८ जून ११९१मा इजरायलको लागि प्रस्थान गरे ।

राजकुमारी बेरेंगेरिया बेलायतकी रानी घोषित त भइन तर उनको वेलायत फिर्ती भने सहज भएन,युद्धको मैदानमै उनीहरूको अधिकांश जीवन बित्यो । राजा रिचार्डको दुखद मृत्यु भइसकेपश्चातमात्रै उनले आफू रानी भएको त्यो देशमा पाइला टेक्न पाइन् ।

एकादेशमा साइप्रसको लिमासोलमा घटेको कथा हो यो । यो कथा सुनिसकेपछि म एकपटक फेरि राजा रिचार्ड र बेरेंगेरियाको त्यही रात्रिभोजको बर्णनमा हराउछु, जहाँ रोमान्चक झ्यालीहरू प्रदर्शित भएका थिए, गीत संगीतको प्रस्तुति गुञ्जिएको थियो । थरीथरी मदिराको वर्षा गरेर यो शहर पुरै उत्सवमय भएको थियो । हामी अब त्यो ठाउँ जानेछौं – कोलोसी, जसले संसारकै पहिलो मदिरा ‘कमाण्डरिया’ उत्पादन गर्यो र राजाहरुलाई मिठो नशामा झुलायो ।

लिमासोल किल्लाका यी सुनसान भित्ताहरूले राजा र रानीको यो कथा प्रत्येक आगन्तुक पर्यटकलाई सुनाउछ, मैले पनि सुनेँ र तपाईंलाई सुनाएँ । भन्नुस त कस्तो लाग्यो ?

कृष्णपक्षको यो ब्लगबाट साभार गरिएको पुरा लेख पढ्न यहाँ जानुहोस् 

मध्ययुगीन गढी र युद्धका डोबहरू

No comments

Wednesday

संसारमा प्रेम र युद्धविनाको इतिहास कहिपनि छैन, हरेक इतिहासहरू शक्ति संघर्षका कथाहरूले भरिएका हुन्छन, इतिहासका पानाहरू देशका सीमानाजस्तै युद्ध र रगतले लेखिएका हुन्छन ।

लिमासोल पुरानो बन्दरगाहको छेवैमा रहेको पौराणिक भवनहरू, सदियौँ पुराना चर्च र मस्जिदहरूले, शहरको हरेक चोक र गल्लीहरूले मानौँ साइप्रसको इतिहासका दस्तवेजहरू पल्टाइरहेछन, सामुद्रिक छालहरूको मनोहर संगीतसँगै इतिहासका कथाहरू सुनाइरहेछन ।

समुद्रको बीचमा रहेको यो शान्त र सुन्दर द्वीप साइप्रसको इतिहास पनि यस्तै यस्तै प्रेम,युद्ध र संघर्षका कथाहरूले भरिएको छ र आज पर्यन्त यो क्रम जारी नै छ । प्रेमकी देवी एफ्रोडाइटको जन्मभूमि यो साइप्रस समयका विविध कालखण्डहरूमा कहिले रोमन, कहिले वैजेन्टाइन कहिले, अंग्रेज, तुर्कमेनिस्तान वा ग्रिक हुदै आज स्वतन्त्र देशको अस्तित्वका रुपमा स्थापित छ । आधुनिक साइप्रसमा पनि उत्तरी र दक्षिणी साइप्रसका वासिन्दाहरूका वैमनस्यले घातक र भयानक गृहयुद्धको रुप लिएको इतिहास ताजै छ ।

उत्तरी साइप्रसले आजसम्मै आफूलाई एउटा भिन्नै राष्ट्र ‘टुर्किस रिपब्लिक अफ नर्दन साइप्रस’ नामाकरण गरेर स्वाशासित क्षेत्र घोषणा गरेको छ यद्यपि साइप्रसको यो तथाकथित उत्तरी राज्यलाई तुर्किस्तान बाहेक अन्य कुनैपनि राष्ट्रले अनुमोदन गरेका छैनन, मान्यता दिएका छैनन ।



लिमासोल आएपछि थाहा भयो यो शहरमा नीलो समुद्रको सुन्दर लहरहरूमात्र होइन, जहाजका लश्कर र चीसा हावाका झोक्काहरूमात्र होइनन अरुपनि औधी सुन्दर कुराहरू रहेछन । लिमासोल पुरानो बन्दरगाहको छेवैमा रहेको पौराणिक भवनहरू, सदियौँ पुराना चर्च र मस्जिदहरूले, शहरको हरेक चोक र गल्लीहरूले मानौँ साइप्रसको इतिहासका दस्तवेजहरू पल्टाइरहेछन, सामुद्रिक छालहरूको मनोहर संगीतसँगै इतिहासका कथाहरू सुनाइरहेछन ।

ठमेलको झल्को दिने पर्यटकीय होटल रेस्टुरेन्ट र क्युरियो पसलहरू भरिएका घरहरूको पछाडि हामीले धरहराजस्तो अग्लो गजुरको आकृति देख्यौँ । यो ग्र्यान्ड मस्जिद रहेछ । तुर्की साम्राज्यको आक्रमण पछि यहाँको क्रिश्चियन सम्पदा र संस्कृतिमाथि क्रमश इश्लामिक अतिक्रमण भयो धेरै संरचना भत्काइए । शायद यसै क्रममा १६ औं सदिमा लिमासोलको मुटुमा यो मस्जिद निर्माण गरियो । मस्जिद प्रवेश गर्न कुनै रोकतोक र समयसीमा थिएन तर महिला पर्यटकहरूलाई लक्षित गरेर बाहिर प्रवेशद्वार नेर भड्किला र छोटा पहिरन लगाएर प्रवेश गर्न नपाइने सूचना राखिएको थियो । मलाई कुनै अप्ठेरो भएन । तर छेवैमा योभन्दा भव्य र सुन्दर गिर्जाघरको दृष्य देख्दा यस्तो लाग्यो कि इश्लामिक प्रभुत्वको अन्त्यसँगै मुस्लिम धरोहरभन्दा क्रिश्चियन सम्पदाहरू चर्च र गिर्जाघरको संरक्षण र जीर्णोद्धारमा जोड दिइएको हुनुपर्छ । उन्नाइसौँ शताव्दीमा बनेको गिर्जाघर लिमासोलको अर्को आकर्षण थियो ।

शहरको मध्यभागमा अवस्थित थियो लिमासोल गढ, जसले शताव्दिऔँ पुराना युद्धका अवशेषहरू बोकेको थियो । विभिन्न समयमा विभिन्न शासकहरूले आक्रमण गर्ने, पुराना संरचना नष्ट गर्दै आआफ्ना किल्ला खडा गर्दै जाँदा सदिऔँ पुराना दरबारका भत्किएका खण्डहर र ढुंगाहरू मात्र बाँकी थिए तिनलाई विशेष महत्वका साथ संग्रहालयको स्वरुप दिइएको थियो । लिमासोल दरबार प्रवेशद्वार भित्र पस्ने बितिकै दायाँतिर आगनमै थियो गलैचाजस्तो आकारमा रंगीन ढुंगाहरूले बनाएको कलात्मक भित्तेचित्र । अलिकति भित्र गइसकेपछि बाँयातिर थियो अत्यन्तै पुरानो जैतुनको तेल पेल्ने काठ र ढुंगाको मिल जुन सात देखि नौ शताव्दीको बीचमा निर्माण भएको अभिलेख थियो ।

प्राचीन हातहतियार, ढुंगा माटोका भाँडाकुँडा तथा समाधीका पत्थरहरू सजाएर राखिएका थिए । दरबारभित्र र बाहिर रहेका शिलालेखहरूबाट यहाँ ४देखि ७ शताव्दीमा समभवत शहरको सबैभन्दा पुरानो गिर्जाघर यही स्थलमा रहेको थाहा पाइयो । यसैगरी दशौँ एघारौँ शताव्दीमा निर्मित मध्ये वैजान्टिन धरोहरका अवशेषहरू तथा यथेष्ट प्रमाणहरू पनि यहाँ भेटिने शिलालेख र पुरातात्वित अवशेषहरूले देखाउँथे ।

बेलायतका राजा रिचार्ड प्रथमकी स्पेनिस प्रेमिका बेरेंगारिना जहाजमा जेरुसेलमतिर जाँदै थिइन, समुद्रमा आँधी आएपछि उनीहरू साइप्रसमा उत्रन बाध्य भए । यसै मौकामा साइप्रसका शासकले उनलाई बन्दी बनाए । आफ्नी प्रेमिकाको बारे यो खबर सुनेर किंग रिचार्ड पनि साइप्रस पुगे । बेरेंगेरिया लगायत सबै बन्दी रिहा गर्न अनुरोध गर्दा नमानेपछि उनले आक्रमण गरी लिमासोल कब्जा गरे । यही दरबारमा किंग रिचार्ड प्रथमको विवाह सम्पन्न भयो ।

