Responsive Ad Slot

जब फूलहरु प्रेममा पर्छन

No comments

Monday


जब फूलहरु प्रेममा पर्छन,
तब मानिसहरु वसन्त आएछ भन्छन ..

फेरि एकपटक क्यानभासमा फूल र रंगको ‪#‎कुरो‬, फूलहरुको यौवनको कुरो

शिर्षक - फूलहरुको प्रेम
एक्रेलिक अन क्यानभास

कल्पवृक्ष

2 comments

Tuesday


सानै छँदा पौराणिक कथाहरुमा वर्णित मनकामना पूरा गरिदिने कल्पवृक्षका प्रसंगहरु बारम्बार सुन्थेँ । सोच्थेँ - त्यो रुख भएको ठाँउमा एकपटक पुग्न पाए पनि हुन्थ्यो ...

यतिबेला कल्पवृक्षको परिभाषा बदलिएको छ । मलाई लाग्छ हरेक मानिसको मनमा हुन्छ इच्छाशक्तिको रुख, कल्पनाको रुख- जसले साकार बनाउछ सपनाहरु ।

एउटा कल्पवृक्ष मैले मेरो क्यानभासमा पनि कोरेको छु, जसका पातहरु गुलाफी रंगका छन ..
आउदै गरेको नयाँ बर्षले तपाईका सम्पूर्ण चाहना र कल्पनाहरु पूर्ण गरुन नयाँ बर्ष २०७३ सालको हार्दिक मंगलमय शुभकामना !!

शिर्षक - कल्पवृक्ष
एक्रेलिक अन क्यानभास
सर्वाधिकार - कृष्णपक्ष
साइज - ७० * ५० सेन्टिमिटर

ढुंगाजस्तो पानीजस्तो कहिले त कपासजस्तो

No comments

Sunday

ढुंगाजस्तो पानीजस्तो कहिले त कपासजस्तो
पराग बोकी उड्छ मन वसन्तको बतासजस्तो

हुनेछैनौँ यो शहरमा भोली हामी सधैँ सधैँ
अलिकति रहनेछौँ सम्झना र आभाषजस्तो

घरि घरि देश दुख्छ परदेशमा परदेशीलाई
गमलाको फूल कहाँ हुन्छ लेकको गुराँसजस्तो ??

घरजस्तो कहाँ हुन्छ? पराई आगन पराई माटो
एकैछिनमा खुसीजस्तो, एकैछिनमा उदासजस्तो

भएको छ देश मेरो मानौँ स्वर्ग डढेजस्तै
घाम डुब्नै लागेको त्यो रातो रातो आकाशजस्तो

चराजस्तै लहरजस्तै पुगिने हो भोली कहाँ ?
केहिबेर सँगै बाँचौँ पुतली र सुवासजस्तो

एउटा गज़ल निष्ठुरीको नाउँमा

No comments
विश्वासको फूल थियो, झरेपछि मन फाट्यो
छातिभित्र 'माया' भन्ने, मरेपछि मन फाट्यो

धेरैपर पुग्नु थियो, यात्रा लामो जिन्दगीको
यौटा जंघार संगसंगै तरेपछि, मन फाट्यो

भएजति खुसी सबै दिन्छु भन्थेँ तिमीलाई
मेरो भागमा दुखैदुख परेपछि मन फाट्यो

कस्को मनमा को पस्छ र ? को पराई को हो आफ्नो ?
बाहिर हाँसि हाँसि छल गरेपछि मन फाट्यो

कल्पनाको सानो शहर रित्तो रित्तो बनाएर
निष्ठुरीले बसाइ अन्तै सरेपछि मन फाट्यो ..

गज़लमा लेखिएको एउटा कथा

2 comments

Saturday

यसपाली मेरो गज़लको रदिफ उसका शेरहरुमा कथा सुनाउदैछ । शेरहरु अलग अलग सन्दर्भर भूमिकामा रचिएका छन जहाँ आएका छन - प्रेम मृत्यु र धर्मका बिषयहरु । प्राय गज़लमा अनेक बिषय अनेक प्रसंग र अनेक भावहरु अटाउने कोसिस गर्छु, यसरी नै यो गज़लमा पनि सो प्रयासको निरन्तरता छ ।

गजल यसप्रकार छ ।

 

सुनाउदैछ कोही आफ्नै पियारीको कथा
र छुटेको साथ अनि सवारीको कथा


उदास मनको आँगनीमा, भमराले लेख्यो
ओइलिएको फूल अनि फूलबारीको कथा

मृत्युको खेल खेल्ने कसाहीसँग मिल्छ
जाल बोकी उभिएको, जलारीको कथा

किसानको छातीभित्र त्यस्तो धेरै हुन्छ
खडेरीको खेत र रित्तो भकारीको कथा

किन किन लाग्छ मलाई पापी शिकारीझैं
मन्दिरमा खुँडा बोक्ने पुजारीको कथा

कृष्णपक्ष, धादिङ
हाल इजरायल


यसलाई फेसबुकमा यहाँ पढ्न सकिन्छ (तस्वीर गुगल)

 

मानिलिउँ यौटा झुठो

No comments
अलिकति उदासीको गज़ल फुरेको अवस्था ...]
.

मानिलिउँ यौटा झुठो, म भ्रम भएको छु
या दुख र आँसु लेख्ने कलम भएको छु ।
.

जो गरिन्छ पटक पटक र तोडिन्छ पनि
धोकेवाज प्रेमिकाको कसम भएको छु ।
.

कहिले फूल कहिले काँडा, कैले कडा ढुंगा,
फेरि कहिले कपासजस्तो, नरम भएको छु ।
.

लक्ष्य थियो धेरैधेरै पर पुग्नु पर्ने,
आरम्भमै अल्झिएको कदम भएको छु ।
.

दुनियाँ यो जितेपनि के अर्थ छ त्यस्को ?
पराजित आफैसँग, अहम भएको छु ।
.

अन्धकार कायमै छ, आकाशमा मेरो
बादलुले छोपिएको पूनम भएको छु ।।
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI