Responsive Ad Slot

शहरमा छोराहरु हराउनुको कारण छ

No comments

Wednesday

सुनसान छ चौतारो, पँधेरो र गाउँसम्म जाने गोरेटो । लाहुरे छोरा फर्कने प्रतिक्षामा छ त्यो झुपडी त्यो आँगन र बाआमाका रसिला आँखाहरु ... तर छोराहरु कतै हराएका छन । किन हराएका छन ?

ती रुखा ताता बालुवामा उँट र भेडाका गोठाला भएका छन, ती रुखा मरुभूमि भएका छन। ती उदास मन भएका व्यस्त शहर भएका छन । ती बाँडिएका छन कतै जुलुस भएर कतै आन्दोलन भएर । ती कतै पसिना बनेर पोखिएका छन या कतै भएका छन राता बाकसका उपहारहरु ...

यद्यपी प्रिय छोराहरु ! सधै-सधैं छ र रहिरहनेछ - तिम्रो प्रतीक्षा ।



--------------------------------

शहरमा छोराहरु हराउनुको कारण छ
नयाँ मान्छे देख्दा गाउँ, डराउनुको कारण छ

भो नसोध किन देशमा, घटदैछन युवाहरु ?
अरबमा उँट भेडा चराउनुको कारण छ

पक्कै केही कारण छ, हाम्रो देश नबन्नुमा
सधैँ बिरोध भाँडभैलो गराउनुको कारण छ

संविधान बनेकोमा खुसी छैन कोही कोही
देश भाँड्न मतियार अह्राउनुको कारण छ

फर्किएनन चुनावपछि सर्वाहारा भन्नेहरु
तिनले पनि दर्बारै मन पराउनुको कारण छ

शहरमा उसको महल त्यसै छैन उभिएको
भ्रष्ट तस्कर मिलि पैँचो भराउनुको कारण छ

भक्ते, माने, वीरबहादुर हरु ज्युँदै मरेका छन
गल्ली गल्ली बहुलाकाजी, कराउनुको कारण छ

कृष्णपक्ष
धादिङ, हाल इजरायल

इश्वरको तस्वीर I

4 comments

Sunday


अर्को पोडकास्ट लिएर आएको छु । प्रेम र भगवानका बिषयमा जति लेखिए, कोरिए या अभिव्यक्तिका अनेकौं माध्यमहरुबाट प्रस्तुत गरिए, बुझाउने कोसिस गरिए ती केवल सागरबाट एक अन्जुली पानी उबाए सरह मात्र हुन् । मलाइ थाहा छ , फेरी पनि जिद्दी मन, त्यसैको सेरोफेरोमा अल्झेर लेखेको छु ।

कथा सुन्न यहाँ प्ले बटन थिच्न्नुस ।




इश्वरको तस्वीर - कृष्णपक्ष

सृष्टिका समस्त अवयवहरु रहस्यमय लाग्दै जान थाले । आफ्नै देह, त्यसभित्र बाँचेको प्राण, आफु उभिएको जमिन, ढुंगा माटो र भित्ताहरु.... । तल्लो मुस्ताङको मुक्तिनाथ स्थित मेब्राक गुफा भित्र भेटिएका ३५०० बर्ष पुराना मानव अवशेषका बारेमा टेलिभिजनले समाचार देखाई रहेको थियो । यो जति रहस्य र अनुसन्धानको बिषय थियो त्यति नै रहस्यमय थिए गुफाभित्र कुँदिएका कलात्मक चित्रहरु ।

'ठ्याक्कै त्यस्तै रैछ है, हामीले बनाउने भगवान जस्तै ?' सुन्तलीले सँगै टिभी हेर्न बसेका सन्तोषका बालाई कोट्याउदै भनी ।