यहाँ खास राजगृह एघारौँ शताब्दीको अन्त्यतिर निर्माण भएको पाइन्छ । सन १५३८मा तुर्कीहरूले लिमासोल आक्रमण गरी कब्जा जमाए । १५६८ सम्ममा लिमासोल दरबार पूर्ण रुपमा नष्ट गरियो । सन १५७६ मा साइप्रसमा पूर्णरुपमा तुर्कहरूले अधिपत्य जमाई इस्लामिक प्रभुत्वको साम्राज्य स्थापना भयो । भत्काइएका अवशेषहरूमाथि तुर्क किल्लाको निर्माण शुरु भयो । त्यसै समयमा जमिनमुनि कैदीहरूलाई राख्ने विशेष किसिमको भूमिगत कारागार पनि निर्माण गरियो । जुन सन १५९०मा सम्पन्न भएको थियो । त्यसको अवशेष अहिले पनि अवलोकन गर्न सकिन्थ्यो ।

किल्लाका भित्ताहरू अग्ला र बलिया थिए । चार युरो पचास सेन्ट तिरेपछि संग्रहालय भित्र प्रवेश गर्न सकिन्थ्यो यद्यपि संग्रहालयको बाहिरी परिसरमै धेरै सामग्रीहरू राखिएका थिए । पहिलो र दोश्रो तल्लाको ढोकाछेउ युद्धमा प्रयुक्त मध्ययुगीन तोप राखिएको थियो । संग्रहालयभित्र पौराणिक चित्रहरू, ऐतिहासिक दस्तावेजहरू, शिलालेखहरू र असंख्य ऐतिहासिक पुरातात्विक महत्वका वस्तुहरू सुरक्षित राखिएका थिए । माथिल्लो तलाबाट लिमासोल शहर र मरिनाको दृश्य अवलोकन समेत गर्न सकिन्थ्यो ।

हामीले प्रेम र युद्धका निशानीहरू कुँदिएका इतिहासका पर्खाल र भित्ताहरू हेर्यौँ र पुन अर्कोपटक लिमासोल शहरलाई आँखाको संसारमा सजायौँ ।

पुरा लेख यहाँ पढ्न सकिन्छ ।

नेपाली स्वाद रोमानी सत्कार

No comments
कुनै नयाँ शहर, नयाँ देशमा हराउनु, या परसम्म फैलिएको समुद्रको किनारमा उभिएर आकाश र धरतीको मिलनविन्दु क्षितिज नियाल्नु र छालहरूसँग प्रेमगित गुन्गुनाउनु … साइप्रसको यो भूमिमा पाइला टेकेपछि यस्तै यस्तै कविताजस्ता मिठा अनुभूतिहरू भइरहेका थिए ।

म साइप्रसको लिमासोल शहरको सामुद्रिक किनारमा उभिएको छु यतिखेर । आँखा अगाडि छ समुद्रको विराट छातीमा तैरिएका घरहरू, जहाजको लश्कर र ताराजस्तै चम्किरहेका झिलमिल बत्तीहरू ।

भन्छन यो शहर रातैभरि निदाउदैन – मेला लागेजस्तै पर्यटकहरूको चहलपहल छ । बरु दिउँसो सुनसान यो शहर साँझ बढ्दै गएपछि अरु उज्यालो बन्दै जान्छ, प्रेम र उल्लासको रंगमा झुम्न थाल्छ र अबेरसम्म यो सिलसिला चलिरहन्छ ।

प्रेम हो, प्रेमको कुनै देश हुदैन, भाषा र भेष हुदैन । दिदीको आत्मकथा हामीले प्रेमकथाको पुस्तक पढेजस्तै मिठो मानेर सुन्यौं । रेस्टुरेन्टकी रोमानी सेविका पनि हामीसँग सहभागी भइन । विदेशमा पनि यति न्यानो आत्मियता पाएर हामी धेरै खुसी भयौं ।

सडकको एकतर्फको छेउमा मात्र घरहरू निर्माण भएका छन, अर्को छेउ अर्थात लिमासोलको सामुद्रिक किनारै किनार माथि मरिनासम्म चउर, स्वीमिङ पुल, खेलकुद स्थलहरू भएको मनोहर उद्यानमा रुपान्तरित भएको छ । समुद्रको साइडमा पुरै खाली गरेर बनाइएको यो उद्यान पर्यटकीय स्थलजस्तै प्रतित हुन्छ यस्तो लाग्छ – यो शहर नभएर कुनै कुमारी प्रकृति हो जहाँ भेटिएका छन हामीजस्तै असंख्य फिरन्तेहरू, यायावरहरू .. ।

नयाँ देश र यात्राको रोमान्चकताले थकाई पटक्कै लागेको थिएन । समुद्रको बीचमा पोर्ट गरिएका विशाल जहाजहरू छपक्कै देखिए । साँझ बढ्दै जाँदा क्रमश जहाजमा बत्तीहरू बल्न थाले ती नभका ताराजस्तै चम्किला हुदै गए ।

मारिना र समुद्री तटको मनमोहक दृश्य मात्र हैन हामीले आँखा अगाडि देखिएका प्रत्येक नयाँ दृश्यहरूको अवलोकन गर्दै गयौं । हामीलाई ती प्रत्येक दृश्य र घटनाहरू रोमाञ्चक लागिरहेका थिए । अग्ला अग्ला पुलहरूबाट समुद्रमा हामफाल्ने पौडीबाजहरू, फिरन्ते प्रेमीहरू, सडकको मध्यभागमा अर्गन बजाउदै गीत गाउने गाइने, नाच्दै हिड्ने रोमाञ्चक युवायुवतीहरू, साइकल यात्रीहरू, स्केटींग गर्दै हिड्ने किशोर किशोरीहरू,”टु युरो- टु युरो” भन्दै बाटोमा आइस क्रिम र उसिनेको मकै बेच्ने पसलेहरू … । चलचित्रझैं ती हाम्रा आँखाहरूमा कैद भैरहे ।



अनेक मनमोहक दृश्य अवलोकन गर्दै हामी ‘जय हो’ नामको एक इन्डियन रेस्टुरेन्ट गयौं । एकजना नेपाली दिदी हुनुहुँदो रहेछ । ज्ञानु दिदी । नेपाली, इन्डियन खाना खानु भन्दापनि नेपाली दिदी हुनुभएको नाता र आत्मियताले डोर्याएर हामीलाई यहाँ ल्याई पुर्याएको थियो । खाना पनि मिठो बनाउनुहुन्छ हामीले थाहा पायौं । हार्दिक मुस्कान सहित घरै बिर्साउने गरी दिदीले हाम्रो आतिथ्यता सत्कार गर्नुभयो यस्तो लाग्यो – हामी यति खेर अर्को कुनै नयाँ देश हैन आफ्नै आफन्तकोमा पाहुना लाग्न गएका छौं ।

बिदाको दिन सैयौंको संख्यामा नेपालीहरू हुन्छन र यसपालीको सप्ताहान्तमा सबै नेपालीहरूसँग भेटघाट गर्नुपर्छ’ उहाँले बताउनु भयो । दिदीका दुई छोरीहरू ठूला भैसकेका रहेछन र ठुलो छोरीले त रेस्टुरेन्टमा सघाउदिरहिछन भने कान्छी छोरी अध्ययन गर्दै रहिछिन । र छोरा भने सानै रहेछ ।

आजभन्दा दश वर्ष अगाडि साइप्रस आउनु भएकी ज्ञानु दिदीसँग यो देशसँग जोडिएका अनेकौं तिता मिठा अनुभवहरू प्रसंगहरू थिए । नेपालीहरू रोजगारका लागि संसारका हरेक कुनामा पुगेका छन साइप्रसमा पनि यो क्रम बढिरहेको छ । नेपालीहरूको साइप्रस आगमनको यो सिलसिला कहिले देखि आरम्भ भयो यकीनका साथ् भन्न सकिने अवस्था छैन तर हालसम्म विद्यार्थी, कृषि, होटल तथा घरेलु कामदारका रुपमा लगभग ५ हजार जति अनुमानित नेपालीहरू रहेछन ।

साइप्रसमा खानेकुरा तथा आवासभन्दा पनि घुम्नका लागि सवारी महँगो पर्ने रहेछ । सार्वजनिक यातायात थोरै र निश्चित समयावधीमा मात्र चल्ने हुँदा निर्धक्क घुम्न कि त आफैले गाडी लिनु पर्थ्यो नत्र ट्याक्सीमा घुम्दा धेरै खर्च हुने कुरा दिदीले सम्झाउनु भयो र यो विल्कुल सही थियो ।