आमा र छोराको कंकाल - वृत्तचित्रमा यस्तो पनि देखाइयो । कंकालको प्रकृति हेर्दा प्रसव वेद्नामा आमाको निधन भएको देखिन्थ्यो, त्यो युगमा नवजात शिशु आमाविना एक्लै बाँच्न सक्ने प्रश्नै थिएन । उ पनि आमासँगै पुरियो। सबै भन्दा जीवन्त चित्र त त्यही थियो । जेठा जन्मदा भएको प्रसव पीडाको स्मरण गरी उसले र मातृत्वभावले द्रविभूत भई ।

तर क्यामाराले भित्तामा कोरिएका भगवानका चित्रहरु धेरैबेर देखाए । टिभीमा सधैंझैं हत्या आतंक र भोका नांगा मानिसका समाचार आउन थाले पछि उसले टिभी बन्द गरी । यस्ता कुरा देखाएर टिभी कहिले थाक्दैनथ्यो ।

सुन्तली तामाङ । धादिङबाट काठमान्डु आउँदा भर्खरकी तरुनी थिई । यिनै सन्तोषका बासँग भागेर पोइला आएकी, त्यो सोह्रबर्षे जवानीको प्रेमकथा त उहिल्यै मेटिईसक्यो । त्यसपछि राजधानीमा हात मुख जोर्ने संघर्षका दिनहरु शुरु भए । स्वयम्भुको भगवान पाउमा थियो डेरा, थाङकामा रंग भर्ने काम । विस्तारै सुन्तलीले पनि सिकी, उसको प्रयोग कोमल थियो - उजस्तै । क्यानभासमा अरुले स्केच कोरेर दिन्थे, उ शेडिंग गर्थी । उसका कुचीका घातहरु नरम हुन्थे। सबै कुरा साधना रहेछ, उसले थान्कामा ज्यान भर्ने कला सिक्दै गई । तर त्यो कला गुजारा गर्ने कर्ममात्र थियो ।

उनीहरुले कुँदेका थान्काहरु ठमेलका शोरुममा गएर टाँगिन्थे। ती कसले कति मुल्यमा किन्थे अनि कुन देशको, कुन शहरको आलिशान महल वा गुम्बाका भित्ताहरुमा गएर सजिन्थे, उनीहरुलाई थाहा हुदैनथ्यो ।

हरेक मानिसभित्र एउटा कलाकार हुन्छ, आदिमकाल देखि उभित्र कलाको अतृप्त प्यास लुकेको छ । रंगसँग खेल्दा कहिलेकाही सुन्तली पनि सोच्थी, शायद अलि सम्पन्न र पढेलेखेकी भए मपनि पेंटिंगको किनारमा आफ्नो नाम लेखेर देश विदेश प्रदर्शनी गर्थें होला । तिनको पत्याउनै नसक्ने मूल्य तोकी दिन्थें होला, अनि हेर्थें कसले किन्न सक्दो रहेछ मेरो कलालाइ ?

चित्र कुद्ने परम्परा उसको कल्पनाको क्षितिजभन्दा निकै पुरानो, युगौंयुग देखि चल्दै आएको थियो यो संसारमा । शव्दमा अभिव्यक्त हुन नसक्ने कैयौं मानवीय संवेदनाहरु, प्रेम, आस्था र विश्वासहरु चित्रका माध्यमबाट प्रस्तुत गरिन्थे । मानव हृदयका अमूर्त भावहरु पनि चित्रकै बाटो भएर बताउन सकिन्थ्यो । सृष्टि स्थिति, प्राकृतिक चक्र जीवन मृत्यु, भौतिक आध्यात्मिक चिन्तन , तिनीहरुको अस्तित्व.. यस्ता अनेकन रहस्यका बारेमा शताब्दियौं देखि खोज र अध्ययनहरु भैरहेका थिए । शिला र धातुका पत्रहरुमा, मन्दिर, गुम्बा र घरका भित्ताहरुमा, पातहरुमा, कागजका पानाहरुमा, मखमली क्यानभासहरुमा र कम्प्युटरका बिटहरुमा करोडौं चित्रहरु कोरिईसकेपछी, करोडौं ग्रन्थहरु लेखिई सकेपछि अझै पनि मान्छे त्यस्ता कैयन रहस्यको ज्ञानबाट वन्चित थियो, यसर्थ उसलाई लाग्थ्यो - यी सम्पूर्ण रहस्यको ज्ञाता अरु नै कोही छ । यो उसको विश्वास थियो, र यही विश्वास नै 'इश्वर' थियो ।