एअरपोर्ट या अर्को शहर जानेबेला मलाई पहिले नै भन्नु, म भिनाजुलाई भनिदिउँला । ज्ञानु दिदीले भिनाजु भनेर सम्बोधन गरेक व्यक्ति साइप्रसका नागरिक रहेछन। थाहा पायौं उहाँ यहीको नागरिकसँग घरजम गरेर बस्नुभएको रहेछ ।

प्रेम हो, प्रेमको कुनै देश हुदैन, भाषा र भेष हुदैन । दिदीको आत्मकथा हामीले प्रेमकथाको पुस्तक पढेजस्तै मिठो मानेर सुन्यौं । रेस्टुरेन्टकी रोमानी सेविका पनि हामीसँग सहभागी भइन । विदेशमा पनि यति न्यानो आत्मीयता पाएर हामी धेरै खुसी भयौं ।

उहाँको आत्मीयता र सदासयता यो नयाँ ठाउँमा हामीलाई लाख भयो । भन्यौं – दिदी. लिमासोल बसिन्जेल हामी हजुरकै रेस्टुरेन्टमा खानेछौँ । ज्ञानु दिदीको मुस्कान उहाँले पकाउनु भएको खाना जतिकै मिठो थियो ।

पुरा लेख यहाँ पढ्न सकिन्छ 

साँझ समुन्द्र र रंगीन क्षितिज

No comments

Monday

साइप्रसको लारनाका विमानास्थलमा उत्रदा साँझको सिरसिरे बतास चल्न थालेको थियो । बाहिर आकाशमा पश्चिमतिर पुगेको घामले धरतीसँग बिदा माग्दै थियो ।

सुरक्षाको कारण इजरायलको राष्ट्रिय ध्वजावाहक विमान ‘एलाल’ को उडान सधैं यस्तै हुन्छ – निर्धारित समयभन्दा अलिकति ढिलो । साइप्रस उत्रिसकेपछि सबैभन्दा पहिले होटलमा सम्पर्क गर्नु थियो । मैले फोन हेरेँ, मेरो फोनको चार्ज सकिएर बन्द भएको रहेछ ।

लौ फसाद पर्यो, होटलको नम्बर, अनि लिमासोलका साथीहरूको नम्बर मोबाइलमै थियो । एअरपोर्टमा चार्ज गर्ने कोशिस गरेँ तर भएन ।

यदाकदा सोच्ने गर्थेँ म, टाढा कतै घुम्न निस्कँदा कुनै अनकन्टार निर्जन गाउँमा या विल्कुल अन्जान शहरमा बेफिक्रि हराउनु र सोध्दै सोध्दै बाटो पहिल्याउदै यात्रा गर्नु कस्तो हुन्थ्यो होला ?? इन्टरनेट र फोन नभएपछि आज यतिखेर यस्तै अनुभव भइरहेको थियो ।

नयाँ देश, नयाँ शहरमा यो अनुभव विल्कुल नौलो र रोमान्चक थियो ।



यसपाली छुटीमासँगै युरोप घुम्न जाने भनेर हामीले मिल्ने साथीहरूको समूह बनाएका थियौँ । त्यो समूहमा अनन्य मित्रदेखि भर्खर परिचय भएका साथीहरू पनि थिए । भ्रमणको कल्पना गर्दा गर्दै, ग्रुप च्याट गर्दा गर्दै, यहाँ जाने यस्तो खाने र यो खेल्ने सपना बुन्दा बुन्दै धेरै समय बितिसकेको थियो ।

‘त्यो दिन’ पनि आइसकेको थियो आखिरमा कामको प्रकृति, बिदाको समस्या र भिसाको झन्झटजस्ता परिस्थितिहरूले हामीलाई बेग्लाबेग्लै ठाउँमा पुर्याइदिएको थियो ।

कोही साथी नजाने भएपछि कोही इटाली गएपछि र कोही साथी नेपाल गएपछि म भने साइप्रस आइपुगेको थिएँ । पौराणिक ग्रिक मिथक अनुसार प्रेमकी देवी एफ्रोडाइटको जन्मस्थान साइप्रस, जहाँ हरेक महिना लाखौँ पर्यटक छुटी मनाउन आउछन ।

समयको चक्रले हामीलाई सँगसँगै घुम्न दिएन । थाहै भएन कतिखेर हामीलेसँगै भ्रमण गर्ने भनेर तय गरेको मिति आएर पनि चुपचाप गइसकेको थियो । कल्पनै कल्पनामा हाम्रा मनहरू पनि कहिल्यै नपुगेका सुन्दर शहरहरूमा पुगेर धेरै पटक फर्किसकेका थिए ।



साइप्रस जानुपूर्व मैले सामाजिक सञ्जालका माध्यमबाट परीचय बनाएका र पहिलै चिनेका साथीहरूलाई साइप्रस भ्रमणको बारेमा मेसेज गरेको थिएँ । यसै क्रममा पोर्तुगलमा रहेका मेरा प्रिय साथी अर्जुनले परमेश्वर दाजुसँग परीचय गराइदिनुभएको थियो ।

त्यसदिन पनि उहाँ ड्युटीको शेडुल मिलाएर हामीलाई पर्खिरहनुभएको रहेछ । लार्नाका विमानस्थलबाट करीब एक घन्टा लामो यात्रा गरेपछि हामी लिमासोल पुग्यौँ क्रमश: समुद्र र त्यसको किनारै किनारमा बनेका शहरहरू, ठूला ठूला होटल रेस्टुरेन्ट र पर्यटकीय चहलपहलसँग हामी साक्षात्कार हुदै गयौँ ।

समुद्रको किनारैमा थियो वगैचा र त्यही बगैचाको ठिक अगाडिरहेको थियो – ‘मिस्त्राल’ । यो हाम्रो होटलको नाम हो जसको अर्थ ग्रिक भाषामा ‘चिसो हावाको झोक्का भन्ने हुदोरहेछ जो जहाजमा यात्रा गर्दा सामुद्रिक लहर चलेपछि महसुस गरिन्छ – हामीलाई होटलका स्टाफले बताए । साँझको सिरसिरे बताससँगै चौथो तलामा रहेको हाम्रो अपार्टमेन्टको टेरेसबाट समुद्र र मरिनाको मनमोहक दृष्य अवलोकन गर्न सकिन्थ्यो ।

होटल पुगेपछि मेरो पहिलो काम फोन चार्ज गर्नु थियो, एकछिन चार्जमा राखें, फोन अन भएन । घुम्नकै लागि नयाँ चार्जर किनेर ल्याएको थिएँ, ला ! शायद चार्जरले काम नगरेको हो कि ? म विल्कुल सम्पर्क विहीन भएँ । तैपनि काम गरिहाल्छ कि भनेर आइप्याड र फोन होटलको रुममै राखेर हामी डुल्न निस्कियौं ।



फोटो खिच्ने केटीको पसल

No comments

Friday

मसँग केही एक्रेलिक रंगमा कोरिएका चित्रहरू तयार भैसकेका थिए । इबेन गिबरोलको आर्टिस्टहाउसमा पेन्टिंग सिक्न जान थालेपछि अभ्यासका क्रममा कोरिएका, हिड्दा हिड्दै बाटोमा देखिएका, इन्टरनेटमा भेटिएका या आफ्नै कल्पनाको पखेटा हालेर उड्दा देखिएका दृष्यहरू मेरा क्यानभासमा अटाउन थालेका थिए । प्रेम र प्रकृति - मेरा चित्रमा प्रस्तुत हुने मूख्य विषयहरू थिए ।

कर्मले जस्तो प्रकृतिको सेवाम समर्पित भएपनि चित्रकलासँग भने कहिल्यै नटुट्ने अनौठो साइनो थियो । मलाई रंगसँग खेल्दा अपार आनन्द आउथ्यो, मानौँ म ध्यान गरिरहेछु, तपस्या गरिरहेछु, मेरो कलाको भगवानको पूजा गरिरहेछु ।

परदेश बसाईको यो एकतमासे व्यस्तता, घरदेखि टाढा हुँदा हुने एकप्रकारको नैराश्यता, विचलन र मानसिक थकानको एकमात्र सहारा अब यिनै रंग र कुचीहरू हुन थालेका थिए । मेरो खुसीको आधार । मलाई पेन्टिङ गरेर कुनै महान कलाकार बन्नु पनि थिएन, न त मनग्य पैसा आर्जन गर्ने, व्यवसायिक सफलता प्राप्त गर्ने तृष्णा थियो ।

मेरो लागि चित्रकला थेरापी थियो । तिर्खाएको प्यासीलाई पिउने पानीजस्तो या छटपटाएको विरामीलाई औषधीजस्तो स्वरुपमा आएको थियो । यो मेरो एक्लोपनाको साथी बनेको थियो, मनका बोझहरू विसाउने चौतारी बनेको थियो ।