सुन्तली र उसका श्रीमान हरेक दिन थान्कामा इश्वरको चित्र बनाउथे ।

इश्वरका चित्रहरु अनेकौं मुद्रामा, अनेकौं भाव भंगीमा कोरिन्थे। जंगल , आकाश ,वादल वा मण्डलाहरु चित्रको पृष्ठभूमि हुन्थे । उसले बोक्ने वज्र, ध्वजा, माला, पुष्प, शुल, डमरु, मुरली ... उसले चढ्ने वाहन .... चित्र बडो आकर्षक र लाइभ हुनु पर्थ्यो । जो मुर्त देखिन्थे र सजिव प्रतित हुन्थे। थान्कामा आँखा कोर्ने काम अन्त्यमा गरिन्थ्यो, यो प्राण प्रतिस्थापन गरेजस्तै हुन्थ्यो । त्यसपछि भगवानले जीवन पाउथ्यो ।
-----------------



यो निष्ठुरी संसारमा एक्लै दुख गर्न लेखेको रैछ । सुन्तलीका श्रीमानलाइ दैवले यस्तरी चुडेर लग्यो, कि एकदिन खाना खाएर बाहिर निस्केको मान्छे फेरी फर्किएनन । शहरमा न्याय, समानता र अधिकारको नारा लाउनेले गराएको विष्फोटनले उनको प्राणहरेर लग्यो । सुन्तलीको जीवन र सारा संसार नै अँध्यारो भयो । भगवानको चित्र कोर्ने मान्छे मात्र हैन, अब सुन्तलीको भगवान पनि मर्यो ।

तीन सन्तानहरु थिए, शहरमै जन्मेका । गाउँ फर्केर दुख गर्न जाने हैनन्, तिनलाइ लाउनु खुवाउनु, काठमान्डूमा राखेर पढाउनु, डेरा भाडा तिर्नु ... यी सबै जिम्मेवारी अब उसको काँधमा थुप्रिएको थियो ।


"पापी रैछौ नि भगवान ! सँगै दुख गरी खानपनि दिएनौ, उफ!!!.... " यी सुन्तलीका रातका सुस्केराहरु हुन । थान्का कोरेरै पेट पाल्न सक्छेस केही चिन्ता लिनुपर्दैन सुन्तली ! - सम्झाउनेले भन्ने त यही हो । तर उसलाई लागेन, उ एक्लैले खर्च धान्न सक्छे । तैपनि विकल्प थिएन ।


भगवानको अनुहार पहिले जस्तो शान्त र सुन्दर हुन छाड्यो । कुची समाउदा उसलाई हातहरु काँपे जस्तै लाग्न थाले । उसले घरि घरि भगवानको तस्वीरमा सन्तोषका बाको निरिह अनुहार देख्न थाली । भगवान रोएको जस्तो पनि लाग्न थाल्यो, उसले मनमनै भनी- म अब यो काम गर्न सक्दिन । मैले कोरेको इश्वरको तस्वीर अब इश्वर जस्तो छैन ।

तर कसले देखेको छ इश्वरलाई ? उसको स्वरुपलाई ? के थाहा इश्वर मान्छे जस्तो नभएर ढुंगा जस्तो पो छ कि ?