अनवरत लडिरहेछु परिस्थिति या नियतिसँगको यो लडाइँ, जोसँग थाक्ने या भाग्ने अधिकार छैन मान्छेलाई । कर्मका प्रकृतिहरूसँग असहमति हुन सक्छन, हुनसक्छ परदेशसँग अपार असहमति होला मेरो यद्यपि हाँसेर सामना र स्वीकार गर्ने बानीको विकास समयले गराइसकेको थियो मलाई ।
यसर्थ मलाई कहिकतै कुनै दुख या गुनासो थिएन कि म किन डाक्टर भइन, इन्जिनियर भइन ? किन उच्च सरकारी कर्मचारी भइन ? किन बा आमा र शिक्षकहरूले देखेको सपना मबाट पूरा हुन सकेन ? शुरुमा यस्ता अनेक प्रश्न र गुनासाहरू गर्ने मन अब नितान्त अभ्यस्त भइसकेको थियो – समयले हिडाएका बाटोहरू हिड्न र नियतिले रचना गरेका कथाहरू बाँच्न ।

मलाई बारम्बार लाग्छ – म पात्र हुँ अभिनय गरिरहेछु । यो पात्र कहिले सुखको च

मलाई बारम्बार लाग्छ – म पात्र हुँ अभिनय गरिरहेछु । यो पात्र कहिले सुखको चरीत्र निभाउँछ त कहिले दुखको कहिले प्रेम र विछोडको । यो पात्र विम्ब हो प्रतिनिधि हो, जो परदेशको बाटो हिड्ने आम युवा नेपालीले बाँचेको जिन्दगीजस्तै बाँचिरहेछ ।

एकदिन मसँग भेट भई स्मदार । तेल हासोमेर अस्पतालमा ड्युटी थियो, फुर्सदको समय मैले स्केच प्याड बोकेर चित्र कोर्दै गरेको उसले देखेकि रहिछ र ऊ आफैपनि फोटोग्राफीको शोखिन भएको उसले बताई । शोख, रहर र रुचीमात्र हैन हाम्रो जिन्दगी तर पनि मनको कतै कुनाभित्र रहरहरूलाई जतनले जोगाएर राखेको हुन्छ मानिसले ।

स्मदार अचेल न क्यामरा नै बोकेर हिड्थी न पहिलेझैँ फोटो नै खिच्थी । उसलाई आफू फोटोग्राफरजस्तो पनि कहिल्यै लागेन रे। ती त म स्कुल पढ्दाका दिनहरू थिए, जे देखेपनि तस्वीरमा उतारुँजस्तो लाग्थ्यो । अहिले साइन्टोलोजीको कार्यलयमा सामान्य कर्मचारी छु । फोटोग्रफिरहर हो तर रहर अँझै कायम छ ।

मैले इजरायली कला र आर्ट ग्यालरीहरूसँग सामिप्यता बढाउन चाहेको बताएँ । उसले मेरा पेन्टिंगहरू देखेर प्रभावित भएँ भन्दै सक्दो सहयोग गर्ने बताई ।

जसरी जतिसुकै हन्डर ठक्कर खाएरपनि वर्षौँदेखि मभित्र एउटा चित्रकार बाँचिरहेको छ, एउटा कलाकार बाँचिरहेको छ त्यसरी नै स्मदार भित्र फोटोग्राफर । एकदिन उसले भनी – क्रिश ! म फोटोग्राफी, पेन्टिङ र एन्टिक सामाग्री, कलेक्टिबलहरूको अउटा पसल खोल्दैछु, तिम्रा चित्रहरू पनि संकलन गरेर राख्छु के छ तिम्रो विचार .. ?

म कुनै विख्यात कलाकार हैन, यद्यपि उसका प्राइभेट कलेक्सनमा केही थान चित्रकला अटाउने कुराले स्वभाविक रुपमा खुसी नै दियो मलाई ।

उसले भनी – ‘तिम्रा चित्रहरू राम्रा छन, तर तिम्रो नाम छैन, गुमनाम छौ इजरायलको बजारमा, यसर्थ शुरुमा तिम्रा चित्रहरूको मूल्य कमजोर हुन्छन ‘।

लौ यो केटी त पक्का व्यापारी पो निस्की ।

‘तिम्रो चित्रहरूको मूल्य राख म सप्पै लिइदिन्छु ।’ मलाई रिस उठ्यो – हैन यो केटीले के सोचेकी छ ? यसलाई लाग्यो होला, रंग यति पर्छ क्यानभास यति पर्छ ब्रस यतिपर्छ र हल्का समयको हिसाब जोडेपछि यसको कलाको मूल्य सजिलै निस्किहाल्छ ।