-------

होचो कदकी ३५ बर्षिय सुन्तली तामाङसंग जीवनका धेरै रंगहरु, आयामहरू बाँकी नै थिए । धेरै चाहनाहरु शेष थिए, अब उसको सबै भन्दा ठुलो चाहना आमा भएर बाँच्नु थियो । अब उसले आफ्नो अगाडी दुइटा बाटाहरु देखी, देश छोड्ने या लालाबाला लिएर गाउँ फर्कने । धन कमाउने भन्दा पनि सन्तानलाई कर्म दिने, न्यानो छहारी दिने, तिनका रहरहरु पुरा गरिदिने,आफुले जति दुख पाए पनि सन्तानलाई सुख दिने चाहना थियो उसको ।

चाहनाको यो रंग यति गाढा थियो कि यसले अरु सबै इच्छाहरुलाई छोपी दिएको थियो । जसरी सिन्दुर र चुरापोते असमयमै दैवले उसबाट खोसेर लागेको थियो । मिल्ने भए त उ निथ्रिई सकेको यो यौवन पनि कतै थन्क्याएर निस्फिक्री हिडथी होली, तर प्रकृति हो, त्यसो गर्नु सम्भव थिएन ।
-----

सरकारले राहत दिने भनेको त धेरै भयो, तर कसैले खबर गरेका छैनन् । उसले समाचार हेर्न टिभी खोली, विदेशबाट फर्किएकी भुन्टीमाया मगरको दुखद मृत्युको खबर चिच्याई चिच्याई सुनाइ रहेको थियो त्यो । उ झसंग भई - हिजै मात्र एकजनाले थान्का सान्का छोडेर उसलाई कुवेत जाने सल्लाह दिएको उसले सम्झी ।

समाचार भन्दै थियो - विरामी अवस्थामा कुवेतबाट फर्के लगत्तै गेस्ट हाउसबाट अस्पताल लगिएकी भुन्टीमायाको निधन भएको छ । न्यूमोनिया र कमजोरीका कारण निधन भएकी भुन्टीको गर्भमा आठ महिनाको शिशु समेत रहेको शिक्षण अस्पतालका डाक्टरद्वय अनामिका झा र निता कटुवालले जानकारी दिएका छन । केही समय अघि नै उनको श्रीमानको पनि मृत्यु भएकोले अब उनका चारजना बालबच्चाको रेखदेख कसले गर्ने भन्ने चिन्ता रहेको छ ।"


पछिल्लो खबरले त सुन्तलीको मुटु चिरिएझैँ भयो । उसले एकपटक भुन्टीको ठाउमा आफुलाई राखेर हेरी । उसलाई इश्वरको अस्तित्वप्रति ठूलो शंका भयो ।

झ्यालबाट छिरेको एक झोक्का बतासले छेउमा क्यानभास बाँधिएको काठको फ्रेम भुइमा ढल्यो । सधै जस्तो इश्वर विल्कुल चुपचाप थिए, मौनताको घना जंगलमा हराइरहेका । यो पहिलो पटक हो, उसलाई आफुलाई भन्दा इश्वरप्रति दया जागेर आयो । ओठ बाट केही शव्द बाहिर निस्किए - कठै भगवान कति निरिह तिमी !

उसले नियालेर हेरी ।
आज इश्वरको तस्वीर उसलाई भुन्टीको अभागी अनुहार जस्तै लाग्यो ..... ।

पुरानो डुंगा पानीको छाल

No comments

Friday

पुरानो डुंगा पानीको छाल पार गरूँ कसरी
उनी छिन पारी तरेर लौन भेटुँ म कसरी ...?

शिर्षक - 'मछुवारीको गीत'
मेडियम - पानीरंग
साइज - ४२ * ३२ सेन्टिमिटर
© कृष्णपक्ष


एकदिन

No comments
एकदिन
खसेको हुनेछ धरतीमा
साँझको आँचल
छाएको हुनेछ जूनको शीतलता
र रमाएको हुनेछ मन

एकदिन
भत्किएका हुनेछन
भ्रमका विशाल महलहरु
वालुवाका भव्य शहर
र छुटेको हुनेछ पर कतै
त्यो तातो वाफले
भत्भति पोल्ने रेगिस्तान

एकदिन
पुगेको हुनेछ उँट जरुवाको नजिक
पिउनेछ घट्घटि पानी र मेट्नेछ प्यास
हो टुंगिएको हुनेछ जरुर एकदिन
त्यो अत्यासलाग्दो मरुभूमिको यात्रा ...

----------------------------
शिर्षक - गन्तव्यको नजिक एक यात्री र उँट
मिडियम - पानीरंग
आकार - ४२ * ३० सेन्टिमिटर
© कृष्णपक्ष

एकदिन
खसेको हुनेछ धरतीमा
साँझको आँचल
छाएको हुनेछ जूनको शीतलता
र रमाएको हुनेछ मन

एकदिन
भत्किएका हुनेछन
भ्रमका विशाल ...
Posted by Krishna Thapa on Friday, 29 April 2016

जब फूलहरु प्रेममा पर्छन

No comments

Monday


जब फूलहरु प्रेममा पर्छन,
तब मानिसहरु वसन्त आएछ भन्छन ..

फेरि एकपटक क्यानभासमा फूल र रंगको ‪#‎कुरो‬, फूलहरुको यौवनको कुरो

शिर्षक - फूलहरुको प्रेम
एक्रेलिक अन क्यानभास

कल्पवृक्ष

2 comments

Tuesday


सानै छँदा पौराणिक कथाहरुमा वर्णित मनकामना पूरा गरिदिने कल्पवृक्षका प्रसंगहरु बारम्बार सुन्थेँ । सोच्थेँ - त्यो रुख भएको ठाँउमा एकपटक पुग्न पाए पनि हुन्थ्यो ...

यतिबेला कल्पवृक्षको परिभाषा बदलिएको छ । मलाई लाग्छ हरेक मानिसको मनमा हुन्छ इच्छाशक्तिको रुख, कल्पनाको रुख- जसले साकार बनाउछ सपनाहरु ।

एउटा कल्पवृक्ष मैले मेरो क्यानभासमा पनि कोरेको छु, जसका पातहरु गुलाफी रंगका छन ..
आउदै गरेको नयाँ बर्षले तपाईका सम्पूर्ण चाहना र कल्पनाहरु पूर्ण गरुन नयाँ बर्ष २०७३ सालको हार्दिक मंगलमय शुभकामना !!

शिर्षक - कल्पवृक्ष
एक्रेलिक अन क्यानभास
सर्वाधिकार - कृष्णपक्ष
साइज - ७० * ५० सेन्टिमिटर

ढुंगाजस्तो पानीजस्तो कहिले त कपासजस्तो

No comments

Sunday

ढुंगाजस्तो पानीजस्तो कहिले त कपासजस्तो
पराग बोकी उड्छ मन वसन्तको बतासजस्तो

हुनेछैनौँ यो शहरमा भोली हामी सधैँ सधैँ
अलिकति रहनेछौँ सम्झना र आभाषजस्तो

घरि घरि देश दुख्छ परदेशमा परदेशीलाई
गमलाको फूल कहाँ हुन्छ लेकको गुराँसजस्तो ??

घरजस्तो कहाँ हुन्छ? पराई आगन पराई माटो
एकैछिनमा खुसीजस्तो, एकैछिनमा उदासजस्तो

भएको छ देश मेरो मानौँ स्वर्ग डढेजस्तै
घाम डुब्नै लागेको त्यो रातो रातो आकाशजस्तो

चराजस्तै लहरजस्तै पुगिने हो भोली कहाँ ?
केहिबेर सँगै बाँचौँ पुतली र सुवासजस्तो

एउटा गज़ल निष्ठुरीको नाउँमा

No comments
विश्वासको फूल थियो, झरेपछि मन फाट्यो
छातिभित्र 'माया' भन्ने, मरेपछि मन फाट्यो

धेरैपर पुग्नु थियो, यात्रा लामो जिन्दगीको
यौटा जंघार संगसंगै तरेपछि, मन फाट्यो

भएजति खुसी सबै दिन्छु भन्थेँ तिमीलाई
मेरो भागमा दुखैदुख परेपछि मन फाट्यो

कस्को मनमा को पस्छ र ? को पराई को हो आफ्नो ?
बाहिर हाँसि हाँसि छल गरेपछि मन फाट्यो

कल्पनाको सानो शहर रित्तो रित्तो बनाएर
निष्ठुरीले बसाइ अन्तै सरेपछि मन फाट्यो ..

गज़लमा लेखिएको एउटा कथा

2 comments

Saturday

यसपाली मेरो गज़लको रदिफ उसका शेरहरुमा कथा सुनाउदैछ । शेरहरु अलग अलग सन्दर्भर भूमिकामा रचिएका छन जहाँ आएका छन - प्रेम मृत्यु र धर्मका बिषयहरु । प्राय गज़लमा अनेक बिषय अनेक प्रसंग र अनेक भावहरु अटाउने कोसिस गर्छु, यसरी नै यो गज़लमा पनि सो प्रयासको निरन्तरता छ ।

गजल यसप्रकार छ ।

 

सुनाउदैछ कोही आफ्नै पियारीको कथा
र छुटेको साथ अनि सवारीको कथा


उदास मनको आँगनीमा, भमराले लेख्यो
ओइलिएको फूल अनि फूलबारीको कथा

मृत्युको खेल खेल्ने कसाहीसँग मिल्छ
जाल बोकी उभिएको, जलारीको कथा

किसानको छातीभित्र त्यस्तो धेरै हुन्छ
खडेरीको खेत र रित्तो भकारीको कथा

किन किन लाग्छ मलाई पापी शिकारीझैं
मन्दिरमा खुँडा बोक्ने पुजारीको कथा

कृष्णपक्ष, धादिङ
हाल इजरायल


यसलाई फेसबुकमा यहाँ पढ्न सकिन्छ (तस्वीर गुगल)

 

मानिलिउँ यौटा झुठो

No comments
अलिकति उदासीको गज़ल फुरेको अवस्था ...]
.

मानिलिउँ यौटा झुठो, म भ्रम भएको छु
या दुख र आँसु लेख्ने कलम भएको छु ।
.

जो गरिन्छ पटक पटक र तोडिन्छ पनि
धोकेवाज प्रेमिकाको कसम भएको छु ।
.

कहिले फूल कहिले काँडा, कैले कडा ढुंगा,
फेरि कहिले कपासजस्तो, नरम भएको छु ।
.

लक्ष्य थियो धेरैधेरै पर पुग्नु पर्ने,
आरम्भमै अल्झिएको कदम भएको छु ।
.

दुनियाँ यो जितेपनि के अर्थ छ त्यस्को ?
पराजित आफैसँग, अहम भएको छु ।
.

अन्धकार कायमै छ, आकाशमा मेरो
बादलुले छोपिएको पूनम भएको छु ।।

शकुनीको टेढो चाल

3 comments

Friday

शकुनीको टेढो चाल, चालेको छ यहाँ कसले
अमृत भनी मिठो बिष हालेको छ यहाँ कसले ?
.
भोको नाङ्गो भएँ भन्दै, घुर्क्याउँदै आमासँग
देशै खाने अभियान थालेको छ यहाँ कसले ?
.
राष्ट्रघाती भूकम्पले थर्काएर आज आफ्नै
स्वाभिमानको धरहरा, ढालेको छ यहाँ कसले ?
.
चिसो चुल्हो नजलेको, धेरै दिन भयो भन्दै
घरै जलाउने आगो, बालेको छ यहाँ कसले ?
.
अति भयो ब्यूँझ साथी, निमोठ्नु छ शीर त्यसको
दुध खुवाई सर्पलाई, पालेको छ यहाँ कसले ?
.
उठाएर हेर आजै, किन भुत्ते भो खुकुरी ?
खिया लाग्ने गरी कतै फालेको छ यहाँ कसले ?
.
कृष्णपक्ष थापा, धादिङ
हाल - इजरायल


यसलाई फेसबुकमा यहाँ पढ्न सकिन्छ

आँधीहुरी चलेको छ

4 comments

Wednesday

भर्खरै देशमा आंधीहुरी चलेको समाचार आएको छ । हरघडी भुकम्प, बाढी पहिरो तथा अन्य बिभिन्न किसिमको त्रासमा बाँचेको छ हाम्रो समय .. यतिखेर गज़लका शेरहरुमा पनि आएका छन यस्तै केही हुरीका प्रसंगहरु, राजनीति र सामाजिक बेथितिका कुराहरु ...

.
मनको छानै उडाउने आँधीहुरी चलेको छ
चलेको छ शहरमा दिउँसै छुरी चलेको छ
.
स्वाभिमान बेचि जस्ले राष्ट्रघाति कर्म गरे
हिजोआज देख्छु तिनकै चुरीफुरी चलेको छ
.
हाम्रा व्यापार व्यवसाय, बन्द भयो भन्छौ तिमी,
आँगनीमै किन उस्को पानीपुरी चलेको छ ??
.
प्रभु हजुर ! भनी हिजो जसका गुणगान गायौ
आज तिनकै कटाक्ष र 'कुरी कुरी' चलेको छ
.
सिन्कोसम्म भाँचिएन आफ्नै देशमा हुँदाखेरि
परदेशमा पसिना र मजदुरी चलेको छ ।
.
कृष्णपक्ष
धादिङ, हाल इजरायल

मेरो फेसबुकमा यहाँ पढ्न सकिन्छ

नारी तिमी शिल्पी हौ

No comments
नारी तिमी
शिल्पी हौ,
श्रृष्टि हौ, धरती हौ

रचना गर्छौ तिमी
घर, समाज
र यो सिंगो संसारको सभ्यता ...

नारी तिमी
वास्तुकार हौ
उभिएका छन, तिम्रो कल्पनामा
यी सुन्दर शहरहरु ..


नारी तिमी
शिल्पी हौ,
श्रृष्टि हौ, धरती हौ

रचना गर्छौ तिमी
घर, समाज
र यो सिंगो संसारको सभ्यता ...

नारी तिमी
वास्त...

Posted by Krishna Thapa on Tuesday, 2 February 2016


Title - woman & the world
Medium - Acrylic in canvas
size - 25*50
Krishna Thapa

दखिनतिर हावाहुरी चल्न सक्छ फेरि

No comments

Sunday

केही गज़लहरु जो नेपालको संविधान २०७२ जारि भएपछि भारतले नेपालमाथि लगाएको नाकाबन्दीको पृष्ठभूमिमा आधारित भएर लेखिए । त्यसै क्रमको यो एक गजल हो । छिमेकीलाई चिन्यौ अब सतर्क होउ, आत्म निर्भर हुने यत्न गर .. अब हुने सरकार र नेतृत्वलाई आग्रहसहित यो गजल सुनाउन चाहन्छु ।


दखिनतिर हावाहुरी चल्न सक्छ फेरि
हेर्नू जङ्गे पिलरहरु ढल्न सक्छ फेरि


खोल्यौँ भन्यो नाकाबन्दी, भरै छैन त्यस्को
धेरैचोटी छलिसक्यो छल्न सक्छ फेरि

भेदीहरु छिमेकमा सलाई माग्न जालान
आगो ताप्छु भन्दा घरै जल्न सक्छ फेरि

आत्मनिर्भर हुने बाटो, शुरु गर आजै
पराइको भरमा पाउ गल्न सक्छ फेरि

बुझाउ हरेक नेपालीलाई 'नयाँ खाका' नत्र
अमृत भनी रोप्दा, बिष फल्न सक्छ फेरि ।

कृष्णपक्ष, इजरायल

Don't Miss
© all rights reserved
Crafted with by NetKUTI