मैले भने – स्मदार मेरा चित्रहरू वास्तवमा अमूल्य छन र यी बिक्रीका लागि पनि होइनन ।

प्रदर्शनी गर्ने या कतै सहभागी हुने भयौ भने म तिमीले भनेको बेला उपलब्ध गराउँला । अहिले केहीथान म लिइदिन्छु डिस्प्ले गराउ । तिमी आफैपनि मेरो मूल्यभन्दा बढीमा बिक्रीका लागि राख्न सक्छौ, र कसैले लिन चाहेमा मबाट लैजान सक्छौ । मैले लिएपनि सर्वाधिकार तिमीमै रहनेछ ।

मलाई थाहा थियो योसँग प्रशस्त पैसा छैन तैपनि मेरा चित्रहरूको केही मूल्य दिएर संकलन गरिदिने इच्छा राख्छे भने ठिकै छ । मेरा चित्रहरू यसैपनि मेरो कोठाभन्दा बाहिर कहाँ जाने कसले नै किन्ने होर ? अलिअलि प्रकाश र परीचय पनि हुन्छ । आखिरमा हामीले प्रति वर्गसेन्टिमीटर २० सेकेलका दरले हिसाब राखेयौँ र हिब्रु भाषामा लेखिएको कन्ट्र्याक्ट पेपरमा मन्जुरी जनायौँ ।

चित्रका शीर्षक र विवरणहरू केही मिलेका छैनन । उसले मेरो बारेमा पनि आफ्नै तरिकाले लेखेकिरहिछ, मैले केही भनिनँ । मर्मेलादा आर्ट मार्केटमा मेरो पेन्टिंगहरू डिस्प्ले भएको देखेपछि खुसी भएर चुपचाप फेसबुकमा लिंक शेयर गरेँ । त्यतिकै रमाइलो लागिरह्यो मलाई जस्तो रमाइलो रंगमा कुची डुबाएर क्यानभासमा पोत्न बस्दा अनुभूत हुन्छ ।





साभार

लिमासोल मरिना

No comments

Wednesday



ग्रीष्म ऋतुको एक साँझ
आइपुगेको छु निकै पर
समुद्रको किनारै किनार ...

बग्दै बग्दै त्यसरी नै
जसरी बगेको हेर्थें सानो हुँदा कागजको डुंगा,
आगनको छेउको कुलै कुलो
त्यसरी नै उड्दै उड्दै
जसरी उडेको हेर्थें आकाशमा चरा
पंख फिजाएर अनन्त यात्रामा
त्यसरी नै आइपुगेको छु म - लहरिदै लहरिदै
जसरी आउँछ समुद्रको किनारसम्म लहर ..।

यो साँझ र म यायावर !
तिम्रो अव्यक्त प्रेमको वहाव जस्तै
बहदै बहदै आइरहेछन, छोइरहेछ्न र भागिरहेछ्न
सुस्तरी सुस्तरी मलाई
तिम्रो मायाको सुवास बोकेर
यी चंचल हावाका झोक्काहरू .. ।

समुद्रको आँगनमा यो शहर
साइप्रसको लिमासोल मरिना
त्यसरी नै तैरिएको छ
जसरी तैरिन्छ
सपनाको स्वर्ग बादल पारीको देशमा
जसरी तैरिन्छ यो सुन्दर धर्ती र सिंगो संसार
प्रेमीहरूका आँखाहरूमा, कल्पनाका क्षितिजहरूमा

र चम्किरहेछ जहाँ रंगी विरंगी वत्तिहरू
जसरी चम्किन्छ्न तिम्रा आँखाका गुलुबहरू
जसरी चम्किन्छ्न आकाशमा नौलाखे ताराहरू ...

भूमध्यसागरको यो चिसो बतास !
जसरी तिमीलाई छोएर चुपचाप फर्किन्छ मध्यपूर्वतिर ..
भोलि म त्यसरी नै फर्किएर गएपनि
तिम्रो यो सुन्दर सहरबाट

प्रिय मरिना !
तर सधैं रहनेछु म तिमीसँगै
अलिकति मनभित्र सधैँ टाँसिने तस्वीर बनेर
अलिकति हामीले साटेको प्रेम र
अनमोल पलहरूको सम्झना बनेर
र तिमीसँग छुट्नु अघि
मैले लेखेको यो कविता बनेर ....।
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI